केही दिन यता काठमाडौंमा हैजा देखिएको कुराले राजधानीवासीहरुलाई चिन्तित बनाएको छ । खास गरेर काठमाडौंका सडकहरुमा लामो समयदेखि फोहोर थुप्रिएपछि हैजाको प्रकोप देखिएको हुन सक्ने अनुमान गरिएको छ । राजधानीमा करिब दशवटा स्थानमा हैजाका लक्षण झाडापखलाका बेरामीमा देखिएको छ । सबैभन्दा पहिले १५ दिन अघि बागबजारमा देखिएका थियो । त्यसपछि धेरैतिर फैलिन पुगेको छ । विभिन्न स्थानको खाने पानी परिक्षण गर्दा मानिसको दिशामा पाइने ई–कोलाई र कोलिफर्म भेटिएको स्वास्थ्य विज्ञहरुको भनाई छ । विज्ञहरुले नागरिकहरुलाई पानी उमालेर खान सुझाव दिएका छन् ।
हैजाको विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि कुरो उठेको छ । सांसद नविना लामाले सरकारको ध्यानाकर्षण गराएपछि समितिले सरकारलाई हैजा नियन्त्रण तथा न्यूनीकरणका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको छ । लामो समयदेखि काठमाडौंमा फोहोर थुुप्रिएर पनि सरकारको लापर्वाहीले गर्दा फोहोर उठ्न सकेन । गल्लीहरुमा फोहोरको दुर्गन्धले मानिसहरु बाटोमा हिंड्न नै कठिन भएको छ । अर्कोतिर धेरै वर्षदेखि काठमाडौंको समस्या के हो भने पानीका पाइपहरु कतिपय ठाउँमा जीर्ण वा लिक हुने गरेका छन् । ती पाइपहरु ढल वा त्यस्तै फोहोरहरुमा विछाइएका हुन्छन् । पानी बन्द भएका बेला सुकेर फुटेका ती पाइपहरुबाट पानी आएको बेला बाहिरको फोहोर पानी प्रवेश गर्छ । त्यही पानी नागरिकहरुले प्रयोग गर्दै आएका छन् । होटेल, चियापसल, पानीपुरीहरुमा त्यही पानी प्रयोग भइरहेको छ । धनाढ्यहरुको लागि प्रशोधित पानी पिउने सुविधा भए पनि निम्न आय भएका नागरिकहरु ढलको पानी मिसिएको पानी खान बाध्य छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले सडकपेटीमा पानीपुरी र चना चटपटेको ठेला नलगाउन भनेको छ । महानगरपालिकाहरुले चालेको कदमले ठोस समाधान गर्न सक्दैन । ठेलावालाहरुले सडक पेटीमा ठेला नलगाए पनि हैजाका जीवाणुहरु होटेल र घरमा प्रयोग गर्ने पानीबाट पनि संक्रमण हुने खतरा यथावत छ ।
शुद्ध पानी वितरक कम्पनीहरुले शहरमा वितरण गरेका जारको पानीमा पनि जाँच गर्दा रोगका जीवाणुहरु भेटिएका समाचारहरु आइरहेका हुन्छन् । तर राजधानीवासीलाई शुद्ध पानी उपलब्ध गराउन सरकार असक्षम सावित भैरहेको छ । जारको पानीको गुणस्तरमा कुनै कमी छैन, ढुक्क सँग जनताले पिउन सक्छन् भनेर नागरिकलाई सरकारले विश्वास दिलाउन सकेको पाइँदैन ।
महानगरपालिकाले सडकमा व्यापार गर्ने पानी पुरी र चटपटेका ठेला लगाउनमा रोक लगाएको कुरालाई ठीक माने पनि प्रश्न उठ्छ, के हैजा पानीपुरी र चटपटेका कारणले मात्र फैलिएको हो त ? त्यो भन्दा मुख्य कुरो त पानीमा नै इ–कोलाई र कोलिफर्म फैलिनाले हो । सामान्य ठेला लगाएर जीविका चलाउने व्यक्तिहरुको कमाई बन्द हुने अवस्था सिर्जना गर्नु ललितपुर र काठमाडौं महानगरपालिकाहरुको निर्णयलार्ई सही मान्न सकिन्न ।
बरु उनीहरुले प्रयोग गर्ने शुद्ध पानी निश्चित गरिदिन सक्नुपर्छ । तर सरकारले न त पानीको पाइप लाइनमा सुधार गरेर जनतालाई विश्वस्त गर्न सक्छ, न कुनै कम्पनीको पानीको ग्यारेन्टी गर्न सक्छ । राजधानीमा सबै पानीका स्रोतहरुमा फोहोर छन् । यो अवस्थामा सरकार अहिले लाचार देखिएको छ ।
हैजाको संक्रमण अझै फैलिन सक्ने विज्ञहरुले बताइरहेका छन् । सरकारले रोकथाम र नियन्त्रणका लागि अहिले तत्काल केही गर्न सक्ने स्थिति नदेखिए पछि स्वयं नागरकिहरु पनि सचेत हुनु जरुरी छ । स्वास्थ्यकर्मीहरुले दिएका सुझावहरुलाई पालना गरे मात्र पनि धेरै हदसम्म हैजाको प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ । बाहिरको खानेकुरा न खाने, बजारबाट लगेको तरकारी फलफुलहरु राम्रोसँग धोएर खाने, पानी उमालेर मात्र खाने गरेमा धेरै हदसम्म हैजा न्यूनीकरण हुने विज्ञहरुको भनाई छ । त्यसलाई पालन गर्ने र सकेसम्म आफू सुरक्षित हुने प्रयत्न गर्नुपर्छ ।
हैजा एउटा महामारी रोग हो । समयमा ध्यान दिन नसकेमा मानिसको तत्काल केही क्षणमै मृत्यु हुन पनि सक्छ । विगतमा दुर्गमस्थलका गाउँहरुमा हैजाले थुप्रै व्यक्तिहरुको मृत्यु भएका घटनाहरु हाम्रो सामु छ । खास गरेर निम्न आय स्रोत भएका मानिसहरु स्वास्थ्यप्रति ध्यान दिन सक्दैनन् । बेरामी भएपछि पनि तत्कालै ध्यान दिन सक्दैनन् । आर्थिक अभावका कारणले पनि त्यसो हुने गरेको छ । स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मा सरकारको हो । सरकारले पानीका स्रोतहरुलार्ई प्रशोधित गरेर मात्र पानी वितरण गर्नुपर्छ । राजधानीमा वितरण हुने पानीका कम्पनीहरुको निरन्तर निरिक्षण गर्नुपर्छ । बेला बेलामा पानीको गुणस्तर चेक जाँच गरिरहनु पर्छ । सरकारले त्यति गर्न सके मात्र पनि धेरै हदसम्म नियन्त्रण हुनेछ । नागरिकहरुले पनि सचेतता अपनाए भने प्रकोपलाई अगाडि बढ्नबाट रोक्न सकिन्छ । अहिले मनसुनी वायु शुरु भइसकेको हुँदा सबैतिर वर्षा भइरहेको छ । वर्षाको कारण बाहिरको फोहोर खाने पानीमा मिसिन जाँदा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुनु स्वाभाविक छ । रोग उत्पन्न भएर औषधि पानी गर्नुभन्दा रोग उत्पन्न हुन नदिनु नै सही उपाय हो । त्यसकारण समस्या राजधानीको मात्र होइन, देशभरी फैलिन सक्ने संक्रामक रोगहरु उत्पन्न हुन नदिनका लागि सरकारले विशेष तयारी गर्नुपर्छ ।