कम्युनिस्ट पार्टी एकताबारे

– अटल
पार्टी एकता भनेको बनाउने कुरा हो । बनाउन जति गाह्रो हुन्छ भत्काउन अत्यन्तै सजिलो हुन्छ । उदाहरणको लागि एउटा घर बनाउन महिनौं वा कतिपय अवस्थामा त वषौं लाग्छ तर त्यो घरलाई बाढी, पहिरो, आगलागी, वम व्लाष्ट हुँदा केही समय मै ध्वस्त हुन्छ । पार्टी एकता पनि त्यस्तै हो । द्वन्द्ववादको नियम अनुसार पनि एकता अस्थायी, क्षणिक, शर्तबद्ध र सापेक्ष हुन्छ । संघर्ष वा फुट स्थायी, निरन्तर निशर्त र निरपेक्ष हुन्छ । मानिसहरु सहज र सजिलै प्रश्न गर्छन् कम्युनिस्टहरु फुट्न मात्र जान्दछन् र जुट्न बडो मुश्किल हुन्छ भनेर महान लेनिनले त्यसको सटिक उत्तर दिंदै भन्नुभएको छ सर्वहारा क्रान्तिकालमा निम्न पुँजीवादी सहयात्रीहरुलाई सँगै लिएर हिंड्दा कैयौं पटकको फुट विना एउटा सच्चा सर्वहारा वर्गको पार्टी वन्न असम्भव छ भनेर ।
२००६ सालमा स्थापित कम्युनिष्ट पार्टीलाई हामीले एउटा ग्रहको उपमा दिने हो भने जसरी सूर्यबाट टुक्रिएर ९वटा ग्रह बने त्यसैगरी हरेक ग्रहबाट उछिट्टिएर उपग्रह बने जसरी कम्युनिस्ट पार्टी पनि त्यसैगरी टुक्रिएका छन् र स–साना कम्युनिस्ट नामधारी उपग्रहहरु अझै पनि विद्यमान छन् । गोञ्जालोले भनेका छन् पार्टी भनेको विचार हो एउटा विचारको एउटा देशमा एउटै मात्र पार्टी हुन्छ । त्यो विचारको वरिपरि घुम्ने उपग्रहरुपी पार्टीहरु विचार समूह मात्र हुन् यस वैचारिक हिसावले हेर्ने हो भने नेपालमा ३ किसिमका पार्टीहरु छन् । एउटा पश्चगामी पार्टी, राजा र हिन्दुधर्मलाई केन्द्र मानेर चल्ने जति पनि पार्टीहरु छन् ती सबैले यही विचारको प्रतिनिधित्व गर्छन् त्यसको मूल ग्रह राप्रपा हो भने त्यो विचारको वरिपरि घुम्ने स–साना पार्टीहरु उपग्रह हुन र ती विचार समूह मात्र हुन् । दोस्रो प्रवृत्ति २०७२ सालको संविधान मान्ने, लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई आदर्श मान्ने र दुनियाँभरिको उत्कृष्ट व्यवस्था यही हो भन्ने विचार बोक्ने पार्टीहरु, रुपमा यसमा मुख्य गरेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (मा.के) भए पनि सारमा ग्रहको रुपमा हामीले नेपाली कांग्रेसलाई लिनुपर्छ । किनकि संसदीय व्यवस्थाको जननी संसारमा बेलायत हो भने नेपालमा नेपाली कांग्रेस हो । यो विचारलाई मान्ने निर्वाचन आयोगमा दर्ता भएका जति पनि पार्टी छन् ती सबै उपग्रह हुन् । रुपमा एमाले, माके, ठूला जस्ता देखिए पनि ती संसदीय व्यवस्थाका पाहुना हुन् र वन साङ्लाले घर साङलालाई खाएका मात्र हुन् । रास्वपा पनि यही कोटीमा पर्दछ । तेस्रो प्रवृत्ति संसदीय व्यवस्था जसलाई संविधानमा “लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संसदीय व्यवस्था भनिएको छ ।” लाई ध्वस्त पार्दै नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादमा जाने” विचार यो विचारको मूल ग्रह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल हो यही विचारको वरिपरि घुम्ने अरु स–साना उपग्रह रुपी पार्टीहरु पनि छन् । ती यही विचारका विचार समूह हुन् । यहाँ यही तेस्रो विचार प्रवृत्तिको चर्चा गरिन्छ ।
गत वर्ष २०७९ असारमा क्रान्तिकारी पार्टीहरुबीच एउटा दह्रो धु्रव खडा गर्ने गरी नेकपा (क्रा.मा.) नेकपा (बहुमत) र नेकपा (मशाल) बीच पार्टी एकता गर्ने उद्देश्यका साथ गहन विचार विमर्शका साथ, पार्टी एकता संयोजन समिति बनाइएको थियो । एकताका आधारहरु सबै टुंग्याएपनि आफ्नो पंक्तिलाई एक ढिक्का पारी एकता गर्ने भनी नेकपा (मशाल) ले केही समय आवश्यक पर्ने भनी मागेकोले २०८० वैशाख १८ मे दिवसको दिन नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) बीच पार्टी एकता भएको थियो । १ वर्षको राम्रो तयारीका साथ यही २०८१ वैशाख १९ गते मजदुर दिवसको दिन नेकपा (मशाल) सहित एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएको छ । यो नेपाली सर्वहारा वर्गको लागि निकै खुशीको कुरा हो । परिवर्तनको उद्देश्य सहित निर्माण भएको यो पार्टीले नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने छ । पार्टी एकता निकै गाह्रो काम हो । लगातारको स्कुलिङले मात्र, मूल विचार, प्रवृत्ति, सोच्ने तरिका र संस्कृतिको निर्माण गर्दछ । पार्टी विपरीतको एकत्व भए पनि आप्mना नेता तथा कार्यकर्तालाई मूल विचारको वरिपरि केन्द्रित गरी सापेक्ष एकता कायम गराउनु निकै जटिल कार्य हो । विचारमा एकताबद्ध भइसकेपछि, विधिमा वस्नु अर्को चुनौतीपूर्ण कार्य हो । नेतृत्वले माथिदेखि तलसम्म नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर चलाउन सकेको छ कि छैन भन्ने कुरा त्यो पार्टीलाई अगाडि बढाउँदा वा पछाडि हटाउँदा विभिन्न ऐतिहासिक मोड र घुम्तीमा थाहा हुन्छ । महान लेनिनले भन्नुभएको छ कि “कम्युनिस्ट पार्टीले माथिदेखि तलसम्मको आफ्नो पंक्तिलाई निरन्तरको स्कुलिङ र प्रशिक्षणले यस्तो एकताबद्ध बनाउँछ कि ? कुनै खास जिल्लाको कुनै खास एउटा भेगका अगुवा कार्यकर्ताहरुसँग १–२ घण्टा बसेर छलफल गर्ने हो भने त्यो पार्टीका केन्द्रीय नेताहरुसँग भेट नै पर्दैन यो पार्टीका नेता यस्ता छन् भनेर ठोकेर भन्न सकिन्छ । कतिपय कार्यकर्ताले त नेताहरुको बोलीचाली हाउभाउ र बानीव्यहोरा समेत जस्तोको त्यस्तै नक्कल गर्ने गर्छन् ।”
हाम्रो देशको कम्युनिस्ट आन्दोलनको एकता गर्दा मालेले आफ्नो पंक्तिलाई एकताबद्ध बनाएर लान सक्यो भने माक्र्सवादीले लान सकेनन्, प्रभुनारायण चौधरी, माधव ज्ञवाली, बलराम उपाध्यायहरुले ‘माक्र्सवादी’ व्युँताए एकताकेन्द्रमा सामेल चारै घटकहरुले एउटा निश्चित अवधिसम्म सबैलाई एक ढिक्का बनाएर लगे, हामीले एकताका आधारहरु आठ बुँदा निश्चित गरेका छौं । जसमा जनवादी केन्द्रीयता पनि पर्दछ । विचारमा एकरुपता आइसकेपछि संगठनात्मक रुपमा हामी सहज, सरल र मिलनसार हुनुपर्दछ । विचारमा दृढता र संगठनमा लचकता हाम्रो कार्यशैली हुनुपर्छ । संगठन, प्रविधि, कार्यनीतिमा लचकता अपनाउनुपर्दछ । त्यसमा खोचे थाप्ने र हलो अड्काएर गोरु कुट्ने काम गर्नु हुँदैन । विचारमा फरक भएपछि सँगै बस्नु दासता हो भने, विचार एउटै हुँदाहुँदै पनि संगठनात्मक, प्राविधिक र कार्यनीतिमा पार्टी फुट्नु ज्ञानको न्यूनतम कमजोर चेतनास्तर हो । यही कसीको आधारमा हामी पूर्व तीन पार्टी मिलेर बनेको एकता संयोजन समितिले एकता र फुटका विभिन्न ऐतिहासिक मोड र घुम्तीहरुको समिक्षा गरेका छौं र सिद्धान्तको कसीमा घोटेर सैद्धान्तिक–राजनैतिक आधारमा भएका फुटलाई ठीक र संगठनात्मक प्राविधिक र कार्यनीतिमा भएका फुटलाई बेठिक भनेका छौं । यस दृष्टिकोणको आधारमा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध तीनवटै पार्टी नेकपा (माओवादी), नेकपा (एकीकृत) सहित नेकपा (बहुमत) र नेकपा (मशाल) जो सबै अल्पमतमा थिएर संस्थापन पक्षले संसदवादी बाटो लिएकाले तिनीहरुका विरुद्ध ठूलो र अग्लो झण्डा उचालेर विद्रोह गर्नु ठीक हो भनेर मूल्यांकन गरेका छौं । महान् माक्र्सले विद्रोह सम्बन्धी सही र सटिक विचार सार्नु भएको छ । राम्रो पक्षको विरुद्ध विद्रोह गर्नु नराम्रो हो र नराम्रो पक्षका विरुद्ध विद्रोह गर्नु राम्रो हो भनेर । यस हिसावले मोहन विक्रम सिंहले नेतृत्व गरेको मसालले ‘नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको’ मान्यतालाई स्वीकार गरेपछि त्यसको कार्यान्वयन तर्फ कहिल्यै ध्यान दिंदैन र त्यो संसदवाद तथा मिलेरावादको अभ्यासमा संलग्न रही आएकोले, त्यसका विरुद्ध पूर्व एकीकृतको मूल पक्ष र पूर्व (मशाल) ले विद्रोह गर्नु राम्रो कुरा हो । त्यसैगरी नेकपा (विप्लव) समूहले माक्र्सवाद–लेनिनवाद–माओवाद मानेको बहाना गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण तथा संस्थागत गरी शान्तिपूर्ण रुपमा समाजवादमा जाने र वर्तमान संविधानको रक्षा गर्ने मान्यताप्रति प्रतिबद्ध रहँदै माके एस.जसपा सहितको समाजवादी मोर्चामा आबद्ध भइ तथा नेकपा (माके) को सन्निकट रही दक्षिणपन्थी दिशा पकडेकोले नेकपा (बहुमतले) त्यस्तै नेकपा (मा.के) ले दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थिति बाटो रोजेकोले नेकपा (माओवादीले गरेको विद्रोहलाई उचित ठह¥याइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनिसकेपछि अवसरवादी, संसदवादी र प्रतिक्रियावादीहरुको उक्साहट र ज्ञान, धैर्यता, अनुशासन र लगनशीलताको अभावमा पानीको फोकाको रुपमा केही व्यक्तिहरु बाहिरिनुलाई स्वभाविक रुपमा लिनु पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अगाडि निकै ठूलो चुनौती छ । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जान चाहने स–साना वामपन्थी समूह, व्यक्ति र व्यक्तित्वहरुलाई समेट्दै वस्तुगत अवस्था अनुकूल र आत्मगत अवस्था कमजोर रहेको अवस्थामा, एकातिर परिवर्तनकामी क्रान्तिकारी पार्टी, समूह, व्यक्ति, व्यक्तित्वलाई पार्टीमा समाहित गर्दै संगठनात्मक रुपमा बलियो बनाउँदै लैजाने र अर्कोतिर वर्गसंघर्ष, जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोह मार्फत् पुरानो सत्ता र व्यवस्था परिवर्तन गरी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने आजको आवश्यकता हो र यही उद्देश्य प्राप्तिको लागि पार्टी एकता गरिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित