झोलुङे पुलहरु नदी वारपार गर्न सजिलोको लागि निर्माण गरिएका हुन् । मान्छेहरुले नदी ,खोलानालामा वारपार गर्नको लागि स्थानीय स्रोत साधन जुटाएर ठूला र बलिया काठहरु ,बाँसहरु प्रयोग गरेर फड्केहरु निर्माण गरेका हुन्छन् ।त्यस्तै पार गर्नकोलागि तुइनहरुको निर्माण गरिएका हुन्छन् । त्यो मात्रै होईन नदी खोला नाला पार गर्नको लागि डुङगाहरुको प्रयोग गरिएका हुन्छन् ।
हाम्रो देशको भौगोलिक अवस्थाले गर्दा झोलुङे पुल,तुइन, साँघु प्रयोगमा आएका छन् । तुइन,साँघु, फड्केलाई झोलुङे पुलले विस्थापित गर्दै गएका छन् । अहिले सुगम ठाउँहरुमा अत्याधुनिक सिमेन्टेड पुलहरुको निर्माण धमाधम हुँदैछ । अत्याधुनिक भोलुङगे पुलहरुको निर्माण पनि हुँदैछ ।
काठको प्रयोग गरेर बनाईएका झोलुङ्गे पुलहरु पनि रहेका छन् । फलामको मात्रै प्रयोग गरेर बनाईएका पुलहरु पनि छन् । अहिले प्रयोगमा रहेका झोलुङगे पुलहरु निकै जीर्ण अवस्थामा छन् । जीर्ण रहेका पुलहरुले कतिबेला कहाँ कसको ज्यान लिने हो भन्ने डरको अवस्थामा छन् । त्यसको बारेमा कसैको ध्यान जान सकेको छैन । नेपालको दूर्गम जिल्लाहरुमा निकै दुःख कष्टले खोलानाला पार गर्नु पर्ने अवस्था छ । जीर्ण अवस्थामा रहेका पुल, तुईनहरु वषौंदिख जीर्ण अवस्थामा नै संचालनमा रहेका छन् । यसले वारपार गर्नेहरु भारी बोकाएर लैजान पर्नेहरु जिउको निकै जोखिम मोलेर वारपार गनु पर्ने बाध्यतामा रहेका छन् । यसको उदाहरण २०८१ साल जेठ २७ गते कर्णाली नदीमा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला बजारमा खाद्यान्नका भारी बोकेर आउने क्रममा कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुडिनु । झोलुंगे पुलको एउटा लट्ठा चुँडिएर पुल कोल्टिएपछि खच्चड बीच पुलमै फस्नु । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर नदीमा खसालेर खच्चरको उद्धार गरिएको थियो । उद्धारको क्रममा १४वटा खच्चर मध्ये २ ओटाको मृत्यु हुन पुगेको थियो । उद्धार गर्न पाँच घण्टा लागेको थियो । त्यो पाँच घण्टाको समयसम्म र उद्धार गरिएको खच्चरहरुको कारुणिक फोटोहरु सामाजिक संजालहरुमा छोटो समय मै भाईरल हुन पुगेका थिए ।
दैलेख र अछाम जोड्न उक्त पुल २०५९ सालमा बनाइएको थियो । ‘२२ वर्ष पुरानो पुल जीर्ण भइसक्दा पनि त्यसैबाट आउजाउ गर्नुको विकल्प थिएन । ‘खिया लागेको लट्ठा बढी भारका कारण चुँडिएपछि दुर्घटना हुन पुग्यो । यो घटनाले विकास निर्माणमा राज्यबाट भएको विभेदलाई दर्शाउनुको साथै कति दुःखमा दूर्गमभेकका नेपालीले दैनिकी गुजारिरहेका छन् भन्ने देखाएको छ । आज पनि झोलुङगे पुलको विकल्प बन्न सकेको छैन । सडक संजालले जोड्न सकेको छैन । माल समान ढुवानीदेखि सबैको आवत जावतको लागि झोलुङगे पुलमा भर पर्नु पर्ने स्थिति रहेको छ । कष्टकर जीवन बिताउन परेको छ ।
अहिले सरकारले विकासको बाढी ल्याउने भनिरहेको छ । विभिन्न गोष्ठी छलफलहरुमा लाखौं करोडको रकम सक्याउने गरेका छन् ।वजेट भाषण र योजनाहरुमा निकै ठूला ठूला योजनाहरु पेश हुने गर्दछन् ।सरकारले देशबाट तुइृन मुक्त देश बनाउने भनेर घोषणा गरेको लामो समय भयो । त्यो मात्र होइन झोलुङगे पुल निर्माणलाई तीव्रता दिने भनिरहेको छ । निर्माण पनि गरिरहेको छ । सडक संजालले नजोडिएका स्थानहरुमा झोलुङगे पुलको आवश्यकता सबै स्थानमा छ । यो अवस्थामा झोलुङगे पुलहरु जीर्ण अवस्थामा नै भएपनि संचालन रहेका छन् । सबैले जीर्ण पुलहरु अधिराज्यभरि कहाँ कहाँ रहेका छन् ? कहाँ कहाँको मर्मत गर्नु पर्ने छ र कहाँ कहाँ मर्मतबाट पनि हुँदैन उनीहरुलाई हटाउन सबैले ध्यान दिनु पर्दछ । तिनीहरुको विस्थापनको स्थिति नहुँदासम्म प्रयोगमा आईरहने झोलुङगे पुलहरुलाई मर्मत गर्ने ,नयाँ फेर्ने तथा नयाँ पुलहरु निर्माण गर्ने खिया लागेका लठठाहरु हटाउने गर्नु पर्दछ । सडक विस्तारलाई द्रुत बनाउन ध्यान दिनु पर्दछ । यो झोलुङगे पुल दुर्घटनाले अन्य ठाउँमा त्यो घटना दोहोरिन नदिन सचेत बनाएको छ । पक्की पुलहरुको निर्माणलाई द्रूत गतिमा अगाडि बढाउनु पर्दछ ।