देशमा वेरोजगारीको अवस्था भयावह छ । अशिक्षित,शिक्षित दुवैखाले वेरोजगारी व्याप्त छ । देशमा सरकारले उद्योग,कलकारखाना चलाएको छैन । विदेशी सामानहरुको आयातका भरमा देश चलिरहेको छ । अहिले देश अर्को देशबाट आयात गरेर चल्ने भएको छ । देशमा रोजगारीको अवसर नभएपछि रोजगारीको सिलशिलामा वैदेशिक रोजगारीकोलागि नेपाली युवा युवतीहरु दैनिक सयौंको संख्यामा विदेश जान बाध्य भएका छन् । सरकार नै वैदेशिक रोजगारीमा आफ्ना देशको नागरिकलाई विदेश पठाएर विप्रेषणमा देश धानिरहेको छ ।
कुनै पनि देशको श्रमशक्ति भनेको देशको उत्पादनकोलागि महत्वपूर्ण कुरा हो । काम गर्न सक्ने उमेरसमुह नै श्रमशक्तिहो जसले आफै काम गरेर बाँच्न सक्दछन् । अहिले आफै काम गरेर बाँच्न सक्ने उमेर समुहका युवायुवतीहरुले देशमा रोजगारी पाउन सकिरहेका छैनन् । शिक्षित तथा दीक्षितहरुले रोजगारीको अवसर नपाएर रोजगारीकोलागि भौंतारिनु परिरहेको छ । शैक्षिक वेरोजगारहरु आफूले प्राप्त गरेको प्रमाणपत्र र ज्ञान देशकोलागि उपयोग गर्न पाइरहेका छैनन् ।
विद्यार्थीले वर्षौं लगाएर अध्ययन गरेको ज्ञानबाट बाँच्न सक्ने वातावरण हुनु पर्ने हो । देशमा कति वर्षपछि कति युवा रोजगारीकालागि योग्य हन्छन् ? कति आफ्ना नागरिकलाई कहाँ कहाँ रोजगारी दिन सकिन्छ ? र उनीहरुले देशलाई योगदान दिन सक्छन् भन्नेमा राज्यले ध्यान दिनु पर्ने हो तर त्यो हुन सकिरहेको छैन । देश मै रोजगारी प्राप्त गर्नकोलागि गर्नु परेका संघर्ष कम्ती छैनन् । रोजगारीकोलागि कुर्नु परेका समय कम्ती अत्यास लाग्दो छैन । जो जसले सानो तिनो रोजगारी पाएका छन् उनीहरु पनि कम मुल्यमा काम गर्नु पर्ने बाध्यतामा रहेका छन् । योग्यता अनुसारको श्रम मूल्य पाउन सकिरहेका छैनन् ।
२०८१ साल पुष १३ गते त्रिभुवन विश्वविद्यालयका स्नातक , स्नातकोत्तर दर्शनाचार्य तथा विद्यावारिधि गरेका १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित भएका छन् । काठमाण्डौको दशरथ रंगशलामा आयोजित दीक्षान्त समारोहमा विद्यार्थी सहित विद्यार्थीका अभिभावकहरुको पनि उल्लेख्य उपस्थिति थियो । दीक्षान्त समारोहमा विद्यार्थी तथा अविभावकहरुको खुशीको सीमा थिएन । प्रधानमन्त्री तथा कुलपति के.पी शर्मा ओलीले दीक्षित विद्यार्थीहरुलाई सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न सुझाए ।
दीक्षितहरुले सिकेको ज्ञान स्वदेशमै व्यवहारमा प्रयोग गर्ने वातावरण सरकारले बनाउन सकिरहेको छैन । वर्षेनी देशमा उत्पादित शैक्षिक जनशक्ति विदेशिन बाध्य भएका छन् । भविष्यमा आफ्ना सन्तानले यही देशमा रोजगारी पाउन् ,शिक्षित आफ्नो सन्तान यही देशमा बसुन र बुढ्यौली उमेरमा आफ्नो सहारा बनुुन् भन्ने अविभावकको चाहना पूरा हुन सकेको छैन । अहिले गाउँहरु खाली भएका छन् । बुढाबुढीले अशक्त भएको अवस्थामा सहारा नपाएर रोइरहनु परेको छ । तर दीक्षितहरु वषौं आर्जन गरेको ज्ञानको सदुपयोग यही देशमा गर्न पाइरहेका छैनन्। उत्पादनसँग जोडिएका छैनन् ।
नेपाल देश धेरै सुन्दर छ । यहाँ गर्न पाउने हो भने अनेकौं सम्भावनाहरु छन् । बाँच्न सक्ने अनेक बाटाहरु अपनाउन सकिन्छ तर पनि यहाँ बाँच्न नै नसक्ने वातावरण शासकहरुले बनाउँदैछन् । चरम महंगी , निजीकरण पेसा व्यवसाय गर्नकोलागि राज्यले लिने अनेक तहको कर, लगानी गर्न रकम अभाव जस्ता कारणहरुले दीक्षितहरु वर्षेनी विदेशिन बाध्य भएका छन् ।
देशमा रोजगारीको सिर्जना हुनु पर्दछ । देशमा रोजगारी गर्ने वातावरण बनाइदिने काम सरकारको हो । सरकारले आफना नागरिकलाई साथ सहयोग गर्नु पर्दछ । ऋण सहुलियतको व्यवस्था समेत गर्न सक्नु पर्दछ । सरकारले उद्योग धन्दा तथा कलकारखाना खोल्नु पर्दछ । देशमा भएको स्रोत साधनको सदूपयोग गर्ने र उत्पादनसँग जोडिने वातावरण गराइदिनु पर्दछ ।
दीक्षितहरुको भविष्यको अन्यौलता

Comments