क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको आगामी मंसीर १३ देखि २३ सम्म काठमाण्डौमा एकता महाधिवेशन हुन गईरहेको छ । “२०८१ मंसीर १३ –२३सम्म हुने राष्ट्रिय एकता महाधिवेशन सफल पारौं , नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अघि बढौं !”भन्ने मूल नाराका साथ एकता महाधिवेशन सम्पन्न हुँदैछ । एकता महाधिवेशन तयारीको कार्य अगाडि बढिरहेको छ । क्रान्तिकारी माओवादी, नेकपा (मशाल), नेकपा बहुमतको बीचमा पार्टी एकताका लागि कैयौं चरणमा वार्ता भएर २०८० वैशाखमा क्रान्तिकारी माओवादी र बहुमतबीच एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बनेको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल र नेकपा (मशाल)को बीचमा फेरि गत २०८१ बैशाख १९ गते काठमाण्डौमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको निर्माण भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने आफ्नो जिम्मेवारी बोधका साथ अगाडि बढेको छ ।
अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा साना साना विषयहरुमा समेत मतभेद सिर्जना गरी कम्युनिष्ट पार्टीहरु गुटगत स्वार्थमा केन्द्रित रहने, पार्टी विभाजन गरी नयाँ पार्टी घोषणा गरिहाल्ने मतभेदहरुलाई सही तरिकाले सञ्चालन गर्न नसक्ने, सारमा मतभेद केही नभएपनि कृत्रिम मतभेद सिर्जना गर्न खोज्ने, एकताको पक्षलाई भन्दा पनि विभाजनको पक्षलाई प्रधान मानेर छलफल बहस केन्द्रित गर्न खोज्ने , अन्तरविरोधहरुको सही सञ्चालन गर्न नसक्ने वा एकताको पक्षलाई भन्दा फरक विषयहरु के के हुन् भनेर खोज्ने र एकता मजबुत पार्ने भन्दा पनि विभाजन नै गराउन खोज्ने प्रवृति नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ होईन । यस्ता खालको प्रवृतिले कम्युनिष्ट पार्टीलाई अनावश्यक रुपले विभाजन तर्फ लगेको छ । छलफल बहसलाई कहाँ केन्द्रित गर्नु पर्ने हो भन्ने कुरामा ध्यान नदिँदा पनि अनावश्यक रुपमा छलफल बहसहरु हुने गरेका छन् । एकता महाधिवेशनलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउने कुरा पार्टीले बताएको छ । यस अवस्थामा नेपाल तथा विश्वको कम्युनिष्ट आन्दोलनको सिंहावलोकन सही तरिकाले गर्ने र कम्युनिष्ट आन्दोलनको कमी कमजोरीबाट पाठ सिक्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।
नेपालको कम्युनिष्ट आन्दोलन तथा विश्वको कम्युनिष्ट आन्दोलनमा देखिएका विभिन्न प्रकारका दक्षिणपन्थी, मध्यपन्थी तथा उग्र“वामपन्थी” अवसरवादहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति , विश्व राजनीतिक परिस्थिति सबै कुरामा पार्टीले सही र व्यापक छलफल बहस गरी एकता महाधिवेशनमा निष्कर्ष ठोस र वस्तुगत हुनेछ भन्ने हामीलाई लागेको छ । विश्व राजनीतिमा साम्राज्यवादी उत्पीडन, उत्पीडित राष्ट्रहरुले भोग्नु परिरहेका शोषण र त्यसका विरुद्ध जनताको विरोध, संघर्ष र विद्रोह तथा नेपालको जनवादी आन्दोलनसित त्यसको सम्बन्ध आदि विषयमा पनि महाधिवेशनले ठोस दिशानिर्देश गर्नेछ । पर्यावरणीय संकटबाट विश्व प्रताडित बनेको छ । यो अवस्थामा हुन गइरहेको एकता महाधिवेशनमा यी विषयहरुबारे साँच्चिकै बहस र छलफल हुने अपेक्षा गरिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको गठन भएकोमा नेपाल तथा विश्वका क्रान्तिकारीहरुमा उत्साह थपेको छ । अहिलेसम्म टुटफुट र विभाजनको सिलसिलामा क्रमभंगता आएको छ र एकताको सिलसिला अगाडि बढिरहेको छ । आगामी दिनमा अन्य क्रान्तिकारी कम्युनिस्ट संगठन वा समूहहरु पनि एकीकृत हुनु अनिवार्य र अपरिहार्य छ ।
कैयौं कम्युनिष्ट विरोधी शक्तिहरु, खासगरेर विश्व साम्राज्यवाद, प्रतिगामीतत्वहरु तथा दलाल पुँजीवादी तत्वहरुलाई क्रान्तिकारीहरुको यो एकता पाच्य भैरहको छैन ।यो एकतालाई कमजोर बनाउनको लागि भरसक सबैले कोशिस गर्दछन् । यो अवस्थामा महाधिवेशन सफल पार्न र साँच्चिकै पार्टीलाई मजबुत बनाउन पार्टीका विभिन्न तहका नेतृत्वपंक्ति पार्टी सदस्य, समर्थक तथा शुभ चिन्तकहरु सबैले ध्यान दिनु पर्दछ । पार्टीले सही नीति निर्माण गर्न सकोस भन्नेमा सबैको ध्यान हुनु पर्दछ । अहिले विश्वव्यापी रुपमा र हाम्रो देशमा समेत दक्षिणपन्थी संशोधनवादले कम्युनिस्ट आन्दोलनमा भ्रम सिर्जना गरिरहेको छ र त्यो नै कम्युनिस्ट आन्दोलनको मूलधार बताउन पछि परेको छैन । यो अवस्थामा पार्टीले यी तमाम भ्रमहरुका विरुद्ध संघर्ष गर्न जरुरी छ । पार्टीलाई महाधिवेशनले झनै सैद्धान्तिक तथा राजनीतिक रुपमा एकताबद्ध र सुदृढ बनाउन पर्ने छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले नेपालको क्रान्तिको कार्यभार पूरा गर्न सैद्धान्तिक, राजनैतिक, सांगठनिक तथा सांस्कृतिक रुपले समेत आफूलाई सबल र सुयोग्य बनाउन प्रयत्न गर्नेछ ।
एकता महाधिवेशनप्रतिको अपेक्षा
Comments