नवराज सुवेदी प्राध्यापन, वकालत, राजनीतिक कर्म हुँदै अहिले कुटनैतिक भूमिकामा रहेको व्यक्तित्व हुन् । २०१९ साल वैशाख १० गते बुबा गणपति सुवेदी र आमा सरस्वती सुवेदीको कोखमा जन्मिएका सुवेदीको जन्मस्थान विजुवार–टारी, प्यूठान हो । बुबा आमाका दुई छोरा र चार छोरी मध्ये उनी कान्छा छोरा हुन् । केही वर्ष पहिले उनका दाजुको दुर्घटनामा मृत्यु भएको थियो । २०४४ मा उनले मन्जु पौडेलसित विवाह गरेका थिए । उनका दुई छोरीहरु छन् ।
सुवेदीले मुक्ति मावि रातामाटा प्यूठानबाट एसएलसी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानुनमा इन्टरमिडियट, नेपाल ल क्याम्पस काठमाडांैबाट डिप्लोमा र दिल्ली विश्व विद्यालयबाट कम्पेरोटिभ ल मा मास्टरसम्मको अध्ययन पूरा गरेका छन् । यसपटक हाँक साप्ताहिकले सुवेदीसित नेपाल–साउदी अरब सम्बन्ध र कुटनैतिक मामलाबारे कुराकानी गरेको छ । प्रस्तुत छ सुवेदीसितको कुराकानी :
० साउदी अरवको लागि नेपाली राजदूत नियुक्त हुनु भएको पनि एक वर्ष भन्दा बढी समय भयो। कसरी वितिरहेको छ यहाँको साउदी बसाइँ ?
– मैले राजदूतको जिम्मेवारी सम्हालेको सात महिना पूरा भएको छ । साउदीको दूताबासको मेरो नेतृत्वको टिमले सामुहिकतामा काम गरिरहेको छ । नेपाली समुदायको ठूलो संख्यामा उपस्थिति रहेकोले यो दूताबास कामका चापका हिसाबले ब्यस्त दुताबास मध्येमा पर्छ ।
० यहाँले जीवनमा प्राध्यापन र वकालत पेशाको अनुभव लिनु भयो। राजनीतिकर्मी त्यसमा पनि कम्युनिस्ट देखि समाजवादी पार्टी सम्मको अनुभव लिनु भयो। दुई कार्यकाल सांसदको अनुभव पनि लिनु भयो । अहिले कुटनैतिक क्षेत्रको जिम्मामा हुनुहुन्छ । अन्य पेशा र जिम्मेवारी भन्दा यो कुटनैतिक क्षेत्रको जिम्मेवारीमा के फरक रहेछ ?
–हो, मैले विगतमा विभिन्न कालखण्डमा विभिन्न क्षेत्रहरुमा रही जिम्मेबारी निर्वाह गरेको थिएँ, अहिले राजदुतको जिम्मेवारी निर्वाह गर्दैछु । कुटनीति राष्ट्र, समूह वा व्यक्ति बीच शान्तिपूर्ण सम्बन्ध कायम गर्ने कला वा विज्ञान हो । तौली–तौलीकन तर पूरै आम विश्वास सहित राजदुतले आफ्नो मुलुकको कुरा गन्तव्य मुलुकमा पुराउने काम गर्दछ, र गन्तव्य मुलुकको कुरा आफ्नो देशमा पु¥याउने काम गर्दछ । शिष्टाचार आदिको पनि आफ्नै काइदा हुन्छ । आजको कुटनीति बहुआयामिक रहेको हुनाले राजनीतिक बाहेक आर्थिक, सांस्कृतिक, वाणिज्यगत, पर्यटकीय र श्रम सम्बन्ध सबैमा जानकार भएरै बस्नु पर्छ । निरन्तर अध्ययन पनि गर्नुपर्छ । राष्ट्रकै प्रतिनिधित्व गरेर बोल्नु पर्ने भएकोले धेरै सावधानीपूर्वक प्रस्तुत हुनुपर्दछ । राजनीतिमा छलफल र बोलाइले कहिलेकाही सीमा पनि नाघ्ने गर्दछ । त्यति मात्रै होइन, राजनीतिले कहिले काहीँ व्यक्ति/समुहलाई मुठभेड सम्म पु¥याउँछ तर कुटनीतिमा मतभेद भएछन् भने पनि शिष्ट र शान्तिपूर्वक समाधान खोज्ने गरी वार्ता गरिन्छ । कहिँ मतभेद देखिएछन् भने पनि फेरि भेट भएर समाधान खोज्ने संकल्प सहित उठिन्छ । त्यसैले कुटनीति एउटा भिन्दै र विशिष्ट कला हो ।
० साउदी अरवमा कार्यरत एक राजदूतको हैसियतले साउदी अरव बारे हाँक साप्ताहिकका पाठकहरुलाई परिचय गराउनु पर्दा के भन्नु हुन्छ ? इतिहास, संस्कृति, सामाजिक अबस्था, भूगोल आदि बारे ?
–साउदी अरब मध्यपूर्वको एउटा ठूलो मुलुक हो । मध्यपूर्वको शक्ति राष्ट्र पनि हो । यो मुलुक तीब्ररुपले आर्थिक प्रगतिको पथमा लम्केको छ । साउदी अरब अहिले भिजन–२०३० को महत्वपूर्ण योजना र रणनीतिक लक्ष्य पुरा गर्न प्रतिबद्ध भएर लागेको छ । यहाँ आफ्नै प्रकारको परिवेश रहेको छ, जनजीवन एकदमै शान्तिपूर्ण छ, तर राज्य नागरिकको चाहना बमोजिम हिड्ने तत्परता पनि देखाउँदै छ । प्राकृतिक श्रोत (तेल, खनिज र सामुन्द्रिक सम्पदा) को राम्रो सदुपयोग गरिरहेको छ । सांस्कृतिक रुपले साउदी सुन्नी मुश्लिम बाहुल्य देश हो ।
० साउदी अरवको विदेश सम्बन्धको स्थिति के छ?
–साउदी अरबको निकै ठूलो वैदेशिक सम्बन्धको संजाल छ । ११४ भन्दा बढी देशका दुताबासहरु रियादमा छन् । अन्य विभिन्न राजधानीबाट साउदी हेर्ने थुप्रै देशका सह–सम्बन्धका मिसनहरु पनि छन् । यस बाहेक जेद्दामा ५२ मुलुकका वाणिज्य दुताबास छन् । साउदीले सबैसँग एकसाथ राम्रो सम्बन्ध कायम गरिरहेको छ । विगतको अमेरिका केन्द्रित सम्बन्ध अहिले रुस, चीनसँग समेत सुमधुर देखिदै छ । चीनको मध्यस्थतामा हालै इरानसँग बन्द भएको कुटनीतिक सम्बन्ध पुनः चालु गरिदै छ । बन्द गरिएका दुताबासहरु दुई महिनाभित्र सुचारु गर्ने संयुक्त प्रतिबद्धता दुबैले हालै व्यक्त गरेका छन् । साउदी अरब रुस – युक्रेन युद्धमा तटस्थ रहेको छ तर शान्तिपूर्ण छलफल र समाधानमा जोड दिएको छ । मानवीय सहायता भने युक्रेनीहरुलाई दिइरहेको छ । त्यति मात्र होइन संसारका विपदमा परेका मुलुकहरु–टर्की, पाकिस्तान, सिरिया, सोमालिया, यमन लगायत सबैलाई राहत– उद्दारका सामग्री मनग्य उपलब्ध गराउँदै आएको छ ।
० साउदी अरवको अन्य छिमेकी मुलुकहरू सितको सम्बन्धको अबस्था केछ?
–साउदी अरब मध्यपूर्वको एउटा नेतृत्वकर्ता राज्य हो । गल्फ कोअपरेसन काउन्सिलमा यसको भूमिका अहम् रुपमा रहेको छ । यूएई, बहराइन, कतार, कुवेत र ओमान सबैसँग राम्रो सम्बन्ध छ । यस बाहेक जोर्डन र उत्तर अफ्रिकी मुलुकहरुसँग पनि साउदीको हार्दिक सम्बन्ध देखिन्छ ।
० तपाईं साउदीको राजदूत भएर गए पछि नेपाल – साउदी अरव सम्बन्धमा केही काम गर्नु भयो कि ? नेपाली दूतावासको तर्फबाट नेपालीहरुका निम्ति केही उल्लेखनीय काम सम्भब भयो कि ? तपाईको आगामी योजना के छ ?
–नेपाल–साउदी अरब कुटनीतिक सम्बन्ध को ४५ वर्ष पुरा भएको छ । यो सम्बन्ध मित्रता, सद्भाव र परस्परको समझ्दारी र विश्वासमा आधारित छ । दुवै देशले संयुक्त राष्ट्र संघको बडापत्र प्रति प्रतिबद्ध रहँदै संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा संगै काम गरिराखेका छौ ।
मैले कार्यभार सम्हाले पछि साउदी सरकारका महामहिम उप–विदेशमन्त्रीका अतिरिक्त कन्सुलर सेवा विभागका महामहिम महा–निर्देशक, एसियाली देशहरु हेर्ने विभागका महामहिम महानिर्देशक र आध्यागमन तथा पासपोर्ट विभागका महामहिम महानिर्देशकहरुसँग भेट गरिसकेको छु । खासगरी पछिल्ला तीन महामहिम अधिकारीहरु सँग नेपाल –साउदी श्रम सम्बन्धमा देखा परेका समस्या समाधान गर्नेबारे बिस्तारमा छलफल भएको थियो । आफ्नो तर्फबाट सबै सहयोग गर्ने आश्वासन उहाँहरुबाट प्राप्त भएको छ । दुवै देशका बीच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइ अन्तिम रुपका लागि तयारी भएको अवस्था छ । त्यसैगरी साउदीका रोजगारदाता केही ठूला कम्पनीका सीईओहरुलाई भेटेर नेपाली श्रमिकहरुलाई न्यूनतम सेवा, सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहन अनुरोध गरेको छु । यस बाहेक एन.आर.एन.ए. र नेपालका सामुदायिक समूहसँग पनि भेटेर निरन्तर सम्वाद, छलफल भैरहेको छ ।
० नेपाल र साउदी अरवको कुटनैतिक सम्बन्ध सन १९७७ मा स्थापना भए यताको कुटनैतिक सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?
– माथि पनि उल्लेख गरिसकेको छु । हाम्रो दुवै देश बीचको सम्बन्ध अत्यन्तै सौहार्दपूर्ण छ । तर हाम्रो सम्बन्धलाई यतिबेला विविध क्षेत्रहरुमा विस्तारित गर्नु पर्ने टड्कारो खाँचो छ । दुई देशका बीचको सम्बन्ध अब श्रममा मात्र सीमित गरिनु हुन्न । नेपालमा जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा व्यापक सम्भावना छन् । त्यसैगरी पेट्रोलियम उत्पादन, अन्वेषण, सामुन्द्रिक सम्पदाको परिचालन र पूर्वाधार विकासका क्षेत्रमा साउदी अरब निकै अगाडि बढेको छ । अतः अब हाम्रा सम्बन्ध श्रम भन्दा अघि बढेर जलस्रोत, पर्यटन, पूर्वाधार, पेट्रोलियम खोज–अन्वेषण, शिक्षा, संस्कृति र खेलकुदका क्षेत्रहरुमा पनि पारस्परिक विकास र सहकार्यमा उत्रनु पर्दछ । सरकार÷सरकार बीच बाहेक दुवै देशका निजीक्षेत्रहरु पनि परस्पर लगानी गर्न प्रेरित हुनुपर्दछ । मैले यी दिशामा पनि छलफल बढाइरहेको छु ।
० केही वर्ष पहिले साउदीका बिदेश मन्त्री फैसल बिन फरहान अल साउद नेपाल भ्रमण गर्दा श्रम सम्झौता ,व्यापार , पर्यटनका सम्बन्धमा कुरा भएका थिए ।नेपाली टोली पनि श्रम सम्झौता बारे छलफल गर्न साउदी पुगेकाथिए । अहिले स्थिति केछ?
–हो, निश्चित रुपले यी विषयमा प्रगति भएको छ । गत वर्षको मार्चमा महामहिम राजकुमार तथा साउदी विदेशमन्त्री फैसल बिन फरहानको नेपाल भ्रमणको बेला दुई देशबीच सामान्य सहयोग सम्झौता सम्पन्न भएको थियो । हाम्रा सम्बन्ध विभिन्न क्षेत्रमा विस्तारित गर्ने कुरा त्यसमा पनि उल्लेख छ । त्यो सम्झौता साउदी क्याबिनेट र नेपाल सरकार दुवैबाट हालै अनुमोदन भै सकेको छ । त्यसैले गर्दा अब संयुक्त बैठक बस्ने मिति छिट्टै तय हुनेछ । श्रम सम्झौताको मस्यौदामा पनि माथि भनिए जस्तै व्यापक छलफल भइ अन्तिम चरणमा पुगेको छ ।
० अहिले पनि करिब ४ लाख नेपालीहरु साउदीमा श्रमिकका रुपमा कार्यरत छन् ।उनीहरुलाई तपाईले भन्नू पर्ने के छ ?
–आजको वित्तीय भूमण्डलीकरणको युगमा श्रम सम्बन्ध पनि भूमण्डलीकृत भएको छ । जहाँ श्रमको अवसर र सुबिधा प्राप्त हुन्छ, त्यहाँ मानिसहरु पुग्नु स्वभाविक हो । हाम्रो जस्तो पुरानो कृषि सम्बन्ध अन्त्य भएको, तर औद्योगिकरण तर्फ रुपान्तरण हुन नसकेको मुलुकको ठूलो पीडा यही बेरोजगारीको हो । युवा शक्ति बेरोजगारीको समस्याले खाडी राष्ट्रतर्फ ठूलो संख्यामा पुगेको छ । साउदीमा पनि हाम्रो उलेख्य संख्या छ । यो हाम्रा लागि बाध्यात्मक परिस्थिति हो । हामी अहिले श्रम पलायनलाई रोक्न सक्दैनौ, यसलाई व्यवस्थित र नियमित मात्र गर्न सक्छौ । साउदीमा आउने दाजुभाईहरुलाई न्यूनतम सीप र ज्ञान सिकेर साउदी प्रवेश गर्न हामी अपिल गरिरहेका छौ । न्यूनतम सीप र भाषागत ज्ञानको अभावमा अन्तर्राष्ट्रिय श्रम बजारमा हाम्रो मूल्य रहँदैन । रोजगार दाताहरु दक्ष र आकर्षक श्रमशक्तिको खोजीमा रहन्छन । त्यसैले सीपमूलक संस्थाहरु मार्फत् न्यूनतम सीप सिकेर आउन युबाहरुलाई हाम्रो विशेष अनुरोध छ । त्यसैगरी वैदेशिक रोजगार व्यवसायीहरुलाई आफु मार्फत् साउदीमा लैजाने व्यक्तिहरुको कामको यथार्थ विवरण र जानकारी सम्बन्धित व्यक्तिलाई समयमै दिन पनि बारम्बार अनुरोध गरिरहेका छौं । प्रत्यक्ष वा सप्लाई कुन कम्पनी हो पहिले नै भेद गरिदिनु पर्दछ, त्यसैगरी इजाजत प्राप्त संस्थाले नेपालमा गर्ने विज्ञापन र यहाँ गरिने कामबीच सन्तुलन नभएर कैयांै व्यक्ति यहाँ बिचल्लीमा परेको अवस्था पनि छ । यो स्थितिको हाम्रा सम्बन्धित विभाग र निकायले कडा अनुगमन गर्न ढिला भै सकेको छ । समग्रमा सबैको सहयोग र साथले मात्र वैदेशिक रोजगारी व्यवस्थित हुन सक्छ ।
० साउदी विश्व भरिका इस्लाम धर्मावलम्बीहरुको पबित्र तीर्थ स्थल हो । नेपालबाट पनि बर्षेनी हजारौं इस्लाम धर्मावलम्बीहरु मक्का, मदिना जान्छन। हज गर्न जान्छन् । हज गर्न जाँदा दुःख पाएका, विवाद भएका समाचारहरु आइरहन्छन् । नेपालीहरुको अरव तीर्थ यात्रालाई सहज बनाउन के गर्नु पर्ला?
–निश्चय नै इस्लाम धर्मालम्बीहरुको पवित्र तीर्थस्थल–मक्का, मदिना साउदी मै रहेको छ । साउदी सरकारले इस्लाम धर्म मान्नेहरुका लागि जनसंख्याको सापेक्षतामा हज र उमराहका लागि विभिन्न देशका लागि कोटा निर्धारण गरेको छ । नेपालले केही वर्ष यता (कोविड काल छाडेर) १२०० वार्षिक कोटा पाउने गरेको छ । यो संख्यालाई बढाएर २००० वार्षिक पुराउन साउदी सरकारसँग हामी अनुरोध गरिरहेका छौ । हज र उमराहमा आउदा गरिने विधि र पालना गर्नु पर्ने नियमबारे हज समिति, नेपाल मार्फत् अग्रिम सुचित पनि गर्ने गरिएको छ । कतिपयले आफ्नै खर्चमा क्षमता अनुसारको राम्रो होटेल पनि रोज्ने गर्नु भएको छ । कतिले क्षमता कम भएर यहाँको सरकारले गरेको आम प्रबन्धमा चित्त बुझाउनु पर्ने अवस्था छ । समग्रमा आ–आफ्नो स्थिति अनुसार व्यक्तिले आफ्नो बसोबासलाई आँकलन गर्नु पर्दछ । तर विश्वभरीबाट हज र उम्राह गर्नेहरुको चाँप बढिरहेकोले साउदी सरकारले पनि नयाँ नयाँ संरचनाको निर्माण र बिस्तारलाई जारी नै राखेको हामीले बुझेका छांै ।
० नेपालको उत्पादनलाई अरवमा निर्यात बारे तपाइको विचार के छ?
–सर्वप्रथम वाणिज्य व्यापारका लागि साउदीको निजी क्षेत्र र हाम्रो निजी क्षेत्रबीच द्विपक्षीय व्यापार परिषद् गठन गर्ने, तत्पश्चात एम.ओं.यू.गरी व्यापार बढाउने हो, यसबारे पनि छलफल भएको छ ।
० साउदी बाहेक खाडीका अन्य मुलुकका नेपाली राजदूतावास सित समन्बयात्मक सम्बन्ध छ छैन ?
– खाडी राष्ट्रका अन्य दुताबासहरुसँग पनि हाम्रो नियमित सम्पर्क, समन्वय र अनुभवहरुको आदान–प्रदान भैरहेको छ ।
० तपाईं लामो समय सम्म हाँक साप्ताहिकको कानुनी सल्लाहकार र लेखकको भूमिकामा हुनुहुन्थ्यो ?विगतको त्यो समयलाई कसरी स्मरण गर्नु हुन्छ?
–हो, मैले त्यतिबेला नियमित लेख हाँक साप्ताहिकमा लेख्नेगरेको थिएँ । कानुनी सल्लाहकार पनि भएको थिएँ । हाँक साप्ताहिकको एउटा गौरवपूर्ण इतिहास छ । लोकान्त्रिक हक आधिकारको रक्षा एवं प्रचार प्रसार गर्न हाँक साप्ताहिकको ठूलो भूमिका रहेको छ । अहिले परिस्थिति केही भिन्न छ तर पनि सत्य र तथ्यपूर्ण रुपले समाचार÷विचार पस्कने काम हाँक साप्ताहिकले जारी राखोस् भन्ने म चाहन्छु । हाँक साप्ताहिक हिजोको भन्दा अझ फराकिलो, वैज्ञानिक र परिस्कृत बन्दै जान खोजेकोमा म यसका सम्पादक, प्रकाशक, रिपोर्टर र सल्लाहकार सबैलाई बधाई दिन्छु ।
० हाँक मार्फत थप भन्नु छ कि?
–अन्त्यमा मेरो यहि भनाइ छ –ज्ञान, चेतना र दर्शन वस्तुगत परिस्थिति सापेक्ष छ । दर्शन मानव जीवनका लागि हो । आजको वस्तुगत परिस्थितिले पारदर्शी, जिम्मेवार, न्यायपूर्ण र झन् खुला शासन, प्रशासन र प्रेसको अपेक्षा राख्दछ । हाँक साप्ताहिकले पनि त्यस्तो भूमिका निर्वाह गर्न सहयोग गरोस्, हार्दिक शुभकामना ।