राजनीतिमा नैतिकता

मानव समाजमा मानिसलाई खान, लाउन र बस्नका लागि राम्रो व्यवस्था जति आवश्यक छ, नैतिकताको पनि त्यतिकै आवश्यकता हुन्छ । मानिसहरु समाजका मूल्य, मान्यता र आर्दशहरुलाई आफ्नो व्यवहारमा प्रयोग गर्छन् र त्यसलाई विकास गर्छन् । समाजमा कुनै असामाजिक कार्य कसैले ग¥यो भने समाजले दण्डित गर्छ । घोषित वा अघोषित रुपले पनि बहिष्कार गर्ने र घृणा गर्ने काम गर्छ । कतिपय बहिष्कृत मानिसहरु समाजमा आफू अनुकूलन गर्न नसकेपछि गाउँ, शहर वा देश नै छोडेर पनि भाग्छन् । नैतिकता मानवीय मूल्य मान्यतालाई दिगो राख्ने एउटा व्यवस्था हो । त्यसलाई पालन गरेर मानिसहरु समाजमा खुशी राजीले आपसमा प्रेम, सद्भाव र सम्मानको जीवन बाँच्न चाहन्छन् । नैतिकता सधै एउटै प्रकारको पनि रहँदैन । युग अनुसार परिवर्तन हुँदै जान्छ । तर त्यो परिवर्तन नकारात्मक दिशामा होइन, सकारात्मक दिशामा विकास भइरहेको हुन्छ ।

समाज जसरी दुई ठूला वर्गहरुमा बाँडिएको हुन्छ, त्यसरी नै नैतिकता पनि दुई प्रकारको हुन्छ । पुँजीवादी समाज र समाजवादी समाजका अलग अलग नैतिकता हुन्छन् । पुँजीवादी समाजमा नाफा कमाउने, भ्रष्टाचार गर्ने, अवैध सम्पत्ति आर्जन गर्ने, लुटपाट गर्ने, व्यभिचार गर्ने लगायतका अनैतिक कार्य व्यक्तिलाई सुख दिनका लागि सबै जायज मानिन्छन् । तर जनताको भावनालाई हेरेर उनीहरु त्यही काम पनि खुला रुपले गर्न छुट दिंदैनन् । त्यसलाई नियन्त्रण गर्न कानुन बनाएका हुन्छन् । त्यो कानुनलाई उनीहरु राज्यसत्ताको आडमा आफ्नो पक्षमा प्रयोग गर्छन् । समाजवादी समाजमा व्यक्तिलाई सुख दिने भन्दा पनि सामूहिक रुपमा सुख सुविधा प्रदान गर्ने मान्यता राख्ने हुनाले राज्यले नै त्यसप्रकारका अपराध हुनै नदिन व्यवस्था गरेको हुन्छ । सम्पत्तिमा सामूहिक स्वामित्व मात्र होइन, उत्पादन र वितरणमा समेत सामूहिक फाइदा हेरिन्छ । त्यसकारण समाजमा अपराध नियन्त्रित हुने गर्छ ।

नेपालको राजनीतिमा संसदीय व्यवस्था उच्च पदस्थ नेता मन्त्री र कर्मचारीहरु समेतले ठूलठूला भ्रष्टाचार, ठगी, अनियमितता, कालो बजारी गरेर अकुत सम्पत्ति कमाए । त्यसको विरुद्ध जनताले संघर्ष गर्न र यिनको सत्ता पल्टाउन कम्युनिस्ट विचारधारालाई समर्थन गरे । सामन्तवादी तथा पुँजीवादी पार्टीहरुले अनैतिक काम गरे पनि त्यो ठूलो विषय बन्दैन । किनकि उनीहरुको नैतिकता त्यही हो । तर जब आफूलाई कम्युनिस्ट भन्नेहरुले अनैतिक काम गर्छन, त्यतिबेला त्यो ठूलो विषय बन्छ । किनकि कम्युनिस्टहरुले अनैतिक काम गर्दैनन् भन्ने विश्वास गरिएको हुन्छ ।

नेपाली राजनीतिमा टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड, विष्णु पौडेल, गोकुल बास्कोटाहरुको नाम चर्चामा छ । अरु नामहरु केही पहिले चर्चित भए पनि अहिले नन्दकिशोर पुन र कृष्ण बहादुर महराको नाम विशेष रुपमा चर्चामा रहेको छ । यी दुवैले सुन प्रकरणमा आफ्ना छोराहरुलाई प्रयोग गरे । सत्तामा रहुन्जेल कैयौं पटक सीआइवीले अख्तियारमा सिफारिस गर्दा पनि उनीहरुलाई कसैले पक्रने आँट गरेन । अहिले रवि लामिछाने गृहमन्त्री भए पछि उनको निर्देशनमा कृष्ण बहादुर महरा र छोराहरुलाई पक्रने काम भएको छ । नेपालमा ठूलाठूला काण्डहरु चर्चामा आए पनि अपराधीहरुको नाइके कैविनेट मै बस्ने हुनाले उनीहरु पक्राउ नहुँदा रैछन् । भ्रष्टाचारको काण्डमा माओवादी केन्द्रमा मात्र होइन, एमाले, कांग्रेस लगायत साना दलहरुका नेताहरु समेत मुछिएका छन् । हालै ललिता निवास काण्डमा साना दलका पनि केही पूर्व मन्त्रीहरुलाई सफाई दिइएको छ ।

नेपालको संसदीय राजनीतिमा संसदवादी नेताहरुको सामान्य नैतिकता पनि देखिएन । अधिकांश नेताहरु कुनै न कुनै काण्डमा डामिएका छन् । त्यसकारण संसदमा वा कैविनेटमा भ्रष्टाचारका आरोपित पुग्नु स्वभाविक हो । डा. बाबुराम भट्टराईले बारम्बार भनेका छन्ः “शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले बुढी गण्डकी परियोजनामा नौ अर्ब खाएको मसँग प्रमाण छ ।” गगन थापालाई सडकबाटै “बाख्राचोर” भनेका छन् । प्रचण्डमाथि सेना समायोजनको बेला रकम घोटाला गरेको आरोप छ । त्यसैगरी एमाले नेताहरु पनि काण्डै काण्डमा मुछिएका छन् । राजनीतिमा भैरहेको अपराधीकरणको जालो अहिले च्यातिन शुरु भएको छ । राजनीतिक दलहरुप्रति जनताको विश्वास उठेको छ । नेताहरु बदनाम भएका छन् । तर पनि सत्ता उनीहरुले नै चलाएका छन् ।

अरु संसदीय व्यवस्था भएका देशमा राजनीतिक नेताहरुले कुनै गल्ती गरे भने उनीहरु तत्काल राजीनामा दिएका हुन्छन् । हाम्रो देशमा गल्ती भएपछि राजीनामा दिने व्यक्तिहरु अत्यन्त कम छन् । नेपालमा नैतिकतालाई खासै ख्याल गरिंदैन । पार्टीहरुले अपराधीहरुलाई बचाउन प्रयत्न गर्दछन् । सरकारले पनि बचाउन प्रयत्न गर्छ । यसप्रकारको राज्यसत्ता जनतामा घृणित हुनु स्वभाविक पनि हो । सामान्य तथा आम नागरिकले पनि नैतिकताको पालन गर्छ । समाजलाई नोक्सान पुग्ने वा सामाजिक मूल्य मान्यताको विरुद्ध हुने काम गर्दैन । तर देशको सर्वोच्च पदमा बसेका व्यक्तिहरु नै ठगी, भ्रष्टाचार, मानव तस्करी, सुन तस्करीमा संलग्न हुनु दुःखद कुरा हो । अर्को दुःखद कुरा त के पनि छ भने नेताहरु जतिबेला पनि ढाँटी रहेका हुन्छन् । जनताले छर्लङ देख्दा देख्दै पनि नेताहरुले ढाँटीरहेका हुन्छन् । त्यसप्रकारका नेताहरुलाई जनताले अत्यधिक मत दिएर निर्वाचनमा जिताएका पनि हुन्छन् । जनता नेताहरुको व्यवहारलाई नचिनेर समर्थन गर्दासम्म यो देशमा एकाध व्यक्तिले भ्रष्टाचारीलाई कार्वाही गर्न खोजेर विकृतिको अन्त हुन सक्दैन । त्यसैले नैतिकहीन नेता वा कार्यकर्ताहरुलाई जनताले नै सजाय दिने परिपाटी बसाल्ने हो भने नैतिकताको परिभाषा नैतिकहीन नेताहरुले बुझ्ने थिए कि ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित