युवाहरुलाई स्वदेश फिर्ता गर

सन् २०२२ फरवरीमा रुसले युक्रेनमाथि हमला गरेपछि रुस– युक्रेन युद्धमा अवैध ढंगले दलालहरु मार्फत् पुगेका नेपालीहरु मारिएको खबर सार्वजनिक भएपछि नेपाल सरकारले बल्ल चासो लिन थालेको थियो । काठमाडौंस्थित रुसी राजदुतावासका राजदुत नोभिकभलाई बोलाएर परराष्ट्र मन्त्रालयले सोधपुछ गरेपनि खासै विवरण प्राप्त भएको थिएन । कति भर्ना भएका थिए, कति मारिए, कति युक्रेनको कब्जामा छन् ? राजदुतले केही बताउन सकेनन् । खाली यति मात्र भने कि रुसमा अहिले युद्ध चलेको छ, सरकारले सबै कुराको रेखदेख गरिरहेको छ । नेपालले सोधपुछ गर्न थालेपछि अहिलेसम्म युद्धमा ४३ जना जतिको मृत्यु भएको छ । हालै ३ जना मारिएको उनीहरुको शव नेपाल आइपुगेको छ । ७ जना जति युक्रेनको कब्जामा छन् । रुस सरकारले प्रष्ट संख्या नबताए पनि करिब १ हजार ३ सय जति नेपाली युवाहरु रुसी सेनामा कार्यरत रहेको अनौपचारिक स्रोतले बताउँदै आएको छ । अहिलेसम्म १७४ जना युवाहरु घर फर्केको बताइएको छ ।
नेपाली युवाहरुको श्रम पसिना र रगत किन यति सस्तो भएको छ ? किन नेपालीहरु विभिन्न देशमा अवैध रुपले पुग्दा पनि सरकारलाई अत्तोपत्तो हुँदैन ? अमेरिका छिर्ने भनेका नेपालीहरु पनि बीच बाटोमै सयौंको संख्यामा मरिरहेका छन् । नेपालीहरु अवैध तरिकाले विदेश जानुमा नेपाल कै मेनपावरको माध्यमबाट हो । अवैध रुपमा विदेश जाने युवाहरु १० लाखदेखि एक करोडसम्म खर्च गरिरहेका छन् । नेपाली युवाहरुको विचल्ली देखेर जो कसैको पनि मुटु भकानिएर आउँछ । अझ ती युवाहरुका बाउ, आमा, श्रीमती, छोराछोरीहरुको जीवनमा के बितिरहेको होला ? नेपालका युवाहरुमा विदेशमा गएर कमाउने भावना कहाँबाट उत्पन्न गराइएको छ ? किन यसप्रकारको संस्कृतिको विकास भइरहेको छ ? किन सरकारले युवाहरुलाई स्वदेश मै रोजगार नदिएर विदेश जानका लागि सुलभ बाटो बनाउने गरेको छ ? यो संस्कृतिले नेपालको भविष्य के हुनेछ ? यो बडो चिनताको विषय बनेको छ ।
नेपाली युवाहरु विदेशी सेनामा भर्ती हुने र परिवारलाई गुजारामुखी धनपैसा छोडेर मर्ने चिन्तनको विकास खासगरेर गोरखा भर्ती केन्द्रबाट शुरु भएको पाइन्छ । खासगरेर बेलायती इष्ट इण्डिया कम्पनीले सन् १८१४ तिर नेपालमाथि आक्रमण शुरु ग¥यो । पश्चिमका नालापानी, मलाउ, खलंगा, बुटवल आदिमा भएको घमासान युद्धमा नेपालीहरुले स्थानीय हतियारद्वारा जुन प्रकारले वीरतापूर्ण लडाई लडे, त्यो देखेर कम्पनीका जनरल अक्टरलोनीले मनमनै हार मानेका थिए । त्यति बेला उनले नेपालीहरुसित लडेर आफ्नो शक्ति क्षीण बनाउनु भन्दा उनीहरुलाई कम्पनीकै सेनामा भर्ती गर्नु ठीक ठानेर उनले नेपाली सैनिक जनरलहरुसँग कुराकानी गर्न थाले । अर्कोतिर नेपाल सरकारले पश्चिम किल्लामा लडिरहेका योद्धाहरुलाई आवश्यक लजिष्टीक सामान, रसद पानी, गोलाबारुद समयमै उपलब्ध गराउन सकेन । फलस्वरुप यसै बाध्यताका बीच सेनापति अमरसिंह थापा र अंग्रेज सेनापति डेविड अक्टरलोनीको बीचमा १८१५ मई १५ तारिखमा मलाउ भन्ने ठाउँमा शान्ति सन्धि भयो । त्यसपछि अंग्रेजले नेपाली युवाहरुको गोरखा रेजीमेन्टहरु बनाउन थाल्यो । नेपालीहरु द्वितीय विश्वयुद्धमा संसारभरी ब्रिटिश साम्राज्यवादको पक्षबाट लडाई लडेका थिए । अन्तमा १९४७ नोभेम्बर ९ मा त्रिपक्षीय सन्धि भएको थियो । त्यो सन्धि गर्दा नेपालको तर्फबाट तात्कालीन श्री ३ पद्मशमशेर, भारतको तर्फबाट कर्नेल कुँवर दयासिंह बेदी र ब्रिटेनबाट एकजना अफिसर एस.बी. साइमनले हस्ताक्ष्र गरेका थिए । त्यो सन्धि अनुसार १० वटा नेपाली बटालियन मध्ये दोस्रो, छैठौं, सातौं र दशौं राइफललाई ब्रिटिश सेनामा सामेल गर्ने बाँकी ६ वटा रेजिमेन्ट भारतमा रहने निर्णय भएको थियो । अहिले पनि ब्रिटिश सेनामा ३ हजार र भारतीय सेनामा ४० हजार नेपाली सेना कार्यरत छन् ।
तत्कालीन राणा सरकारले १० वर्षका लागि सन्धि गरेको थियो । त्यसपछि सैनिकहरु फिर्ता गर्ने भन्ने निर्णय थियो । तर पछिका सरकारहरुले, खास गरेर मातृका कोइरालाको पालामा नेपालमा जीविकोपार्जनका लागि व्यवस्था नभइसकेको हुँदा उनीहरुलाई (ब्रिटिश र भारतका गोरखा सैनिकलाई) उतै काम गर्न दिने भने पछि कालान्तरमा त्यो विषयमा त्यसपछिका सरकारले पनि कुरो उठाएनन् ।
बारम्बार नेपाली जनताले गोरखा भर्तीकेन्द्र खारेजीका लागि आवाज उठाए पनि सरकारले त्यसप्रति कुनै चासो र सरोकार देखाएको छैन । अहिलेको दलाल सरकारले नेपाली युवाहरुलाई स्वदेशमा रोजगार दिन सक्दैन । त्यसकारण युवाहरु विदेश पठाउन मेनपावरहरुलाई अनुमति दिएको छ । त्यति मात्र होइन, अवैध ढंगबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम स्वयं माओवादी केन्द्र, एमाले कांग्रेसका उच्चपदस्थ मन्त्रीहरु, कर्मचारीहरुले गरेको सार्वजनिक भइसकेको छ । यसप्रकारको मानवतस्करीको उद्यम देशमा फस्टाएको छ । ब्रिटिशहरु नेपालको निश्चित एउटा ठाउँमा नेपाली युवा भर्ती गर्न गल्ला पठाउँथ्यो । गल्लाले नेपाली रंगरुट भर्ती गरेर लैजान्थ्यो । अहिलेको दलाल सरकारका पालामा त देशभरी गाउँगाउँमा मेनपावरका दलालहरु पुगेका हुन्छन् र उनीहरु मान्छे पठाए वापत लाखौं रुपियाँ कमाई गर्छन् ।
यसप्रकारको मानव तस्करीको संजालले नेपाली युवाहरुलाई विभिन्न प्रलोभनहरु देखाएर विदेश पठाउने गरेका छन् । यो एउटा संस्कृतिकै रुपमा विकास भएको छ । गाउँघर रित्तिएको छ । नेपाली युवायुवतीहरुको श्रम पसिना र रगत विदेशमा भिजेको छ । यो दुःखदायी अवस्थाको दर्द सम्बन्धित परिवारले मात्र भोग्दैन , त्यसको दर्द सम्पूर्ण समाज र देशले भोग्नु परिरहेको छ । त्यसकारण समस्या रुस गएका युवाहरुको मात्र होइन, विश्वका जुनसुकै भागमा गएका नेपालीहरुको पनि त्यही समस्या हो । सरकारले तत्काल रुसमा रहेका युवाहरु फिर्ता ल्याउन र युक्रेनमा बन्दी बनाइएका ७ जनालाई अविलम्व कुटनीतिक पहल गरेर नेपाल ल्याउनुपर्छ । त्यतिले मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन, नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी दिन र विदेशतिर नजाने वातावरण बनाउन सरकारले नीति तत्काल ल्याउनुपर्छ । दलाल सरकारले गर्न सकेन भने जनता पनि त्यसको जवाफ दिन शुरु गर्नेछन् । त्यसकारण त्यतातर्फ सरकारको ध्यान जाओस् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित