१३० औं माओ दिवस देशभर मनाइएको छ । विशेषतः नेपालका ३ वटा कम्युनिस्ट पार्टी नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले देशका धेरै जसो जिल्लाहरुमा संयुक्त रुपमा माओ दिवस मनाएको समाचारहरु प्राप्त भएका छन् । काठमाडौंको राष्ट्रिय नाँचघरमा तीनवटा पार्टीका प्रमुख नेताहरुले प्रवचन दिएका थिए । माओ दिवसलाई भव्यताका साथ मनाउनुमा वक्ताहरुले कार्यक्रमहरुमा प्रकाश पारेका थिए ।
अहिले दक्षिणपन्थी संशोधनवादीहरुको विश्वव्यापी रुपमा प्रभाव बढिरहेको छ । क्रान्तिकारी बाटो परित्याग गरेपछि दक्षिणपन्थीहरुले माओले देखाएको बाटोबाट अब क्रान्ति सम्पन्न हुन सक्दैन । बदलिएको विश्व परिस्थितिमा जनतालाई विचारद्वारा होइन, डेलिभरी दिएर संगठित गर्न सकिन्छ । जनता विचारका कुरा सुनेर थाकिसकेका छन् जस्ता कुरा गरेर माओ–त्सेतुङको योगदानलाई परित्याग गर्दै प्रतिक्रियावादी सत्तामा जानुपर्ने कुराको वकालत गरेको पाइन्छ । त्यसप्रकारको विचार चरम संशोधनवादी विचार हो ।
कुनै पनि देशको क्रान्ति त्यही देशको परिस्थितिले तय गर्ने कुरा हो । बाहिरबाट थोपरिएको विचारले क्रान्ति सम्पन्न हुँदैन । त्यसकारण नेपालको क्रान्तिको प्रश्नमा पनि त्यही कुरा सत्य हो । नेपालको परिस्थिति के हो त ? जब सन् १८१६ को सुगौली सुन्धि भयो, त्यतिबेलादेखि देश अर्धऔपनिवेशिक र अर्धसामन्ती बन्दै गयो । माक्र्सले बताए अनुसार सामन्तवाद पछि पुँजीवाद आउँछ, पुँजीवाद पछि समाजवाद आउँछ भन्ने हो । युगको व्याख्या माक्र्सले त्यसरी नै गरेका छन् । ऐतिहासिक भौतिकवादले दासयुग, सामन्तवादी युग, पुँजीवादी युग र समाजवादी युग भनेर युगको विश्लेषण गर्दछ । यो समाज विकासको स्वाभाविक नियम हो । माओको दुरदृष्टि के कुरामा छ भने अर्धसामन्ती तथा अर्ध औपनिवेशिक देशमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादमा जान सकिन्छ हो । धेरै नेताहरुलाई त्यो कुरा असम्भव लागेको थियो । तर उहाँले आफ्नै जीवनकालमा सम्भव भएको देखाउन सफल हुनुभयो । पुँजीवादी क्रान्तिको नेतृत्व त्यो बेलाभन्दा अगाडि पुँजीपतिवर्गले मात्र गर्न सक्छ भन्ने मान्यता थियो । साम्राज्यवादको उदयपछि साम्राज्यवादले उत्पीडित राष्ट्रका पुँजीपति वर्गलाई दलाल पुँजीपति वर्गमा परिणत गर्न थालेपछि पुँजीपति वर्ग क्रान्तिको नेतृत्व गर्न लायक रहेन ।
हाम्रो देश पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक देश रहँदै आएको अवस्थामा नयाँ जनवादी क्रान्तिले मात्र सामन्त र दलाल पुँजीपति वर्गको सत्ता ढाल्न पुँजीपति वर्गले होइन, सर्वहारावर्गको राजनीतिक पार्टीे मात्र सक्छ । त्यही मान्यताका आधारमा २००६ सालमा कम्युनिस्ट पार्र्टीको स्थापना भएको हो । नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले जनतालाई क्रान्तिकारी विचार सिकाए पनि जब जनता क्रान्तिका लागि मैदानमा उत्रन्छन्, त्यतिबेला नेताहरु प्रतिक्रियावादीहरु समक्ष आत्मसमर्पण गर्छन् । पटकपटकका आन्दोलन तथा विद्रोहहरु सम्झौतामा टुंगिएका छन् । आन्दोलनलाई सम्झौतामा टुंग्याएर प्रतिक्रियावादी सत्तामा जाने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्दै आएको छ । यसप्रकारको नकारात्मक पाटो एकातिर रहँदा रहँदै पनि अर्कातिर कम्युनिस्ट क्रान्तिकारीहरुले दक्षिणपन्थी नेतृत्वका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी पार्टी निर्माण गरेको पनि अवस्था छ । थुप्रै समूहहरु तथा व्यक्तिहरु दक्षिणपन्थी नेतृत्वसित असहमत हुँदै अलग ढंगले वैचारिक बहसमा बसेको पनि पाइन्छ । त्यसले दक्षिणपन्थीहरुको जनतामा परेको प्रभावलाई रोक्न भने सकेको छैन । त्यसप्रकारका व्यक्ति वा समूहहरु पनि क्रान्तिकारी मूलधारमा सामेल हुने हो भने देशमा फेरि कम्युनिस्ट आन्दोलन सशक्त हुन सक्छ र दक्षिणपन्थी संशोधनवादीहरुको भ्रमबाट जनतालाई मुक्त गरेर क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्छ ।
अहिलेको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । लेनिनले साम्राज्यवादको चिरफार गर्नुभयो र त्यसका विरुद्धको संघर्षलाई पथप्रदर्शन गर्नुभयो । अहिले पनि त्यो युगमा परिवर्तन आएको छैन । त्यसकारण यो लेनिनवादी युग हो । माओले लेनिनवादी युगभित्र माक्र्स र लेनिनका सार्वभौम सिद्धान्तहरुलाई विकसित गर्नुभयो । माओ विचारधारा आजको माक्र्सवाद हो । अहिले विश्व कम्युनिस्ट आन्दोलनलाई माओका सिद्धान्तहरुले पथप्रदर्शन गरेकै छन् । नेपालको सन्दर्भमा त माओका सिद्धान्तहरुले पूर्णतः पथप्रदर्शन गरेका छन् । कुनै पनि देशमा माक्र्स, लेनिन र माओका विचारहरु कार्यान्वयन गर्दा त्यहाँको भौतिक तथा वस्तुगत परिस्थितिका आधारमा लागु गर्नु उपयुक्त हुन्छ । ५० वर्ष पहिलेको चीन र आजको नेपालको राजनैतिक, सामाजिक र आर्थिक अवस्था एउटै हुँदैन । त्यसकारण माक्र्स, लेनिन र माओका विचारले पथप्रदर्शन मात्र गर्दछन् । त्यसलाई जडसुत्रको रुपमा बुझ्ने गल्ती नेपालका कम्युनिस्टहरुले गर्नु हुँदैन ।
विश्व सर्वहारावर्गका महान् नायक माओ–त्सेतुङका योगदान अतुलनीय छन् । माओले स्थापना गरेको चीनको नयाँ जनवादी र समाजवादी माओको निधनपछि पुँजीवादीहरुले समाप्त पारेका छन् । तर आज चीनमा भएको विकास माओको देन हो । चीनमा समाजवाद कायम रहेको भए विश्व परिस्थिति आज बेग्लै हुने थियो । तर पनि समाज विकाससको नियमले विश्वमा समाजवादको स्थापना अवश्य हुनेछ । सर्वहारावर्गको जीत सुनिश्चित छ ।