महोत्तरीकी १९ वर्षीय निहारिका राजपुत, २१ महिनाको नाबालक छोरालाई कोखिलामा च्याँपेर राजधानी काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसिरहेकी छिन् । नाबालिग रहेकै अवस्थामा नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गर्ने अपराधीलाई कानुनी कारवाहीको माग गर्दै निहारिकाले राजधानीमा आमरण अनसन शुरु गरेकी हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई कारवाहीका लागि निहारिकाले रोजेको संघर्षको बाटो पूर्ण रुपमा न्यायोचित र जायज छ । न्यायका पक्षपाती सम्पूर्णले उनको संघर्षमा साथ, सहयोग र समर्थन दिनु नितान्त आवश्यक छ ।
नाबालिक रहेकै अवस्थामा निहारिकाले जीवनमा जुन घटनाको सामना गर्नु प¥यो त्यो निकै कहालीलाग्दो छ । ११ कक्षा पढ्दै गरेकी नाबालिका निहारिका साथीको घरमा साथी सँगै गृहकार्य गर्न गएकी थिइन । तर त्यही साथीको दाइबाट उनी बलत्कृत हुन पुगिन । यो २०७६ कार्तिक महिनाको घटना थियो । खाने कुरामा नशालु पदार्थ मिसाएर बेहोस् बनाई जनकपुरका शिवराज श्रेष्ठले उनलाई बलात्कार गरेको उनको दावी छ । बलात्कारको शिकार हुनु परेको कहालीलाग्दो पीडा लिएर निहारिका घर पुगिन र घटनाबारे सविस्तार परिवारलाई बताइन । तर उनको परिवारलाई उनीमाथि भएको बलात्कारको जघन्य अपराध भन्दा परिवारको इज्जत प्रतिष्ठा ठूलो लाग्यो । उनले आफ्नै परिवारको समेत साथ पाइनन् । तर पनि निहारिकाले हिम्मत हारिनन् । बलात्कारी अपराधीलाई कानुनी कार्वाही गरेर छाड्ने दृढ संकल्प बोकेर उनी अगाडि बढिन । घटना भएको १४ दिनमा उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन । तर स्थानीय प्रहरी प्रशासनले पनि उनको पीडालाई गम्भीरतापूर्वक लिएन । मेडिकल चेक गर्दा उक्त बलात्कार घटनाबाट उनी गर्भवती भएको पत्ता लाग्यो । न्यायको भीख माग्दै उनी पटकपटक प्रहरी प्रशासनमा धाइन । बलात्कारी विरुद्धको मुद्दा लिएर उनी धनुषा जिल्ला अदालत पुगिन । तर त्यहाँबाट पनि उनले न्याय पाउन सकिनन् । धनुषा जिल्ला अदालतले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई निर्दोष ठहर गरिदियो । जिल्ला अदालतले उनलाई न्याय दिन सकेन । तर निहारिकाले अझै पनि हिम्मत हारिनन् । उनी उक्त मुद्दा लिएर उच्च अदालत जनकपुर पुगिन । तर बिडम्बना ! उच्च अदालत जनकपुरमा उनको मुद्दाको पेशी अहिलेसम्म हुन सकेको छैन । यतिबेला २०७७ भदौ ५ गते उनको कोखबाट जन्मिएको छोरा २१ महिनाको भएको छ । त्यही दुधे बालकलाई कोखिलामा च्याँपेर न्याय प्राप्तिको संघर्षलाई निहारिकाले सडकबाट पनि निरन्तरता दिएकी छिन् ।
न्याय प्राप्तिका लागि निहारिकाले शुरु गरेको आमरण अनसन उनका अगाडि सिर्जना भएको बाध्यात्मक परिस्थितिको उपज हो । प्रहरी प्रशासन र न्यायालयबाट समेत न्याय पाउने विश्वास गर्दै गएपछि निहारिकाले सडक संघर्षको बाटो रोजकी छिन् । निहारिकाले जुन साहस बटुलेर संघर्षलाई निरन्तरता दिएकी छिन, यो सलामयोग्य छ । पितृसत्तात्मक सामन्ती चिन्तनको बोलाबाला रहेको हाम्रो समाजमा एक्ली युवती सत्य र न्यायको पक्षमा अडिक रहेर यसरी संघर्ष अगााडि बढाएको विरलै पाइन्छ । घटना सार्वजनिक भएमा इज्जत जाने डरले आफ्नै परिवारले समेत गरेको असहयोग, प्रहरी प्रशासनको गैरजिम्मेवारपूर्ण व्यवहार एकातर्फ, अर्को तर्फ बलात्कारको त्यो असह्य पीडा, यस्तो अवस्थामा धेरै कम महिलाहरुले मात्र सम्झौता त्यागी संघर्षको बाटो रोज्छन् । यस्ता घटनामा जीवनको अर्थ, महत्व र औचित्य समाप्त भएको निष्कर्षमा पुग्छन् कमजोर आत्मबल भएकाहरु । तर निहारिकाले जस्तो सुकै कठिन र तिरस्कृत परिस्थितिमा पनि आफ्नो आत्मबललाई कमजोर बन्न दिइनन् । बलात्कार पीडित एक कुमारी आमाले न्याय प्राप्तिका लागि गरेको यो कठिन संघर्ष अन्य पीडित महिलाहरुका लागि पनि गतिलो पाठ हो ।
हाम्रो देशको व्यवस्था र न्यायप्रणाली वास्तवमा शोषित पीडित जनहरुको पक्षमा नरहेको निहारिकाको कठिन संघर्षको इतिहासले थप प्रष्ट पारेको छ । यहाँ अझै पनि न्याय प्रणाली ठूलावडा हुने खानेहरुकै कब्जामा रहेकै कारण निहारिकाले अहिलेसम्म पनि न्याय पाउन नसकेकी हुन् । यहाँ न्यायालय, न्याय बिक्री गर्न राखिएका पसल जस्ता भएका छन् । एउटी बलात्कृत नाबालिकाले आफ्नो दर्दनाक पीडा विगत तीन वर्षदेखि सुनाउँदै आएकी छिन्, तर यहाँको राज्य संयन्त्रले अझै पनि उनको पीडालाई सुन्न र बुभ्mन नसक्नु यो निकै लज्जास्पद विषय हो । अझ अनसनरत निहारिकामाथि प्रहरी प्रशासनबाट जुन खालको व्यवहार गरिएको छ–यो झनै निन्दनीय र खेदजनक छ । शुरुमा माइतीघर मण्डलामा अनसन बसेकी निहारिकालाई मध्यरातमा आएर प्रहरी प्रशासनले कुटपिट गर्दै गिरफ्तार गरेको थियो । प्रहरी प्रशासनले अहिले बसन्तपुर डबलीबाट पनि उनलाई उठाउने धम्की दिइरहेको निहारिकाले बताइरहेकी छिन । एउटी बलात्कार पीडित चेलीमाथि राज्यसंयन्त्रका जिम्मेवार निकायहरुबाटै भैरहेको त्यसप्रकारको निकृष्ट व्यवहारका विरुद्धमा न्यायप्रेमीजनहरुले आवाज उठाउनु जरुरी छ । निहारिकाले न्याय नपाउँदासम्म अब आफूले सडक नछोड्ने उद्घोष गरेकी छिन् । उनले शुरु गरेको यो सडक संघर्ष अब उनको मात्र न्याय प्राप्तिको विषय होइन । यो सम्पूर्ण शोषित पीडित महिलाहरुको साझा विषय हो । अनसनका दिन जति लम्बिँदै जान्छन् पीडित निहारिका र अबोध त्यो दुधे बालकको जीवन झन झन जोखिममा पर्दै जानेछ । उनीहरुको जीवनरक्षाका लागि पनि न्यायप्रेमीजनहरुबाट समयमै आवाज उठाउनु नितान्त आवश्यक छ । त्यसैले हामी पनि भन्छौं– यो समस्यालाई गम्भीर रुपमा लिएर समाधान गर्न सरकारलाई बाध्य पार्नका निम्ति हामी सबै जुटौं– निहारिका र ती अबोध दुधे बालकको जीवनरक्षा र न्यायका निम्ति चौतर्फी रुपबाट आवाज उठाऔं ।