संसदवादी दलहरु भोट व्यापारी र विदेशीका दलाल हुन्

– ऋषि कट्टेल, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी
१.माओवादी केन्द्र –एमाले गठबन्धन सरकार परिवर्तन भएर नेपालमा ने.का.एमाले– गठबन्धनको सरकार बनेको छ । नयाँ सरकार गठन भएको तीन महिना पूरा भयो । सरकार फेरबदल र यो सबै राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ ?
– संसदीय व्यवस्थामा सरकार फेरबदल हुनु ठूलो कुरा होइन । आफूलाई संसदवादी भन्नेहरुले संसदीय मूल्य मान्यता कायम राखेका छैनन् । संसदीय व्यवस्थामा सामान्यतया जो संसदको ठूलो दल हो ,ठूलो पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने र अर्को ठूलो दलको नेता संसदमा प्रमुख प्रतिपक्षदलको नेता बन्ने संसदीय प्रचलन हो । अर्थात बहुमतको सत्ता र अल्पमतको विपक्ष संसदीय मूल्य हो । जुन व्यवस्थालाई उनीहरुले आदर्श ठान्छन् ,त्यही व्यवस्थाको मूल्य ,मान्यता प्रचलनलाई लत्याएर सत्ता र शासनकालागि प्रमुख दल र प्रमुख विपक्ष सरकारमा गएका छन् । सत्तामा बसेर देशलाई लुट्नकालागि उनीहरु जे पनि गर्न तयार भएका छन् । देश र जनताको उन्नतिका लागि संसदको प्रमुख दल र प्रमुख विपक्षीबीच सत्ता साझेदारी गरेका होइनन् । आफ्ना अपराध छोप्नकालागि पनि उनीहरु एक ठाउँमा आएका हुन् । त्यसकारण यहाँ लोकतन्त्र हैन, लुटतन्त्र चलिरहेको छ ।
२. नेका– एमाले गठबन्धनको सरकार त संविधान संशोधनकालागि गठन गरिएको हो भनेका छन् त ? संविधान संशोधन होला जस्तो लाग्छ तपाइँलाई ?
– मलाई केही न केही संविधान संशोधन होला जस्तो लाग्दछ । अहिलेको संविधानलाई नेपाली कांग्रेस र एमालेले रुचाएका छैनन् । एमाले र कांग्रेसको संसदमा मत जोड्दा ती दुई पार्टीको दुई तिहाई मत पुग्न केही मत चाहिन्छ । संविधान संशोधन गर्न चाहिने थप मत उनीहरुले अन्य पार्टीसित तानतुन गरेर पु¥याउँदछन् जस्तो लाग्छ ।
एमालेले धेरै पहिलेदेखि धेरै पार्टी चाहिँदैन दुई दलीय व्यवस्था चाहिन्छ भन्दै आएको हो । रास्वपा जस्ता केही नयाँ पार्टीहरु नेपाली कांग्रेस जस्तो उदार पूँजीवादी लोकतान्त्रिक पार्टीको विकल्पमा आएका हुन् । त्यस्ता पार्टीहरु उभो लाग्नु भनेको ने.का. लाई घाटा हुनु हो । संविधान संशोधन गरेर त्यस्ता नयाँ पार्टीलाई तह लाउने उपायको खोजीमा कांग्रेस छ ।
पहिले अमेरिकाले नेपाल नीति बनाउँदा भारतको आँखाले हेर्ने गर्दथ्यो । अहिले स्वयम् कै आँखाबाट नेपाल हेर्ने र नेपाल नीति बनाउने गरेको छ । गत चुनावमा अमेरिकीहरु नेपालको आन्तरिक व्यवस्थापनमा हात हालेको देखिएको थियो । नेपालमा एम.सी.सी प्रोजेक्ट भित्रिएको छ ।त्यस मार्फत अमेरिकनहरु नेपालमा आफूलाई बलियो बनाउन खोजिरहेका छन् । अहिलेको सरकार प्रो–अमेरिकन सरकार हो।
अहिलेको सरकार गठन हुनुमा पश्चिमाहरुको विशेष हात छ भन्ने लाग्छ । दक्षिण एशियाको राजनीतिमा मोदी निकै कमजोर हुँदै गएका छन् । भारतमा नै गत चुनावमा उनको स्थिति धेरै खस्कियो । जेन तेन प्रधानमन्त्री बन्न सफल भए । पाकिस्तान सित भारतको कहिल्यै राम्रो सम्बन्ध भएन । बंगलादेशमा उनका समर्थक प्रधानमन्त्री शेख हसिनालाई देशबाट नै लखेटिइन् । श्रीलंकामा भर्खरैको राष्ट्रपति चुनावमा भारतीय पक्षको हार भयो । माल्दिभ्समा पनि भारतको प्रभाव कमजोर भयो । नेपालमा भारतीय पक्षको भन्दा पनि अमेरिकी लवीको सरकार बनेको छ । यस हिसाबले हेर्दा नेपालमा संविधान भाजपा वा मोदीले सोचे अनुसार हुने सम्भावना कम छ । नेपालका कांग्रेस जस्ता पार्टीको परम्परागत सम्बन्ध कांग्रेससित हो । भाजपासित होइन । सरकारी सम्बन्धका हिसाबले उनीहरु बीचमा सम्बन्ध भएपनि खास सम्बन्ध उनीहरुको कांग्रेस सित नै हो । शुरुमा ओली चुच्चे नक्सा जारी गर्ने पक्षमा थिएनन् हामीले ओलीलाई भेट्दा खै यो सम्भव छ र भनेका थिए । तर नेपालमा यस्तो जबरजस्त जनमत र जनदवाब श्रृजना भयो कि चुच्चे नक्सा संसदबाट पारित नगरी नहुने स्थिति भयो । भारतले त्यस भन्दा पहिले नै कालापानी क्षेत्रको भूभाग लाई आफ्नो नक्सामा पारेको थियो । यो मुद्दाका कारण ओली र मोदीका बीचमा सम्बन्ध सुमधुर छैन । ओलीले उता अमेरिकासित सम्बन्ध बढाइरहेका छन् । कांग्रेस भित्र पनि अमेरिकी लवीका मान्छेहरु भरिँदै गएका छन् । यी सबै राजनीतिक परिस्थितिलाई हेर्दा संविधान संशोधन गर्दा सिधै हिन्दु र संवैधानिक राजतन्त्रको स्थापना गर्न गाह्रो छ । त्यसो गर्न कसैले खोज्छ भने हामीले डटेर विरोध गर्न जरुरी छ । नेपाली राजनीतिमा अमेरिका हावी हुँदै गएकाले कांग्रेस भित्र शेखर कोइरालामाथि आउन मुश्किल छ ।
३. हैन ,संविधान संशोधन गर्न त निकै कठिन छैन र ?माओवादी केन्द्रलाई जातीय पहिचानको संघीयता, समानुपातिक निर्वाचन प्रणाली चाहिएको छ, कांग्रेस र एमाले त्यो मान्ने वाला छैनन्,राप्रपालाई राजतन्त्र र हिन्दु राज्य पुर्नस्थापना गर्नु परेको छ । अरु पार्टीले त्यो मान्ने पक्षमा छैनन् ।कांग्रेस ,एमाले निर्वाचन प्रणालीमा परिवर्तन गरी साना पार्टीलाई अगाडि आउन नदिने गरी संविधान संशोधन गर्न खोजेका छन् । अनि कसरी संविधान संशोधन हुन्छ ?
– यी नेपालका संसदवादी पार्टीहरु कुनै पनि आफ्नो इथिक्समा चल्ने पार्टी नै होईनन् । यी सबै भोट व्यापारी हुन् । राप्रपालाई तपाइँले राजावादी पार्टी भन्नु भएको छ भने त्यो राजावादी पार्टी नै होइन । राजतन्त्रका पक्षधरहरुको मत बटुलेर सत्ता सुविधालिने भोट व्यापारी हो । उपेन्द्र यादव र अशोक राई मधेश र जनजाति अधिकारका पक्षपाति होइनन् । मधेशी र जनजातीलाई ठगेर सत्ता स्वार्थ लिने वाला हुन् । कांग्रेस ,एमाले लोकतन्त्र र संसदवादको नाममा जनता ठग्ने भोट व्यापारी नै हुन् । माओवादी केन्द्र र प्रचण्डले कम्युनिष्ट जनमतको दूरोपयोग गरिरहेका छन् । सबैले संविधानलाई स्वीकार गर्छु भनेर सहमति जनाए कै छन् । यसो विरोध गरेर आफ्नो कुरा राखे जस्तो गर्छन् । संविधानमा संशोधन गरिएमा बहुमतलाई मान्नै प¥यो भन्छन् । सत्ता र भत्तामा रमाइरहन्छन् । विदेशी शक्तिकेन्द्रहरुले यहाँ के गर्न खोजिरहेका छन् । त्यसमा पनि कतिपय कुरा भर पर्दछ । यी संसदवादी दलहरुले देश र जनताका कुरा त केवल भन्नकालागि भन्ने हुन् यी सबै विदेशीका दलाल हुन् ।
४. नेपालको कम्युनिष्ट आन्दोलन किन कमजोर भयो ?
– इतिहासलाई मूल्याङकन गर्दा के देखिन्छ भने झापा विद्रोह हुँदै माले , एमालेको एउटा धार र न्यूक्लियस हुँदै चौथो महाधिवेशन , मशाल , मसाल ,माओवादी धार यी दुई वटा धार नेपालका दुई वटा मुख्य धार हुन् । २०४७ मा माक्र्सवादी र मालेबीच एकता भएर बनेको नेकपा एमालेमा झापाकालीन बहुमत पक्ष नै त्यो पार्टीमा हावी रह्यो। र यता न्यूक्लियसदेखि चौथो महाधिवेशन धार हुँदै माओवादी सम्म आएको धारमा बहुमत पक्षले नै नेतृत्व गर्दै आएको छ । मैले भन्न खोजेको के हो भने २०४० मा मोहन विक्रम र लामा विभाजनहुँदा मशालतिरै बहुमत भयो ।२०४२ मा मशाल फुट्दा मोहन वैद्य तिर बहुमत रह्यो । २०४७ मा एकताकेन्द्र बनेपछि त्यो पार्टी २०५१ मा विभाजन हुँदा माओवादी तिर नै बहुमत रह्यो । देशको कम्युनिष्ट आन्दोलनको मुख्य दुईवटा धारका बहुमत पक्ष दक्षिणपन्थी अवसरवादमा पतन भएपछि स्वभाविकरुपले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर हुन पुग्यो । एमालेले बहुदलीय जनवादको कार्यक्रम अपनाएर संसदीय विसर्जनवादमा पतन भया े। माओवादी केन्द्र प्रचण्डपथ हुँदै शान्ति सम्झौतामा आए पछि संसदीय विसर्जनवादतिर लाग्यो अर्कोतिर एउटा भनाई छ नि “जहाँ पातलो छ त्यही छिद्र”भने जस्तै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा पनि कैयौं कमजोरीहरु रहे । पटक पटक विभाजित भए । क्रान्तिकारी धार कमजोर भएपनि प्रतिक्रियावादी र अवसरवादीहरुले त्यसमाथि आक्रमण गर्न सजिलो भयो । यी विभिन्न कारणले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भएको हो ।
५. तपाईलाई एउटा आरोप आउने गरेको छ कि विगतमा तपाइँ एमालेमा बहुदलीय जनवादलाई बोकेर हिँड्नु भयो । अहिले क्रान्तिकारी भएर हिड्नु हुन्छ ?
– पार्टीमा लागेपछि पार्टीको निर्णय मान्नु प¥यो । म एमालेमा छँदासम्म पार्टी निर्णयलाई मान्ने एउटा कुरा भयो । तर मैले पार्टीभित्र कहिलै बहुदलीय जनवादलाई स्वीकार गरिन । बहुदलीय जनवादको पक्षमा कहिलै लेख पनि लेखिन मलार्ई अहिले क्रान्तिकारी भएर हिँड्छ ,विगतमा बहुदलीय जनवाद बोकेर हिँड्थ्यो भन्नु म माथि पूर्वाग्रह साँध्नु हो । नेकपा (एमाले ) को २०४९ को पाँचाँै महाधिवेशन भन्दा पहिलेको केन्द्रीय कमिटीको बैठक र राष्ट्रिय परिषदको बैठकमा“बहुदलीय जनवाद भनेको पूँजीवादसितको आत्मसमर्पण हो ।” भनेर नोट अफ डिसेन्ट लेखेको थिएँ । एमाले कार्यालयमा माइन्यूट खोजे त्यो प्रमाण अहिले पनि भेट्न सकिएला । २०४९ को पाँचौं महाधिवेशनमा मैले सि.पि मैनालीको परिमार्जित नौलो जनवादको पक्षमा मतदान गरेकै हुँ ।
एमाले विभाजन भएपछि परिमार्जित नौलो जनवाद भन्नु कमजोरी भयो । नौलो जनवाद नै भन्नु पथ्र्यो भन्ने हाम्रो समीक्षा भयो । राष्ट्रघाती महाकाली सन्धिका कारण नेकपा ( मा.ले) बनाएपछि वामदेव गौतमले बहुदलीय जनवादको वकालत गर्न थालेपछि फेरि विभाजित भयो र वामदेव एमाले मै फर्किए । म संधै नौलो जनवादको पक्षमा छु ।
६. महाकाली सन्धिमा एमालेभित्र कति ठूलो षडयन्त्र गरेर बहुमत पु¥याएका हुन् भन्ने कुराको प्रत्यक्ष साक्षी तपाई पनि हो नि ?
– हो । एमालेको ६८ वटा जिल्ला पार्टीले महाकाली सन्धिको विपक्षमा मत जाहेर गरेका थिए । त्यतिबेला ०५२–०५३ तिर नेकपा एमालेका महासचिव माधव नेपाल थिए । माधव नेपाल र के.पी. ओली पार्टी भित्रका सत्ता पक्ष र विपक्ष जस्ता थिए । तर राष्ट्रघाती महाकाली सन्धि पारित गर्न सम्पूर्ण षडयन्त्र गर्न दुवै जना मिले । पार्टी अध्यक्ष मनमोहन अधिकारी महाकाली सन्धिका विपक्षमा थिए । उनलाई अस्पतालमा लगेर सुताईयो। अन्तिममा मतदानका बेला अष्टलक्ष्मी शाक्य र राजेन्द्र श्रेष्ठ तटस्थ बसेका थिए । ती दुई जना तटस्थ नबसी महाकाली सन्धिका विपक्षमा उभिन सकेका भए पार्टी भित्र महाकाली सन्धि संसदबाट पारित गर्नु पर्दछ भन्ने प्रस्तावको पक्षमा माधव र के.पी.ले बहुमत पु¥याउन सक्ने थिएनन् । त्यसकारण अष्टलक्ष्मी र राजेन्द्रले तटस्थ बसेर राष्ट्रघातलाई सहयोग पु¥याएका हुन् भन्ने मेरो विचार छ । पार्टी केन्द्रमा वैकल्पिक सदस्य हिरण्यलाल श्रेष्ठ थिए । उनी महाकाली सन्धिको विपक्षमा थिए । देवराज घिमिरे (अहिले प्र्रतिनिधि सभाका सभामुख) पनि वैकल्पिक सदस्य थिए । उनी ओलीको कुरा मान्ने र महाकाली सन्धिका पक्षपाति थिए । हिरण्यलाल श्रेष्ठ र देवराज घिमिरे मध्ये वैकल्पिक सदस्यमा सिनियर हिरण्यलाल थिए । सिनियर वैकल्पिक सदस्य श्रेष्ठलाई मतदान गर्ने अधिकार नदिएर जुनियर सदस्य देवराज घिमिरेलाई मतदान गर्ने अधिकार दिई पार्टी केन्द्रमा राष्ट्रघाती महाकाली सन्धिको पक्षमा बहुमत पु¥याइएको थियो । यता पार्टीमा बहुमत पु¥याएपछि रातारात संसदबाट राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरिएको थियो । एमालेको सांसद हिरण्यलाल श्रेष्ठ र पद्मरत्न तुलाधरले फ्लोर क्रस गरेरै सन्धिका विपक्षीमा मतदान गरेका थिए । त्यसमा नेपाल मजदुर किसान पार्टी र मसालका सांसद समेत ८ जनाले राष्ट्रघाती महाकाली सन्धिका विपक्षमा मतदान गरेका थिए ।१०÷१०लाखमा सांसद किनबेच देखि अनेकौं षडयन्त्र गरेर सांसदहरुलाई राष्ट्रघातमा सामेल गरिएको थियो।
७. तपाई गोर्खा जिल्लाबाटै राजनीति शुरु गरेकाले संक्षिप्तमा त्यहाँको कम्युनिष्ट आन्दोलनको बारेमा जानकारी गराउनु हुन अनुरोध छ ।
–२००८ सालमा नेकपामाथि प्रतिवन्ध लागेपछि पुष्पलाल जीहरु गोर्खा जानु भयो। त्यति बेलै बैकुण्ठ कट्टेलको नेतृत्वमा गोर्खा जिल्लामा ४ सदस्यीय पार्टी कमिटी स्थापना भएको थियो ।पार्टीको दोस्रो महाधिवेशन (२०१४) र तेस्रो महाधिवेशन (२०१९)मा गोर्खाबाट हिक्मतसिंह भण्डारी लगायत उपस्थित हुनुहुन्थ्यो । तेस्रो महाधिवेशन पछि पार्टी लथालिङग भएका बेला न्यूक्लियस गठन भयो । मोहनजीले लेखेको “गद्दार पुष्पलाल” बोकेर वाचस्पति देवकोटा जानुभयो । हामी वाचस्पति देवकोटासित सहमत हुन सकिएन । त्यसरी हामी छुट्टियौं । गोर्खा जिल्लामा चौथो महाधिवेशन धार स्थापना गर्नमा वाचस्पतिजीको महत्वपूर्ण योगदान छ ।
८. विप्लवलाई प्रचण्डतिर नलाग्न धेरै कोशिस गर्नु भयो । तपाई असफल हुनु भयो ?
– प्रचण्डको विसर्जनवादमा नलाग्नुस भनेर मैले धेरै जोड दिए तर मानेन् । विप्लवमा केही उर्जाशील युवा थिए । केही गर्छन कि भन्ने आशा थियो मेरो प्रयत्न काम लागेन ।
९. नेकपा पार्टी नामको विवादमा मुद्दा जित्नु भएको थियो ।
– मलाई मुद्दा फिर्ता गर्न भनेर झलनाथ खनाल ,सुरेन्द्र पाण्डे ,देव गुरुङ लगायतले अनेकौं कुरा गरे । मैले मानेन । मुद्दा जितियो ।अहिले लोकनारायणजी र हाम्रो बीचमा आधिकारिक नेकपाबारे विवाद छ ।
१०. नेकपा (क्रान्तिकारी माओवादी ),नेकपा (मशाल) र नेकपा (बहुमत)का बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन भएकोबारे तपाईको धारणा के छ ?
– यो एकतालाई मैले सकरात्मक रुपमा लिएको छु । क्रान्तिकारी शक्तिहरुकोबीचमा एकता जरुरी छ ।एकता भएको केही समय पछि बास्तोलाजी पार्टीबाट निस्कनु भएछ । एकताले मूर्तरुप नलिँदै एकता प्रक्रिया पूरा नहुँदै पार्टीबाट निस्कनु भएछ । उहाँको त्यो तरिका अत्यन्त अपरिपक्व लाग्यो ।
११. नेकपा र अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका बीचमा एकताहुने टुङगो लाग्यो भन्ने सुनियो । सत्य हो?
– तपाइँले सही सुन्नु भयो । २०८१ आश्विन १६ गते हामीले त्यो सहमति ग¥यौं । नेकपाका तर्फबाट राजेश वान्तवा , कृष्णहरी भट्ट र डा. भगवानचन्द्र ज्ञवाली तथा अ.ने.क.पा.ए.सं.स. को तर्फबाट पुष्कर गौतम ,लक्ष्मण उप्रेति र एकलाल श्रेष्ठ गरी ६ जनाको एकता प्रक्रियालाई पूरा गर्न प्रस्ताव लिएर आउन कार्यदल बनाएका छौं । उहाँहरुले गृहकार्य गरेर प्रस्ताव लिएर आउनु हुन्छ ।अनि हामी एकतालाई सम्पन्न गर्दछौं ।
१२.रास्वपाका अध्यक्ष रविको गिरफ्तारीलाई केही भन्नु छ ?
–मैले पहिलेदेखि नै उनलाई सिँगारिएको चटके भनेको थिएँ ।जसले उनलाई सिँगारेको थियो उसले यिनलाई छाडेर अर्को पात्र छानी सक्यो । यिनले यो कुरा थाहा पाएका छैनन् । यिनको पार्टीले गरेको आन्दोलनको खास अर्थ छैन। यिनको बारे धेरै बोल्न जरुरी छैन ।
१३. क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सित पार्टी एकताबारे छलफल भएको थियो त्यसबारे के हो?
–हामीले निकै नै छलफल गरियो । माओवादप्रति म अझै स्पष्ट छैन । पार्टी एकता नभए पनि हामीले सहकार्य ,कार्यगत एकतालाई अगाडि बढाउन पर्दछ । क्रान्तिकारी शक्तिहरु बीचको मित्रवत सम्बन्धलाई बलियो बनाउनु पर्दछ ।
१४. अन्त्यमा केही छ कि ?
– नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन विसर्जनवादका विरुद्धमा दह्रोसँग खुट्टा टेकेर प्रतिरोध गर्न जरुरी छ । क्रान्तिकारी शक्तिहरुको एकतालाई बलियो बनाएर जान जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित