हाँक साप्ताहिक ४२ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामी प्रथमतः हाम्रा संस्थापक सम्पादक÷प्रकाशक सहिद शोभाखर धनञ्जय प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछौ । सहिद शोभाखर धनञ्जयले जनताको स्वतन्त्रता, समानताको आवाज बुलन्द गर्ने उद्देश्य राखेर हाँक साप्ताहिकको प्रकाशन सुरु गर्नु भएको थियो । त्यसप्रति हामी अहिले पनि दृढ संकल्पित छौ । हामीले अझै लामो यात्रा पार गर्नु छ । जनपक्षीय पत्रकारिताको मिसनमा अगाडि बढ्ने सिलसिलामा जस्ता सुकै चुनौती र अवरोधहरु अगाडि आए पनि त्यसको सामना गर्न हामी तयार छौं । नेपालको कम्युनिष्ट आन्दोलनमा चल्दै आएको वैचारिक संघर्षमा हाँकले सधै आफुलाई सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको पक्षमा उभ्याउदै आएको छ । ४२ औं वर्ष प्रवेशका अवसरमा हामी पुनः प्रतिवद्धता व्यक्त गर्दछौं, दक्षिणपन्थी विसर्जनवादी र उग्रवामपन्थी लफ्फाजी सबै खाले संशोधनवाद र प्रवृत्तिहरुका विरुद्धमा सच्चा क्रान्तिकारीहरुले चलाउने सम्झौताहीन संघर्षमा हाम्रो साथ सधै सच्चा माक्र्सवादी लेनिनवादीहरुलाई नै हुनेछ । साथसाथै हामी यो पनि स्पष्ट पार्न चाहन्छौ आफ्नो वैचारिक पक्षधरता प्रति दृढ रहँदै हामीले पत्रकार आचार संहिताको भने पूर्ण रुपमा पालना गर्नेछौ ।
हाँकलाई यो उचाईमा पु¥याउन योगदान दिनुहुने सम्पादक, संवाददाता, लेखक, वितरक, ग्राहक, पाठक, विज्ञापनदाता लगायतका विभिन्न भूमिकामा रहेर विगतमा काम गर्नु भएका सम्पूर्णमा हार्दिक आभारका साथ कृतज्ञता प्रकट गर्न चाहान्छौं । श्रमजिवी वर्गको मुक्ति अभियानमा सारथी बन्ने प्रतिबद्धताका साथ २०३९ कार्तिक २५ गते हाँकले आफ्नो यात्रा शुभारम्भ गरेको थियो । पञ्चायती कालरात्रीको त्यो समयमा जनमुखी पत्रकारिताको यात्रा सुरु गर्नु निकै जोखिमपूर्ण थियो । ती चुनौतीहरुसँग पौठिजोरी खेल्ने साहसका साथ नै हाँकले आफ्नो यात्रा शुरु गरेको थियो । स्थापनाको छोटो अवधिमै हाँकले संस्थापक सम्पादक÷प्रकाशक शोभाखर धनञ्जय भुसाल (सहिद सरोज शर्मा) लाई गुमाउनु प¥यो । सांगठानिक कामको सिलसिलामा भारतको नयाँ दिल्ली बेलारोड पुगेका बेला २०४३ भाद्र ११ गते उहाँको रहस्यमय तरिकाले हत्या भयो । तत्कालीन निरंकुश पञ्चायती सत्ताले षडयन्त्रमूलक तरिकाबाट हाम्रा संस्थापक सम्पादक÷प्रकाशकको हत्या गरे पनि हामी रतिभर विचलित नभई जनपक्षीय पत्रकारिताको मिसनमा अगाडि बढिरह्यौं ।
आफ्नो लक्ष्य र वैचारिक पक्षधरताबाट हामीलाई विमुख गराउन अनेक किसिमका षडयन्त्रहरु अहिले पनि जारी राखिएका छन् । तर हामी ती सबै प्रकारका षडयन्त्रहरुलाई चिर्दै अगाडि बढ्ने छौ । वर्तमान भूमण्डलीकृत पुँजीवादको नीति, निर्देशन र संरक्षणमा रहेका संसारभरीका उत्पीडित देशका सरकारहरुले आफ्ना साम्राज्यवादी मालिकहरुसित मिलिजुली त्यहाँका शोषित पीडित जनतालाई हाँसोचित व्यवहार गरिरहेका छन् । नेपालमा पनि गरिखाने जनतामाथिको शोषणलाई बढाउँदै लगिएको छ । नेपालका दलाल शासकहरु लाखौंलाख नेपाली युवा जनशक्तिलाई संसारभरीका श्रमबजारमा लखेटेर शोषणमूलक व्यवस्थाको दीर्घायुको सपना देखिरहेका छन् ।तर कुनै न कुनै रुपमा शोषणमूलक व्यवस्थाका विरुद्धमा आवाज उठिरहेका छन् ।
हाम्रो अहिललेको तत्कालीन मिसन भनेको दलाल पुँजीवादी व्यवस्थाको असली रुप जनतालाई चिनाउनु हो । जनताको आफ्नै व्यवस्था नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद तर्फ जान जनतालाई अभिप्रेरित गर्नु हो ।
हाँक साप्ताहिकले प्रारम्भिक दिनदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आवाज बुलन्द गर्दै आएको छ । हाँक साप्ताहिक जनताको सुख, दुःखको साथी हो । राष्ट्रघात र जनघातको विपक्षमा उभिंदै जनतालाई सुसुचित गर्ने कार्यमा हाँक निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
आजको पुँजीवादी युगमा पत्रकारिता क्षेत्रलाई साम्राज्यवादी र पुँजीवादीहरुले आफ्नो स्वार्थसिद्धिको साधन बनाएका हुन्छन् । वर्गीय समाजमा शोषकवर्गले ज्ञान र सूचनालाई आफ्नो नियन्त्रणमा राखेर शोषित वर्गलाई दमन गर्दछन् । हामीले हाँक साप्ताहिकलाई शोषक वर्गको सेवामा लाग्न दिने छैनौं । हाँक सधैभरी शोषित वर्गको सेवामा समर्पित हुनेछ ।
हामीले पत्रिकालाई थप स्तरीय र समयानुकुल बनाउँदै लैजाने प्रयत्न गर्दै आएका छौं । यसलाई अझै स्तरीय बनाउन प्रबुद्ध पाठक वर्गबाट अमूल्य सुझावको अपेक्षा राखेका छौ । हामीलाई विश्वास छ विगतमा जस्तै आगामी दिनमा पनि प्रबुद्ध पाठक, लेखक, विज्ञापनदाता एवं शुभचिन्तकहरुबाट हाँकले निरन्तर सहयोग प्राप्त गरिरहनेछ र आफ्नो मिसनमा हाँक निरन्तर अघि बढिरहने छ । अन्तमा हाँक साप्ताहिक ४२ औं वर्ष प्रवेशको अवसरमा हामीलाई शुभकामना प्रदान गर्नु हुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं ।
२०८१ कार्तिक २८ गते
(गोविन्द बहादुर थापा)
प्रधान सम्पादक÷प्रकाशक
हाँक ४२ औं वर्षमा प्रवेश
Comments