हामी स्ववियुलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्न चाहान्छौं

– मिलन राई, केन्द्रीय अध्यक्ष, अखिल (क्रान्तिकारी)-

० तपाईले नेतृत्व गरेको अखिल (क्रान्तिकारी) लाई विद्यार्थीहरुको बीचमा परिचय गराउनु पर्दा कसरी परिचय गराउने गर्नु भएको छ ?

–हाम्रो संगठन अखिल(क्रान्तिकारी) सङ्घर्षको आँधीबेहरीमा जन्मिएको वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीको साझा र नेतृत्वदायी संगठन हो । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हो । शिक्षामा आमूल रुपान्तरणको लागि राजनीतिक सत्तामा समग्र रुपान्तरण हुनुपर्दछ भन्ने स्पष्ट विचार दृष्टिकोण भएको संगठन हो । नेपालको हरेक आन्दोलन र क्रान्तिको अग्रदस्ता संगठन हो । यो संगठनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सम्बद्र्धन र शैक्षिक अधिकारका लागि अनवरतरुपमा संघर्ष गररिहेको छ । राष्ट्र र जनताको पक्षमा अनेकौं चुनौती र जोखिमलाई स्वीकार गर्दै दमनसामु नझुक्ने स्वार्थमा नबिक्ने र सम्झौताहीन संघर्ष गर्ने प्रतिपक्षी विद्यार्थी आन्दोलनको नेता संगठन हाम्रो संगठन अखिल (क्रान्तिकारी) को वास्तविक परिचय हो

० २०७९ मा तपाईको सङ्गठनमा विभाजन आयो । विभाजनलाई पुष्टि गर्ने आधारहरु के छन् ?

–संगठनमा विभाजन भन्दा पनि संगठनभित्रका गलत प्रवृत्ति विरुद्धको संघर्ष पछि पुनर्गठन भन्नु उपयुक्त ठान्छु । समाजमा चल्ने वर्गसंघर्ष र पार्टीभित्र चल्ने विचारधारात्मक संघर्षले विद्यार्थी आन्दोलन र संगठनमा स्वभाविक रुपमा प्रभावित गर्दछ । तत्कालीन समयमा पार्टी नेतृत्व संसदीय संशोधनवाद र निम्न पुँजीवादी रोमाञ्चकतावादमा फस्न पुगेपछि क्रान्तिका लागि क्रान्तिकारी पार्टी बचाउन विद्रोह अनिवार्य बन्न गयो । संगठनको एउटा हिस्सा अनुहारमा क्रान्ति खोज्ने, कुनै व्यक्ति बिना क्रान्ति नहुने माक्र्सवाद विरोधी र दास मनोवृत्तिबाट ग्रसित भएर संसदीय संशोधनवादको पिछलग्गु बन्न गएपछि क्रान्तिकारी विद्यार्थी संगठनको पुनर्गठन अनिवार्य बन्यो ।

० नेपालको वर्तमान शैक्षिक अवस्थालाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

–नेपालको शैक्षिक अवस्था निजीकरण, व्यापारीकरण र वैदेशिक हस्तक्षेपले आक्रान्त छ । शिक्षा आम जनताको पहुँचबाट टाढा हुँदै गइरहेको छ । शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने भट्टीमा परिणत भएको छ । सार्वजनिक शिक्षा चरम संकटमा छ भने निजी शिक्षा चरम सीमामा विस्तारित भएको छ । राज्य शिक्षाको दायित्वबाट पन्छिरहेको छ । नेपालको शिक्षाले प्रमाणपत्र दिने बाहेक सीपविहीन, उद्देश्यविहीन, असक्षम र दृष्टिकोणविहीन जनशक्ति उत्पादन गरिरहेको छ । नेपालको शिक्षा प्रतिभा र पुँजी पलायन गराउने माध्यम बनिरहेको छ । वर्तमान शिक्षामा दुइखाले शिक्षानीतिले विभेद र विषमताको गहिरो खाडल खनिरहेको छ ।

० शिक्षा क्षेत्रमा नवउदारवादले पारेको प्रभाव के हो ? यसका विरुद्ध क्रान्तिकारी विद्यार्थीहरुले कसरी संघर्ष गर्नु पर्छ ?

–नवउदारवादको प्रभाव नेपालको समग्र राजनीतिक–आर्थिक क्षेत्रमा पर्नुका साथै शिक्षा क्षेत्रमा पनि परिरहेको छ । शिक्षा क्षेत्रमा परेको नवउदारवादको सबैभन्दा नकारात्मक प्रभाव भनेको शिक्षामा निजीकरण, व्यापारीकरण र सर्त सहितको वैदेशिक लगानी हो । जसले गर्दा आमजनताको पहुँचबाट शिक्षा बाहिर भइरहेको छ । सर्तसहितको विदेशी लगानीले मुलुक र जनताको आवश्यकतामा भन्दा पनि विदेशीहरुको इच्छा र अनुकूलतामा शिक्षा नीति, पाठ्यक्रम बन्ने र लागू हुने भइरहेको छ । नेपाली भाषा र मौलिकतामाथि अतिक्रमण भएको छ । भारतीय पाठ्यक्रम पढाउने सिबिइएसई बोर्डद्वारा सञ्चालित विद्यालयले नेपालको राष्ट्रियता माथि नै ठाडो चुनौती दिइरहेको छ । नवउदारवादको प्रभाव स्वरुप मौलिक अधिकारको विषय नभएर व्यापारिक वस्तु बन्न पुगेको छ ।

शिक्षामा नवउदारवादको प्रभाव अन्त्य गर्न राजनीतिक सत्तामा नवउदारवादको अन्त्य गर्न जरुरी छ । राजनीतिक सत्तालाई नवउदारवादबाट मुक्त गर्न निर्णायक राजनीतिक क्रान्ति जरुरी हुन्छ तसर्थ हामी युवा विद्यार्थीको दायित्व भनेको शिक्षामा नवउदारवादी प्रभाव होस् या आमूल रुपान्तरणको लागि राजनीतिक क्रान्तिमा अग्रदस्ताको रुपमा संघर्ष गर्नु हो । शिक्षामा आंशिक सुधार र नवउदारवादका विरुद्ध निरन्तर संघर्ष र खबरदारी पनि गरिरहन जरुरी छ ।

० स्ववियु निर्वाचन नजिकिँदैछ । स्ववियु निर्वाचन सम्बन्धी के कस्ता कार्यक्रम तय गर्नु भएकोछ ?

–स्ववियु विद्यार्थी आन्दोलनको बलिदानी संघर्षबाट स्थापित गौरवशाली साझा संस्था हो । स्ववियुको गरिमाको रक्षा गर्नु, समयसापेक्ष रुपान्तरण गर्दै स्ववियुको महत्वलाई उच्च बनाउनु हाम्रो दायित्व हो । लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसकिरहेको अवस्थामा हाम्रो संगठनको आन्दोलन र दबाबका कारण त्रिभुवन विश्वविद्यालयमा चैत–५, मध्यपश्चिम विश्वविद्यालयमा चैत–३ र सुदुरपश्चिम विश्वविद्यालयमा चैत–८ मा स्ववियुको निर्वाचन हुन गइरहेको छ ।

स्ववियु निर्वाचन हुन गइरहेको सुखद परिवेशमा हाम्रो संगठन सम्पूर्ण रुपमा स्ववियु निर्वाचनमा होमिएको छ । स्ववियु निर्वाचनका लागि हामीले देशैभरि प्रदेश स्तरमा स्ववियु विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छौँ । स्ववियु परिचालन समिति, घोषणापत्र तयारी समति, प्रचारप्रसार समिति र आर्थिक परिचालन समिति निर्माण गरि स्ववियु निर्वाचनमा व्यापक रुपमा लागरहेका छौँ । यो स्ववियु निर्वाचनमा हाम्रो संगठन सहित क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) र नेकपा (मशाल) निकट अखिल (छैटौं) संयुक्त प्यानल बनाई निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौँ । साथै संयुक्तरूपमा स्ववियु परिचालन समिति, घोषणापत्र तयारी समति,प्रचारप्रसार समिति र आर्थिक परिचालन समिति निर्माण गरी स्ववियु निर्वाचनमा व्यापक रुपमा लागिरहेका छौँ ।

० स्ववियु निर्वाचनका सन्दर्भमा के कस्ता एजेण्डाहरु उठाउनु भएको छ ?

–स्ववियुलाई मिनि संसदको रुपमा व्याख्या गर्ने र सत्ताको रुपमा बुझ्ने र दुरुपयोग गर्ने काम सत्ताधारी संसदवादी विद्यार्थी संगठनले गरिरहेका छन् । साथै स्ववियुलाई एकाधिकारको साधन र अमुक संगठनको अखडा बनाइरहेका छन् । हामी स्ववियुलाई सबै विद्यार्थीले अपनत्व महशुस गर्न सक्ने साझा, पारदर्शी र मर्यादित बनाउन चाहान्छौं र संघर्षको मोर्चाका रुपमा उपयोग गर्न चाहान्छौं । विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डाको अन्त्य, शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य, शिक्षामा सर्त सहितको विदेशी लगानीलाई निषेध, विश्वविद्यालय र समग्र शिक्षामा सुधार र विकासका विषयहरु, प्रतिभा र पुँजी पलायनका विषयहरु, भ्रष्टाचार, बेथिति लगायतका एजेन्डाहरु प्राथमिकताका साथ उठाएका छौँ ।

० हाँक साप्ताहिक मार्फत थप केही भन्नु छ कि ?

–हरेक विद्यार्थीले यो स्ववियु निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्नुपर्दछ । भोट बेच्ने कुरा वर्तमान र भविष्यको लागि हानिकारक छ । हामीलाई विश्वास छ देशभर हाम्रो संयुक्त प्यानललाई विद्यार्थीले अत्यधिक मत दिनुहनेछ । हामीले उठाएका एजेन्डाहरु चुनावी विषय होइनन् हाम्रो कर्तव्यको विषय हो । हामी हाम्रो कर्तव्यप्रति जिम्मेवार र प्रतिबद्ध छौँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित