मुलुकमा व्याप्त भ्रष्टाचार

मुलुकमा अहिले भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचारबाट सबै स्थान र तह अछुतो छैन । राज्ययन्त्रको माथि देखि तल्लो तह सम्म भ्रष्टाचार झाँगिएकोछ । भ्रष्टाचार गरेको, अकुत सम्पत्ति आर्जन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेको जस्ता समाचार दिनहुँ जसो आउने गरेका छन् ।
सानादेखि ठूला सम्म सबै भ्रष्टाचारको आहालमा डुबेका छन् । राजनीतिज्ञ,ब्यापारी, कर्मचारी, ठेकेदार, भ्रष्टाचारमा संलग्न भएको वा भ्रष्टाचार गर्दै रहेको भनेर अख्तियार र विशेष अदालतमा मुद्दा चलिरहेका छन् । जनताहरू सानो कामको लागि सरकारी कार्यालय जाँदा पनि घुस दिन विवस छन् । सामान्य चिया खाजा खर्च देखि मानव तस्करी, प्राकृतिक साधन स्रोतको तस्करी सम्मका काण्डहरू छताछुल्ल भएका छन् । राज्यको नियम कानुनलाई किर्ते गर्ने ,राज्यलाई ढाँट्ने र पदको व्यापक दूरोपयोग गरिएको छ ।
सानो भन्दा सानो काममा पनि कमिसन लिने, विना कमिसन काम नै अगाडि नबढाउने , सकेसम्म कसैलाई सुइको नदिने , नसकेमा सबैलाई हातमा लिएर कमिसन खाने चलन जताततै छ । सूचनाहरुलाई प्रमाणविहीन बनाउने,अनावश्यक निर्णय मन्त्रीपरिषदबाट गराउने या आफू बसेको कार्यरत बोर्डबाट निर्णय गराउने, आफूलाई फाइदा हुने भएमा जे गर्न पनि तयार हुने र बन्न सहयोग गर्ने प्रवृति नयाँ होइन । भ्रष्टाचार गर्ने अवसर आएमा नैतिक मूल्य मान्यताको ख्याल नगर्ने प्रवृति मौलाउँदोछ । भ्रष्ट मानसिकता भएका व्यक्तिले आफू भ्रष्टाचारी ठहर भएमा भविष्यमा पछि सम्म आफ्ना शाखा सन्तानको समेत बदनाम हुन्छ । आफ्नो कारणले सन्ततिहरूले लाजले शिर झुकाएर हिड्नु पर्नेछ भनेर सम्म हेक्का राख्दैनन् । भ्रष्टाचार गर्ने वानी बसे पछि राज्य र कानुन छ भन्ने सम्मको ख्याल गर्दैनन् ।
नेपाली समाज झन पछि झन भ्रष्ट हुँदै गएकोछ । परिवार ,समाज,आफन्तले ओहदामा रहेका व्यक्तिहरूलाई भ्रष्टाचार गर्न उक्साइरहेका हुन्छन् । फलाना छिमेकीले घर घडेरी जोडीसक्यो,कार ,गहना किनिसक्यो तपाईले कमाउन सक्नुभएन भनेर हतोत्साहित गरिन्छ । भ्रष्टाचार गरेरै किन नहोस् कसैले समाजमा धाक धक्कु ,आडम्बर प्रदर्शन गर्छ भने उसलाई समाजमा आदर्श व्यक्ति ठानिन्छ । त्यही भएर मौका मिल्नासाथ लाखौं करोडौंको भ्रष्टाचार गर्न मानिसले अप्ठ्यारो मान्दैन । कथम कदाचित अदालतले दोषी ठहर गरेमा लाखौं करोडौं को विगो र धरौटी बुझाएर कुनै हिनताबोध नभए जस्तो गरी समाजमा डुलिरहेको हुन्छ ।
देशको छवि अन्तर्राष्ट्रिय रुपमा पनि विग्रीएको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नल नामक संस्थाले वर्षेनी भ्रष्टाचार सम्बम्धी सर्वेक्षणको प्रतिवेदन जारी गर्दछ । सन् २०२३ मा १८० देशमा गरेको सर्वेक्षणमा नेपाल १०८ औं मुलुकमा परेकोछ ।
भ्रष्टाचार गर्ने प्रवृति एकाएक आउने कुरा होइन । समाजमा विद्यमान स्वार्थी प्रवृतिले भ्रष्टाचार जन्माएको हो । भ्रष्टाचारको समस्या भनेको हामी सबैको साझा समस्या हो । समाजमा पूँजीवादी ब्यबस्था रहुन्जेल सम्म भ्रष्टाचारको अन्त्य हुँदैन किनभने पूँजीवादी ब्यबस्थाले मान्छेलाई स्वार्थी बन्न उक्साइरहेको हुन्छ ।
भ्रष्टाचारको समस्या दीर्घकालीन समाधानका लागि स्वार्थीहरू जन्माउने पुँजीवादी ब्यबस्थाको अन्त्य हुनु पर्दछ । विद्यमान व्यबस्था भित्र पनि सचेत पहलकदमी भएमा केही हद सम्म भ्रष्टाचार न्यूनिकरण गर्न सकिन्छ । त्यसका लागि परिवार ,समाजमा बच्चा देखि नै मानिसहरूलाई लोभी , स्वार्थी हुनुहुन्न ,भ्रष्टाचार खराब हो भन्ने शिक्षा दिनु पर्दछ । शिक्षालयमा विद्यार्थीहरूलाई भ्रष्टाचार विरोधी शिक्षा दिनु पर्दछ । भ्रष्टाचार गर्नेलाई कडा दण्ड सँजायको व्यबस्था गरिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित