तीजलाई भड्किलो नबनाऔं

वर्षायाम सकिदै गर्दा विस्तारै हरितालिका तीज ,दशैं, तिहार, छठ जस्ता चाडवाडहरु आउँदै छन् । अहिले हरितालिका तीज आएको छ । यी चाडवाडलाई कसरी मनाउने भन्ने प्रश्न हाम्रो अगाडि छ। अहिले पुराना मूल्यमान्यताहरु भन्दा बाहिर गएर निकै महंगो तरिकाले मनाउने चलन बढ्दै गएकोछ । सकिनसकि ऋण धन गरेर मनाउने चलनको विकास हुँदैछ । आर्थिक क्षमताभन्दा बाहिर गएर चाड मनाउने चलनले गरी खाने मान्छेहरूलाई गाह्रो पारिरहेको छ । तीज पर्वमा महिलाले सुयोग्य बरको कामना गर्दै तथा विवाहितहरुले श्रीमानको आयु लामो होस् भन्दै पानीसम्म नखाई ब्रत बस्ने चलन छ ।
आफ्नै उत्पादनले चाडवाड मनाउने चलन हराउँँदै गएकोछ । घर गाउँमा महंगा देशी विदेशी रक्सीहरु पुगेका छन् ।पुँजीवादी बजरले चाहिने नचाहिने उपभोग्य सामग्री उपलब्ध गराएको छ । समाजमा उपभोगतावादी चिन्तन हावी हुँदै गएकोछ । हरितालिका तीजको सन्दर्भमा पनि महिनौं अगाडिदेखि दर खाने ,ठूला ठूला पार्टी प्यालेसहरुमा दरको कार्यक्रम गर्ने । संस्था होस या कार्यालय सबैको आयोजनामा महंगो दर खाने , तीजकोलागि भन्दै तयारी गर्ने चलनको विकास हुँदैछ । तीजमा अनावश्यक रुपमा गरगहना ,महंगो लुगाको प्रदर्शन ,अंगहरुको प्रदर्शन भैरहेको छ ।कार्यालय ,संघ संस्थामा रकम होस नहोस जसरी भएपनि दरकोलागि रकम छुट्याउने ,अनि बिल पेस गर्ने , टोल विकास संस्थाहरुले पनि निकै महंगो तरिकाले तीजलाई मनाउने गर्दछन् । चाडवाडलाई अनावश्यक खर्चिलो ,भड्किलो बनाउनु आफैलाई अप्ठ्यारोमा पार्नु हो ।

तीजमा गाउने गीतहरु पनि निकै चर्को स्वरमा बजाउने,होहल्ला मच्चाउने चलनको विकास हुँदैछ ।गीतहरु पनि निकै उत्ताउला किसिमका बनेका छन् । यीनै गीतहरुले नै बजार खाएका छन् ।तीज आउनु भन्दा पहिलेदेखि अर्थात असार महिनाको अन्त्य पछि आएका गीतहरु कतिपय त सुन्न र हेर्नसम्म पनि गाह्रो हुने खालका छन् । तीज भनेको चेली माइतीको सम्बन्ध प्रगाढ बनाउने ,माया,ममता सुख , दुःख साटासाट गर्ने पर्व हो ।छोरी चेलीलाई बोलाएर माईतमा मिठो मसिनो बनाएर खुवाउने,गीत गाउने, नाँच्ने परम्परा रहेको छ । तर तीज अहिले विकृत हुँदै गएकोछ ।
तीजलाई मितव्ययी बनाउन पहल तथा प्रयासहरु कम भएका छन् । भएका पहल प्रयासहरु पनि प्रभावकारी हुन सकिरहेका छैनन् । तीजलाई कम खर्चिलो र कम भड्किलो बनाउनकोलागि सबैको सचेत पहलको खाँचो रहेको छ ।महिनौं दर खाने,भई नभई सबै कुरा किनेर उपभोग गर्नु पर्ने , को भन्दा को कम भनेर श्रृङगारको सामानहरुको प्रर्दशन गर्ने ,तीजको बेलामा अत्यधिक मादक पदार्थ सेवन गरी होहल्ला जस्ता क्रियाकलापहरु गर्ने समाजका विकृतिहरु हुन् । देशको संस्कृति भन्दै तीजलाई मनाउने गरिन्छ ।तर अहिले तीज संस्कृति होईन विकृति हुन पुगेको छ ।यस्ता खालका गतिविधिहरुले समाजलाई गलत बाटोमा डो¥याउँछ्न । ।समाजमा जसरी भएपनि खर्च गर्नु पर्दछ भन्ने मनोविज्ञानको विकास गर्दछ । यसको अन्त्य हुन आवश्यक छ । कम खर्चिलो र भडिकलो बनाउन सबैले ध्यान दिनु पर्दछ ।हुनेहरुले धेरै देखाउने मानसिकता छोड्नु पर्दछ ।नहुनेहरुले कसैको पनि देखासिखी गर्नु हुँदैन । नेपाली समाजमा प्रचलित पुरानो उखान जस्तै “घाँटी हेरी हाड निल्नु पर्दछ” । देखावटी रुपमा को भन्दा को कम भनेर खर्च गर्ने आडम्बरी चलनलाई त्यागी दिनु पर्दछ ।
सरकारी तह र निकायहरुले तीजलाई कम खर्चिलो रुपमा मनाउनकोलागि सूचना निकाल्ने ,प्रचार प्रसार गर्ने गर्नु पर्दछ ।उत्ताउला प्रकारका गीतहरुलाई नबजाउन अनुरोध गर्ने ,मादक पदार्थको सेवनलाई निरुत्साहित गर्ने कुरामा ध्यान दिनु पर्दछ । संघ ,संगठनहरुले समाजको अगुवा वा नेता ,नेतृत्वले पनि त्यसलाई ध्यान दिनु पर्दछ । तीजलाई सबैले मर्यादित र कम खर्चिलो बनाउन जोड दिनु पर्दछ ।
सुयोग्य पतिको प्राप्ति वा पतिको दीर्घायुको कामना गर्दै तीजमा व्रत बस्ने हिन्दु परम्परा हो । व्रत बसेर सुयोग्य पति पाइन्छ वा पतिको आयु बढ्छ भन्नू रुढिगत अन्धविश्वास हो । यस्ता अन्धविश्वासलाई महिलाहरूले त्याग्न जरुरी छ । तीजलाई मितव्ययी बनाउनु अत्यावश्यक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित