नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने नेपालीहरूको आ–आफ्नै फरक फरक प्रकारको संस्कार, रीतिरिवाज, चालचलन भेषभुषा छन् । नेपालको भौगोलिक विविधता अनुसार मानिसहरूको आनीबानी, चालचलन फरक फरक रहेको छ । विविधतामा एकता नेपालीहरूको पहिचान हो ।
भूगोल, जाति, संस्कृति अनुसार मानिसहरूको खानपान पनि फरक फरक छन् । भौगोलिकता र सांस्कृतिक हिसाबले एकआपसमा फरक भएपनि नेपाली समाज मिलेर बसेको समाज हो । संसारभरि नेपालीको भाषिक तथा जातीय विविधताको चर्चा हुने गर्दछ ।
अल्पसङ्ख्यक समुदायलाई सत्ताले विभेद गर्दै आएको भए पनि समाजका सबै मानिसहरू एक आपसमा मिलेर नै बसेका छन् । यो एकतालाई भाँड्नको लागि विदेशी शक्ति केन्द्रहरूबाट विभिन्न समयमा अनेक प्रयास नभएका होइनन् । नेपालमा सङ्घीयताको नाममा, जातीय राज्य स्थापनाको लागि भन्दै क्षेत्र क्षेत्रबीच, जातजाति बीच लडाउन खोज्ने, एक आपसमा भिडाउन खोज्ने काम विगतमा भएकै थिए । संविधान निर्माणको कालमा, मुलुकमा रहेको सङ्क्रमणकालका बेलामा यस्ता कुराहरू व्यापक मात्रामा उठेका थिए । कोही जातीय राज्य बनाउने त कोही क्षत्रीय राज्य बनाउने भनेर विभिन्न माग राखेर आपसमै द्वन्द्व हुने अवस्था आएको थियो । त्यस समयमा देशी तथा विदेशी विखण्डनकारी तत्त्वहरूले देशलाई सक्दो भाँड्न खोजेका थिए । नेपाली जनताले नेपाली एकता र सद्भावलाई बचाउँदै नयाँ संविधान बनाउन सफल भए । यद्यपि संविधानमा सङ्घीयता जस्तो देशलाई अनावश्यक व्यवस्था कायम रहृयो ।
जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले गणतान्त्रिक व्यवस्था स्थापना गरेका छन् । देशमा धर्म निरपेक्षता स्थापना भएको छ । अहिले राज्यले कुनैपनि धर्मलाई अँगालेर धार्मिक मुलुक भनेर घोषित रुपमा भनेको छैन । विगतका संविधानहरूले नेपाललाई हिन्दु अधिराज्य भनेका थिए । केही सामाजिक सद्भाव बिथोल्न चाहने तत्त्वहरू, प्रतिक्रियावादी तथा धार्मिक तथा समाजिक सद्भाव विथोलेर फाईदा लिन चाहने अतिवादी तत्त्वहरूले देशमा यो सामाजिक सद्भाव बिथोल्नको लागि हरसम्भव प्रयत्न सदावहार गरिरहेका छ्न् । यस्तो अवस्था जहिलेपनि रहने गरेको छ । जातीय, धार्मिक अतिवादले समाजमा विग्रह ल्याउने, एक आपसको सद्भाव खलबल्याउने, विखण्डन ल्याउने एकले अर्कामाथि बर्बरतापूर्वक प्रस्तुत हुने हुन्छ । यसको अन्तिम उद्देश्य एकले अर्कोलाई सिध्याउने नै हो । एकले अर्कोमाथि बर्बरतापूर्वक प्रस्तुत हुने नै हो । एकले अर्काको अस्तित्त्व स्वीकार नगर्ने, एकले अर्कामाथि घृणा फैलाउने, घृणाको भावले हेर्नै जस्ता कार्यले सामाजिक सद्भाव भडकिन्छ ।
विभिन्न जात जाति भएको देश भएकाले संस्कार संस्कृति पनि फरक फरक हुनु स्वभाविक हो । एकको संस्कार आनीवानी आचरण माथि अर्कोले यो हुँदैन, हामीले भनेको मान्नैपर्छ नत्रभने भन्दै धम्की दिने, एक अर्कामाथि जाईलाग्ने जस्ता गतिविधिले अन्तत: सामाजिक सद्भावमा बिग्रह निम्त्याउँछ ।
यो हुनु कुनै पनि मानेमा सही होइन । केही दिन पहिले सुनसरीको धरानमा गोरु काटेको विषयले समाजमा विवाद ल्याएको छ । सामाजिक सञ्जाल तातेको छ । धार्मिक विषयलाई लिएर राजनीति गरी आˆनो स्वार्थसिद्ध गर्न चाहनेहरूले समाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिने गरेका छन् । हातहतियार सहित विरोध प्रदर्शन गरियो । प्रशासनले कर्फ्यु लगाउनु पर्यो । प्रशासनले धरान बाहिरबाट आउने जुलुसलाई धरान प्रवेशमा रोक लगायो । यदि नरोकेको भए त्यहाँ केही अशुभ र अपृय घटना हुन सक्थ्यो । यो खालको धार्मिक तथा कुनै प्रकारको अतिवादले, धार्मिक राजनीतिलाई बोकेर हिड्नेहरूले, अतिवादी सोचलाई लिएर हिंड्नेहरूले समाजमा विग्रह मच्चाउन खोजेका छन् । मिलेर बसेको नेपाली समाजलाई खलबलाएर आˆनो राजनीतिलाई स्थापित गराउन खोजेका छन् । यसमा देशी, विदेशी तत्त्वहरू लागेका छन् । सामाजिक सद्भाव बिग्रदा हामी नेपालीलाई नै असर पर्ने हो । हाम्रो सद्भाव हामीले नै कायम राख्ने हो ।
गाई मारेको अभियोगमा २०६२ – ०६३ को जनआन्दोलन भन्दा पहिले मान्छे मारे सरह १० वर्षभन्दा बढी जेल जीवन भोग्नु पर्दथ्यो । अहिले त्यो संशोधन भएको छ । सो अभियोगमा अहिले तीन वर्षसम्म जेल बस्नु पर्दछ । के विद्यमान कानुनमाथि पुनर्विचार गर्नु पर्ने वा कानुन संशोधन गरी सबैलाई सहज हुने गरी कानुन संशोधन गर्नु पर्ने आवश्यकता हो ? एउटा समुदायले अर्को समुदायलाई घोचपेच नगरिकन, आवेग र उत्तेजना विना तर्क र तथ्यमा रही छलफल गरौँ । यदि कानुन संशोधन गरेर जातीय वा धार्मिक सद्भावमा सुधार आउँछ भने हामी त्यसको लागि पनि तयार हुनु पर्दछ ।
यथार्थ कुरा नबुझी केही क्षणमै धारणा निर्माण गर्ने र त्यसको प्रतिक्रिया दिने गरिहाल्नु हुँदैन । संयमता अपनाउनु पर्दछ । मुलुकमा जातीय आन्दोलन उत्कर्षमा पुगेको बेलामा नाक काट्नेसम्मको घट्ना हुँदासम्म पनि नेपालीले सद्भावलाई कायम राखेर आएका छन् । समाजमा सद्भाव कायम राख्न सबैले पहल गर्नु पर्दछ । एकले अर्काको संस्कार, संस्कृति रीति, थीतिको सम्मान गर्न सक्नु पर्दछ । सामाजिक सद्भाव जोगाउने हामी सबैको कर्तव्य हो ।