देशमा सबै किसानहरुका समस्या प्रति सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । किसानका समस्याहरु मल, बीउ, समयमै नपाउने, काम गर्ने कामदारहरु विदेशिँदा कामदार नपाउने ,जमिनको महंगो भाडा तिर्नुपर्ने, महंगो व्याजसहितको ऋण काढेर कृषि कर्ममा लगाउनु पर्ने, आधुनिक यन्त्रहरुको महंगो मूल्य तिर्नु पर्ने, उत्पादनलाई जंगली जनावरले खाइदिने, उत्पादन भइहाले उचित बजार भाउ नपाउने जस्ता समस्याहरु किसानका समस्याहरु हुन् । त्यस्तै समस्यामा उखु किसानहरु रहेका छन् । उखु किसानका समस्याहरु वषौंदेखिको समस्या हो । उखु किसानहरुले सकी नसकी उत्पादन गरेको उखुको मुल्य नपाउँदा वर्षेनी मर्कामा पर्ने गरेका छन् । उखु किसानहरुले उधारो मै उखु बेच्नु पर्ने ,मिल मालिककहाँ दिनहँु धाउनु पर्ने, सरकारबाट पाउने भनेको सहुलियत नपाउने जस्ता समस्याहरु रहेका छन् । किसानहरु मिल मालिकबाट ठगिएको कुरा वषौंदेखि उठ्ने गर्दछ । उखु किसानहरुले उखु बेचेर प्रतिफल प्राप्त गर्ने बेलामा उखुको भाउ खोज्दै सरकारसँग माग लिएर नारा जुलुसमा उत्रिनु पर्ने समस्या पुरानै हो ।
उखु उत्पादन गर्ने किसानहरुले मिल मालिकले उखुबाट चिनी उत्पादन गरेर बेचेर नाफा कमाइसक्दा पनि भुक्तानी पाउँदैनन् । विगतका वर्षझैं यसपालि पनि उखु किसान उधारो मै उखु बेच्न बाध्य भएका छन् । सरकारले समयमै समर्थन मूल्य नतोकिदिँदा किसानले उधारोमा उखु बेच्नुपरेको छ । सरकारले उखुको समर्थन मूल्य नतोके पनि उद्योगीहरूले गत वर्षकै मूल्यमा किसानसँग उखु लिएर क्रसिङ गरिरहेका छन् ।उखुको क्रसिङ कात्तिकदेखि नै शुरु हुन्छ । क्रसिङ चैत्रसम्म पनि हुने किसानहरु बताउँछन् । गत वर्ष कै मूल्यमा प्रतिक्विन्टल ५ सय ६५ मा किसानहरुले उखु बेच्न बाध्य भएका छन् । सरकारले उखु किसानले पाउने न्यूनतम मूल्य पहिले नै तोकि दिनु पर्ने हो तर सरकारको त्यसमा ध्यान गएको छैन। सरकारले जहिल्यै उखुको समर्थन मूल्य तोक्न ढिलाई गरेको हुन्छ ।
उखु किसानको समस्या जहिल्यै ज्यूँका त्यूँ रहेका छन् । उखु किसानहरुले वर्षभरिको खेतीबाट आम्दानी पाउने बेलामा उधारोमा बेच्नु परिरहेको छ । वषौंदेखिको उधारोमा बिक्री गर्ने बेचेको उखुको मूल्य किसानहरुले पाउन निकै समय लाग्ने गरेको उखु किसानहरुले बताउने गर्दछन् । उखु किसानहरुले बेलामा भुक्तानी नपाएकाले कतिपय कृषकहरु उखु खेती नै गर्न छोडेका छन् । नेपालको तराइँका जिल्लाहरुमा उखु खेती गर्ने किसानहरु घटिरहेका छन् । उखुको उत्पादन घटिरहेको छ ।
उखु किसानहरुले महंगी बढे अनुसारको मूल्य पाउनु पर्ने हो । उनीहरुको लगानी निकै चर्को परिरहेको छ । तर उनीहरुको लगानी गरे अनुरुपको मूल्य नपाउँदा किसानहरु निरास हुन पुगेका छन् । बजारमा चिनीको मूल्य बढेको बढ्यै छ । तर किसानहरुको उखुको मूल्य भने पाउन सकेका छैनन् ।किसानहरुलाई प्रोत्साहन गर्नु पर्ने बेलामा सरकार र मिलवालाहरुले किसानका समस्यामा वेवास्ता गर्दै आएका छन् । सरकारले मिलवालाको कुरामा ध्यान दिने तर किसानको समस्यालाई वेवास्ता गरेको किसानहरुले बताउँछन् । उखुलाई नगदे बालीका रुपमा लिइन्छ । बेचेर तत्कालै भुक्तानी पाउनु पर्ने हो । उखु किसानहरुको नगदे बाली, उधारो बाली जस्तो हुन पुगेको छ ।
सरकारले उखु किसानका समस्या समाधान गर्न तत्काल ध्यान दिनु पर्दछ । उखु किसानहरुले आफूले उत्पादन गरेको मूल्यवान उखुलाई उधारोमा बेच्नु निकै दुःखद हो । उत्पादनले मूल्य पाउनु पर्ने हो तर मूल्यको हिसाब उधारोमा हुनुले किसानहरुप्रतिको सरकारको वेवास्ता नै हो । सरकारले तत्काल उखुको तत्काल समर्थन मूल्य तोकिदिनु पर्दछ । किसानको पसिनामा मिल मालिकहरुले नाफा कमाउने तर किसानहरु ठगिनु पर्ने चलनको तत्काल अन्त्य हुनु पर्दछ ।किसानहरुले पसिनाको मूल्य पाउनु पर्दछ ।