काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले हालै देशभरी अविरल वर्षाकोकारण पु¥याएको ज्यू धनको क्षतिबारे सरकारलाई ध्यानआकर्षण गराएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको हो । सो पार्टीका प्रवक्ता सुदर्शनले २०८१ असोज १३ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वक्तव्यमा भनिएको छ, “दश असोजको विहिवार साँझदेखि बाह्र असोजको शनिवार साँझसम्म भएको देशव्यापी, घनिभूत, अविरल र अभिलेखतोडक वर्षाले गर्दा हुन गएको धनजनको क्षती, आवागमन अवरोध र प्रकृतिको विनाशबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सन् २००२ मा मौसम पूर्वानुमान महाशाखाको मापन अभिलेख अनुसार १७७ मिलिलिटर वर्षा भएको थियो भने यसपाली २३९.७ मिलिलिटर वर्षा काठमाडौँमा मापन भएको छ । यसले गर्दा राजधानीमा सबभन्दा बढी ३४ जना र देशव्यापी गरी १२० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने कैयौँ हराइरहेका छन् । नदी र खोला किनारका वस्तीहरु, तराईका वस्तीहरु र सुकुमबासी वस्तीहरु डुबानमा परी मानिसहरु घरवासविहीन र भोकभोकै हुने स्थिति बन्नगएको छ । देशव्यापी यातायातमा अवरुद्धता आएर आवागमन बन्द भएको छ । यही निहँुमा यो तमासा हेरिरहेका कालाबजारीयाहरुले कृत्रिम अभाव खडा गरी महङ्गी बढाउने दाउ हेरिरहेका छन् । नख्खु लगायत कैयौँ स्थानहरुमा उद्धार गर्न सकिने समय हुँदा हुँदै पनि सरकार र त्यसका संयन्त्रहरुको हददर्जाको लापर्वाहीले हेर्दाहेर्दै मानिसहरु जलप्रवाहमा हृदयविदारक ढंगले विलीन भएका छन् । भारी र अविरल वर्षा प्राकृतिक प्रकोप हो । यसमा त कसैले दोष लगाउने ठाउँ छैन । तर सरकार र सरकारी संयन्त्रमा रहेका अधिकारप्राप्त अधिकारीहरुले खोला र नदीहरुको बहावक्षेत्र कब्जा गरी भुमाफियाहरुलाई खरिद विक्री गर्न दिनु, कुनै भोगोलिक मापन र वैज्ञानिक सर्वेक्षण नगरी बाटोघाटो बनाउदा आधुनिक यन्त्रहरुको प्रयोग गर्नु, जथाभावी नदीजन्य पदार्थहरुको उत्खनन् गरी प्राकृतिक असन्तुलन पैदा गर्नु, वन अधिकृतहरुकै संरक्षणमा वन फडानी गर्नु र वनमा डँढेलो लगाउनु वा लगाउन प्रेरित गर्नु, जनता स्वयं यो स्वार्थी लहडको बहकाउमा फस्नु इत्यादि प्राकृतिक प्रकोपमा अप्राकृतिक समस्या निम्त्याउने कारणहरु हुन् । दलाल पूँजीवादी अर्थतन्त्र रहेको देशको राज्यसत्ता पनि दलाल पूँजीवादी नै हुन्छ भन्ने कुरा यो घटनाले पुस्टि गर्दछ ।
अतः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निम्न कुराहरुमा ध्यानाकर्षण गराउँछ ।
१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।
२) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी क्रियाकलापहरु बन्द गरी खोला र नदी किनारको प्राकृतिक अवस्था फिर्ता गरेर शहरहरुलाई व्यवस्थित गर्नुपर्दछ । यसका साथसाथै वास्तविक सुकुमवासीहरुलाई उचित स्थानमा उचित व्यवस्थापन गरिनुपर्दछ ।
३) अराजक नदीजन्य उत्खनन्को फुक्काफाल वनफडानी तथा वनमा आगजनी अवैज्ञानिक सडक निर्माण र त्यसमा यन्त्रहरुको प्रयोग बन्द गरिनुपर्दछ ।
४) यो प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार कार्यमा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सबै स्तरमा सक्रिय सहभागी हुन विशेष निर्देशन गर्दछौँ ।
५) यो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उनीहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”