गणतन्त्र भित्रको बेथितिको अन्त्य आवश्यक

नेपालमा नेपाली जनताले सयौं वर्ष राजतन्त्रलाई बेहोरे । जनताले राजतन्त्रबाट आफ्नो र देशको भविष्य सुदृढ हुन सक्दैन भनेर खुला वा भूमिगत रुपमा पटकपटक संघर्ष गरे । इतिहासमा जनताले देशमा लोकतन्त्र स्थापनाको लागि कठोर संघर्ष गरे । जनताको अधिकार पटकपटक खोस्ने काम राजतन्त्रले ग¥यो । अन्तिममा त झनै निरंक्श बनेर राजतन्त्रले नेपाली जनताको जनअधिकार खोस्ने काम गरेपछि जनता राजतन्त्रदेखि हैरान भएर राजतन्त्रको नै विरोधमा उत्रिए ।

नेपाली जनताले राजतन्त्रको विरोधमा शान्तिपूर्ण वा सशस्त्र संघर्ष गरे । राजतन्त्रको विरोधमा ठूलाठूला आन्दोलन जनताले गरेर आन्दोलनको बलमा नै राजतन्त्र विस्थापन भएर देशमा गणतन्त्रको स्थापना भएको सर्वविदितै छ । अहिले देशमा रहेको गणतन्त्र कुनै दया मायाले प्राप्त भएको गणतन्त्र होइन । यसको प्राप्तिका लागि नेपाली जनताले आफ्नो बलिदानी दिएका छन् । हजारौं शहिदको प्राण गएर नै देशमा गणतन्त्र स्थापना हुन सम्भव भएको हो । यसमा कैयौं नेपाली आमाका सन्तान गोलीका शिकार भए । कैयौं विधवा भए भने कैयौं छोराछोरी टुहुरा भए ।

देशमा क्रियाशील सबै लोकतान्त्रिक तथा वाम  दलहरुको निर्णायक आन्दोलनले नै २०६३ वैशाख ११ गते संसदको पुनस्र्थापना भएको थियो । पुनस्र्थापित संसदले देशमा राजतन्त्रको अन्त्यगरी गणतन्त्रको घोषण गर्ने प्रस्ताव संसदबाट पारित गरेर २०६५साल  जेठ १५ गते देश विधिवत रुपमा गणतान्त्रिक मुलक भएको थियो । २०७२ सालको नेपालको संविधानमा गणतन्त्रको संस्थागत गरिएको थियो । यसपछि देशमा गणतन्त्रको स्थापना भई आजसम्म देश चलेको छ । यो गणतन्त्र भित्र तमाम बेथिति, विकृति, विसंगति छ ।

देशमा गणतन्त्र कायम भए पनि जनताका समस्या जहाँको त्यही छन् । झन उल्टो जनतालाई करको बोझ थोपरिएको छ । जनताहरुका इच्छा, आकांक्षा पूरा हुन सकेका छैनन् । जनताका गास, बास, कपासका समस्यामा कुनै सुधार आउन सकेको छैन । जनताले गणतन्त्र देशमा भएको र नभएकोमा खासै अन्तर महशुस गर्न सकेका छैनन् । देशमा गणतन्त्र प्राप्तिका लागि संघर्ष गरेका दलहरु आपस मै सत्ता स्वार्थको खिचातानीमा तल्लिन छन् । देश र जनताको पक्षमा लाग्नु भन्दा पनि व्यक्तिगत र नाफा नोक्सानमा केन्द्रित छन् । देशमा देशी विदेशी शक्तिकेन्द्रको चलखेल बढिरहेको छ । गणतन्त्रमा सत्तासीन दलहरुलाई सत्ताको नेतृत्व सम्हालेकालाई निगरानीमा राख्ने कोशिश गरिरहेका छन् । देशको अवस्था झनै दयनीय बनेको छ । जनताहरु दिनदिनै आर्थिक रुपले तबाह बनेका छन् । जनतामा कैयौं नैराश्यता उत्पन्न भएको छ । संघर्ष गर्न नसकेर कैयौंले जीवन नै समाप्त पारेका छन् । यस स्थितिमा राजावादीहरुको स्वरहरु चलमलाउन थालेका छन् । प्रतिगामी तत्वहरुले संसदमै गणतन्त्रलाई दोष दिंदै छन् भने गणतन्त्र विरोधी अभियानहरु चल्न थालेका छन् । राजसंस्थाको पुनस्र्थापना हुनुपर्छ भन्ने दलहरु गत निर्वाचनमा अप्रत्यासित संख्यामा विजयी भएर आएका छन् । यसले गणतन्त्रमाथि खतरा उत्पन्न भएको छ । जनतालाई गणतन्त्र विरोधी प्रभावमा पार्ने खालका गतिविधिले तीब्रता पाएको छ । यस अवस्थामा गणतन्त्र पक्षधर दलहरु दलगत स्वार्थलार्ई मात्र केन्द्र विन्दुमा राखेर सोंच्ने, नेताका व्यक्तिगत  स्वार्थलाई प्राथमिकता दिने क्रियाकलापको विरोध गर्नु पर्दछ । राजनैतिक दलहरुको उच्च सतर्कताको आवश्यकता छ । यो गणतन्त्र आफैमा  जनताको गणतन्त्र होइन । यसले जनताका सबै समस्याहरुको समाधान गर्न सक्ने छैन । गणतन्त्रको विकल्प कुनै पनि बहानामा पुनः राजतन्त्र हुन सक्दैन । गणतन्त्रको विकल्प यो भन्दा उच्च प्रकारको व्यवस्था हो । त्यसका लागि आम जनताले सचेततापूर्वक आन्दोलन गर्नुपर्दछ । जनताको आन्दोलन अभियानको अगाडि जस्ता सुकै प्रतिगामीहरुको पनि केही चल्दैन ।

त्यसकारण अहिलेको गणतन्त्रभित्र  रहेको तमाम खालका बेथितिको अन्त्य गर्न आवश्यक छ भने जनताले प्रतिगामीहरुका गलत कदमको विरोध गर्न जरुरी छ । राजनैतिक दलहरुले यस विषयलार्ई गम्भीरतापूर्वक लिनुपर्दछ ।  सबैले वर्तमानमा रहेको गणतन्त्र भित्रको बेथितिको अन्त्य गर्दै यो भन्दा प्रगतिशील व्यवस्था ल्याउनको लागि जोड दिनुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित