देउवाको भ्रमण र भारतको हेपाह प्रबृत्ति

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि ३ दिनको भारत भ्रमण सकेर नेपाल फर्किएका छन् । प्रधानमन्त्रीको यो भ्रमण राजकीय नभएर सद्भावना भ्रमण बताइएको छ । यो सद्भावना भ्रमण भए पनि नेपाल–भारत सम्बन्धसित जोडिएका कैयौं पक्षहरुबारे  भारतीय नेताहरुसित भेटवार्ता, छलफल र केही निर्णयहरु भएको कुरा संयुक्त पत्रकार सम्मेलनबाट पनि थाहा हुन्छ । समग्रमा प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच बिग्रेको सम्बन्ध र नेपालप्रति भारतको हस्तक्षेपकारी रवैयामा कति सुधार भयो ? र अबको सम्बन्धमा कति सकारात्मक प्रगति हुन्छ ? भन्ने कोणबाट पनि हेनुर्् पर्ने देखिन्छ ।

पहिलो कुरा त यो भ्रमण प्रधानमन्त्रीको नीजि भ्रमण जस्तो देखिन पुगेको छ । किनकि अन्य दलहरुसित उनले कुनै सल्लाह नगरिकन अचानक भ्रमणको कार्यक्रम बनाएका थिए । भारतसित नेपालको सम्बन्ध एक प्रकारले नाकाबन्दी कै बेलादेखि बिग्रँदै आएको छ । भारतले सन् १९५० को असमान सन्धिमाथि पुरावलोकन गर्न बनेको इपीजीले दुई वर्ष लगाएर प्रतिवेदन तयार पारेर भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न खोज्दा आजसम्म बुझ्न मानेका छैनन् । कालापानी, लिम्पियाधुरा, लिपुलेक विवाद सुल्झिएको छैन । नेपालतर्फ ठोकिने गरी भारतले तटबन्ध गरिरहेको छ । नेपाल तर्फको भूभागमा मोटर बाटो बनाएको छ । नेपालको संसदले पारित गरेको नेपालको नक्सालाई उसले स्वीकार गरेको छैन । कालापानी क्षेत्र भारतको भूगोल हो भन्ने कुराको कुनै ऐतिहासिक तथ्य पनि प्रस्तुत गर्न सकेको छैन । यस प्रकारले चुपचाप हस्तक्षेपको नीति भारतले लिएको बेला नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्दा यी सबै विवादहरु हल गर्ने प्रकारले गृहकार्य गर्नु पथ्र्यो, तर त्यो गरिएन । यसले के बताउँछ भने –चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणबाट सशंकित भारतलाई खुशी पार्न मात्र प्रधानमन्त्रीले यो सद्भावना भ्रमणको कार्यक्रम बनाए जस्तो देखिन्छ ।

दोस्रो कुरा, प्रधानमन्त्री नयाँ दिल्ली पुगेपछि भाजपाको केन्द्रीय कार्यालय गएका छन् । उनले प्रोटोकलको ख्यालै नगरी कार्यालय पुगेर भाजपाका नेताहरुसित भेटघाट गरेका छन् । देशको प्रधानमन्त्रीको हैसियतमा गरेको भ्रमणका बेला पार्टी कार्यालयहरुमा भेटघाटमा जानुले नेपालको इज्जतमा धक्का लागेको सबैले महशुस गरेका छन । तैपनि परराष्ट्र मन्त्री लगायत कतिपय बुद्धिजीवीहरुले त्यसलाई वीपी कोइरालादेखिको परम्परा र प्रचलन बताएर बचाउ गर्न खोजिरहेका छन् । वीपीको पालाको नेपाल र अहिलेको नेपाल तथा विदेश नीति, संस्कृति र मूल्य मान्यताहरुमा कैयौं परिवर्तन भएका छ । कांग्रेसीहरुले अहिलेको समाजलाई पनि यथास्थितिवादी तथा परम्परावादी संस्कृतिको चश्माले हेर्नु सर्वथा गलत छ । तेस्रो कुरा प्रम देउवा दुई देशबीचको सम्बन्ध र नेपालको विकासका लागि भन्दा पनि तीर्थ यात्रामा जोड दिएका थिए । उनी बनारस गएर मन्दिरहरुको दर्शन, भूमि पुजामा दिनभरी व्यस्त रहे । मन्दिर दर्शनमा खासै चासो नराख्ने देउवाले भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा गरेको मन्दिर दर्शनको नक्कल गरेको पुष्टि भएको छ ।

नेपाल र भारतबीच जुन दरार देखा परेको छ र भारतले  निरन्तर नेपालको राष्ट्रिय स्वाधीनता माथि धावा बोलिरहेको छ, त्यो  नपाली जनतालाई पटक्कै स्वीकार्य छैन । भारतले दादागिरी कुनै एउटा क्षेत्रमा मात्र होइन, धेरै क्षेत्रमा चलाएको छ । व्यापार, सीमा वारपार अपराध, सेना प्रहरीको अनाधिकृत नेपाल प्रवेश, मुद्रा सटही, सीमा निर्धारण, यातायात, भारतस्थित नेपालीहरु प्रति १९५० को सन्धि विपरीत व्यवहार उर्जा व्यापार, वस्तु आयात निर्यात आदि लगायतका अन्य कैयौं विषयहरु असमाधेय रहेका छन् । राष्ट्र र जनताका निम्ति भ्रमणले के फाइदा दियो ? भनेर खोज्ने हो भने पुराना परियोजनालाई निरन्तरता दिने सहमति र रेल सुचारु गर्ने सहमति बाहेक खासै केही उपलब्धि देखिएन । देउवाको भ्रमणले भारतीय सत्तारुढ पार्टी विजेपीसितको सम्बन्ध भने सुधे्रको देखिन्छ । भाइचारा पार्टीको हिसाबले कांग्रेस आईसँग सम्बन्ध बढाउनु पर्ने हो । तर कांग्रेसआई सत्तामा नभएको हुनाले नेपाली कांग्रेस अब भाजपासित सम्बन्ध सुधार्न लागेको देखिन्छ । भाजपाको सरकार आएपछि भारत र अमेरिकासम्बन्ध बलियो बनेको छ । देउवाले भाजपासित सम्बन्ध बढाएर अमेरिकालाई राम्रो सन्देश दिन खोजेका पनि हुन सक्छन् । केही समय अगाडि रुस–युक्रेन युद्धमा युक्रेनलाई समर्थन गरेर त्यो सन्देश दिइसकेका छन् । नेपालको विदेश नीति असंलग्न रहे पनि देउवाले त्यसलाई तोड्दै गएका छन् ।

भारत भ्रमणमा रहेको बेला देउवाले उठाएका कालापानी क्षेत्रको विवाद, इपीजी विवाद, व्यापार सीमा विवाद आदि मुख्य विषयमा भारतले कुनै चासो नदेखाउनुले भारतको नेपाल प्रतिको नीति सकारात्मक नभएको प्रष्ट देखिएको छ । भारतीय नेताहरुले देउवाको भ्रमण दुई देशबीच सम्बन्ध सुधारका लागि महत्वपूर्ण रहेको भने पनि त्यो सम्बन्ध कस्तो हुनेछ ? समानता, आपसी सद्भाव र एक अर्काप्रति सम्मानपूर्ण सम्बन्ध, आपसी हित र विश्वासको वातावरण तयार होला ? निश्चित रुपमा नेपालमाथि भएका भारतीय ज्यादती र विस्तारवादी कार्यको अन्त नहुँदासम्म सम्बन्ध सुधार हुँदैन । हामीले मालिक र कर्मचारी जस्तो सम्बन्ध चाहेको होइन, ठूलो दाई र सानो भाई जस्तो  सम्बन्ध चाहेको पनि होइन, सार्वभौम राष्ट्रको हैसियतले स्वतन्त्र, समान र न्यायपूर्ण सम्बन्ध चाहेका छौं । देउवाले भारतसित बिग्रेको सम्बन्ध सुधार गर्न गरेको भ्रमणलाई हामी सकारात्मक रुपमा लिनुपर्छ । तर देउवाबाट प्रस्तुत भएको व्यवहार र भारतको नेपाल प्रति उपेक्षा भाव राम्रो र प्रशंसा गर्न लायक देखिएन । नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरुलाई समानताका आधारमा टुंगो नलगाउँदासम्म अहिलेसम्मको तितो सम्बन्धमा सुधार हुने देखिन्न । भारतले साँच्चै नेपालसित सम्बन्ध संसारका अन्य मुलुकहरुसित भन्दा प्रगाढ बनाउने हो भने विस्तारवादी तथा हेपाह प्रवृत्ति त्याग्नु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित