– राम बहादुर जि.एम.
सचिव, नेकपा (मशाल), जिल्ला समिति, दाङ
रामबहादुर जि.एम. युवा वामपन्थी नेता हुनुहुन्छ । उहाँ प्यूठानको स्वर्गद्वारी खाल गाउँपन्चायत– ७ (हाल स्वर्गद्वारी न. पा.–२ ) मा २०३६ माघ २६ गते बुबा लीलामणि घर्ती मगर र आमा ज्ञानीदेबी घर्ती मगरको कोखमा जन्मनु भएको थियो । आठ भाइ छोरा ,दुई छोरी मध्ये रामबहादुर जिएम र उहाँको भाइ मोहन घर्ती र दुई बहिनी मात्र जीवित हुनुहुन्छ ।
जिएमका बुबा, आमाको निधन भैसकेको छ र कान्छी आमा सितादेबी घर्ती जीबित हुनुहुन्छ । २०५४ मा रामबहादुर जिएमको स्वर्गद्वारी वाजमकी यमसरी देबी घर्ती मगर सित बिबाह भएको थियो । जिएमका तीन छोरी र एक छोरा मध्ये छोरा बिजयको सडक दुर्घटनामा मृत्यु भइसकेकोछ । जिएमले लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउँदै आउनु भएकोछ । यस पटक हाँक साप्ताहिकले युवा वामपन्थी नेता राम बहादुर जिएम सित लिएको अन्तरवार्ता प्रस्तुत छ ।
१) तपाईं प्यूठानको स्वर्गद्वारी खालमा विद्यार्थी जीवनकै समयमा राजनीतिक गतिविधिमा संलग्न हुनु भयो ? त्यो सन्दर्भको जानकारी पाउ“ न ।
– हजुर ,म २०५१ साल तिर प्यूठान स्वर्गद्वारी धरमपानीमा कक्षा सातमा पढ्दै थिएँ । एकदिन साँझपख घर फर्कदै गर्दा साबिक स्वर्गद्वारी खाल गाबिस कार्यालयमा नेकपा (मसाल) को बिरोध कार्यक्रम रहेछ । कामरेड बिरबहादुर पुनको नेतृत्वमा त्यो आन्दोलन चलेको थियो ।
तत्कालीन जिविस सभापति कर्णध्वज केसी सहित धेरै जना मसालका कार्यकर्ताजरूलाई कांग्रेसी प्रहरी प्रशासनले जेल चलान गरेको थियो । म पनि त्यो आन्दोलनमा सहभागी भएँ ।
२०५४ सालमा अखिल नेपाल युवक संघ साबिक खाल वडा नं ७ को सचिवको जिम्मेवारी प्राप्त गरी मैले साँगठनिक कार्य सुरू गरेको थिएँ ।
२) तपाईं प्यूठानको स्वर्गद्वारी खालबाट दाङको घोराही कहिले बसाइँसराइ गर्नु भयो ?
– कामको खोजीमा २०५५ सालमा नै म प्यूठानको स्वर्गद्वारीबाट दाङ झरेको थिएँ । केही वर्षसम्म दाङ प्यूठान आउजाउ भयो । ६० सालतिरबाट परिवार सहित दाङ बस्नथाले र २०६७ मा प्यूठानबाट दाङ आधिकारिकरूपमा बसाई सराई गरेको थिएँ ।
३) दाङ झरे पछि पार्टीको कुन कुन मोर्चा वा संगठनमा काम गर्नु भयो ?
– अखिल नेपाल ट्रेड यूनिय महासंघ, जनजाति सम्मेलन र राष्ट्रिय जनमोर्चामा काम गरेँ।
४) अखिल नेपाल युवक संघमा कहिले देखि कहिलेसम्म काम गर्नु भयो ?
– प्युठानमा बस्दा ०५४ सालमा युवक संघमा संगठित भएँ । मरन्ठानाको नेपाने भन्ने ठाउँमा २०५४ मा सम्पन्न भएको ५ दिने सैद्धान्तिक तथा शारीरिक शिबिर सम्पन्न भएकोथियो । म २०५४ मा सम्पन्न किसान मार्चमा स्वर्गद्वारीबाट भिङ्ग्री, बर्जिबाङ, हुँदै बिजुवारको बिशाल आम सभा सम्म म सहभागी भएको थिएँ । २०५५ मा स्वर्गद्वारीको धनबाङमा सम्पन्न एक हप्ते पार्टी शिबिरमा पनि भाग लिएको थिएँ ।
५) ट्रेड युनियनमा पनि काम गर्नु भयो , हैन र ?
– हो, गरेँ । २०५७ देखि २०६१ सम्म करीव ४ वर्ष मैले अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) मा काम गरेँ । ट्रेड युनियनमा काम गर्दा मैले मजदुरहरूको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएँ ।
६) राष्ट्रिय जनमोर्चामा काम गर्दाको अनुभव के छ ?
– राष्ट्रिय जनमोर्चा दाङको २ नम्बर क्षेत्रको अध्यक्ष, जिल्ला सदस्य सम्मको जिम्मेवारीमा रहेर काम गरेँ । मोर्चाका तर्फबाट बिभिन्न संघ संस्थाको कार्यक्रम हरूमा जाने, किसान– मजदुरहरूको बिचमा सङ्गठन निर्माण गर्ने, उनीहरूको समस्या सँग हातेमालो गर्दै आन्दोलन अघि बढाउने कामहरू गरियो ।
७) अखिल नेपाल जनजाति सम्मेलनमा निकै लामो समय काम गर्नु भयो । जनजाति सम्मेलनमा काम गर्दाका स्मरणीय कुराहरू के छन् ?
– धेरै लामो समय १८ वर्षसम्म अखिल नेपाल जनजाति सम्मेलनमा काम गरेँ । जनजाति सम्मेलनको दाङ जिल्ला सदस्य, सचिव ,अध्यक्ष हुँदै लुम्विनी प्रदेश संयोजक र केन्द्रीय सदस्य सम्मको जिम्मेवारीमा रही काम गरेँ ।
संविधान बन्नु भन्दा पहिले समयमै संविधान निर्माण गर्न जनजाति अधिकार सुनिस्चित गर्न र संघीयताको निर्णय खारेज गर्न मेची महाकाली अभियान र हस्ताक्षर संकलन अभियान सम्पन्न गरियो ।
२०७१ सालमा कैलालीको टिकापुर देखि बर्दिया, बाँके ,सुर्खेत हुँदै दैलेखमा जि.एम.आर. कम्पनी द्वारा जलविद्युतका लागि सुरुङ निर्माण परीक्षण स्थलसम्म र त्यस पछि फर्किएर दाङ, कपिलवस्तु र रुपन्देही सम्मको यात्रामा म सहभागी भएको थिएँ । त्यो जनजाति सम्मेलनले चलाएको कर्णाली बचाऔँ अभियान थियो ।
२०७३ फागुनमा दाङ देखि काठमाडौसम्म १३ जिल्लामा अक्टोबर शतबार्षिकी कार्यक्रमका सिलसिलामा दाङ – काठमाडौ साहित्यिक अभियान चालाइएको थियो । दाङमा त्यसको उदघाटन भब्यरूपमा सम्पन भएकोथियो ।
२०७६ सालमा मुक्त कैयाको समस्या समाधान गर्न कन्चनपुर दाङ अभियान चलेको थियो। गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सन्धिखर्कका राष्ट्रिय परिषद बैठक इटहरीको चैथो राष्ट्रिय महाधिवेशन, बुटवल, दाङ, स्याङजाका राष्ट्रिय भेला प्रशिक्षण सबै स्मरणीय घटना हुन् ।
८ ) प्रतिगमन विरुद्धको संघर्षमा के कसरी कृयाशील हुनु भयो ?
– प्रतिगमन बिरुद्धको आन्दोलन तत्कालीन ५ दलले र पछि ७ दलले सन्चालन गरेकाथिए । म सुरु देखि नै निरन्तर कृयाशील रहेँ । विशेष गरी दाङमा नै म कृयाशील रहेँ ।
उमेशचन्द्र थापा प्रतिगमन विरोधी आन्दोलनमा सहिद हुनु भएको घटना स्मरणीय छ । अहिले घोराहीको सहिद उमेश चन्द्र गेट भएको ठाउँबाट हामी जुलुश गर्दै माथितिर गइरहेका थियौं । बिपरीत दिशाबाट टेङ्कमा बसेर आइरहेका सेनाले अन्धाधुन्द गोली चलायो । सेनाको गोलीबाट उमेश चन्द्र थापाको मृत्यु भयो र कृष्ण गिरी घाइते भए ।
त्यो घटना २०६२ माघ २६ गतेको राजाको कथित नगर निर्वाचनको दिन थियो । आन्दोलनकारी तितरबितर भए । फेरि जम्मा भएर जुलुस गरेका थियौँ ।
९) ०६२÷०६३ को जन आन्दोलनमा तपाईको भूमिका के थियो?
– घोराही दाङको सदरमुकाम भएकाले यहाँको आन्दोलनको केन्द्र घोराही नै थियो । म यहीको स्थानीय भएको र तत्कालीन नेकपा मसाल घोराहीको नेतृत्व पनि मैले गरेको हुनाले १९ दिनसम्म निरन्तर लागियो । पार्टीको माथिल्लो कमिटी देखि तल्लो कमिटी सम्म पार्टी निर्णय कार्यान्वयन गर्ने संघर्षमा होमिएका थियौ।
१० ) संघीयता विरुद्धको आन्दोलनमा कृयाशील हुनु भयो । त्यसमा तपाईको भूमिका के थियो ?
– २०६६ वैशाखमा काठमाडौंमा भएको संघीयता विरुद्धको १० दिने आन्दोलनमा म जान सकेन । बाँकी सबैखाले कार्यक्रममा सहभागी भएकोछु र अहिलेसम्म निरन्तर संघीयता बिरूद्धको आन्दोलनमा आवाज वुलन्द गरिरहेकोछु ।
११ ) आफूलाई क्रान्तिकारी बताउने पार्टीहरूको जनाधार कमजोर हु“दै गएको देखिन्छ ? कम्युनिस्ट पार्टीले जन सम्बधलाई बलियो बनाउन के गर्नु पर्दछ ?
– पहिलो कुरा,आफुले क्रान्तिकारी पार्टी हुँ भन्ने हरूनै क्रान्तिकारी हुन् कि हैनन छुट्याउन गाह्रो भइरहेको छ जनतालाई । किनभने अहिलेसम्म क्रान्तिकारी हुँ भन्ने धेरै पार्टीबाट धोका पाइरहेकाछन र सही क्रान्तितिकारी कम्युनिष्ट पार्टीले पनि आफ्नो नीति, सिद्धान्त अनुसार काम गर्न नसक्नुले पनि जनाधार कमजोर हुँदैगएकोछ । नीति, सिद्धान्त अनुसार योजना बन्नु पर्दछ । किसान, मजदुर सँग सहकार्य, घुलमिल, उठ्बस उनीहरूको समस्यालाई उठान गरेर मात्रै जनसम्बन्ध बलियो बनाउन सकिन्छ ।
१२) नयाँ पुस्तामा राजनीति प्रति ब्यापक बितृष्णा देखिन्छ । किन होला ? युवा पुस्तालाई राजनीति प्रति सकारात्मक बनाउन के गर्नु पर्दछ ?
– बढ्दो बेरोजगारी, देशभक्ति भावना नहुनु, ठुला राजनीतिक दलहरुको कामले राजनीति प्रति वितृष्णा जागेको देखिन्छ । स्वदेशमै रोजगारको ब्यबस्था, उद्योग धन्दा कलकारखाना नहुनु ,राजनीतिकर्मीको इमान्दारिता नहुनु आदिले युवाहरूमा राजनीति प्रति वितृष्णा छ । सही राजनीतिको प्रशिक्षण, पार्टीहरूको इमान्दारीता प्रदर्शनले युवाहरूलाई राजनीतिमा आकर्षण गर्न सकिन्छ ।
१३) पार्टी वा संगठन सन्चालन गर्न नेता र नेता वा नेता र कार्यकर्ता बीचको सम्बम्ध कस्तो हुनु पर्दछ ?
– राजनीतिमा इमान्दारिता,भावनात्मक एकता, भैपरि आउने समस्याहरु सँग एकताबद्द भएर लाग्ने समग्रमा नङ र मासु जस्तो सम्बन्ध हुनु पर्दछ ।
१४) दाङ जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहासलाई संक्षिप्तमा सिंहावलोकन गर्नु पर्दा के भन्नू हुन्छ ?
– दाङ जिल्लामा कम्युनिस्ट पार्टीको गौरवशाली ईतिहास छ । नेकपा दाङमा २०१२ सालमा स्थापना भएको देखिन्छ । नारायण शर्मा,माणिकलाल गौतम लगायतले नेकपाको स्थापना गरेका थिए । किसान र मजदुर आन्दोलन गर्दै अगाडि बढेको कम्युनिष्ट पार्टी चौ म धार, माले धार र पछि मशाल, मसाल, एमाले, माओवादी केन्द्र लगायत विभिन्न पार्टी अस्तित्वमा आए ।
१५ ) दाङ जिल्लाका समस्याहरू के के छन् ? समस्या समाधानका लागि सरकार, पार्टीहरू र जनताको भूमिका के हुनु पर्दछ?
– भूमिहीन किसान, गुठी पीडित किसान, मुक्तकमैया,बिभिन्न खाले मजदुरहरुको समस्या, चुनढुङा उत्खननले पारेको समस्या, सडकमा ओभर लोडको समस्या, बेरोजगारी, सरकारी तथा गैरसकारी कार्यालयहरुमा सहजता पूर्ण सेवा नपाउनु लगायतका समस्याहरु रहेका छन् । किसान मजदुरहरु सचेत र संगठित हुनु प¥यो र आफ्नो अधिकार प्राप्तिको लागि सम्पूर्ण शोषित उत्पीडित जनताको एकताले मात्रा यस्ता समस्याको समाधान गर्न सक्ने छ ।
सरकारले मुक्त कमैयाहरुलाई जग्गा धनी पुर्जा, भूमिहीन, गुठी पिडितहरुलाई अहिले सम्म जोती रहेका जग्गा किसानहरुको नाममा गरी दिनु पर्छ । यी कामहरु पुरा गर्न राजनीतिक पार्टीहरुले किसान मजदुर बर्गको पक्षमा रहेर सहयोग गर्नु पर्दछ। राप्ती नदीबाट जग्गा कटान, गिटी,ढुङ्गा, बालुवाको अवैध उत्खनन, पशु पन्छी पाल्ने किसानको समस्या, बिचौलियाको समस्या लगायतका समस्या छन् ।
१६) नेपालको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
– सम्पूर्ण शोषित पीडित किसान मजदुरहरुलाई सचेत र संगठित गर्दै कम्युनिस्ट आन्दोलनमा सहभागी गराउने उनीहरुको समस्यालाई उठान गरी बर्ग संघर्ष चर्काउदै जाने, अपराधी, भ्रस्टाचारी, राष्ट्रघातीहरूलाई जनताका बीचमा नाङ्गेझार पार्ने ,प्रतिक्रियावादी राज्य ब्यबस्थाविरुद्ध प्रहार केन्द्रित गर्दै शक्तिशाली कम्मुनिस्ट पार्टी निर्माण गर्ने र प्रतिकृयावादी दलाल संसदिय ब्यबस्थाको अन्त्य गरी जनवादी क्रान्तिको आधार तयार पार्दै अगाडि बढ्नु पर्छ ।
१७) अहिलेको नेपालको राजनीतिक परिस्थितिलाई कसरी हेर्नु हुन्छ ?
– कथित ठूला राजनीतिक दलहरूमा इमन्दारिताको अभाव, जालझेल, बेइमानी, छलकपट, भ्रष्टाचार र देशद्रोहमा लिप्त भइरहेको अवस्था छ । इमान्दार सही नीति, सिद्धान्त र विचार बोकेका राजनीतिक दलहरु कमजोर रहेको र जनताले नपत्याइरहेको अवस्था छ । राष्ट्रिय स्वाधीनता कमजोर हुँदै गएको अबस्था छ ।
१८) सामाजिक संघ संस्थामा काम गरेको अनुभव पनि छ कि ?
– घोराही न पा १४ को एकता टोल बिकास संस्थामा दुई कार्यकाल गरी २०६८ पछि करीब ६ वर्ष अध्यक्ष पदमा रही काम गरेको थिएँ , ०६४ पछि करीव ८ वर्ष भवन निर्माण व्यवसायी समिति घोराहीमा पनि अध्यक्ष पदमा काम गरेको थिएँ । अहिले पनि त्यसको बरिष्ठ सल्लाहकारको रूपमा कार्यरत छु ।
१९) तपाइँको छोरा बिजयको गाडी दुर्घटनाबाट असामयिक मृत्यु भयो । प्यूठान ,स्वर्गद्वारीको एक स्कूलमा तपाईको परिवारले बिजयको नामबाट अक्षय कोष स्थापना गर्नु भयो । अरूले पनि त्यस स्कूलमा त्यसप्रकारको सामाजिक काम गरेका छन् कि छैनन् ?
– मेरो छोरा बिजयको सहिद कृष्ण सेन ईच्छुक बहु प्राविधिक शिक्षालय दाङमा अध्ययनरत रहँदा सल्यान कपुरकोट मूलपानी बगैचामा अध्ययन अबलोकन भ्रमण गएका थिए। फर्किने क्रममा दाङ सल्यान सडक खण्ड राम्रीमा उनीहरू चढेको बस २०७५ साल पौष ९ गते दुर्घटना हुँदा मेरो छोरा बिजय सहित १९ जना विद्यार्थी दुई जना शिक्षक दुई जना चालक दल गरी २३जनाको मृत्यु भएको थियो ।
त्यसैको सम्झनामा प्रत्यक बर्षको स्मृति दिवसमा पुरस्कार बितरण गर्ने गरी ५०हजारको अक्षय कोष प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुई नोस जनता प्राथमिक विद्यालयमा स्थापना गरेको छु। मैले त्यो स्थापना गर्दा सम्म यस प्रकारको काम अरूले गरेको रहेनछन् ।
२० ) हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
– अन्त्त्यमा, हाँक साप्ताहिकको निरन्तरता र प्रगतिको कामना गर्दछु ।