महेश श्रेष्ठ, केन्द्रीय संयोजक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
१) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) का बीचमा गत साउन ११ र १२ गते सम्पन्न संयुक्त भेलाबाट नवगठित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय संयोजक निर्वाचित हुनु भएकोमा सर्वप्रथम यहाँलाई हाँक साप्ताहिकका तर्फबाट बधाई छ ।
–धन्यवाद
२) एकता भेलाको समीक्षा गर्नु पर्दा के भन्नू हुन्छ ?
–क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा लैजान अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) बीचको एकताले उत्साह र शक्ति पैदा गरेको छ । यस भेलाले क्रान्तिकारी एकता र धु्रवीकरणलाई अघि बढाउँदै छरिएर रहेका क्रान्तिकारी विद्यार्थीलाई एक ठाउँमा ल्याउने अभियानको सुरुवात पनि भएको छ । हामी हजारौं लाखौं विद्यार्थीहरुसित एकताको हात बढाउँदै जाने छौं ।
३) तपाईहरूले दुई संगठन बीच एकता गरे पनि कतिपय साथीहरू त संगठनबाटै बाहिरिनु भयो ।किन यस्तो भयो?
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तत्कालीन सहसंयोजक क. धर्मेन्द्र बास्तोलाको पार्टीबाट बहिर्गमन सँगै विद्यार्थी संगठनका केही नेताहरु पनि बाहिरिनु भएको हो । क्रान्तिकारीहरु एकै ठाउँमा रहि आन्दोलनलाई दह्रो बनाउनु पर्ने समयमा विभाजित हुनु दुःखद विषय हो । जो वास्तविक क्रान्तिकारी हुनुहुन्छ, भ्रमवस बहिर्गमित भए पनि यथार्थ बुझेपछि पुनः क्रान्तिकारी विद्यार्थी संगठनको मूलधारमा जोडिन हुनेछ । त्यसका लागि हामीले साथीहरुलाई आह्वान गछौं ।
४) तपाइले संगठनको तर्फबट केही कन्सल्टेन्सीले विदेश अध्ययन गर्न पठाएका विद्यार्थीहरू रुसमा अलपत्र परेको र उनीहरूको उद्दार गर्न सरकार सित माग गर्नु भएको रहेछ । त्यस सम्बन्धमा अखिल( क्रान्तिकारी ) ले थप केही कदम चाल्दै छ कि?
–हामीलाई प्राप्त जानकारी अनुसार ड्रिम कन्सल्टेन्सी,ल्याण्डमार्क कन्सल्टेन्सी लगायत शैक्षिक परामर्श केन्द्रहरुले नेपालमा रु. ८ लाखदेखि १० लाखसम्म लिई राम्रो विश्वविद्यालयको शिक्षासँगै रोजगारी पाउने प्रलोभन देखाई लगभग १५० जना नेपाली विद्यार्थीलाई रुस पु¥याई त्यहाँ पनि भिसा नविकरण गर्ने भन्दै रु. २ लाख ३५ हजारसम्म प्रत्येक विद्यार्थीबाट लिएर पनि विद्यार्थीलाई अलपत्र पारेका छन् । यस अपराधमा संलग्न कन्सल्टेन्सी र व्यक्तिलाई नेपाल सरकारले तत्काल कार्वाही नगरेर विद्यार्थीलाई क्षतिपूर्ति सहित न्याय नदिए अखिल क्रान्तिकारीले यसरी झुटा तथा अव्यवहारिक आश्वासन दिई विद्यार्थी ठग्ने शैक्षिक परामर्श केन्द्रलाई कार्वाही गर्न बाध्य हुनेछ ।
५) अहिलेको समग्र शैक्षिक अवस्थाको मूल्यांकन कसरी गर्नु हुन्छ ?
–नेपालको शैक्षिक अवस्था अत्यन्त संकटग्रस्त रहेको छ । शिक्षा निजीकरण, व्यापापारीकरण, दलालीकरण, माफियाकरण र भ्रष्टाचारले ग्रसित बनाएको छ । मन्टेश्वरीदेखि विश्वविद्यालयसम्म शिक्षा समस्याका चाङ लागेका छन् ।
शिक्षा क्षेत्रमा राजनीति दलका प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव र भागवण्डाले, हस्तक्षेपले दक्ष, योग्य कार्य क्षमता भएका लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउनु भएका दक्ष जनशक्तिलाई निरास जिम्मेवारीविहीन बनाइरहेको अवस्था छ । वर्षौं पुरानो पाठ्यक्रम, ४ वर्षको कोर्सलाई ५÷६ बनाउने, वर्ष परीक्षा समयमा नगर्नुका साथै रिजल्ट समयमा प्रकाशित नगर्ने समस्या, विश्वविद्यालयले निर्धारण गरेको आफ्नो शैक्षिक पात्रो समेत कार्यान्वयन गर्न नसकिरहेको अवस्था छ । नेपालको शिक्षा आज बेरोजगार उत्पादन गर्ने भट्टी जस्तो बनिरहेको छ । शिक्षामा हुँदै आएको यस प्रकारको समस्याको कारण नेपालको विश्वविद्यालयमा आज विद्यार्थीको संख्या दिनप्रतिदिन घट्दो छ । त्यस्तै गरेर विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा विद्यार्थीको संख्या बदल्नुका साथै करिब ७५ वटा देशमा विदेशिने विद्यार्थीको संख्या बढिरहेको छ । २०८०–२०८१ मा मात्र १ लाख १२ हजार भन्दा बढी नेपाली विद्यार्थी शैक्षिक भिसाबाट विदेशिनुका साथै १ खर्ब १७ अर्ब भन्दा बढी पैसा समेत नेपाली विद्यार्थीले बैंकबाट ऋण लिई नेपाली पैसा बाहिरीएको अवस्था छ । यी सबै घटनाहरु हेर्दा समग्र शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ ।
६) शिक्षा मन्त्रीले नै विद्यार्थी संगठनबाट विश्वविद्यालयका पदाधिकारीको सुरक्षा माथि खतरा भन्दै उनीहरूको सुरक्षाका लागि हार गुहार गर्नु पर्ने स्थिति आयो । शिक्षा क्षेत्रलाई डनगिरी,गुण्डगर्दीबाट कसरी मुक्त गर्न सकिएला ?
–त्रिभुवन विश्वविद्यालय पुरानो नेपालको लगभग ८० प्रतिशत विदार्थी संख्या भार बोकेको विश्वविद्यालय हो । यस विश्वविद्यालयकै उपकुलपति, रजिष्टार र रेक्टरले सुरक्षाको कारण कार्यकक्षमा आउन नसकेको भनी सार्वजनिक भएको घटनाले त्रि.वि.को अवस्थालाई प्रष्ट पारिदिएको छ । त्रि.वि.को केन्द्रीय विभागदेखि ६० वटै अंगिक क्याम्पसहरुमा आज राजनीतिक भाग भागवण्डाको आधारमा विभागीय प्रमुख तथा क्याम्पस प्रमुख नियुक्त गर्ने प्रचलनले नै यस्तो प्रकारको समस्या निम्तिएको छ । यसरी नै कोर्स करार शिक्षकहरुलाई पनि आफ्नो नातागोता तथा राजनीतिक पहुँचका आधारमा नियुक्त गर्ने परिपाटी रहेको छ ।यी सबै कार्य आफ्नो पार्टी निकटका व्यक्तिहरुलाई गर्न सकिएन भने आफ्नो आप्mनो पार्टी निकटका विद्यार्थी संगठनलाई परिचालन गरी आफ्नो स्वार्थ अनुकूल निर्णय गर्न बाध्य पार्ने उद्देश्यले गुण्डागर्दी, हुलहुुत्जत, दादागिरीका घटना घटाउने गरिन्छ । यसर्थ राजनीतिक भागवण्डा अन्त्य गरी खुला प्रतिस्पर्धाबाट प्राज्ञिक विशिष्टताको आधारमा विश्वविद्यालयको पदाधिकारी, विभागीय प्रमुख, क्याम्पस प्रमुखहरु जिम्मेवारी दिनसके यसप्रकारको घटना रोक्न सकिन्छ ।
७) अहिलेको देशको राजनीतिमा अखिल (क्रान्तिकारी) को भूमिका के हो?
–अहिले देश संकटपूर्ण अवस्थामा छ । राष्ट्रियता, जनजीविका र जनतन्त्रका अवस्था बिग्रँदो छ । नेपालको व्यवस्थापकीय, कार्यपालिका तथा न्यायपालिकाले जनमुखी भई आफ्नो काम कर्तव्य पूरा गर्न नसकेको अवस्था छ । शिक्षा र स्वास्थ्यमा भइरहेको निजीकरण, व्यापारीकरण, दलालीकरण, भ्रष्टाचारले आम विद्यार्थी अभिभावक तथा जनसमुदाय छटपटिरहेका छन् भने देशका कुनै पनि निकाय संस्थागत र नीतिगत भ्रष्टचारले व्याप्त बनेको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको कार्यान्वयन पनि अहिलेको सरकारले गरिरहेको छ । करिब ११४ वटा देशमा नेपालीहरु १ करोड हाराहारीमा रोजगारीका लागि विदेशिन बाध्य पारिएको छ । आर्थिक वर्ष २०८०÷२०८१ मा मात्र करिब ७ लाख ४१ हजार भन्दा बढी नेपालीहरु विदेश जान बाध्य भएका छन् । दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाकसमा प्याक भएर नेपाली युवाहरुको शव ल्याइँदैछ भने घाइते र अपांग भएर आउनेको संख्या पनि बढिरहेको छ । नेपालको व्यापार घाटा बढ्दो छ । १५१ देशसँग व्यापार गर्दा १२६ वटा देशसँग गरेको व्यापारमा घाटा छ । संविधानमा उल्लेख गरिएका मौलिक हकहरुको कार्यान्वयन गर्नुको सट्टा उल्लंघन गरिरहेका छन् । सुखी नेपाली र समृद्ध नेपालको झुटा नारा लगाइ वास्तवमा दुःखी नेपाली र भद्रगोल नेपाल बनाउन अघि बढिरहेका सबै राष्ट्रघाती, जनघाती, जनविरोधी शक्तिहरुको विरुद्धमा संघर्ष गर्दै जनताको राज्यसत्ता स्थापना गर्ने राजनीतिक अभियानको अग्रमोर्चा सम्हाल्ने भूमिका नै अहिले देशको राजनीतिमा अखिल (क्रान्तिकारी) को भूमिका हुनेछ ।
८) संगठनका आगामी कार्यक्रमहरू के छन् ?
– संगठनको केन्द्रीय एकता भेलापछि सबै प्रदेश र जिल्लाहरुमा एकता भेला गर्ने कार्य भइरहेका छन् । अहिले देखा परेका शैक्षिक समस्याहरुका विषयमा अन्तक्र्रिया, ज्ञापनपत्र बुझाउने र आवश्यकता अनुसार जुुझारु संघर्ष अघि बढाउने संगठनको कार्यक्रमहरु रहेका छन् ।
९) हाँक साप्ताहिक मार्फत थप भन्ने केही छ कि ?
–यस लोकप्रिय हाँक साप्ताहिक मार्फत् नेपालमा रहेका लगभग ७० लाख तथा विदेशिन बाध्य भएका लाखौं विद्यार्थीलाई राज्यबाट सिर्जित समस्याको समाधान व्यक्तिगत रुपमा हल गर्न असम्भव भएको कारण अखिल (क्रान्तिकारी) मा संगठित हुन र जनताको राज्यसत्ता स्थापना गरी सबै समस्याको समाधान खोज्न संघर्षमा होमिन हार्दिक आग्रह गर्न चाहन्छु ।
शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ
Comments