अमेरिकी साम्राज्यवाद दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ

अपत्य शर्मा , वामपन्थी बुद्धिजीवी ••
अपत्य शर्मा नेपालको वामपन्थी आन्दोलनमा एक सुपरिचित बुद्धिजीवी हुन् । अहिले पनि उनले अन्तर्राष्ट्रि राजनीति र अर्थशास्त्रको क्षेत्रमा अध्ययन, लेखन गरिरहेका छन् । २०११ सालतिर शर्माले काठमाडौंको दरबार हाइस्कूलमा अध्ययन गर्ने बेला शिक्षक तोयनाथ पाण्डे लगायत केही सिनियर विद्यार्थीहरु शोभियत रुस भ्रमण गरेर आएका थिए । एक दिन उनीहरुले शोभियत रुसको बारेमा प्रवचन दिएका थिए । त्यसप्रकारको स्कूले वातावरणले अपत्य शर्माको कम्युनिस्टप्रति झुकाव बनाएको थियो ।

कृष्णदास श्रेष्ठ काठमाडौंको जिल्ला सेक्रेटरी भएको बेला उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिएका थिए । २०१९ भन्दा पहिले नै अविभाजितकालीन कम्युनिस्ट पार्टीको उनी सदस्य भएका थिए ।

२०२० पछि २०२४ सम्म विभिन्न ठाउँमा उनी शिक्षक भए । २०२० तिर बागलुङको देविस्थान, २०२१, ०२२ ससालमा बागलुङको गल्कोट दुदिलाभाटी, २०२३ सालमा लमजुङको राइनासकोट, चितवनको दिव्यनगरमा शिक्षक भएका थिए ।
२०२४ तिर उनी भारतको बनारस गएका थिए । उनले बनारस गएर तुल्सीलाल र पुष्पलालाई भेट गरेका थिए । केही समय उनी श्याम प्रसादको समूहमा पनि आबद्ध भए । २०३६ पछि स्वनाम साथीको नेतृत्वमा अपत्य शर्मा, खगेन्द्र संग्रौला, निरिस शर्मा, विद्या प्रसाद श्रेष्ठ सहित भएर सर्वहारा कम्युनिस्ट लिग गठन गरेका थिए । त्यसको गठन कालको विवाद छ । कोही ०३३ साल भन्छन् कोही ३५ साल भन्छन् । तर अपत्य शर्माले त्यो समय ३६ साल हो भन्छन् । उनले ८ वर्ष प्रज्ञा प्रतिष्ठानमा जागिर गरे । ४५–४६ तिर बाबुराम भट्टराई र भैरव रेग्मीको सम्पर्कमा आएर मसाल धारमा समाहित भए । उनले लामो समय मसालको काठमाडौं जिल्ला समिति, मजदुर मोर्चा र बुद्धिजीवी मोर्चामा रहेर काम गरे । उनी मसालको केन्द्रीय सल्लाहकार भएर पनि काम गरे ।

दशकौंसम्म हाँक साप्ताहिकमा कोलमिस्ट रहेर लेखहरु लेखे । उनको मुद्रा र पुँजीवादी दासता तथा विश्व अर्थ राजनीको झलक दुई पुस्तक प्रकाशित छन् ।

वि.सं. २००० जेष्ठमा जन्मिएका शर्माको बुबा किरण प्रसाद ढुंगाना र आमा शुभलक्ष्मी ढुंगाना हुन् । २०२८ सालमा शर्माले निशा ढुंगानासित विवाह गरेका थिए । उनका दुई छोरा र एक छोरी छन् । यसपटक हाँक साप्ताहिकले अपत्य शर्मासित कुराकानी गरेको छ । प्रस्तुत छ शर्मासितको कुराकानी :

१) राजनीतिशास्त्रको मुख्य विषय सत्ता (पावर) , मानवशास्त्रको मानव भए जस्तै अर्थशास्त्रको अध्ययनको मुख्य विषय मुद्रा (मोनी ) हो भनिन्छ । यसबारे तपाईको टिप्पणी के छ ?

अर्थशास्त्रको मुख्य विषय मुद्रा मात्र होइन । मुद्रा त एउटा विनिमयको माध्यम र धनसम्पत्तिको मापन गर्ने, पुँजीको रुपमा उपयोग गर्ने माध्यम हो । मुद्रा मानव दासता, शोषण, उत्पीडन, अपमान र दमन गर्ने शक्ति पनि बनेको छ । अर्थशास्त्रमा उत्पादन, विनिमय, उपभोग र वितरण विषयको अध्ययन हुन्छ । अर्को शब्दमा भन्दा अर्थशास्त्रको मुख्य क्षेत्रहरु भनेको उत्पादन, वितरण, उपभोग र मालहरु र सेवाहरुको व्यवस्थापन गर्नु पनि हो । अर्थशास्त्रको अध्ययनले व्यापार, बजारहरु, सरकारका नीतिहरु, अन्तर्राष्ट्रिय विषयहरु, वैश्विकरण, स्वास्थ्य, विकास र वातावरणीय पक्षहरुको पनि ज्ञान दिन्छ र यसैमा केन्द्रित हुन्छ । अर्थशास्त्रले विश्वका स्रोत साधनहरुको कसरी प्रयोग भएको छ र कसरी व्यक्तिहरु र संगठनहरुको बीचमा वितरण हुन्छ भन्ने बारेमा पनि केन्द्रित हुन्छ । अर्थशास्त्रको अध्ययनको क्षेत्र अहिलेको विकसित पुँजीवादी व्यवस्थासँग राजनैतिक शास्त्र, कानुन, मनोविज्ञान र इतिहासलाई स्थानीय र वैश्विक आदि क्षेत्रहरु छन् ।

२) अर्थशास्त्र भनेको के हो र मानव समाजमा अर्थशास्त्रको विकास कसरी भयो ?

अर्थशास्त्रलाई एउटा विज्ञानको रुपमा पनि परिभाषित गरिएको छ । अर्थशास्त्रले उत्पादन, धेरै मालहरुको उपभोग र विनिमय गर्ने विधिको मार्ग दर्शन गर्छ । यतिमा मात्र सीमित नभएर यसले आवश्यक स्रोतहरुलाई कसरी प्रयोग गरेर धनसम्पत्ति बढाएर मानवको कल्याणमा उपयोग गर्न सकिन्छ भनेर बाटो देखाउँछ । अर्थशास्त्र के कुरामा केन्द्रित हुन्छ भने आवश्यक स्रोत र साधनहरुको वैकल्पिक प्रयोगमा पनि जोड दिन्छ । अर्थशास्त्रको परिभाषा एउटै छैन । सात जना अर्थशास्त्री छन् भने सात वटा मत विचार हुन्छन् । अर्थशास्त्र शब्दको उत्पत्ति ग्रीक शब्द ओइकोसनोमिया हो । जसलाई दुई भागमा विभाजन गर्दा ओइकोशको अर्थ घर र नोमोसको अर्थ व्यवस्थापन हो । यसरी प्रारम्भिक रुपमा घरको व्यवस्थापन भन्ने अर्थबाट अर्थशास्त्र शब्दको उत्पत्ति भएको बुझिन्छ । अर्थात् परिवारको प्रमुखले घर परिवारका सदस्यहरुको आवश्यकताहरुको पूर्ति गर्नुहुन्छ । अर्थशास्त्रलार्ई दुई भागमा विभाजन गरिएको छ, बृहत् अर्थशास्त्र र सुक्ष्म अर्थशास्त्र । अर्थशास्त्रका पिताको रुपमा एडम स्मिथलाई लिइन्छ । पुँजीवादी अर्थशास्त्रीहरुदेखि अन्य पुँजीवादी विधाका विद्वानहरुले मानव मस्तिष्कलाई मानवको प्रत्येक कोशिकाहरुलाई ५०० वर्ष पहिलेदेखि पुँजीवादीकरण गर्दै आएका छन् । सुक्ष्म अर्थशास्त्रको विश्लेषण एडम स्मिथको समयमै भएको देखिन्छ । एडम स्मिथको अदृश्य हात (तेस्रो हात) आत्मकेन्द्रित, आत्मप्रेम र व्यक्तिवादी विचारधाराहरुले सुक्ष्म अर्थशास्त्रको विश्लेषणमा जोड दिएका छन् ।

मानव समाजसँग अर्थशास्त्र घनिष्ठ रुपले जोडिएको छ । आदिम साम्यवादी समाजमा जब मातृसत्ता थियो आमाका वंशजमा र पितृसत्ताको उदय मातृसत्ताको अन्त्य भएपछि पशु धनसम्पत्तिदेखि कृषि (जमिन) को विकासमा जमिन र दासहरुको मालिक रुस र उसको वंशको हुन्थ्यो । पशुधन दास आदिको परिमाणले धनीको वर्गीकरण हुन्थ्यो । यसकारण आजको तथाकथित सभ्य विकसित पुँजीवादी समाजसँगसँगै पुँजीवादी अर्थशास्त्रको विकास र यसका क्षेत्रहरु पनि विस्तृत हुँदै गएको छ । यसकारण दास व्यवस्थाको अर्थतन्त्र, सामन्तवादी, पुँजीवादी, नयाँ जनवादी तथा सर्वहारा समाजवादी अर्थतन्त्रको विकास हुँदै जान्छ ।

३) मानव जीवनमा अर्थशास्त्रको के महत्व छ ?

आजको पुँजीवादी समाजमा विना पैसा एक पाइला पनि चल्दैन । जन्मेदेखि मृत्युसम्म नै अर्थको आवश्यकता पर्छ । यही अर्थ र निजी सम्पत्ति नै सम्पूर्ण अपराध, भ्रष्टाचार, तस्करी, युद्ध गृहयुद्ध र विश्वयुद्धको कारण बनेको सर्वविदितै छ । पुँजीवादी व्यवस्थामा अर्थशास्त्रको ठूलो महत्व छ । किनभने पुँजीवादी विश्व संरचनामा पुँजीको दासता अर्थात् दैनिक ज्यालादारीको पासोमा अल्झिएको सर्वहारा वर्ग मात्र नभएर मुठीभर खर्बपतिको शोषण, उत्पीडन, दमन र अपमानको र आँशुको घुट्को पिउन समस्त मानव जाति बाध्य छ । यसकारण मानव जीवनमा अर्थशास्त्रको महत्व पुँजी प्रधान समाज व्यवस्थामा मात्र होइन अर्थशास्त्रको महत्व सर्वहारा समाजवादमा पनि हुन्छ । अर्थशास्त्रलाई दुई भागमा विभाजन गर्नुपर्छ पुँजीवादी र समाजवादी ।

४) तपाई एउटा माक्र्सवादको अध्ययता पनि हुनुहुन्छ । माक्र्सवादले मानव समाज विकासको चालक शक्ति (ड्राइभिङ फोर्स) उत्पादन प्रणाली हो भन्छ । यस भनाईलाई सरल भाषामा कसरी पुष्टि गर्नु हुन्छ ?

माक्र्सवादले मानव ससमाजको विकासको चालक शक्ति उत्पादन प्रणाली भन्नु सही छ । किनभने मानव विकासको इतिहास भनेको नै वर्गसंघर्षको इतिहास हो । उत्पादक शक्तिको उत्पादनका साधनहरुका मालिकसँगको संघर्ष पनि हो । अर्को शब्दमा भन्दा सम्पन्नवर्ग र विपन्न वर्गका बीचको संघर्ष हो । समाज विकासको चालक शक्ति भनेको नै उत्पादक (शोषित, पीडित, दमित अपमानित ) हुन् । पुँजीवादी समाजका सामाजिक शक्तिहरु भनेका पुँजीपति वर्ग र सर्वहारावर्ग (मजदुरवर्ग) हुन् । उनीहरुका बीचको जीवनमरणको संघर्ष हुने भएकाले उदीयमान सर्वशक्ति सम्पन्न सर्वहारा वर्ग र मरणशील पतनोन्मुख पुँजीपतिवर्गका बीचको आर्थिक सम्बन्धहरु वर्गसंघर्ष हो । यसकारण सर्वहारा वर्गको क्रान्ति विजय र सर्वहारावर्गको (राज्यसत्ता) अधिनायकवाद र साम्यवादी व्यवस्था हो । भौतिक उत्पादक शक्ति नै समाज विकासका चालक हुन् । स्मरणीय छ: सर्वहारा अधिनायकवाद शब्दले कम्युनिस्ट तानाशाही सत्ता भनेर बदनाम गरिन्छ । जब कि पुँजीवादी तानाशाहीमा हुने चरम असमानता, चरम गरिबी, बेरोजगारी, शोषण, उत्पीडन र दमनको पुँजीवादी राज्यसत्ता हुन्छ । पुँजीवादी तानाशाही प्रजातन्त्रमा भोकै तड्पितड्पि मर्ने स्वतन्त्रता हुन्छ भने सत्ताधारी पुँजीपति वर्गलाई सर्वहारावर्गको चरम शोषण्, उत्पीडन र दमन गर्ने असीमित नाफा कमाउने प्रजातन्त्र हुन्छ र सर्वहारावर्गको दैनिक ज्यालादारी दासता र अपमान मात्र हुन्छ ।

५) आजको युग साम्राज्यवादी युग हो ⁄ अहिले विश्वमा पुँजीले शासन गरिरहेको छ । समाजवाद भनेको न्यायपूर्ण समाज हो । पुँजीले शासन गरेको अहिलेको अवस्थाबाट न्यायपूर्ण समाज अर्थात् समाजवादमा मानव समाज कसरी संक्रमण हुनेछ ?

पुँजीपति वर्गको पुँजीले शासन गरिरहेको अन्यायपूर्ण समाज भए पनि आफ्नो पुँजीको नाफाको संसारलाई जोगाउन साम्राज्यवादीका लागि पनि मान्य पुँजीवादी प्रजातान्त्रिक समाजवाद र सर्वहारा वर्गीय न्यायपूर्ण समाजवाद भनेर छुट्याउनुपर्छ । अन्यायपूर्ण असमानतामा आधारित प्रजातान्त्रिक पुँजीवादी व्यवस्थाभित्र संसदीय चुनावी प्रक्रियाबाट संक्रमण भएर शान्तिपूर्ण तरिकाले सबैभन्दा शोषित, पीडित, अपमानित सर्वहारा वर्गीय समाजवाद आउन सक्दैन । अहिलेसम्मको इतिहासले यही पाठ सिकाएको छ ।

६) लेनिनले “पुँजीवादको उच्चतम रुप साम्राज्यवाद हो” भन्ने शीर्षकमा पुस्तक लेखेको पनि एक सय वर्ष भन्दा धेरै भयो । तर साम्राज्यवाद अझ पनि जीवितै छ । साम्राज्यवादको अहिलेको अवस्था के छ ? कमजोर हुँदैछ वा झन बलियो हुँदैछ ?

–पुँजीवादको उच्चतम रुप साम्राज्यवाद हो भन्ने कुरा सही छ । सय वर्ष भन्दा बढी जीवित रहनुले यसको मृत्यु हुँदैन भन्ने होइन । किनभने कुनै पनि वादले आफ्नो अस्तित्व जोगाउन अन्तिम साससम्म पनि प्रयास गर्छ । अमेरिकी साम्राज्यवादको उदय दोस्रो विश्वयुद्धले गर्दा भयो र आर्थिक, सैनिक, राजनैतिक तथा सांस्कृतिक रुपले शक्ति आर्जन गर्‍यो । तर विश्वको पहिलो अर्थतन्त्र भएको संयुक्त राज्य अमेरिका दोस्रो अर्थतन्त्रमा झर्ने पुँजीवादी अर्थशास्त्रीकै भनाईछ । अमेरिकी साम्राज्यवाद दिनप्रतिदिन कमजोर हुँदै गएको छ । किनभने उसको विश्वव्यापी वित्तिय साम्राज्यमार्फत् नव उपनिवेशीकरण गर्ने प्रमुख खम्बाहरु अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक जस्ता वित्तिय संस्थाका समानान्तर र बैंकहरु खुल्दै छन् । सबै भन्दा पहिले यूरोपेली युनियनले युरोपेली केन्द्रीय बैंक (इसिवि) ले आफ्नो मुद्रा यूरो चलाएर डलरलार्ई यूरोपेली युनियनबाट विस्थापित गर्‍यो भने ब्रिक्स र चीनले नयाँ विकास बैंकको स्थापना गर्नुले अमेरिकी डलरलाई विस्थापित गर्न थालेको छ । ओपेकका मुलुकहरु पनि डलरलाई विस्थापित गर्ने पक्षमा कदम चाल्दै छन् । अमेरिकी डलरको मूल्य तीब्र रुपले घट्नु, व्याजदर उच्च हुनुले वित्तिय पक्ष कमजोर हुनु भनेको विश्वव्यापी आर्थिक प्रभुत्व कमजोर हुनु र राजनैतिक पक्ष पनि कमजोर हुनु हो । चौतर्फी कठोर प्रहारविना साम्राज्यवादको मृत्यु हुँदैन । स्मरणीय छ: रुस युक्रेन युद्धले अमेरिकीमा मात्र आर्थिक मन्दी आउने होइन विश्वव्यापी दीर्घकालीन मन्दी आउनेछ । हालसम्म आर्थिक मन्दी रोक्ने उपाय पुँजीवादी अर्थविद्हरुले पहिल्याउन सकेका छैनन् ।

७) राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट नेपाली समाजको अहिलेको अवस्था के छ ?
नेपालको अर्थतन्त्र दिनप्रतिदिन संकटतिर जाँदैछ । किनभने बढ्दो आयात, चुलिंदो व्यापार घाटा, विदेशी मुद्राको सञ्चितिमा गिरावट, न्यून पुँजीगत खर्च, घट्दो कृषि तथा औद्योगिक उत्पादन, उच्च व्याजदर, राजनैतिक भ्रष्टीकरण, अस्थिर सरकार आदि ।

८) विश्व राजनीति एक ध्रुवीयबाट बहुधु्रवतिर संक्रमण भइरहेको हो ?

आजको विश्व राजनीति एक ध्रुवीयबाट बहुधु्रवीयमा जाँदैछ । यसको प्रत्यक्ष प्रमाण युक्रेन युद्धले दिएको छ ।

९) रुस–युक्रेन युद्धले विश्व राजनीतिको भविष्यलाई कस्तो प्रभाव पार्ला ?

रुस युक्रेन युद्धले भविष्यमा राजनैतिक रुपले ठूलो प्रभाव पार्नेछ । विश्वव्यापी रुपले उथलपुथल ल्याउन सक्छ । किनभने अहिले नै अमेरिकामा नै पनि राष्ट्रपति वाइडेनले युक्रेन गएर अमेरिकी सरकार सधै युक्रेनी जनतालाई साथ दिने बताएपछि अमेरिकी जनता आक्रोशित भएका छन् । आफूहरुले तिरेको करलाई युक्रेनी युद्धमा लगाइँदैछ । वाइडेनको जनसमर्थन पनि घट्दै गइरहेकोछ । अहिले नै यूरोप महंगो तेल र अन्य पदार्थहरुको अभाव र चर्को मूल्य बृद्धिको मारमा छ । यस युद्धले विश्वव्यापी खाद्य पदार्थको अभाव र चर्को मूल्यबृद्धिले आक्रान्त भइसकेको छ ।

१०) कम्युनिस्ट आन्दोलनमा ठूलो भ्रष्टीकरण आयो ? कम्युनिस्ट आन्दोलनको रक्षाका लागि के गर्नु पर्दछ ?

नेपालमा कम्युनिस्ट आन्दोलनलाई यहाँका नकावधारीहरुले यति ज्यादा बदनाम गराए कि यस सिद्धान्तप्रति पूर्णरुपले नकारात्मक धारणा बन्दै गएको छ । किनभने दलाल नोकरशाही पुँजीपतिको पार्टी जसले प्रतिक्रियावादी साम्राज्यवादी तथा भारतीय विस्तारवादीको तावेदार भनेर कुख्याती कमाएको छ त्यसैसँग घनिष्ठ मित्रता गाँसेर नेपाली जनताको रगत पसिना चुस्दैछ । यसकारण कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन र रक्षा गर्न साम्राज्यवाद र विस्तारवादको विरोधी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मित्र शक्तिहरुसँग एक भएर संघर्ष गर्नु आजका सक्कली सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टीको दायित्व हो ।

११) नेपालको कम्युनिस्ट आन्दोलनको दिशा अब के हुनुपर्दछ भन्ने ठान्नु हुन्छ ?

नेपालको कम्युनिस्ट आन्दोलनको दिशा उपरी संरचना मात्र फेर्ने होइन सामन्तवादी तथा पुँजीवादी आर्थिक आधारलाई नै फेर्ने हुनुपर्छ । किनभने २००७ सालदेखि ०६२/६३ सालसम्म आउँदा धेरै आन्दोलनहरु भए तर आवाजविहीन, भूइँमान्छे, शोषित, पीडित, दमित तथा अपमानित दासताको जीवन बाँच्दै छन् । मधेश, तराई, पहाडमा कैयौं दासतामा बाँचिरहेछन् । तराईमा हरुवा चरुवाहरु अझै १ लाख भन्दा बढी बँधुवा मजदुरको अवस्थामा शताब्दीऔंदेखि नारकीय जीवन बाँच्न बाध्य छन् ।

१२) हाँक मार्फत् थप केही छ कि ?
हाँकले सधै सर्वहारावादी दृष्टिकोणलाई नछाडिकन दक्षिणपन्थी अवसरवाद, उग्रवामपन्थी अवसरवाद तथा अन्य गलत विचारहरुका विरुद्ध अगाडि लम्किरहोस् र सामन्तवादी तथा पुँजीवादी दासताको अन्त्य गर्ने अभियानमा दृढ रहोस् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित