पंचायतकालमा कम्युनिस्ट कलाकारहरुले एउटा गाउने गीत यस्तो थियो ः “किर्तेबजार, दुई शुन्य थपेर दशको हजार ।” यति बेला त्यो पंचायती व्यवस्था ढलेको ३३ वर्ष पुगेको छ । तर हाम्रो समाज आज पनि त्यही पंचायतकालीन अवस्थामा छ । ०४६ सालको जनआन्दोलनबाट सार्वभौमसत्ता जनतामा न आएपछि त्यसका विरुद्धको संघर्ष चर्किदै जाँदा ०६२ सालमा फेरि दोस्रो जनआन्दोलन भयो । त्यसले राजतन्त्रलाई समूल नष्ट ग¥यो र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यो लोकतान्त्रिक गणतन्त्रमा पनि जनता सार्वभौमसत्ता सम्पन्न हुन सकेनन् । सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्ग सार्वभौम सत्ता सम्पन्न भए । तर जनताको अवस्था जहाँको तही रह्यो । पीडित जनताको नजरबाट हेर्दा जनताका लागि के मात्र फरक प¥यो भन्दा हिजो निर्दलीय व्यवस्था भएकाले पंचेलाइृ मात्र चुन्नु पथ्र्यो । आज धेरै पार्टी छन्, छानी छानी चुन्न पाइएको छ । लोकतन्त्रले ल्याएको फरक उनीहरुका लागि त्यति हो । कसैले प्रश्न उठाउन सक्छ ः के त्यति मात्रै उपलब्धि हो त ? हो, त्यतिमात्र हो, परिणामले त्यही बताएको छ, जनताले त्यति मात्र बुझ्न पाएका छन् ।
आज माइतीघर मण्डलामा नवलपरासीका किसानहरु ३ हप्तादेखि टण्टलापुर घाममा धर्ना बसिरहेका छन् । उनीहरु मिटर व्याजी सुदखोरहरुबाट परेको अन्याय राज्यलाई सुनाउन काठमाडौं आएका हुन् । उनीहरुको व्यथा सुनिदिने यो देशमा शासकहरु छैनन् । शासकहरुको एउटै मात्र चिन्ता छ, सत्ता कसरी टिकाउने ? गणतन्त्र घोषणा भएको १६ वर्ष पुगिसक्यो । तर सुदखोरी सरकारले अन्त गरेन । सुदखोरी गाउँ शहर सबैतिर व्याप्त छ । नवलपरासी लगायत तराईमा दुई शुन्य थपेर दशको हजार बनाउने घटना धेरै पुरानो प्रचलन हो । विगतमा त्यो प्रचलन पहाडमा पनि थियो । तर पहाडमा शोषक सामन्तहरुका विरुद्ध संघर्ष भएका कारण त्यस्ता घटना कम पाइन्छन् । तराईमा पनि किसान संघर्ष भएका थिए । तैपनि अहिलेसम्म सामन्ती शोषण कायम छ । गत साल पनि त्यसप्रकारका घटनाले राजधानी तताएको थियो । तर मिटर व्याजी प्रचलन तराई वा गाउँ मात्र होइन, शहर बजारमा पनि कायम छ । कैयौं मानिसहरुको त पेशा नै त्यही छ । सूर्य अस्त भएपछि अर्कोदिनको व्याज गणना गरिन्छ । यसरी कैयौं साना व्यापारीहरु तबाह भइरहेका छन् । सुदखोरहरुले साँवा व्याज पहिले नै जोडेर कागज पत्र बनाउँछन् । अदालतमा मुद्दा प¥यो भने पनि उसलाई कुनै फरक पर्दैन । उसले सापटी दिएको भनेर कागज पेश गर्दछ । कानुनलाई छलेर गरिने यस्ता कामहरुले पीडकलाई समाउने ठाउँ नै रहँदैन ।
आज गाउँगाउँमा माइक्रो फाइनान्सहरुले ऋण लगानी गरिरहेका छन् । ऋण तिर्न सक्नेहरुले त्यसबाट फाइदा लिएका हुन सक्छन् । तर कुनै आकस्मिक घटनाहरुका कारण व्याज र किस्ता तिर्न नसक्नेहरुको अवस्था पनि मिटर व्याजी पीडितको भन्दा कम हुँदैन । उनीहरु घर जग्गा बेचेर ऋण तिर्नु पर्ने हुन्छ । सरकारले ती फाइनान्स तथा बैंकहरुलाई चर्को व्याजमा ऋण प्रवाह गर्न अनुमति दिएको छ ।
गृह मन्त्रालयले मिटर व्याज पीडितहरुबाट उजुरी मागेकोमा करिब एक हजार भन्दा बढी उजुरी परेको छ । एकजना महिलाले ५० हजार ऋण लिएकोमा नौ लाखको किर्ते तमसुक बनाएको भनी एक जनालाई उजुरी दिएकी छिन् । हालै मिडियामा आएको यो घटना अत्यन्त हृदयविदारक छ । यो देशमा कुनै कानुन, प्रशासन, समाज छ कि छैन ? यस्तो कुकृत्य गर्ने मानिस समाजमा कसरी हैकम चलाएर बसेका छन् ? सरकार कहाँ छ , नेताहरु कहाँ छन् ? भोट माग्न जाने नेताहरुले उनीहरुको त्यो समस्या बुझ्न किन सकेनन् ? समाजमा सुनिल बानियाँ, जगदीश बानियाँ वा लालबहादुर खडका मात्रै अपराधी छैनन्, उनीहरुलाई साथ दिने ठूलो नेता, प्रशासन तथा प्रहरी अधिकृतहरु छन् । त्यसकारण उनीहरु ढुक्क साथ धन्दा चलाईरहेका छन् । आज मुख्यमन्त्री लालबाबु यादव नै जनताको कठघरामा उभिएका छन् । उनको सरकारले “छात्राहरुका लागि साइकिल” परियोजनामा दश करोड घोटाला गरेको आरोप छ । त्यो मुद्दाको दोषी को हो ? सर्वसाधारण जनताले त्यो काम गर्न सक्दैन । त्यसकारण जनतामाथिको शोषण उत्पीडन गर्ने वर्ग छ । त्यो वर्ग केन्द्रबाट स्थानीय तहसम्म लहरोमा बेरिएर बसेको छ । त्यसकारण गृहमन्त्रालयमा उजुरी परे पनि दोषी उपर कार्वाही हुने कुुरा न्यून छ । उनीहरुलाई मेलमिलाप गरेर छाडिन्छ । अपराधीलाई अधिकतम सजाय गर्न सदैनन् । किन कि उनीहरु कुनै न कुनै सत्ता वा प्रतिपक्ष दलका नजिकका व्यक्ति हुन सक्छन् । देशमा व्यवस्था परिवर्तन भए पनि आर्थिक सामाजिक संरचनामा आमूल परिवर्तन भएन । सामन्त तथा दलाल पुँजीपतिवर्ग एक ठाउँमा उभिएका छन् । उनीहरु सरकारको संरक्षण पाउँछन् । समाजमा उनीहरु समाजसेवी भनेर चिनिने गर्छन् । यसप्रकारका तत्वहरुलाई जनताले पहिचान गर्ने र सचेत गराउने हो भने यिनीहरुको मनोबल कमजोर हुँदै जानेछ । त्यसका लागि आफूमाथि परेको अन्याय, अत्याचार, शोषण, दमन आदिको अन्त गर्नका लागि आफै संगठित हुनु आवश्यक छ । जनताले आफ्नै शासन सत्ता प्राप्त नगर्दासम्म यसप्रकारका तत्वहरुलाई सजाय दिने र जनता माथि न्याय दिने काम हुन सक्दैन ।