अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस

३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस गत मङ्सिर १८ गते अर्थात ३ डिसेम्बर २०२४ तारिखका दिन विश्वभर मनाइएको छ । सन १९९२ देखि अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको थियो । सुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भनिन्थ्यो । तर, सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्र सङ्घको ६१औ महासभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि पारित गरी सन् २००८ देखि लागू भएपछि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भनी नामाकरण गरि विश्व भर एकैसाथ ३ डिसेम्बरका दिन मनाउन थालिएको हो ।
नेपालले संयुक्त राष्ट्र संघको अपाङ्गता सम्बन्धी महासन्धिमा पक्ष राष्ट्र भइ हस्ताक्षर गरेको छ ।
यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरुप्रति सकारात्मक धारणा निर्माण गर्न टेवा पुर्याएको छ । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरुलाई औषधि उपचार तथा सामाजिक संरक्षणको अधिकार दावी गर्न आधार प्रदान गरेको छ। यो महासन्धि अपाङ्गता भएका व्यक्तिहरूका लागि महत्त्वपूर्ण मानव अधिकारको अस्त्र हो ।
नेपालको संविधान (२०७२) ले मौलिक हक अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई सुरक्षित गरेकोछ । यो संविधानले जुनसुकै क्षेत्रमा आपाङ्गता भएका व्यक्तिहरूलाई भेदभाव गर्न नहुने र यदि भेदभाव गरिएमा कानून बमोजिम कार्वाही गरिने ब्यास्था गरिएकोछ छ । यस संविधानले मौलिक हक अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क शिक्षा प्राप्त गर्ने अधिकार प्रदान गर्नुका साथै दृष्टिबिहीनहरूलाई ब्रेल लिपीमा पढ्न पाउने अधिकार समेत सुनिस्चित गरेकोछ । यस संविधानले राज्यका हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी अधिकार प्रदान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची (दफा ३ को उपदफा १ सँग सम्बन्धित) मा अपाङ्गताको परिभाषा तथा अपाङ्गताका प्रकारहरूको बारेमा जानकारी राखिएको छ। यहाँ शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता र अपाङ्गताको स्तर गरी दुई किसिमले अपाङ्गताको वर्गीकरण गरिएकोछ । शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या वा कठिनाईका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई १० भागमा वर्गीकरण गरिएकोछ –
१. शारीरिक अपाङ्गता,२. दृष्टि सम्बन्धी अपाङ्गता,
३. सुनाइ सम्बन्धी अपाङ्गता,४. श्रवण दृष्टिविहीन अपाङ्गता,५. स्वर र बोलाइ सम्बन्धी अपाङ्गता ,६. मानसिक वा मनोसामाजिक अपाङ्गता,७. बौद्धिक अपाङ्गता,८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता,९. अटिज्म सम्बन्धी अपाङ्गता र
१०. बहुअपाङ्गता ।अशक्तताको गम्भीरता वा स्तरका आधारमा अपाङ्गतालाई ४ भागमा वर्गीकरण गरिएकोछ ।
१.पूर्ण अशक्त अपाङ्गता,२.अति अशक्त अपाङ्गता,
३.मध्यम अपाङ्गता र ४. सामान्य अपाङ्गता ।
अपाङ्गता भएका व्यक्तिहरू अन्य मानव सरह अवरोध विना नै जीवन यापन गर्न पाउनु पर्दछ भौतिक संरचना र सूचना ,प्रविधि अपाङ्ग मैत्री हुनु पर्दछ । संविधान र कानूनले दिएका अधिकार कार्यान्वयन गराउन जोड दिनु पर्दछ । स्रोत र साधनमा अपाङाहरूको सहज पहुँच हुनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित