हाम्रो समाजलाई शासकहरूले विभाजित गरे । कथित ठूलो जात र सानोजातमा मान्छे विभाजित भए । कथित ठूलो जातले साना जातलाई हेला होचो, छुवाछुत तिरस्कार, विभेद तथा राज्य यन्त्रको पहँुचबाटपाखा पार्दै लगे । पानी चल्ने र नचल्ने छोई छिटो गर्नु पर्ने र नपर्ने संस्कार बसाल्दै आए । कथित पानी चल्ने जातले कथित पानी नचल्ने जातको हातको पानी सम्म नखाने, छोईछिटो गर्दै आए । समाजमा रहेका मानव बीच मन रीतिथिती चाल चलन संस्कार संस्र्कृतिमा फरक पार्दै आए । समाज सामाजिक अन्तरघुलन भन्दा पनि जातीय विभेदले पृथकीकरण हुँदै आयो ।
एक्काईसौँ शताब्दीमा आउँदापनि मानवले मानव सरह व्यवहार पाईरहेको छैन । लोकतन्त्र,गणतन्त्र आउँदा पनि मान्छेले मान्छे सरह व्यवहार पाउन सकिरहेको छैन । समाजको भित्र जराजरामा गडेको जातीय विभेद हट्न सकेको छैन । मानवले मानवलाई अछुत तल्लो जातका रुपमा हेरिरहेको छ । त्यस खालका विभेदको शिकार देशमा लाखौँको सङ्ख्यामा रहेका अछुत बनाइएकाहरू भइरहेका छन् । समाजमा कथित माथिल्ला जातिबाट दूरव्यवहार, घृणा ,हेला, तिरष्कार अपमान भोगिरहेका छन् । अन्तरजातीय विवाह गरेका र प्रेममा परेका जोडीले, घर परिवारको विभेद जन्य क्रियाकलाप सहिरहेका भोगिरहेका छन् ।
२०७७ साल जेठ १०गते जाजरकोटका नवराज वि.क. पश्चिम रुकुमको सोती गाउँकी मल्लथरकी केटीसङ्ग प्रेम रहेको र प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा नवराज वि.क. सहित उनका पाँच जना साथीहरूलाई केटी पक्षका आफन्तीले लखेटी लखेटी मारेर भेरी नदीमा बाँधेर फालेका थिए । उनी सङ्गै गएका थप १२ जनालाई शक्त घाइते बनाएका थिए । नवराज बा आमाका एक्ला छोरा थिए । तर जातीय अहङ्कारले नवराज सहितलाई तल्लो जाति भएकै कारण बाँच्न दिएन । नवराज सङ्गै गएका उच्च जातका साथीहरूलाई पनि बाँच्न दिएनन् ।
यो समाजको निकै लज्जास्पद तथा बर्बर घट्ना थियो । केटा केटीको दोष मात्र प्रेम गर्ने थियो । जात मिलेको भए विवाह गरेर सङ्गै जीवन चलाउने थिए । तर कथित उच्च जातीय अहमले केटा तल्लो जात बताउँदै मार्ने सम्मको काम गर्यो । कथित तल्लो जात बनाईएकाहरूका छोरी चेली लाई बलत्कार गर्ने ,हत्या गर्ने सम्मको हर्कत हुँदै आएको छ । पछिल्लो समय अन्तरजातीय विवाह , प्रेम गरेका युवा, युवती तिनका आफन्तीहरू जातीय विभेदको शिकार भएका छन् ।बहिस्करण,तिरस्कार ,गाउँ निकाला ,विभेद देखि लिएर आफन्ती इष्टमित्र सम्मलाई गाउँ निकाला गरेका घट्ना नयाँ होइनन् ।
भर्खरै जुम्लाको एक तल्लो जातका युवकले माथिल्लो जातकी केटीसङ्ग भगाएर विवाह गरेको र विवाह गरेको रीसमा केटी पक्षकाले केटाको घरमा आगजनी गरेका छन् । जुम्लाको तातोपानी गाउँपालिका गिठीखोलाका मुकुन्द नेपालीले त्यहीको स्थानीय गिरी थरकी केटी सङ्ग भागेर बिहे गरेका थिए । नवविवाहित जोडी समाजको डरले भागेका छन् । घरमा आगजनी भएको छ । घर नष्ट भएको छ । आखिर यो घट्ना किन भयो त ? समाजमा व्याप्त छुवाछुत, विभेद तथा उच्च जातीयअहङ्कारले यस्तो घट्ना हुन पुगेको छ । घरमा आगजनी भइसकेपछि घट्नाका दोषीलाई पक्राउ गरिएको छ । जातका कारणले बस्ने बास सम्म जलेको छ ।
यो दलित जातीप्रति समाजमा कस्तो रुपमा हेरिन्छ भन्ने कुराको उदाहरण हो । उच्च जातीय अहमले आफ्नै छोरीलाई बस्न, टिक्न, उभिन नदिने भयो । यो समाजको एक प्रतिनिधि घट्ना हो । समाजमा यस्ता सयौँ जातीय विभेद जन्य घट्नाहरू भइरहेका छन् । कथित तल्लो जाति बनाइएकाले सहिरहेका छन् । यस घट्नामा संलग्नलाई हदै सम्मको कारबाही गर्नु पर्दछ । यो वा त्यो बहानामा दोषी उम्किनु हुँदैन । विगतमा दलित जाति माथि भएका जस्ता सुकै अपराध घट्ना ढाकछोप गर्न खोज्ने, घट्नाका प्रमाणहरू लोप गराउने, पहुँचका भरमा उन्मुक्ति दिने, राजनीतिक संरक्षण प्राप्त गर्ने जस्ता घट्ना हुँदै आएका छन् । पीडकले बिना सङ्कोच बाँच्ने र पीडित समाजमा झनै पीडित हुने स्थिति समाजमा छ । यस्तो स्थिति हुन दिनुहुँदैन । आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । पीडितले न्याय पाउनु पर्छ ।
संविधानमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भइसक्दा पनि जातीय विभेदका यस्ता निन्दनीय घटनाहरू समाजमा दोहोरिइनु भनेको साँच्चि नै लाजमर्दो कुरा हो । यस्ता घटना कुनै पनि सभ्य समाजका लागि सहाउने कुरा हैन । यस्ता घटना घट्न नदिने कानुन मात्र पर्याप्त हुँदैन । सरकार राजनीतिक दल, सङ्घसंस्था, आम जनताले समाजमा चेतनाको विकास गर्न ध्यान दिनुपर्दछ ।