मजदुर दिवसको शुभकामना

मई १ अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन हो । मजदुर अधिकारकालागि संघर्ष र एकताको दिन हो । संसारभरिका मजदुरहरुले १३६ औं मजदुर दिवस मनाउँदै छन् । मजदुर दिवसको सन्दर्भमा संसारभरिका सम्पूर्ण मजदुरहरुमा हाँक परिवारको तर्फबाट शुभकामना छ ।
अमेरिकामा मजदुरहरुले १८८६ मई १ बाट आन्दोलन शुरु गरेका थिए । यही क्रममा अमेरिकाको शिकागो शहरमा प्रदर्शन गरेका मजदुरहरुलाई सन् १८८७ नोभेम्बर ११ का दिन पार्सन,स्पाइस ,फिस्चर र ऐङगेल नाम गरेका मजदुर नेताहरुलाई त्यहाँको सरकारले फाँसी दिएको थियो ।सन् १८९०बाट मजदुरहरुको अनतर्राष्ट्रिय संगठन दोस्रो अन्तर्राष्ट्रियले १८८६ मइ १ देखि मजदुर आन्दोलन शुरु भएको दिनलाई स्मरण गर्दै मई १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निर्णय गरेको थियो ।
मजदुरहरुको अथक संघर्षले मात्रै मजदुरहरुले अधिकार प्राप्त गर्न सफल भएका हुन् । मजदुरहरुलाई अहिले पनि समय मै तलब नदिने,मालिक र राज्यले हायर एण्ड फायरको नीति लागू गर्ने ,मजदुरहरु बिरामी हँुदा औषधी उपचारका व्यवस्था नहुने, उनीहरुको काम गर्ने स्थानमा सेवा सुविधाको अभाव हुने,मजदुरहरुलाई भाडाका रुपमा प्रयोग गर्ने,लुकिछिपी काम गर्नु पर्ने, आराम र मनोरञ्जनको व्यवस्था नहुने, पेन्सन तथा निवृतिभरणको व्यवस्था नहुने, आप्रवासीका मजदुरहरुलाई विभेद गर्ने जस्ता समस्या संसारभर विकराल बनेर आएका छन् ।
मालिकहरुले मजदुरलाई सामान्य मानवीय व्यवहार पनि नगर्ने अवस्था छ । मजदुरहरुलाई दलालहरुले दास सरह विक्री गर्ने ,लुकिछिपी काम गर्न बाध्य पार्ने, एक स्थान लैजान्छु भनेर अर्कै स्थानमा लैजाने,बाटामा मजदुरलाई अलपत्र बनाएर छोड्ने,अर्काको देशका मजदुरहरुलाई समानस्तरको काम गर्दा समान स्तरको काम,तलब नदिने,दुर्घटनामा परेमा उचित क्षतिपूर्ति औषधी उपचारको व्यवस्था नगर्ने,करारमा मजदुरहरु राख्ने र स्वइच्छाले हटाउने ,कबोल गरेको भन्दा अर्कै किसिमका कामहरु लगाउने ,जोखिमयुक्त काम गर्न बाध्य पार्ने मजदुरहरुलाई गर या मरको अवस्थामा पु¥याउने चलन रहेको छ । महंगी अनुसारको सेवासुविधा नदिने ,वृतिविकासमा ध्यान नदिने , धेरै घण्टा काममा लाग्नु पर्ने जस्ता समस्याहरु विश्वका मजदुरहरुले भोग्दै आएका छन् ।मजदुरहरुलाई पुँजीपतिहरुले गलत धन्दामा प्रयोग गर्ने गरेका छन् ।
नेपालको सन्दर्भमा कुरा गर्दा यहाँका शासकहरुले नेपाली युवाहरुलाई विदेश जान बाध्य पार्ने काममा भएको छ । विदेश पठाएर आफूहरु उनीहरुले पठाएको रेमिट्यान्समा रमाउने गरेका छन् ।यहाँका दलाल सरकारले भएका साना साना उद्योगधन्दामा पनि अनेक थरी कर तथा झण्झट लगाउनुका साथै भएका उद्योग कलकारखाना पनि विक्री गर्ने वा बन्द गर्ने धन्दामा छ । यहाँका उद्योग धन्दा कलकारखानाहरु बन्द गराएर विदेशी सामानहरु भित्र्याएर दलाल अर्थतन्त्रको विकास गरिरहेको छ । यसको मारमा नेपाली मजदुरहरु परिरहेका छन् ।
विश्वमा प्रविधिको विकास हुँदा कामहरुमा प्रविधिको प्रयोगले मजदुरहरुले काम नपाउने समस्या छ ।
मालिकहरुले रोबर्टहरुको प्रयोग गर्दा मजदुरहरुको काम खोसिँदै गएको छ । मजदुरहरुलाई सेवा सुविधाको लागि हड्ताल, आन्दोलन गर्ने चेतना भुत्ते पारिँदै लगिएको छ । मजदुरहरुको यो अवस्था हुँदा सरकार तथा सत्ता पक्षका पार्टीहरुले मजदुरहरुलाई समन्वयकारी बन्न,मालिकहरुको दलाली गर्न सिकाएको छ । केही मजदुर तथा मजदुर नेताहरुलाई सेवा सुविधा दिएर मजदुर अधिकार तथा आन्दोलनलाई कमजोर बनाउने मजदुर अधिकार र आन्दोलनलाई वेवास्ता गर्ने र व्यक्तिकेन्द्रित बन्न लगाउने जस्ता समस्याहरु रहेका छन् । मजदुर दिवसको सन्दर्भमा मजदुरहरुले आफ्नो र आफ्नो वर्गको हितकोलागि संघर्ष गर्ने धारणाको विकास भइरहोस् । मजदुर अधिकारको लागि संघर्ष जारी रहोस । शुभकामना !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित