महाधिवेशनका प्रतिनिधिहरुको दायित्व

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १३ गते भव्यताका साथ काठमाडौंमा सम्पन्न भएको छ । अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बन्दशत्र चलिरहेको छ । देश र प्रवासबाट जम्मा भएका प्रतिनिधि तथा पर्यवेक्षकहरुले पार्टीको आगामी नीति र नेतृत्व निर्माण गर्न घनीभूत छलफलमा जुटेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको हो । मूल कार्यदिशामा पार्टीमा मतभिन्नता छैन । जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र विद्रोहबाट नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने पार्टीले मूल कार्यदिशा तय गरेको छ । सो कार्यदिशालाई समृद्ध बनाउनतिर ध्यान दिनु महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकहरुको मुख्य दायित्व हो ।
मूल कार्यदिशामा मतभिन्नता नभएकाले यस महाधिवेशनमा कसैले पनि समानान्तर दस्तावेजको दावी गरेका छैनन् । तथापि कतिपय विषयहरुमा मतभेदहरु छन् र फरक–फरक दस्तावेज प्रस्तुत भएका छन् । पार्टीको पथप्रदर्शक सिद्धान्तमा माओवाद राख्ने वा माओविचारधारा, विगतको जनयुद्धको मूल्यांकन कसरी गर्ने, राज्यपुनर्संरचनाको विषय प्रश्न कसरी हल गर्ने जस्ता विषयहरुमा फरक फरक प्रस्ताव प्रस्तुत भएका छन् । महाधिवेशनका प्रतिनिधिहरुले आग्रह पूर्वाग्रह, गुटगत मानसिकताबाट माथि उठेर क्रान्तिकारी आन्दोलनको भविष्यलाई सोची विचारी छलफलमा भाग लिनुपर्दछ र पार्टी हित र क्रान्तिको हित हुने गरी निष्कर्षमा पुग्नुपर्दछ ।
पार्टीको संगठनात्मक संरचनालाई भद्दा बनाउनु हुँदैन । सजिलै बैठक बस्न सक्ने, कामकाजी संरचना बनाउनु पर्दछ । सांगठनिक संरचना जनतातर्फ फर्किने गरी बनाउनु पर्दछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालभित्रका कतिपय वैचारिक मतभिन्नता र कतिपय पूर्व समूहगत मानसिकताले यस पार्टीलाई छिन्न भिन्न पार्ने छ र क्रान्तिकारी आन्दोलन ध्वस्त हुनेछ भनेर प्रतिक्रियावादी र अवसरवादीहरुले कामना गरिरहेका छन् । उनीहरुको कामनालाई पूरा हुन नदिन र क्रान्तिकारी धारलाई सशक्त र व्यापक बनाउँदै लैजानका लागि निर्णय लिने ऐतिहासिक दायित्व महाधिवेशनका प्रतिनिधिहरुको हातमा छ ।
तमाम शोषित, पीडित, किसान मजदुर, उत्पीडित समुदायले यो महाधिवेशनले क्रान्तिकारी धारलाई समृद्ध बनाउँदै लैजान ऐतिहासिक योगदान दिनेछ भनेर अपेक्षा गरेका छन् । ती अपेक्षाहरुलाई कार्यरुप दिने ऐतिहासिक दायित्व महाधिवेशन प्रतिनिधिहरुकै हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल वर्तमान नेपाली राजनीतिमा क्रान्तिकारी धारको मूल केन्द्र हो । यसले नै तमाम क्रान्तिकारी पार्टी, समूह, व्यक्ति सबैलाई गोलबन्द गर्दै क्रान्तिको मार्ग डो¥याउने क्षमता राख्नु पर्दछ ।
विगतका वर्गीय शोषणका रुपहरु नयाँ र जटिलरुपमा अगाडि आएका छन् । कम्युनिस्ट पार्टीले शोषणका बदलिंदा रुपहरुलाईृ चिन्न सक्ने र त्यसका विरुद्ध संघर्षको नेतृत्व गर्ने तागतको विकास गर्नुपर्दछ । त्यसप्रति महाधिवेशनका प्रतिनिधिहरुले अवश्य ध्यान पु¥याउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित