नेपाल पत्रकार महासंघको चुनाव

नेपाल पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते सम्पन्न भएको छ । १३ हजार भन्दा बढी सदस्य संख्या रहेको यस संस्थाका सदस्यहरूको छानबिन गरी ७ हजार मात्र कायम राखिएको थियो र करीब २ हजार नयाँ सदस्य भर्ना गरी करीव ९ हजार ४ सय सदस्य संख्या यस संस्थाको अहिले कायम छन् । केन्द्रीय समिति ,१० वटा प्रदेश समिति,७६ जिल्ला शाखा र ४१ वटा प्रतिष्ठान शाखाको निर्वाचन सम्पन्न भएकोछ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले इतिहासमा पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ । पौष १ गते अवेरतिर प्राप्त मत परिणाम अनुसार केन्द्रमा निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् ।
तीन वर्षको अन्तरालमा हुनु पर्ने चुनाव गत वैशाख २१ गते नै सम्पन्न हुनुपर्ने थियो । सदस्यताको विवादका कारण पटक पटक स्थगित हुँदै करीव ७ महिना पछि यो चुनाव सम्पन्न भएको छ । पत्रकार चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरिएको, धाँधली गरिएको जस्ता आलोचना र असन्तुष्टि पनि आएका छन् । तथापि , चुनाव हुनु र संस्थाका सबै तहले नयाँ नेतृत्व पाउनुलाई सकारात्मक मान्नु पर्दछ । नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते भएको थियो । तर यसको स्थापना गर्दाको नाम नेपाल पत्रकार संघ थियो । २०५० को दशकमा आएर यस संस्थाको नाम बदलेर नेपाल पत्रकार महासंघमा रुपान्तरण गरिएको थियो । २०१२ नभएर २००८ साल नेपाल पत्रकार महासंघको स्थापना मिति हो भन्ने भनाइ पनि छ । अहिले महासंघले २०१२ लाई नै स्थापना मिति मान्दछ । स्थापना मिति अनुसन्धान र छलफलबाट भविष्यमा फेरबदल पनि हुन सक्छ ।
नेपाली पत्रकारहरूलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने, उनीहरूका हक अधिकार प्रवर्दन तथा संरक्षण गर्न क्रियाशील रहने ,उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुने, स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालना गर्ने, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने, श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास, सामूहिक सौदावाजी र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि पत्रकार महासंघलाई ट्रेड युनियन संस्थाका रुपमा स्थापित गरी ट्रेड युनियन अधिकारको नेतृत्व प्रदान गर्ने,
पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने, पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरूसँग प्रतिनिधिहरू आदानप्रदान गर्ने, पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयहरूमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, प्रशिक्षण लगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने, राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवर्धनका निम्ति क्रियाशील रहने लगायतका उद्देश्य नेपाल पत्रकार महासंघले राखेको छ । नयाँ निर्वाचित टिमले आफ्नो संस्थाको उद्देश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न कृयाशील बनोस । हाँक साप्ताहिक नयाँ समितिलाई यही शुभकामना प्रदान गर्दछ ।
सामाजिक सन्जालहरूको विकासले मिडिया हाउसहरू धरासायी हुँदै जाँदा पत्रकारहरूको रोजगारी संकटमा पर्दै गएका छन् । यथार्थ समाचार लेख्दा पत्रकारहरू माथि ज्यानको खतरा समेत हुने गरेको छ । पत्रकारका यस्ता समस्याहरूलाई सुल्झाउन सरकार सित महासंघले समन्वयात्मक भूमिका खेल्नु पर्दछ । पत्रकारिता जगतमा बढ्दै गएको अराजकतालाई नियन्त्रण गर्न पनि महासंघले सकारात्मक भूमिका खेल्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित