दूध उत्पादक किसानहरूको रकम तत्काल भुक्तानी दिन आवश्यक

अहिले देशभरका दूध उत्पादक किसानहरु दूधको भुक्तानी नपाएर र आफूहरुले उत्पादन गरेको दूधको बिक्री नभएर आन्दोलनरत छन् । दूध उत्पादक किसानहरुले दूधको बाँकी रकम प्राप्त गर्न सकिरहेका छैनन् । किसानहरूले आफूहरुले उत्पादन गरेको दूधलाई सडकमा पोखाएर विरोध गरिरहेका छन् । उनीहरुले सरकारले आफूहरुको माग पूरा गर्न नसके अझै कडा खालको आनदोलनको चेतावनी दिएका छन् । किसानहरुले उधारोमा बिक्री गरेको दूधको मूल्य चार महिना बितिसक्दा समेत प्राप्त गर्न सकिरहेका छैनन् । पशुपालक किसानहरु दूध उत्पादनको काम छोडेर आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

किसानहरुले दूधको भुक्तानी पाउनु पर्ने रकम सात अर्ब बराबर बाँकी रहेको छ । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान , डेरी उद्योग संघ र डेरी एशोसिएशनले दूध उत्पादक किसानहरुको दूध बेचेर किसानलाई भुक्तानी नदिएका कारण किसानहरुले भुक्तानी प्राप्त गर्न सकिरहेका छैनन् । किसानहरुले समयमै भुक्तानी प्राप्त गर्नु पर्ने हो । सरकारी र निजी दूध बिक्रेता डेरीहरुले किसानको बाँकी रकम भुक्तानी दिइरहेका छैनन् । यसको मारमा किसानहरु परेका छन् । किसानहरुको बाँकी रकम नपाउने हो भने उनीहरुले पशुहरु गाई ,भैंसीलाई खुवाउने दाना र खाना समेत किन्न नसक्ने अवस्था आउने बताइरहेका छन् । दूध उत्पादक किसानको यो समस्या सानो समस्या होइन । यो समस्यालाई सम्बन्धित निकायले सुनेको नसुन्यै गरिरहेको छ । देशका किसानहरु आफ्ना मागलाई सम्बोधन गराउन सबै दुःख कष्ट भोगेर प्राप्त गरेको दूध आफ्नो मेहनतलाई बाटोमा पोख्न विवश भएका छन् । मान्छेको पेटमा जानुपर्ने दूध रसिलो पोषिलो दूधलाई बाटामा पोखेको हेर्नु पर्ने भनेको यहाँको किसानमारा नीति तथा पद्दतिको परिणाम हो । किसानले आफ्नो उत्पादनको मूल्य हाताहाती प्राप्त गर्नु पर्ने हो तर त्यो हुन सकेको छैन । किसानबाट सस्तो मूल्यमा किनेको दूध तथा दूग्ध जन्य पदार्थ बेचेर सरकारी तथा निजी दूध बिक्रेताहरुले नाफा कमाईरहेका छन् । कुनै पनि दूध बिक्रेता कहाँ दूध तथा दूग्ध पदार्थ बिक्री नभएको भन्ने समाचार कहिल्यै आउँदैन । किसानको दूध महंगो मूल्यमा बिक्रि भइरहेकै छ । तर किसानहरुले चार महिना सम्मको भुक्तानी प्राप्त गर्न नसक्नु निकै दुःखद कुरा हो ।

किसानहरुले आफ्नो काम छोडेर आन्दोलनमा आउनु पर्दा देशमा कति हानी नोक्सानी हुन्छ भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन । किसानहरुले उत्पादन गरेको दूधको रकम नपाउँदा किसानको अवस्था के हुन्छ ? कसैले सोचेको छैन । किसानले दिनहुँ उत्पादन गरेको दूधबाट उसको जीवन चल्नुको साथै सबैलाई पु¥याउनु पनि हो तर उनीहरुको समस्याप्रति वेवास्ता गर्ने,समयमा भुक्तानी नदिने, किसानलाई सहुलियत नदिने ,किसानलाई अनुदान नदिने, सिमाना पारीबाट आएको दूधलाई नरोक्ने वा लुकिछिपी दूध ल्याउँदा अनुगमन तथा निगरानी नगर्ने जस्ता ब्यबहारले गर्दा किसानहरुले उत्पादन गरेको दूधले उचित मूल्य नपाउने स्थिति आएको छ । किसानहरुलाई दूध पोख्न बाध्य पारिएको छ । कुनै पनि किसानलाई आफ्नै उत्पादन फाल्नु रहर थिएन तर यो किसानमारा नीति र पद्दति भएको कारण किसानहरुले दूधलाई पोखेर बस्नु परेको छ ।
सरकारले दूध उत्पादक किसानहरुको समस्या समाधानको लागि तत्काल ध्यान दिन जरुरी छ । सरकारले उनीहरुको उत्पादनको बाँकी रहेको जुन रकम छ त्यो भूक्तानी गर्न सबैलाई दबाब दिनु पर्दछ । चाहे सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थान होस् या निजी डेरी उद्योग संघ, र डेरी उद्योग एसोसिएशन होस् , किसानको बाँकी रकम तत्काल भुक्तानी दिनु पर्दछ ।किसानले भुक्तानी नपाएमा किसानले पशुलाई पाल्न सक्ने छैनन् । किसानले पशु पालन नगरे दूधको अभाव बढेर जानेछ । त्यसकारण किसानको दूधको मूल्य अर्थात किसानको पसिनाको मूल्य बिना आनाकानी तत्काल भुक्तानी दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित