पाँच दलीय गठबन्धनले अहिले सरकार चलाइरहेको छ । गठबन्धन नेपाली कांग्रेसको नेतृत्वमा बनेको थियो । त्यो गठबन्धनले तात्कालिन प्रधानमन्त्री केपी ओलीलाई अदालतको आदेशमा अपदस्थ गरेर सरकारको नेतृत्व गर्न पुगेको थियो । त्यति बेला केपी ओलीलाई अपदस्थ नगरी नहुने स्थिति पनि थियो । किनकि उनले यहाँसम्म कि आफ्नो पार्टीभित्र पनि छलफल नगरी दुई दुई पटक व्यवस्थापिका संसद विघटन गरेका थिए । जनताले दुई तिहाई बहुमत दिएर एमाले र माओवादी केन्द्रलाई सरकार चलाउन जनादेश दिएको थियो । तर केपी ओलीले आफूलाई सम्राट नै ठान्न पुगे । उनले आफ्नै पार्टीका नेताहरुलाई समेत सोधपुछ गर्न छोेडेका थिए । एउटा अधिनायकवादी, अलोकतान्त्रिक र स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध गठबन्धनको प्रयास सकारात्मक थियो ।
गठबन्धन केपी ओलीको अधिनायकवादलाई परास्त गर्नसम्मको भूमिकालाई सकारात्मक रुपमा लिनु पर्छ । तर गठबन्धन आफै के हो ? कस्ता कस्ता चरित्र भएका राजनीतिक दलहरुको गठबन्धन हो ? र उनीहरु कुन लक्ष्यमा पुग्न प्रयास गरिरहेका छन् ? त्यसको पनि जनताले ख्याल गर्नुपर्छ । यो सबैलाई थाहा भएकै कुरा हो कि नेपालको जनआन्दोलनमा नेपाली कांग्रेसको भूमिका भए तापनि सत्तामा बस्दा जनतामाथि कांग्रेसबाट अचाक्ली भएकै हो । गिरिजा प्रसाद कोइरालाको फासिवाद कम डरलाग्दो थिएन । उनले माले, मसाले, मण्डले एउटै हुन यी भिजिलान्तेहरुलाई ठोक्नुपर्छ भनेर निर्देशन दिएका थिए । देउवा नेतृत्वको सरकारले संसद विघटन गरेको थियो । बहुदलीय व्यवस्थालाई राजा ज्ञानेन्द्रको पाउमा लगेर चढाएको थियो । उनैका कारण देशमा ज्ञानेन्द्रको शासन प्रारम्भ भएको थियो । कांग्रेसको नेतृत्वमा नै देशमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु घटेका थिए । अहिले पनि नेपाली कांग्रेसको नेतृत्व र नीतिमा कुनै परिवर्तन आएको छैन । कांग्रेस पुँजीवादी पार्टीसम्म पनि बन्न सकेको छैन । सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्दै आएकोले उसलाई पुँजीवादी चरित्र अपनाउन कठिनाई परेको छ । नेपालमा वामपन्थी आन्दोलनको विकास, सशस्त्र द्वन्द्व र कम्युनिस्ट जनमतमा भएको बृद्धिले गर्दा नेपाली कांग्रेसको अधिनायकवादी चरित्रमा केही कमी आएको हो । नेपालमा उसको प्रतिक्रियावादी वर्ग सम्बन्ध र अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवाद, विशेषतः अमेरिकी साम्राज्यवादसँगको सम्बन्धले गर्दा उसको अधिनायकवाद पछिल्लो समयमा एमसीसी सम्झौता पारित गर्दा समेत छर्लङै देखिएको हो ।
मसालले आफूलाई नेपाली सर्वहारावर्गको पार्टी मान्दछ । त्यो पार्टी अहिले गठबन्धनमा सामेल छ । त्यो अप्राकृतिक तथा विजातीय गठबन्धनमा सामेल भए पछि नेपालमा क्रान्तिकारी आन्दोलनमा क्षति पुग्नु स्वाभाविक हो । मसाल यसरी नेपाली काग्रेसका पछाडि लाग्नुको पछाडि स्थानीय निर्वाचनमा २÷४ वटा गाउँ÷नगरपालिका र संसदमा कम्तीमा एउटा सिट हात पार्नु रहेको छ । त्यति फाइदाका लागि चुनावी एकताबाट पनि गर्न सकिन्थ्यो । तर गठबन्धनमा बसेर नै कांग्रेसलाई गुन लगाउनु परेको हुनाले गठबन्धन एक पटक छोडेर पनि पुनः फर्केर सामेल भएको छ । मसाल यसरी किन फर्केर गठबन्धनमा सामेल भयो ? किन अप्राकृतिक र विजातीय गठबन्धनमा बसेको छ ? भन्ने जुन कौतुहलता थियो, त्यो गठबन्धनको हालै जारी गरिएको प्रेस वक्तव्यले स्पष्ट पारेको छ । के स्पष्ट भयो भने मसाल र गठबन्धनका घटकबीच दुईवटा मूलभूत कुरामा समानता रहेको छ ।
पहिलो कुरा त गठबन्धनभित्र युगको प्रश्नमा उनीहरु एक ठाउँमा छन् । “नयाँ संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ ।” मसालले पनि यो कुरा स्वीकार गरेको छ । उसले नयाँ जनवादको न्यूनतम कार्यक्रम परित्याग गरेको कुरा यसबाट पनि पुष्टि हुन्छ । मसाल पाँच दलको यो भनाईमा पनि सहमत रहेको छ–“पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै……. ।” यसबाट वर्तमान दलाल पुँजीवादी व्यवस्थालाई मसालले नि “समाजवाद” ठानेको छ र त्यसको “रक्षा” मा जोड दिएको छ भन्ने कुरा प्रष्ट बुझिन्छ ।
समाजवाद सम्बन्धी अवधारणामा नेपालका कांग्रेस, कथित कम्युनिस्ट तथा सच्चा कम्युनिस्टहरुबीच आ–आफ्ना फरक– फरक मान्यताहरु छन् । अहिलेसम्म वर्तमान लोकतान्त्रिक व्यवस्थालाई “समाजवाद” कसैले भनेको छैन । संविधानले पनि “समाजवाद उन्मुख” मात्र भनेको छ । तर पाँच दलीय गठबन्धनले “समाजवाद” को संज्ञा दिएर नेपाली जनतासित ठूलै मजाक गरेको छ । साम्राज्यवादको दलाली गर्दै आएका अरु दलहरुको लागि यो सामान्य कुरो बन्न सक्छ । तर आफूलाई खाँटी क्रान्तिकारी कम्युनिस्ट पार्टी बताउने मसालले २÷४ वटा सिटको लागि जनतासित यति ठूलो मजाक किन ग¥यो होला ? मसालले पुँजीवादी बाटो समातेको हुनाले त्यो पार्टीबाट सयौं नेता÷कार्यकर्ताहरु विद्रोही मसालमा सामेल भैरहेको समाचारहरु आइरहेका छन् । कैयौं मानिसहरुलाई मसालले पुँजीवादी बाटो समातेको कुरा अपत्यारिलो लागेको थियो । तर अहिलेको गठबन्धनको वक्तव्यले वास्तवमै मसाल पनि पुँजीवादी बाटोमा लागेको पुष्टि भएको छ ।