राजनीतिक विकल्पको  आवश्यकता

अहिलेसम्मको मतगणनाको परिणामलाई हेर्दा बालेन शाहको जीत सुनिश्चित छ । उनी काठमाडौं महानगरपालिकाका मेयर भएको घोषणा गर्न मात्र बाँकी रहेको छ । बालेन शाहको उदयले धेरैलाई धेरै प्रकारले तरंगित पारेको छ । उनी अहिले सम्भवतः सर्वाधिक चर्चित व्यक्ति बन्न पुगेका छन् । कुनै व्यक्ति पार्टीमा दशौं वर्ष काम गरेपछि मात्र मेयरको टिकट पाउँछ । उसले राजनीतिको धेरै उतारचढाव भोगेर मात्र मेयरको उम्मेदवार बन्न लायक हुन्छ । तर बालेनको हकमा यी सबै कुरा लागु हुन परेन । उनी यसभन्दा पहिले कहाँ थिए ? के गर्थे ? भन्ने कुरासम्म कसैलाई थाहा थिएन । केही सीमित मानिसहरुलाई मात्रै उनी ¥यापर हुन भन्ने कुरा थाहा थियो । त्यस्तो गैर राजनीतिक व्यक्तिले कसरी एकाएक मेयरको पदमा यति धेरै मत प्राप्त गरेर मेयर बन्ने सौभाग्य प्राप्त गरे ? अहिलेको सर्वाधिक चर्चाको विषय हो ।

नेपालमा डेढ दशक भन्दा पहिले राजतन्त्रात्मक र राजा सहितको बहुदलीय प्रजातन्त्र थियो । ०६२÷६३ को जनआन्दोलनले संवैधानिक राजतन्त्र समेतलाई फालिदियो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २४० वर्षसम्म राज गरेको जहानियाँ शासनको अन्त भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना  हुनु ऐतिहासिक घटना थियो । राजतन्त्रको  तुलनामा त्यो प्रगतिशील थियो । तर राजनैतिक दलहरु लोकतान्त्रिक पद्धति र प्रणालीका आधारमा शासन संचालन गर्न असफल सावित भए । डेढ दशकको कार्यकालमा कांग्रेस मात्रले शासन गरेन, जनताले कम्युनिस्ट भनिनेहरुलाई समेत पटकपटक सरकारमा पठाए । पछिल्लो पटक त जनताले झण्डै दुई तिहाई बहुमत दिएर नेकपा (नेकपा) लाई सरकार संचालनको अधिकार दिए । कांग्रेस सामन्त, दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । त्यसकारण उसको शासनमा अन्याय, अत्याचार, भ्रष्टाचार, महंगी, घुसखोरी, तस्करी  हुने कुरा मानिसहरुलाई स्वाभाविक लागेको थियो । नेपाली कांग्रेसको जनविरोधी, अलोकतान्त्रिक तथा अराष्ट्रिय कार्यशैलीको सजाय दिनका लागि जनताले पटकपटक कम्युनिस्ट भनिनेहरुलाई देशको शासनसत्ता हातमा थमाए । तर पटकपटक मौका पाएर पनि जनताको जीवनमा कुनै प्रकारको परिवर्तन ल्याउन सकेनन् । एकले अर्कोलाई खुट्टा तान्ने र खोइरो खन्ने बाहेक केही काम भएन । त्यो भन्दा पनि अझै विडम्वना तक ेभयो भने कांग्रेस भन्दा झन बढी भारतको दलाली, झन बढी राष्ट्रघात, माफियागिरी, तस्करी, घुस, भ्रष्टाचार देखेपछि कम्युनिस्ट भनिनेहरुप्रति पनि वितृष्णा जागेर आएको अहिलेको अवस्था हो ।

यसप्रकारको परिवेशमा बालेन शाहको उदय भएको हो । उनी गैर राजनीतिक व्यक्ति हुन् । उनी अलिकति इन्जिनियर र कलाकार पनि हुन । त्यसबाट पनि के बुझिन्छ भने उनी विशुद्ध सामान्य नागरिक हुन । त्यस्तो व्यक्तिले राजधानीको महानगरको शासन चलाउनु आफैमा कठिन काम हो । तर जनताले राजनीतिक दलहरुलाई अस्वीकार गरेका छन् । जनतालाई तत्काल सेवा चाहिएको छ । माछा, मासु, दाल, दुध, दही, तरकारी, फलफुल सस्तो चाहिएको छ । यातायाता भाडा सस्तो चाहिएको छ । काठमाडौंको फोहोर दुर्गन्ध हटाएर स्वच्छ हावा चाहिएको छ । राजनीतिक दलहरु सरकारमा बसे पनि त्यो पूरा गर्न सकेनन् । तर महानगरले उठाउने करहरु निचोरेर लिने गरियो । बाटो, बिजुली, फोन, नेट, पानी जस्ता अत्यावश्यक चीजमा केन्द्र सरकारको नाकै मुनीको महानगर अस्तव्यस्त देखिनुले असन्तोष जन्मनु स्वाभाविक कुरा हो । त्यसैले जनताले बालेनलाई चुन्न पुगे ।

काठमाडौंका जनताले पंचायतकालमा यसरी नै नानीमैया दाहाललाई राष्ट्रिय पंचायत सदस्यमा निर्वाचित गरेका थिए । उनी एउटी साधारण महिला थिइन । दिग्गज नेताहरुलाई नजिताएर साधारण गैरराजनीतिक महिलालाई जिताउनुको पछाडि पनि त्यही असन्तोषको कारण थियो । काठमाडौं महानगरमा मात्र होइन, धरान लगायत कैयौं शहरमा साधारण र स्वतन्त्र व्यक्तिले चुनाव जितेका छन् । यसप्रकारको वितृष्णा उत्पन्न हुनुमा डेढ दशकको राजनैतिक दलको असक्षमता र अकर्मण्यताको परिणाम हो । समग्रमा यो संसदीय प्रणाली कै असफलता हो ।

राजनीतिक चिन्तन र लक्ष्यको अभावमा सरकार (स्थानीय) चलाउनु गाह्रो कुरा हो । बालेनले महानगरलाई चमत्कार गरेर त्यसको मुहार फेर्छन भन्ने लाग्दैन । किनकि उनको राजनीतिक पार्टीको काम गर्ने टिम छैन । तर भ्रष्ट राजनीतिक दलका कार्यकर्ताले भन्दा तुलनात्मक रुपले राम्रो काम गर्ने छन् । किनकि उनी व्यक्तिलाभमा फस्ने सम्भावना कम देखिन्छ । तर यी सबैको बाबजुद पनि त्यसलाई सकारात्मक मान्न सकिंदैन । किनकि देशलाई कुन दिशामा लैजाने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने कुरा हो । तर कुनै पनि सामन्ती तथा दलाल पुँजीवादी पार्टीले त्यो काम गर्न सक्दैन । एउटा सच्चा माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी पार्टीले मात्र गर्न सक्छ । त्यसकारण संसदीय प्रणालीको विकल्प जनवादी व्यवस्था हो । भ्रष्ट पुँजीवादी राजनीतिक पार्टीहरुको विकल्प सही माक्र्सवादी–लेनिनवादी पार्टी हुन भन्ने कुरा जनताको जानकारीमा आउनुपर्छ । पार्टीमा नभए पनि बाहिर बसेर परिवर्तन चाहनेहरुले पनि विचार गर्नुपर्छ । बालेनलाई मेयरमा ल्याउने जनताले त्यसरी नै एमसीसी संसदबाट पारित गर्ने बेला सडकमा उत्रेको भए हाम्रो देश अमेरिकी हस्तक्षेपमा पर्नुपर्ने थिएन । होली वाइन पिलाउने मुनहरु काठमाडौं छिर्न पाउने थिएनन् । क्रान्तिकारी चेतना भएका जनताले मात्र यसप्रकारका हस्तक्षेपहरुको विरुद्ध जाग्न सक्छन् । एउटा मेयर  परिवर्तन हुँदैमा काठमाडौंको स्वरुप बदलिंदैन । देशैभरी त्यस्तै गैरराजनीतिक स्वच्छ इमान्दार व्यक्तिहरु मेयर पदमा बसेर जनतालाई थोरै राहत त होला तर अहिलेको बिग्रिंदो आर्थिक, सामाजिक तथा सांस्कृतिक स्वरुप बदलिंदैन । तसर्थ संसदीय प्रणाली तथा भ्रष्ट राजनीतिक दलहरुको विकल्प बालेनहरु बन्न सक्दैनन् । दिगो क्रान्तिकारी राजनीतिक विकल्प आवश्यक भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित