उत्तरआधुनिकतावाद उत्तर माक्र्सवाद, नारीवाद र पहिचानवादको छाता सिद्धान्त हो

मोहन वैद्य किरण, संयोजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, राष्ट्रिय महाधिवेशन आयोजक समिति
१) क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालको आगामी मंसिर १३ देखि २३ सम्म राष्ट्रिय एकता महाधिवेशन गर्ने घोषणा गर्नु भएकोछ । महाधिवेशनको तयारी कसरी अगाडि बढिरहेको छ?
– हो, हामीले आगामी मंसिर १३ देखि २३ सम्म राष्ट्रिय एकता महाधिवेशन गर्ने घोषणा गरेका छौं । महाधिवेशनको तयारीको काम सर्वप्रथम विचारधारात्मक, रणनीतिक तथा सांगठनिक लगायतका कार्यदिशा, विभिन्न विषयमा नीति निर्माण आदि विषयहरुमा विभिन्न दस्तावेजहरु तयार पारी फोरमको समेत व्यवस्थापन गरी छलफल , बहस तथा विचार विमर्शको प्रक्रिया अगाडि बढाउने काम भएको छ । त्यसैक्रममा स्थानीय तहदेखि जिल्ला तहसम्म भेला÷सम्मेलन÷अधिवेशनहरु सम्पन्न गरी प्रतिनिधिहरुको छनोट गर्ने प्रक्रिया पनि अगाडि बढ्दै गएको छ । त्यसै सन्दर्भमा व्यवस्थापन, प्रचारप्रसार, सांस्कृतिक समितिहरु बनाई तयारीमा लाग्ने काम पनि भइरहेको छ ।

२) नेकपा( क्रान्तिकारी माओवादी ) ,नेकपा( मशाल) र नेकपा ( बहुमत) तीन पार्टीको बीचमा गरिएको पार्टी एकता मतभेद सहितको एकता हो भन्ने देखिन्छ । मतभेदहरूलाई कसरी टुङ्गो लगाउँदै हुनुहुन्छ ?
– हामी तीन पार्टीबीचको एकता मतभेद सहित जानेर, बुझेर र समाधान गर्दै जाने आँट गरेर गरिएको एकता हो । कम्युनिस्ट आन्दोलन, पार्टी र विभिन्न समूहहरुका बीच मतभेद रहनु ठूलो विषय होइन । बरु तिनको समाधान तथा व्यवस्थापन गर्दै अगाडि बढ्ने कुरा ठूलो हो । यसमा सबै पक्षका बीच मतभेद समाधान गर्दै जाने काममा दह्रो एकरुपता, समझ्दारी र विशेष दायित्वबोध हुन जरुरी छ । यसका निम्ति देश, जनता, क्रान्ति, पार्टी र सर्वहारा अन्तर्राष्ट्रियतावादप्रति गहिरो निष्ठा र प्रतिबद्धताको आवश्यकता छ । विश्वास छ, हामी मतभेदहरुलाई टुंगो लगाउँदै अगाडि बढ्न समर्थ र सफल हुने छौं ।

३) क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालको राष्ट्रिय एकता महाधिवेशनको महत्वबारे स्पष्ट गर्नु पर्दा यहाँको भनाइ के रहन्छ ?
–एकता महाधिवेशनको महत्व सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु तथा एकताको सन्देश प्रवाहित गर्नु र क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशाको निर्माण तथा विकास गरी त्यसको दृढ कार्यान्वयनको लागि आधार तयार पार्नुमा नै रहेको छ ।

४) आजको राष्ट्रिय परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
– आजको राष्ट्रिय परिस्थितिको एकदमै छोटो मूल्यांकन गर्दा तीन पक्षमाथि दृष्टि दिनु जरुरी छ –पहिलो, जनताले विभिन्न जनआन्दोलन, जनयुद्ध र ऐतिहासिक संघर्षहरुमा रगत पसिना बगाएको र ठूलो संख्यामा सहादत प्राप्त गरेर गणतान्त्रिक संविधान निर्माण भए पनि जनताको मुक्ति र परिवर्तनको आशा अधुरै रहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या अति गम्भीर बन्दै गएका छन् । गरिबी, बेरोजगारी, युवा श्रमशक्ति विदेश पलायन, भ्रष्टाचार, महंगी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको निजीकरण तथा व्यापारीकरणबाट सिंगो देश र जनता आहत बनेका छन् । सत्ता, व्यवस्था र लगातार बदलिइरहने र जनताको पक्षमा काम नगर्ने सरकारहरु तथा सम्बद्ध पार्टीहरुप्रति अविश्वास र आक्रोश चुलिंदै जान थालेको छ । विभिन्न ढंगका अन्तर्विरोधहरु चर्कंदै गएका छन् । चौतर्फी संकटका बादल मडारिन थालेका छन् । यसरी क्रान्तिकारीका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको छ । दोस्रो, क्रान्तिकारी कम्युिनस्टहरुको विभिन्न ढंगमा टुटफुट तथा विभाजनको कारण आत्मगत परिस्थिति कमजोर रहेको छ । तेस्रो, यस स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरुको एकताको विशेष महत्व छ र अब आत्मगत शक्तिलाई बलियो तुल्याउँ क्रान्तिको तयारीको दिशामा अगाडि बढ्न आवश्यक छ ।
५)अमेरिकी साम्राज्यवादको एकल ध्रुवीय विश्व राजनीति वहुध्रुवमा रुपान्तरण हुँदै जान थालेको हो?
– अहिले विश्व राजनीति तीव्र रुपमा बहुध्रुवीय बन्दै गइरहेको छ । अमेरिकी साम्राज्यवादको एकल ध्रुवका विरुद्ध रुस तथा चीनको अर्को धु्रव सशक्त रुपमा विकसित भएको छ । क्षेत्रीय तहमा पनि विभिन्न ध्रुवहरुका बीच संघर्ष चलिरहेको छ ।

६) विश्वमा विभिन्न ठाउँमा विद्रोह हुँदै आएका छन् । पछिल्लो अवधिमा श्रीलंका र बङ्गलादेशको विद्रोह देखियो। यस्ता विद्रोहलाई पक्रने र नेतृत्व गर्ने क्षमता कम्युनिस्टहरूले गुमाएका हुन् ?
– यहाँले श्रीलंका र बंगलादेशको सन्दर्भलाई उठाएर विद्रोहलाई पक्रने र नेतृत्व गर्ने क्षमता कम्युिनस्टहरुले गुमाएका छन् भनेर प्रश्न प्रस्तुत गर्नुभयो । यो विषय विशेष अध्ययन योग्य छ । कुनै देशमा हुने आकस्मिक प्रकारको स्वतस्फूर्त विद्रोहलाई पक्रेर नेतृत्व प्रदान गर्ने कार्यका लागि पहिलेदेखि नै सचेतन ढंगले तयारी गर्न जरुरी हुन्छ । यस्ता विद्रोह क्षणमै जन्मिन्छन् र क्षणमै सेलाउँछन् । तिनमा प्रभाव पार्नका लागि कम्युनिस्ट पार्टीले आफ्नो तयारी पहिलेदेखि नै गरेको हुनुपर्दछ र गर्नुपर्दछ । यो नेपालकै सन्दर्भमा पनि सत्य हो ।
७) नेपाली क्रान्तिको कार्यदिशालाई मूर्त बनाउने बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालले के गर्दैछ?
– नेपाली क्रान्तिको कार्यदशिालाई त मूर्त बनाएरै प्रस्तुत गरिएको छ । यसलाई अझै मूर्त तुल्याउने काम छलफल र विचार विर्मश कै प्रक्रियामा महाधिवेशनसम्म गरिने छ ।
८) रणनीतिक उद्देश्य नयाँ जनवादी क्रान्तिलाई मद्दत पुग्ने गरी के कस्ता कार्यनीति तय गर्दै हुनुहुन्छ ?
– अहिले महाधिवेशनमा नयाँ जनवादी क्रान्तिलाई मद्दत पु¥याउने उद्देश्यद्वारा अभिप्रेरित भई राष्ट्रिय राजनीतिको सन्दर्भमा क्रान्तिकारी संयुक्त मोर्चा, स्वाधीन संयुक्त सरकार र जनसंविधान निर्माणको तात्कालिन राजनीतिक कार्यनीति प्रस्तुत गरिएको छ । यस सन्दर्भमा छलफल तथा विचपारविमर्श चलिरहेको छ ।
९) संविधान संशोधन गर्ने उद्देश्य बताउँदै ओली नेतृत्वमा काङ्ग्रेस – एमाले गठबन्धन बनेको हो। तर संविधान संशोधनको कार्य त अगाडि बढेको देखिदैन त ?
– हो, नेका,एमाले गठबन्धन, वर्तमान संविधान संशोधन गर्ने उद्देश्यले बनेको भन्ने कुरा बाहिर आएको र उनीहरुल्े संविधान संशोधनको विषयलाई प्राथमकितामा राखेका छन्। तर, के कसरी भन्ने कुरा भौतिक रुपमा बाहिर आएको पाइँदैन । तैपनि स्थिर सरकार निर्माणको लागि मिश्रित निर्वाचन प्रणाली बाधक थियो भनेर त्यसलाई हटाउने र दुई वा तीन जति राजनीतिक दक्षहरु मात्र राष्ट्रिय पार्टी बनाउने योजना अनुसार उनीहरु जाँदैछन् भन्ने बुझिन्छ । वस्तुतः अब संविधान संशोधन गरेर होइन, त्यसलाई खारेजगरी जनसंविधान बनाउने तर्फ अगाडि बढ्नु पर्ने देखिन्छ ।
१०) धर्मेन्द्र बास्तोलाजीले गरेको पार्टी एकता असफलताको घोषणालाई कसरी लिनु भएकोछ?
– धर्मेन्द्रजीहरुको यस्तो घोषणालाई हामीले अस्वाभाविक र अपरिपक्व निर्णयका रुपमा लिएका छौं । उहाँ क्रान्तिकारी कम्युनिस्ट एकता पक्षमा उभिनु भएन र दक्षिणपन्थीहरुसितको सम्बन्ध कायम राख्दै हुनुहुन्छ । त्यसैले हामीले उहाँहरुको समूहमा दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति रहेको निचोड निकालेका छौं ।
११) अन्य कुनै कम्युनिस्ट घटकहरू सित पार्टी एकताको सम्भावना छ कि?
–अहिले तुरुन्तै त्यसबारे केही सोचिएको छैन ।
१२) नेपालको कम्युनिष्ट आन्दोलनका समास्याहरू के के हुन् ?
– नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरुलाई विभिन्न ढंगले अध्ययन गर्न सकिन्छ । सबैभन्दा पहिलो कुरा त नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी धार र दक्षिणपन्थी अवसरवादी धारमा विभाजित रहेको छ । क्रान्तिकारी कोणबाट हेर्दा यी धाराका बीच कम्युनिस्ट एकता असम्भव छ । यो समस्या होइन, अवस्स्थाको विषय हो । दोस्रो, दक्षिणपन्थी र मध्यमार्गी धाराको विरोध तथा भण्डाफोर आवश्यकता अनुसार गर्न सकिएको छैन । यो एउटा समस्या हो । तेस्रो, क्रान्तिकारी कम्युनिस्टहरुका सामु यो बेला क्रान्तिकारी कार्य दिशाको निर्माण तथा विकास क्रान्ति गर्न योग्य पार्टीको निर्माण, संगठन विस्तार, सुदृढीकरण तथा सुदुढीकरणका काम, संचालन क्रान्तिकारीहरुका लागि विभिन्न भ्रमबाट मुक्त गरी गोलबद्ध गर्ने र प्रतिक्रियावादीहरुविरुद्ध क्रान्तिकारी तयारी जस्ता समस्या रहेका छन् । यसप्रकारका समस्याको समाधान गर्ने तर्फ विशेष जोड दिनुपर्ने आवश्यकता छ ।

१३) संयुक्त मोर्चा बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालको दृष्टिकोण के हो ?
–क्रान्तिका लागि क्रान्तिकारी संयुक्त मोर्चा अनिवार्य रुपमा आवश्यक हुन्छ । यो स्पष्ट नै छ । साथै, कामको प्रक्रियामा आवश्यकता अनुुसार विभिन्न प्रकारका कार्यगत वा संयुक्त मोर्चा हुन सक्दछन् । यो कुरा पनि सिद्धान्ततः स्पष्ट छ । तर मूर्त रुपमा भन्नुपर्दा संयुक्त मोर्चा निर्माणको काम यत्तिले मात्र पुग्दैन । महाधिवेशनसम्म जाँदा आवश्यक छलफल र बहसका बीचबाट पार्टीको संयुक्त मोर्चा सम्बन्धी दृष्टिकोण स्पष्ट पारिनेछ ।
१४)एउटा थोरै फरक प्रसंगमा कुरा गरौं उत्तरअधुनिकतावादले नेपाली कम्युनिस्ट आन्दोलनलाई के कस्तो प्रभाव पारेकोछ ?
–उत्तरआधुनिकतावादविचारधाराको अन्त्य, इतिहासको अन्त्य, महावृतान्तको अन्त्य बताउँछन् । उत्तर आधुनिकतावाद, विसंघटनवाद (विनिर्माणवाद) र पाठखेल (टेक्टट गेम) को सिद्धान्तमा आधारित छ । उत्तर आधुनिकतावाद एउटा छाता जस्तो सिद्धान्त हो र त्यसका साथमा उत्तर माक्र्सवाद, नारीवाद, पहिचानवाद लगायतका धारा पनि रहेका छन् । समग्रमा उत्तर आधुनिकतावादले साम्राज्यवादको सेवा, संशोधनवादलाई मलजल प्रदान गर्ने र क्रान्तिकारी कम्युनिस्टहरुका विरुद्ध विषवमन गर्ने काम गर्दछ । यसले नेपालमा बहुलवादलाई स्थापित तुल्याउने, वर्गीय विश्वदृष्टिकोणका विरुद्ध पहिचानवादलाई प्रश्रय दिनेर क्रान्तिकारी कम्युनिष्ट विचारधाराको विरोध गर्दै आएको छ ।

१५) हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि?
– थप केही भन्नु छैन । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित