माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गत शुक्रबार भारतको भ्रमणमा निस्किएका थिए । दुई दिने भ्रमण सकेर श्रावण १ गते नेपाल फर्किएका थिए । नेपालका ठूला दलहरुका नेताहरु प्रायः जसो देशमा कुनै समस्या प¥यो भने तुरुन्त भारतको भ्रमण गरिहाल्ने, यो पहिलेदेखिको प्रचलन हो । प्रचण्डको भारत भ्रमण पनि त्यसैको निरन्तरता हो ।
जब नेपालका नेताहरु भारत भ्रमणमा जान्छन्, नेपाली जनताको मन थरथरी कामिरहेको हुन्छ । जनतालाई कुन कुराले त्रसित बनाइरहेको हुन्छ भने भारत भ्रमण कै बेला कुनै न कुनै राष्ट्रघाती सम्झौता गर्ने पो हुन कि ? प्रचण्ड प्रधानमन्त्री भएको बेला नौमुरे सम्झौता गरेका थिए । उनले त्यसलाई ठूलो उपलब्धि बताएका थिए । अर्घाखाँची र प्यूठानको सीमानामा रहेको राप्ती नदीबाट नौमुरेमा विद्युत निकालेर दुई जिल्ला भन्दा बाहिर पनि झिलिमिलि पारिदिने बाचा गरेका थिए । रुपमा विद्युत उत्पादनको कुरा भए पनि अन्तर्वस्तुमा भारतलाई राप्ती नदीको पानी अटुट रुपमा उपलब्ध गराउने योजना थियो । किनकि त्यो पानीलाई कपिलवस्तुसम्म सुरुङ मार्गबाट ल्याएर विद्युत तथा सिंचाई गर्ने भनेर बहुउद्देश्यीय परियोजनाका लागि पंचायतकालमा जर्मन प्राविधिकहरुबाट सर्भे गराइएको थियो । परिणामले आज पुष्टि भएको छ– नत विद्युत उत्पादन भयो न कपिलवस्तु तर्फ सिंचाईको कार्यक्रम बन्यो । भारतलाई पानी भने अटुट रुपमा उपलब्ध भइरहेको छ ।
सरकारको नेतृत्वमा बसे पनि वा नबसेपनि प्रचण्ड एउटा संस्था हुन । त्यसकारण उनलाई नजिक राख्नुले भारतलाई ठूलो फाइदा हुन्छ । एमसीसीको सन्दर्भमा पनि उनको सहयोग निर्णायक रह्यो । तर भारतलाई के थाहा छ भने प्रचण्ड अविश्वसनीय व्यक्ति पनि हुन । उनी जसलाई जे भन्दा खुश पार्न सकिन्छ, त्यही कुरा गर्ने मान्छे पनि हुन् । व्यक्तिगत जीवनमा पनि उनी त्यही गर्दै आएका छन् । उनीसँग भेट हुने मान्छे प्रफुल्ल हुने गर्छ । तर केही समय पछि निराश हुने गर्छ । किनकि उनले भनेको कुरामा आफै नटिक्ने मान्छे हुन । तर अहिलेको भ्रमण केका लागि हो ? भन्ने कुरामा धेरैले माथापच्ची गरेको पाइन्छ । धेरै मानिसहरु धेरै अडकलहरु गरेका छन् । ती अडकलहरु वाहियात् हुन भन्न पनि मिल्दैन । जब कुनै नेतामा पारदर्शिता हुँदैन, त्यो बेला अडकल गर्नु सिवाय बाँकी के रहन्छ र ?
चिनियाँ विदेश विभाग प्रमुखले नेपालका नेताहरुलाई भेट गरेपछि भारत सशंकित हुनु स्वाभाविक थियो । त्यसले गर्दा भारतले तुरुन्तै प्रचण्डलाई निम्तो दिनु स्वाभाविक नै हो । यो अचानक गरिएको निम्तो हो भन्ने कुरा केबाट थाहा लाग्छ भने विदेश विभाग प्रमुख राम कार्कीले भारतबाट पहिले निम्तो आएको बारेमा वीवीसीसित आफ्नो अनभिज्ञता प्रकट गरेका छन् । कतिपयले डेढ महिना पहिले गरिएको निम्तो भने पनि त्यसमा विश्वास गर्न सकिने अवस्था छैन । किन कि प्रचण्डलाई डेढ महिना अघि निम्तो आएको थियो भने कम्तिमा पार्टीको कुनै निकायमा छलफल हुने थियो । त्यो नभएको हुनाले त्यो अचानक आएको निम्ता थियो । विजेपीका अध्यक्ष जय प्रकाश नड्डाको निम्तोमा प्रचण्ड गए पनि त्यो कुन प्रकारको भ्रमण हो भन्ने कुरा खुल्न सकेन । विजेपीको निम्तो हो भने विजेपीसित छलफलका एजेण्डा देशभित्र तयार गरेर जानु पथ्र्यो होला । त्यो देखिएन । उनले विजेपीका नेताहरुसित कालापानी, लिम्पियाधुरा, लिपुलेक माथिको अतिक्रमण, १९५० को असमान सन्धि, इपीजीको प्रतिवेदन लगायतका कुरा आफूले राखेको बताए पनि त्यसमा दोहोरो छलफल किन हुन सकेन । प्रचण्डले भ्रमण फलदायी भएको निष्कर्ष बताए पनि फलदायी कसरी भयो ? त्यो पुष्टि गर्न सकेका छैनन् ।
नेपालको बौद्धिक क्षेत्रमा चिनियाँ टोलीको भ्रमणबाट अत्तालिएर आफू स्पष्ट हुनका लागि भारतबाट प्रचण्डलाई नयाँ दिल्ली बोलाइएको हो भन्ने जुन चर्चा छ, त्यो त्यति निराधार छैन । अहिले पनि भ्रमणको अन्तर्वस्तु के हो भन्ने कुरा खुलेको छैन । उनले जे जे कुरा विजेपी नेताहरु समक्ष राखेको बताए पनि त्यो कुरा राख्न नेपाल सरकारले पठाएको पनि होइन । अचानक जानुको रहस्य के हो ? त्यो नेपाली जनता समक्ष इमान्दारीपूर्वक राख्दा राम्रो हुनेछ ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको अवस्था इतिहासमा अहिले जस्तो कहिल्यै बिग्रिएको थिएन । हाम्रो देश असंलग्न परराष्ट्र नीतिमा विश्वास राख्दछ । तर गठबन्धन सरकार आए पछि अमेरिकाको पक्षमा सरकार उभिन थाल्यो । त्यसले गर्दा एकातिर चीन सशंकित छ भने अर्कोतिर भारत पनि, मुख नखोले पनि सशंकित छ । एमसीसी पारित भएपछि अमेरिकी सेनाहरु आउने क्रम जारी छ । एसपीपी पनि पारित भएको भए आजसम्म नेपाली सेना समेत उत्तरी भेगमा संयुक्त कार्यक्रम शुरु भइसक्थ्यो होला । अहिले संसदीय निर्वाचनलाई ध्यान दिंदै केही समयका लागि गठबन्धन सरकारले थाती राखेको छ । त्यसैले एसपीपी फिर्ता गर्ने निर्णय गरे पनि सरकारले अमेरिकालाई पत्र पठाएर जानकारी गराएको छैन । अब देश असंलग्न नहुने पक्का पक्की जस्तो छ । तर नेपाली नेताहरु चीनसित “एक चीन नीति” परित्याग नगरेको भनेर विश्वास दिलाउन खोजिरहेका छन् । चीनले पनि विश्वास नलागे पनि विश्वास गरे जस्तो गरिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा गठबन्धनका नेताहरुको मान प्रतिष्ठा गिरिसकेको छ । उनीहरु नेपाली जनतालाई उल्लु बनाए जस्तो अरुलाई पनि उल्लु बनाउन सकिन्छ भन्ने ठानेका छन् । तर त्यसले नेपालका नेताहरु प्रति अविश्वास उब्जाएको छ र उनीहरु आफै उल्लु बनिरहेका छन् । उनीहरु जति उल्लु बन्दछन्, त्यति नै साम्राज्यवादीहरुलाई फाइदा हुने हुनाले उनीहरुप्रति विशेष रुचि देखाउँछन् । यो अवस्था यसरी नै अगाडि बढ्दै गयो भने उत्तर वा दक्षिणबाट सैन्य हस्तक्षेपको खतरा निम्तिन सक्ने सम्भावना रहन्छ । आज प्रत्येक नेपालीलाई दलाल गठबन्धन सरकार कै पालामा नेपालको अस्तित्व समाप्त हुने हो कि भन्ने चिन्ताले सताइरहेको छ । एकातिर गठबन्धन सरकारले देशलाई फिजि बनाउँदैछ, अर्कोतिर सिक्किमीकरण हुँदै युक्रेन बन्ने खतरा पनि छ । यो अवस्थामा सच्चा देशभक्तहरु देशको सार्वभौमिकता बचाउन जीवनमरणको संघर्ष गर्ने बेला आएको छ । यदि गरिएन भने लेन्डुप दोर्जेले जस्तै नेपाल सिक्किम बन्ने वा युक्रेन बन्ने नियती नेपाली जनताले भोग्नु पर्नेछ ।