अहिले दिनदिनै चिसो बढिरहेको छ । देशका तीनवटै क्षेत्र हिमाल, पहाड र तराई चिसोले प्रभावित भइरहेका छन् । चिसोका कारण हिमाली भेगका जनताहरु पहिले नै गाउँ छोडिसकेका छन् । पहाडमा पनि चिसोले जनजीवन प्रभावित बनेको छ भने तराईमा शीतलहर जारी छ । जाडोयाममा कार्तिक, मंसिर, पुस, माघ महिनासम्म जाडो अत्यधिक हुन्छ ।
जाडोले बालबच्चा, बुढाबुढी अशक्त, दीर्घरोगीहरुलाई अत्यन्त प्रभावित गरेको हुन्छ । जाडोका कारण रुघाखोकी, निमोनिया जस्ता रोगहरुले च्याप्ने गर्दछ । त्यो पनि रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई छिट्टै समात्न सक्छ । जो युवा हुन् जो सँग रोगसँग लड्ने क्षमता बढी छ उनीहरुलाई पनि जाडो छल्न निकै गाह्रो हुन्छ भने अशक्तहरुलाई त झनै अप्ठ्यारो हुन्छ । जाडोले जनजीवन निकै प्रभावित भइरहेका बेलामा जोसँग बलियो घर छ, जोसँग न्यानो लुगाहरु छन् । जोसँग ओढ्ने लुगाहरु छन्, जोसँग जाडोका समयमा खाने पर्याप्त खानाहरु छन् । उनीहरुलाई त जाडो छल्न सजिलो होला तर जो सँग यी सबै कुराको अभाव छ, उनीहरुलाई भने चिसो, जाडो समय निकै कष्टकर हुन्छ । न्यानो कपडाको अभावमा थरथर काँप्दै बसेकाहरुका पीडा कम दर्दनाक छैनन् । जाडोमा तातो खाना खाने जोहो गर्न नसक्दा गरिबहरुलाई निकै मुश्किल छ । चिसोका कारण बालबच्चा, बुढाबुढी, अशक्तहरुको ज्यान जोखिममा हुन्छ । कैयौं गरिबहरुका घरहरु हावा छेक्न सक्ने सम्मका छैनन् । गरिबहरुका साना साना झुप्रा छाप्राहरुमा चिसो सजिलै छिर्दछ । बलिया घरहरुको अभाव, बाक्ला लुगाहरुको अभावका कारण चिसोले उनीहरुलाई असर गरेको हुन्छ ।
देश र जनताको अवस्था भनेको हुनेलाई पुगीसरी, नहुनेलाई दुःख सधैभरी भने जस्तो छ । देशमा हुनेहरुका लागि जे पनि छ, बलियो घर छ, घरभित्र विजुली छ, कोठा, घर तताउनको लागि आधुनिक प्रविधि छ, आधुनिक प्रविधिले चिसोलाई तातो बनाउँछ । दाउरा गुइँठाको चिन्ता लिनु परेन । सत्तामा बसेका नेता, मन्त्रीहरुलाई कुनै कुराको कमी हुने कुरा भएन । जोसँग केही छैन, जसले आधुनिक प्रविधि जडित कुराहरुको कुनै व्यवस्था गर्न सक्दैनन् , जसले चिसो छानामुनि जीवन धानिरहेका छन् उनीहरुका लागि चिसो निकै दुःखपूर्ण हुन्छ । जसले सस्तो मस्तो कोठामा भाडा लिएर गुजारिरहेका छन्, शहरका ठूलाठूला भवनहरुले छेकेका साना साना घरहरु छन् । जसले खुला आकाश देख्नसम्म पाउँदैनन् । जसले विजुलीको महंगो शुल्क तिर्न सक्दैनन् उनीहरुका लागि बलियो घर सुविधा सम्पन्न शहरमा बसे पनि चिसोले छोड्नेवाला छैन । चिसोले जो गरिब छन्, जसले जसरी तसरी गुजारा चलाइरहेका छन् । उनीहरुलाई जाडोयामले निकै गाह्रो पारिरहेको हुन्छ ।
जाडोले कठ्यांग्रिएर ज्यानैसम्म जान सक्छ । जाडोले दलितहरु, सडक छेउछाउमा जीवन गुजारा गरिरहेकाहरु, घुमीघुमी जीवन चलाइरहेकाहरु अत्यधिक प्रभावित हुन्छन् । जाडोबाट बचाउनको लागि स्थानीय तह, राज्य, राजनीतिक दलहरु सबैले ध्यान दिनुपर्दछ ।
स्थानीय तह जनताको प्रत्यक्ष समस्यासँग जोडिने राज्यको निकाय हो। जनता कहाँ के भैरहेका छन्, कसरी प्रभावित भैरहेका छन् । कसरी बचाउन सकिन्छ भन्ने बारेमा आफ्ना वरपर रहेकाहरुका बारेमा विशेष जानकारी हुन्छ, त्यसकारण स्थानीय तहले आप्ना जनतालाई के , कस्तो व्यवस्था मिलाउन सकिन्छ त्यो व्यवस्था मिलाउन ध्यान दिन जरुरी छ । जाडोमा न्यानो कपडा दिएर हुन्छ वा दाउराहरुको व्यवस्था गरेर हुन्छ, या पोषणयुक्त खानाको व्यवस्था गर्न सकिन्छ कि ? जे सकिन्छ त्यो कुराको व्यवस्थापन गर्न ध्यान दिएमा गरिबहरुलाई चिसोबाट प्रभावितहरुलाई अलिकता भए पनि राहत मिल्दछ । विजुलीको उपलब्धता भएका ठाउँहरुमा सरकाले विद्युत महशुल कम गरेर भए पनि राहत दिन सकिन्छ, आधुनिक हिटरहरुको व्यवस्था पनि गर्न सकिन्छ । जसरी भए पनि जनतालाई जाडोबाट बचाउनका लागि सरकारी निकायहरुले विशेष ध्यान दिन जरुरी छ । चिसोबाट कठ्यांग्रिएर कसैले पनि ज्यान गुमाउन नपरोस् ।