राजनीतिमा अपराधीकरण नहोस्

संसदीय निर्वाचनको  विहारी शैली संसारमा नै बदनाम छ । विहारी शैलीको नायक हुन लालुप्रसाद यादव । लालु प्रसाद यादवले निर्वाचनमा सबै प्रकारका हथकण्डा अपनाउने गर्थे । विहारका गुण्डाहरु लालुको पार्टीलाई जिताउन ज्यान फालेर लाग्ने गर्थे । मतदातालाई फकाएर, लोभ्याएर, धम्काएर जे गर्दा हुन्छ सबै गर्थे । यदि त्यति गरेर पनि नपुगेपछि हत्या पनि गरिदिन्थे । चुनावको त्यो शैली हाम्रो देशमा अहिले स्थानीय निर्वाचनमा पनि देखिएको छ ।

राजनीति सेवा हो । निःशुल्क सेवा हो । तर त्यो भन्दा माथि राजनीतिले समाजलाई परिवर्तन गर्ने पनि हो । सामन्तवादी कालमा सत्तासीन वर्गले समाजलाई यथास्थितिमा राख्न चाहन्थ्यो । तर समाज गतिशील हुने हुनाले समाज अगाडि बढ्यो । सामन्तवादका विरुद्ध संघर्ष भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई कसैले अपरिवर्तनशील, जड वा स्थिर ठान्ने गल्ती गर्नु हुँदैन । यसको प्रतिक्रियावादी चरित्रका कारणले यो यही रुपमा रहन सक्दैन । कसैले यसलाई आफ्नो अधिनस्थ राख्न खोज्छ भने त्यो पनि किनारा लाग्छ । कुनै बेला विहारको लालु यादव सर्वोसर्वा भए जस्तै अहिले नेपालमा केही व्यक्तिले आफूलाई सर्वेसर्वा ठान्न सक्दछन् । उनीहरु जनतालाई रैती ठान्न सक्दछन् । सिंगो देशलाई आफ्नो मौजा वा विर्र्ता ठान्न पनि सक्छन् । तर त्यो समाज विकासको नियम विपरीत हुनेछ ।

स्थानीय निर्वाचनमा निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । तर सत्ता गठबन्धनका घटकहरु टेर पुच्छर लाएका छैनन । सरकारी साधन स्रोत तथा खर्चमा प्रधानमन्त्री लगायतका नेताहरु देश भ्रमण गरेका छन् । त्यो भन्दा पनि गम्भीर कुरा उनीहरु जनतालाई लोभ्याउने र धम्काउने गरेका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले कैलाली र डडेल्धुरामा “कांग्रेसले जितेन भने केन्द्रले रकम दिने छैन ।” भनिन त्यस्तै कैलालीमा कांग्रेसी मतदातालाई  “प्रत्येक वडामा ५÷६ जनालाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाइदिन्छु” भनेकी थिइन । यी दुवै अभिव्यक्ति आपत्तिजनक छन् । सार्वभौम जनतालाई एउटा रैतीलाई जस्तो धम्काउने र लोभ्याउने गरेर नेपाली कांग्रेसले विहारी शैली प्रस्तुत गरेको होइन ? कांग्रेस बाहेक अरुलाई राज्यले दिने सुविधा प्राप्त गर्ने अधिकार छैन ? नेपाली कांग्रेसले दुई तिहाई बहुमत जनता समक्ष माग्दै हिंडेको छ । आफूलाई लोकतन्त्रको मसिहा बताउँछ । तर उसलाई लोकतन्त्रको परिभाषा थाहा छ जस्तो लाग्दैन । लोकतन्त्रमा जनता सर्वोच्च शक्ति हुने गर्छ । जनताले चाहेमा कांग्रेसलाई जिरो बनाइदिन पनि सक्छ । जसले दलहरुलाई सत्ता संचालनका लागि अधिकार सम्पन्न बनाउँछ, उसैलाई दास र रैती जस्तो ठान्नुले उनीहरुभित्र रहेको सामन्ती चिन्तनलाई बताउँछ । आरजु राणाले जे बोलेकी छिन, त्यो लोकतान्त्रिक आचारण विपरीत छ । त्यसबाट सार्वभौम जनताको घोर अपमान भएको छ । औपचारिक रुपमा यसरी बोलेकोमा पार्टी वा सरकारले औपचारिक रुपमा त्यसको जवाफ दिनुपर्छ । के सरकारको नीति कांग्रेसले नजित्ने गाउँ÷नगरपालिकामा केन्द्रको सहयोग नमिल्ने हो ? के फ्रि भिसा र फ्रि टिकट कांग्रेसलाई मात्रै हो ? यदि पार्टी वा सरकारले त्यो गल्तीलाई सच्चाउदैन भने निर्वाचन आयोगले तत्काल कार्वाही गर्नुपर्छ ।

कुरो आरजु देउवाको मात्र होइन, कुरो प्रचण्डले चितवनमा बोलेको कुरा पनि गम्भीर छ । उनको छोरी भएको हुनाले रेणु दाहाललाई  जनताले जसरी पनि जिताउनु पर्ने ! यदि नजिताएको अवस्थामा देशमा दुर्घटना हुन सक्ने धम्की दिएका छ न् । त्यो दुर्घटना के हो ? त्यो उनले बताएका छैनन । त्यो दुर्घटना भनेको उनी फेरि हतियार उठाउने पनि हुन सक्छ । उनले यो गठबन्धन छाडेर अर्को गठबन्धन बनाउने हुन पनि सक्छन् । वा उनले निर्वाचन नै विथोलेर असफल पार्न पनि सक्छन् । त्यो दुर्घटना के हो ? त्यो भविष्यमा खुल्दै जाला । तर प्रश्न, दुर्घटनासितको डर होइन, प्रश्न यो हो कि सरकारमा बसेको पार्टी नेताले जनतालाई धम्काउन मिल्छ कि मिल्दैन ? यो पनि विहारी शैली हो । नेताहरुले यति बोलेको कुरालाई जनताले कुटनीतिक अर्थमा बुझ्नुपर्छ । कार्यकर्ताहरु त्यसैलाई आधार बनाएर दुर्घटनाको तयारी गर्न सक्छन् । यो अनायास मुखबाट निक्लेको कुरो होइन । पार्टीभित्र सम्पूर्ण तयारी गरेर बाहिर कुटनीतिकरुपले पनि बोलेको हुन सक्छ । त्यसकारण यो गम्भीर प्रश्न हो ।

आरजु देउवा र प्रचण्डको सर्वसत्तावादी अभिव्यक्तिले राजनीतिमा अपराधीकरण निम्त्याउँछ । जब दलहरु आफ्नो नीति र विचारबाट जनतालाई प्रभावित पार्न सक्दैनन्, त्यसबेला उनीहरु अपराधीकरणको बाटो समात्छन् । गठबन्धनका घटकहरु अपराधीकरणतर्फ अग्रसर देखिएका छन् । बागलुङमा वाम गठबन्धनका उम्मेदवारसितको टिमलाई नै सखाप पार्न पाँद दलीय गठबन्धनका घटकद्वारा प्रयास गरिएको छ । कैयौं स्थानहरुमा भौतिक आक्रमणहरु भएका छन् । यसरी त जो गुण्डाहरु परिचालन गर्छ, उसैलाई जितको घोषणा गरिदिए भैहाल्यो । निर्वाचनको के आवश्यकता ? निर्वाचन जित्नु मात्र ठूलो कुरा होइन । चुनाव त डाकु फुलनदेवीले पनि जितेकी थिइन । तर उनले समाजलाई अग्रगमनतर्फ लैजाने दार्शनिक, वैचारिक तथा नैतिक सहास थिएन । आज गठबन्धनका घटकहरुको पनि दार्शनिक, वैचारिक तथा नैतिक साहस समाप्त हुँदै गएको देखा परेको छ । अहिलेको समाज डर, धाक, धम्कीदेखि डराउँदैन । यदि कसैले जनतालाई विहारी शैली देखाएर चुनाव जित्न खोज्छ भने आफै पतनको बाटो रोजेको हुनेछ । त्यसकारण राजनीतिमा अपराधीकरण बन्द गर्दा राम्रो होला ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित