नारायणगढ –बुटवल सडकखण्डको दुरावस्था

नारायाण गढ – बुटवल सडक खण्ड विस्तार र स्तरोन्नतिको काममा ढिलाई भइरहेको छ । यो सडकको स्तरोन्नतिमा ढिलाई हुँदा दिनहुँ हिँड्ने यात्रुहरुलाई निकै मार परिरहेको छ । यो सडकको स्तरोन्नतिको ठेक्का चीनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको थियो । ०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । स्तरउन्नतिको दुरी ११३ किमि रहेको छ ।
नारायण–बुटवल सडक खण्डमा राम्रो बाटो हुँदा लाग्ने समय भनेको दुइघण्टा मात्र हो तर अहिले यात्रुहरुले हिँड्दा दैनिक न्यूनतम पाँच घण्टाको समय यात्रा गर्नु पर्ने हुन्छ । यात्रा गर्दाखेरी यात्रुहरुले भोग्नु परेको हिलो, धूलो घच्याक घुचुक त कति छन् कति ? दैनिक धुँवा धूलोले आसपासका वासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरेहको छ । यात्रुहरुको स्वास्थ्यमा पनि असर परिरहेको छ । वातावरणमा पनि यसले ठूलो असर गरेको छ । यो नेपालको पश्चिमतिर र तराइँ क्षेत्रबाट राजधानी जोड्ने सडक हो । यो सडकमा दिनहुँ हज्जारौंको सवारी गुड्ने गर्दछन् । खराव सडकका कारण छिटै जीर्ण बनेका छन् । सडकको स्तरोन्नतिको काम तोकिएकै समयमा सम्पन्न हुन नसक्दा सडक दूर्घटनाहरु पनि भैरहेका छन् ।
११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ विभाजन ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म दुई लेन सडक ८० र चार लेन सडक ४० किमि मात्र सडक कालोपत्र भएको छ ।
तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । अहिलेसम्म सडकको स्तरोन्नतिको काम ५२ प्रतिशत मात्रै भएको सरकारको भनाई रहेको छ । स्तरोन्नतिको काम अझै ४८ प्रतिशत बाँकी नै रहेको छ । समय मै काम हुन नसके पछि पटक पटक म्याद थपले कुनै काम गर्न सकेको छैन ।
नारायणगढ वुटवल खण्डको स्तरोन्नतिको काम चाँडो पूरा गर्न भन्दै त्यहाँका स्थानीय नजप्रतिनिधिहरुले प्रधानमन्त्री केपी ओलीलाई समेत भेट गरेका छन् । यो अवस्थामा थपिएको १ वर्षमा काम पूरा हुन सक्ने कुरा अपत्यारिलो भएको भन्दै प्रधानमन्त्रीले भनिसकेका छन् । यही गतिमा स्तरोन्नतिको काम भएमा तेस्रो पटकको म्याद थपमा पनि सडकको निर्माण कार्य सम्पन्न गर्न निकै गाह्रो छ ।
विज्ञहरुले पटक पटक म्याद थप गरेर उही निर्माण कम्पनीलाई निरन्तरता दिइरहनु भन्दा ठेक्का प्रक्रिया रद्ध गर्नु नै ठीक हुने भन्ने पनि भनाई राखिरहेका छन् । सरकारलाई यो स्तरोन्नतिको काम हेर्दा “काँचो आन्द्रो निल्नु न ओकल्नु” भनेजस्तो भएको छ । ठेक्का रद्ध गर्ने हो भने फेरि अर्को प्रक्रियामा नयाँ प्रक्रियाले अझै लामो समय लिन सक्छ,नगरौं भने काम समय मै हुन सकेको छैन ।
जम्मा ११३ कि.मि. को सडक खण्डको विस्तार र स्तरउन्नतिमा ६ वर्ष काम गर्दा जम्मा ५२ प्रतिशत मात्र काम हुनु भनेको दुःखद कुरा हो । यो सडक विस्तार र स्तर उन्नतिको कार्य सम्पन्न नहुँदा लाखौं लाख यात्रुहरुको जनजीवन प्रभावित भइरहेको छ । सरकारले ठेक्का लिएको कम्पनीलाई छिटो काम सम्पन्न गर्न दबाब दिनुपर्दछ । यदि ठेक्का कम्पनीलाई छिटो काम गर्न बाधा पुगेको छ, पैसा, प्रविधि, जनशक्तिको अभाव वा अप्ठ्यारा छन् भने सरकारले ती बाधाहरु फुकाइदिन सहजीकरण गर्नुपर्दछ । छिटोभन्दा छिटो नारायणगढ–बुटवल सडक खण्डको विस्तार र स्तर उन्नति सम्पन्न गरिनुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित