माओवादः माक्र्सवाद–लेनिनवादको नयाँ, तेस्रो र श्रेष्ठ चरण

– सुदर्शन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीच एकता भइ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ बैशाख १८ गते एकता अधिवेशन र सोही महिनाको १९ गते पार्टी एकताको सार्वजनिक घोषणा कार्यक्रम भएको थियो । त्यहाँसम्म पुग्दा हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा, राजनीतिक कार्यदिशा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने, सामरिक कार्यदिशा जनसंघर्ष–जनप्रतिरोध संघर्ष–जनविद्रोहको प्रक्रियामा अघि बढ्ने, सशस्त्र संघर्षबाट नै दलाल तथा नोकरशाही अर्थतन्त्रमा आधारित दलाल पूँजीवादी संसदीय सत्ताको अन्त हुने, पार्टी संचालनको पद्धति जनवादी केन्द्रीयता रहने, दलाल पुँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व स्थापना गर्ने, सर्वहारा अन्तर्राष्ट्रियतावादलाई दह्रोसँग पकड्ने इत्यादि मान्यतामा एक भएका छौँ । तर यति हुँदाहुँदै पनि माओवाद वा माओविचारधारामध्ये कुन पदावली प्रयोग गर्ने, जनयुद्धको मूल्याङ्कन कसरी गर्ने र नेपालमा जातीय संघीयता लागू हुन्छ कि हुँदैन भन्ने तीन विषयमा बहस जारी राख्ने र महाधिवेशनसम्म जाँदा यी विषयको बहसलाई तार्किक निस्कर्षमा पु¥याउने हाम्रो निर्णय थियो । यसको साथै यी विषयहरुमाथि सार्वजनिक बहस पनि गर्न सकिने भनिएको थियो । यहाँ भने हामी माओवाद र विचारधाराबारे बहस गर्दैछौं ।
आज आएर माओवाद होइन, माओ विचारधार पदावलीको प्रयोग गर्नुपर्दछ भन्ने कमरेडहरुले माओका योगदान सार्वभौम छन् भन्ने कुरा मान्दा मान्दै पनि ‘यो युग साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग’ भएकोले माओवाद पदावली प्रयोग गर्न नसकिने तर्क पेश गर्नुभएको छ । यस सन्दर्भमा क. असीम भन्नुहुन्छ ‘समाजवाद र सर्वहारा क्रान्तिको युगमा कुनै परिवर्तन आएको छैन । त्यसकारण आज पनि लेनिनवादी युगकै निरन्तरता छ भन्ने कुरामा कुनै शंका छैन । माओवाद मान्नेहरुले पनि अहिलेको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग होइन, अर्थात् लेनिनवादी युग होइन भन्न सकेका छैनन् । एउटा युगभित्र कति चरण हुन सक्छन । विभिन्न चरणहरु हुन सक्छन् । तर यहाँ बहसको विषय यो बनेको छ कि माओका योगदानहरुलाई लेनिनवाद भन्दा बाहिर र बेग्लै चरणको अर्थात् तेस्रो चरणको रुपमा लिनुपर्दछ भन्ने छ । यो स्पस्ट छ कि माओका योगदालाई, जसलाई हामी माओत्सेतुङ विचारधारा भन्ने गर्दर्छौं । माक्र्सवाद–लेनिनवादको विकासमा एउटा नयाँ चरण, माथिल्लो वा विकसित चरण हो । तर तेस्रो चरण हुन सक्दैन । किनभने माक्र्सवादी दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा माक्र्सवादका तिनवटै संघटक अंगमा जुन सृजनात्मक विकास गर्नुभयो र चिनिया परिस्थितिको ठोस विश्लेषण गरेर अनुशासित पार्टी निर्माण, संयुक्त मोर्चा, दक्षिणपंथी संशोधनवादका विरुद्ध संघर्ष, सर्वहारा सास्कृतिक क्रान्ति, नयाँ जनवाद लगायतका ऐतिहासिक महत्वका नयाँ–नयाँ विचारहरु ल्याउनुभयो र ती सबै व्यवहारमा लागु गर्नुभयो’–माओविचारधारा सम्बन्धी प्रस्ताव, क्राकपा नेपालको केन्द्रीय कार्यालयद्धारा २०८१ श्रावणमा प्रकाशित ‘राष्ट्रिय एकता महाधिवेशनका ऐतिहासिक दस्तावेजहरु,’ पृ.१५३–५४।
कमरेड असीमसँग हाम्रो नमिल्ने कुरा भनेको एउटै युगमा दुईवटा वाद हुन सक्दैनन् र माओवाद तेश्रो चरण हुन सक्दैन भन्ने हो । उहाँको भनाई अनुसार माओले तिनवटै संघटक अंग दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा नयाँ र सृजनात्मक विकास गरेको भए पनि तिनलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगले माक्र्सवाद–लेनिनवादको माओवादमा विकास भन्न मिल्दैन, नयाँ, तेश्रो र श्रेष्ठ चरण भन्न मिल्दैन । यसलाई लेनिनवादकै निरन्तरता भन्नुपर्दछ । यसले के देखाउँछ भने हामीले मोहनविक्रमबाट विद्रोह गरे पनि उनको जडसूत्रीय संशोधनवादी र संकीर्णतावादी सम्प्रदाय (स्कुल) का विरुद्ध विद्रोह गर्न सकेका छैनांै । माक्र्सवाद भनेको विज्ञान हो । विज्ञानको विकास युगको काँडेतारमा कैद हुदैन । एउटै युगमा कैयौं विज्ञानको विकास हुन सक्छ । साम्राज्यवाद कुनै नयाँ युग पनि होइन, बरु पूँजीवादकै उच्चतम चरण हो भनेर लेनिनले नै पुस्टी गर्नुभएको छ ।
माक्र्सले आफ्नो नाममा माक्र्सवादको लागि प्रस्ताव राख्नुभएको थिएन । त्यसैगरी लेनिन र माओले पनि आफ्नो नाममा वाद थपिनुपर्दछ भनेर प्रस्ताव गर्नुभएको थिएन । माक्र्सवादलाई स्थापित गर्न माक्र्सका अनन्य मित्र एङगेल्स, शिस्यहरु प्लेखानोभ र लेनिनको ठूलो हात छ । प्लेखानोभ पछि गएर संशोधनवादी कित्तामा गए । माक्र्सका महान योगदानहरुलाई तीन संघटक अंगमा राखेर व्याख्या गर्ने काम एङगेल्सले ड्युहरिङ मत खण्डनमा गर्नुभयो जसबेला माक्र्स जीवितै हुनुहुन्थ्यो । तर त्यतिबेला माक्र्सवाद पदावली प्रयोग गरिएको थिएन किनभने जीवित माक्र्सबाट माक्र्सवाद विकास हुँदै थियो । माक्र्सको मृत्यु भएको पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा नै माक्र्सका योगदानहरुलाई कसरी संश्लेषण गर्ने र माक्र्सको जत्तिकै योगदान भएका एङ्गेल्सको कसरी मुल्याङ्कन गर्ने भन्ने विषयमा व्यापक बहस हुन थाल्यो । यसै सन्दर्भमा एङ्गेल्सले १८८८ मा आफ्नो स्पस्टिकरण दिँदै भन्नुभएको छ ः
‘‘यहाँ म व्यक्तिगत स्पस्टिकरण दिने अनुमति चाहन्छु । यस सिद्धान्तमा मेरो योगदानको बारम्बार चर्चा भएको छ, यसकारण यस प्रश्नको समाधानका लागि केही भन्नु आवश्यक भइसकेको छ । म के कुरा अस्वीकार गर्न सक्तिन भने माक्र्ससँग चालीस वर्षको सहकार्य र यसपूर्व पनि यस सिद्धान्तको जग हाल्न र विशेषतः यसको विकास गर्न मेरो एक हदसम्म स्वतन्त्र योगदान रहेको छ । तर यस आधारभूत सिद्धान्तको अग्रणी, यसको अधिक भाग खासगरी अर्थशास्त्र र इतिहासको क्षेत्रमा तथा सर्वोपरी यस सिद्धान्तको सटिक निरुपण माक्र्सको देन हो । केही विशेष क्षेत्रलाई छोडेर मेरो जुन योगदान छ, त्यसको पूर्ति माक्र्सले मबिना पनि सजिलै पूरा गर्न सक्नुहुन्थ्यो । माक्र्सले जुन कार्य पूरा गर्नुभएको छ त्यो कार्य मैलै पूरा गर्न सक्तैनथे होला । माक्र्स हामी सबैभन्दा अग्लो, दूरद्रष्टा, व्यापक र द्रूत हुनुहुन्थ्यो । माक्र्स एक विभुति हुनुहुन्थ्यो, बाँकी हामी सबै बढीभन्दा बढी प्रतिभाशाली थियौं । उहाँ विना यो सिद्धान्त आज जे छ, त्यस्तो हुने थिएन । त्यसकारण माक्र्सको नाममा नै माक्र्सवाद हुनु सही हुन्छ”–फायरबाख र शास्त्रीय जर्मनेली दर्शनको अन्त, प्रगति प्रकाशन मास्कोद्धारा १९९० मा प्रकाशित, कार्ल माक्र्स–फ्रेडरिक एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २६, पृ. ३८२ को पाद टिप्पणी ।
हामीलेभन्दा दुवै प्रतिभाहरुको विचारधारा समान रह्यो र अग्रणी भूमिका खेल्ने माक्र्सको नाममा माक्र्सवाद सश्लेषण हुनु नै न्यायोचित रहेको छ ।
बाद हुनका लागि मोहनविक्रम सिंहले जुन युगको प्रश्न तेस्र्याएर विचारको विकासलाई संकीर्णताको सिक्रीमा झुण्ड्याउने दुस्साहस गरेका छन् त्यसको आधार उनले लेनिनवादको परिभाषा गर्ने स्टालिनलाई बनाउन खोजेका छन् । स्टालिनले लेनिनको मृत्यु लगत्तै १९२४ मा ‘लेनिनवादका आधारहरु’ लेख्नुभयो र लेनिनवादको परिभाषा गर्नुभयो ः
‘‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद हो । अझ ठ्याक्कै भन्ने हो भने सामान्यतः लेनिनवाद भनेको सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा अधिनायकत्वको सिद्धान्त तथा कार्यनीति हो । माक्र्स ऐङगेल्सले क्रान्तिपूर्वको कार्यनीति (यहाँ सर्वहारा क्रान्तिलाई ध्यानमा राखिएको छ) मा काम गर्नुभएको थियो । त्यस अवधिमा विकसित साम्राज्यवादको उदय भइसकेको थिएन, त्यो अवधि क्रान्तिका लागि सर्वहारा वर्गको तयारीको अवधि थियो र त्यस अवधिमा सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेको थिएन । तर माक्र्स र एंगेल्सका सच्चा शिस्य लेनिनले विकसित पूँजीवादको अवधिमा फैलिदो सर्वहारा क्रान्तिको अवधिमा काम गर्नुभएकोे थियो । जसबेला एउटा मुलुकमा सर्वहारा क्रान्ति विजयी भइसकेको थियो, पूँजीवादी प्रजातन्त्र चक्नाचुर भएको थियो र सर्वहारा जनवादको युग सोभियत युगलाई स्वागत गरिसकिएको थियो ।… त्यसकारण लेनिनवाद भनेको माक्र्सवादको थप विकास हो” — विदेशी भाषा प्रकाशन गृह पेकिङद्धारा १९७६ मा प्रकाशित लेनिनवादका समस्याहरु, अंग्रेजी संस्करण, पृ.३ ।
यहाँ स्टालिनले पूँजीवादको विकसित रुप एकाधिकार पूँजीवादलाई नै साम्राज्यवादी युग भन्नुभएको छ । यसलाई लेनिनले सर्वहारा क्रान्तिको पूर्ववेला पनि भन्नुभएको छ । माक्र्स–एङ्गेल्सको समयलाई क्रान्तिको तयारी अवधि र लेनिन–स्टालिनको समयलाई क्रान्तिको अवधि भनी उहाँले परिभाषित गर्नुभएको छ । यहाँ उहाँले विचारको विकासलाई युगले रोक्ने कुरा कतै गर्नुभएको छैन । बरु पुँजीवादी युगमा नै माक्र्सवाद लेनिनवादमा विकसित भएकोमा खुशी प्रकट गर्नुभएकोछ ।
आज माक्र्सवाद–लेनिनवाद माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भइसकेको छ । २५ वर्ष लामो गृहयुद्ध, त्यत्तिकै लामो अन्तरपार्टी दुई लाईन संघर्ष, १७ बर्ष लामो वैज्ञानिक समाजवाद स्थापनाका लागि वर्गीय र दुई लाइन संघर्ष, दश बर्ष लामो महान् सर्वहारा साँस्कृतिक क्रान्तिबाट गुज्रिएका भौतिकवादी द्वन्द्ववादका प्रयोगकर्ता र विश्व कम्युनिस्ट आन्दोलनका शिक्षकको नाम माओ हो । उहाँले पार्टीभित्र विभिन्न खाले अवसरवादका विरुद्ध र वर्गसंघर्षमा दुश्मनका विरुद्ध लड्दै जाँदा लम्बे अभियानको उत्कर्षमा १९३५ को चुनई बैठकबाट आफूलाई नेतृत्वमा स्थापिन गर्नुभयो । १९४५ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशनमा ल्यु साओचीको प्रस्तावद्वारा उहाँको विचार श्रृंखलालाई माओ विचार(माओथट)भनी पारित गरियो । १९५६–१९५८ को आठौं महाधिवेशनमा माओ अल्पमत परेपछि ल्यू र तेङले माओविचार हटाइदिए । साँस्कृतिक क्रान्तिद्वारा माओविचार परिक्षित भयो नवांै महाधिवेशनद्वारा पुनस्थापित भयो । माओको मृत्यु भएको १७ बर्षपछि सन् १९९३ मा क्रान्तिकारी अन्र्तराष्ट्रियवादी आन्दोलन (च्क्ष्ः)ले आफ्नो अन्तर्राष्ट्रिय सम्मेलनबाट ‘मालेमावाद जिन्दावाद!’ शिर्षकको प्रस्ताव पारित गरेको छ । त्यस सम्मेलनमा सबभन्दा पहिले माओवाद पारित गर्ने पेकपा (साईनिङपथ), त्यसपछि पारित गर्ने नेकपा(मशाल) र तेश्रोमा पारित गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी संयुक्त राज्य अमेरिकाको सक्रिय प्रतिनिधित्व थियो । उक्त प्रस्तावमा भनिएको छ ः
“चिनियाँ क्रान्तिको प्रक्रियामा माओले धेरै महत्वपूर्ण क्षेत्रहरुमा माक्र्सवाद–लेनिनवादको विकास गर्नुभएको छ । तर महान् सर्वहारा साँस्कृतिक क्रान्तिको कडा परीक्षणमा यो विचारधाराले पूर्ण रुपमा छलाङ् लगाएको छ र तेश्रो महान् कोसेढुंगा मालेमावादमा विकास भएको छ । मालेमावादको उच्चतर हवाईजहाजबाट क्रान्तिकारी कम्युनिस्टहरुले अझ गम्भीर रुपमा पूर्ववर्ती महान् नेताहरुबाट शिक्षा ग्रहण गर्न सक्नुपर्नेछ र माओत्सेतुङका शुरुका योगदानहरुलाई पनि अझ गहिराईमा गएर मनन गर्नुपर्नेछ । आज माओवाद विना माक्र्सवाद–लेनिनवाद हुन सक्दैन । वास्तवमा माओवादलाई नकार्नु भनेको माक्र्सवाद–लेनिनवाद स्वयंलाई नकार्नु हो ।
“सर्वहारा वर्गीय क्रान्तिकारी विचारधाराको महान् कोशेढुंगाले तीतो प्रतिरोधको सामना गरेको छ र घनिभूत संघर्ष तथा क्रान्तिकारी व्यवहारद्वारा मात्र आफ्नो पहिचान प्राप्त गरेको छ । अब क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनले के घोषणा गर्दछ भने माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व क्रान्तिको निर्देशक र मार्गदर्शक हुनुपर्दछ”–२६ डिसेम्बर १९९३ ।
आज ‘रिम’ विघटन भइसकेको छ । यसका सदस्य कतिपय पार्टीहरु पनि मालेमावादबाट विचलित भईसकेका छन् । तर ‘रिम’ ले गरेको यो संश्लेषण सही रहेको छ । माओवाद माक्र्सवाद–लेनिनवादको निषेध होइन, यो त त्यसको विकास हो ।
हामी मालेमावादीहरुले के कुरा बुझ्नुपर्दछ भने भौतिकवादी द्वन्द्ववाद आलोचनात्मक र क्रान्तिकारी दुवै छ । त्यसकारण यसले आफ्ना पूर्ववर्तीहरुको विचारलाई आलोचनात्मक तरीकाले अध्ययन गर्दछ, उनीहरुले गर्न नसकेका अधुरा कार्यहरु ठम्याउँछ र त्यसलाई क्रान्तिकारी तरीकाले पूरा गर्दछ । माक्र्स र एंगेल्सले दर्शनशास्त्रमा कान्ट, हेगेल र फायरबाखलाई पढ्नुभयो । उनीहरुको आलोचनात्मक अध्ययन गरी उहाँहरुले कान्टमा अज्ञेयवाद रहेको, हेगेलको द्वन्द्ववाद सही भए पनि आदर्शवादमा उभिएकोले गलत रहेको, फायरबाखको भौतिकवाद सही भए पनि अधिभूतवादी भएको निष्कर्ष निकाल्दै द्वन्द्वात्मक भौतिकवादी संश्लेषण गर्नुभयो । उहाँहरुले दर्शनमा नयाँ आविस्कार गर्नुभयो–ऐतिहासिक भौतिकवाद । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्स–एंगेल्सको दर्शन बन्न पुग्यो ।
उहाँहरुले राजनैतिक अर्थशास्त्रमा विलियम पेटी, एडम स्मिथ र रिकार्डाेलाई पढ्नुभयो । तर उनीहरुले शोषणको कारण पत्ता लगाएका थिएनन् । शोषणको कारण अतिरिक्त मूल्य हो र यसको समाधान सामाजिक उत्पादनको निजी स्वामित्व होइन, बरु सामाजिक उत्पादनको समाजिक स्वामित्व हो भनी पत्ता लगाउनुभयो । पूँजीवादको विशद व्याख्या र वैज्ञानिक समाजवादको निस्कर्ष यही राजनीतिक अर्थशास्त्रको बिश्लेषणबाट निकालिएको हो । जसरी शोषकवर्गको प्रतिनिधित्व गर्ने राज्यसत्ता र पार्टी हुन्छ , त्यसरी नै शोषित वर्गको पनि आफ्नो पार्टी कम्युनिस्ट पार्टी हुनुपर्दछ । यी दुई सामाजिक वर्ग रहेसम्म जुन वर्गको विजय हुन्छ त्यसैको राज्यसत्ता हुन्छ । शोषित वर्गले आफ्नो राज्यसत्ता टिकाउन बहुसख्यक श्रमजीवी तथा सर्वहारावर्गको अधिनायकत्व चाहिन्छ भन्ने कुरा पेरिस कम्युनले माक्र्स र एंगेल्सलाई जोडदार रुपमा महसुस गरायो । सर्वहारा वर्गले आफ्नो राज्यसत्ता प्राप्त गर्न शोषकवर्गको राज्यसत्ता विरुद्ध सशस्त्र संघर्ष गर्नुपर्दछ । सशस्त्र सर्वहारावर्गले सशस्त्र संघर्ष गर्दा त्यसले अवश्यै सर्वहारा अधिनायकत्वमा पु¥याउँछ । सर्वहारा अधिनायकत्वको आवश्यकता महसुस भएर अभिव्यक्त पनि भयो । तर यसको स्पस्ट रुपमा व्याख्या र विकास भएको थिएन । लेनिनले माक्र्स र एङ्गेल्सको भौतिकवादलाई जुझारु भौतिकवादमा विकास गर्नुभयो । यसको लागि १९०८ मै ‘भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद’ को रचना गर्नुभयो । राजनीतिक अर्थशास्त्रमा पूँजीवादको चरम अवस्थाको थप व्याख्या र विकास गर्नुभयो जुन अवस्था माक्र्सको पालामा थिएन । द्वन्द्ववादको विकास गर्न १९१४–१९१६ मा दार्शनिक नोटबुक तयार पार्नुभयो, तर क्रान्तिको चापले त्यसलाई पूरा गर्न भ्याउनुभएन । वैज्ञानिक समाजवादमा अधुरो कार्य सर्वहारा अधिनायकत्वको व्याख्या, विकास र प्रयोग गर्नुभयो । साम्राज्यवादको साङ्लो कमजोर भएको देशमा नै पहिले क्रान्ति हुन्छ भन्ने कुरा पत्ता लगाउनु भयो । परिणामस्वरुप रुसमा सशस्त्र विद्रोह सम्पन्न भयो ।
माओले क्रान्तिकै प्रक्रियामा माक्र्सवाद र लेनिनवादको सर्वेक्षण गर्नुभयो अर्थात्, माक्र्स, एङगेल्स, लेनिन र स्टालिनका रचनाहरुको गहिरो अध्ययन गर्नुभयो । उहाँलाई कृषि प्रधान, औपनिवेशिक, अर्ध सामन्ती र अर्धऔपनिवेशिक देशमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने प्रश्नले सताइरहेको थियो । लेनिनले ‘पूर्वीय जनगणका कम्युनिस्ट संगठनहरुको दोस्रो अखिल रुसी महाधिवेशन’ १९१९ मा पूर्वमा हुने क्रान्तिको बारेमा यस्तो संश्लेषण गर्नुभयो ः
“त्यो कार्यभार यस्तो छ जसको समाधान तपाईलाई कुनै पनि साम्यवादी पुस्तकमा मिल्ने छैन । परन्तु यसको समाधान तपाईलाई त्यो समान संघर्षमा प्राप्त हुनेछ जुन रुसले शुरु गरेको थियो । तपाईले यो कार्यभार पूरा गर्नैपर्नेछ र त्यसलाई स्वतन्त्र अनुभवले समाधान गर्नुपर्नेछ”– प्रगति प्रकाशन मास्कोद्वारा १९८५ मा प्रकाशित हिन्दी सस्करण, खण्ड १० मा खण्ड ९ बाट उद्धृत, पृ.१८०–८२ ।
त्यसैगरी लेनिनले आफनो सुप्रसिद्ध ‘दार्शनिक नोटबुक’ मा भन्नुभएको छः“संक्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ, तर यसले व्याख्या र विकासको माग गर्दछ”–प्र्रगति प्रकाशन मास्कोद्धारा १९८१ मा प्रकाशित अंग्रेजी संस्करणको लेनिन संकलित रचनाहरु, ग्रन्थ ३८, पृ.२२२ ।
लेनिनले १९२० मा “वामपंथी साम्यवादः एक बालरोग’ मा निरन्तर क्रान्तिको आवश्यकता महसुस गर्नुभएको छ । त्यसमा उहाँले भन्नुभएको छ ः
“लाखौँ मानिसहरुको आदतको शक्ति एउटा धेरै डरलाग्दो शक्ति हुन्छ । ….करोडौ साना सम्पत्तिवानलाई हराउनुभन्दा केन्द्रीकृत ठूला पुँजीपतिलाई हराउनु हजारगुणा सजिलो हुन्छ, तर यी निम्न पँुजीपतिहरुले आफ्नो दैनिक, साधारण, अदृश्य, अननुभूत, हतोत्साहकारी सरगर्मीबाट त्यही परिणाम पैदा गर्दछन्, जुन पूँजीपतिवर्गलाई आवश्यक हुन्छ जसले पूँजीपतिवर्गलाई फेरि वहाल गरिदिन्छ । …सर्वहारावर्गको अधिनायकत्व पुरानो समाजका शक्तिहरु र परम्पराका विरुद्ध अनवरत संघर्ष हो । यो संघर्ष रक्तपातयुक्त र रक्तपातहीन, हिंसात्मक र शान्तिमय, सैनिक र आर्थिक, शैक्षिक र प्रशासनात्मक हुन्छ”– प्रगति प्रकाशन मास्कोद्वारा १९८५ मा प्रकाशित भ्ला.इ.लेनिन संकलित रचनाहरुको हिन्दी संस्करण, ग्रन्थ ९, पृ.२७८ ।
कुनै पनि साम्यवादी पुस्तकमा नलेखिएको र स्वतन्त्र अनुभवले समाधान गर्नुपर्ने कृषिप्रधान देशको समस्या, ब्याख्या र विकास गर्नुपर्ने द्वन्द्ववादको समस्या र अनवरत संघर्षले समाधान गर्नुपर्ने आदतीय शक्तिको समस्याले माओको दिल–दिमागलाई गहिरोसँग छोयो । पहिलो समस्या र तेस्रो समस्याले राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा माक्र्सवाद–लेनिनवादको विकास माग गर्दछन् भने दोस्रो समस्याले दर्शनशास्त्रमा विकासको माग गर्दछ ।
तीन संघटक अंगमा माओका योगदानहरु
१) दर्शनशास्त्र
माओले माक्र्सवादी–लेनिनवादी दर्शनलाई चिनियाँ विशिष्टतामा लागू गर्नुभयो र आफ्नो युगको विश्वव्यापी आवश्यकताका रुपमा विकास गर्नुभयो । चिनियाँ वर्गयुद्धको आँधिबेहरी चलिरहेको बेला जुलाई १९३७ मा ‘व्यवहारबारे’ र अगस्ट १९३७ मा ‘अन्तरविरोधबारे’ शिर्षकका पुस्तिका तयार पार्नुभयो । त्यसैगरी १९३८ को अप्रिल–जुनमा ‘द्वन्द्वात्मक भौतिकवाद’, १९५७ मा ‘जनताहरु माझका अन्तरविरोधहरुको सही संचालनबारे’, १९५९ मा ‘द्वन्द्ववादका उदाहरणहरु’ १९६३ मा ‘सही विचार कहाँबाट आउँछ’ र १९६४ मा ‘दर्शनशास्त्रका समस्याहरुबारे कुराकानी’ लगायतका महत्वपूर्ण कृतिहरुको रचना उहाँले गर्नुभयो । दर्शनशास्त्रमा उहाँले निम्न योगदान गर्नुभएको छ ः
क) माओले यान्त्रिक भौतिकवादका विरुद्ध लडेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई विशेषतः चीनमा र सामान्यतः विश्वमा स्थापित गर्नुभयो । व्यबहारबारे, द्वन्द्वात्मक भौतिकवाद र सही विचार कहाँबाट आउँछ ? नामक प्रसिद्ध कृति मार्फत यसको पुस्टि हुन्छ । व्यवहार–ज्ञान–व्यवहार अर्थात् पदार्थ–चेतना–पदार्थको माओवादी सूत्रीकरणले भौतिकवादी ज्ञान सिद्धान्तमा ठूलो योगदान भएको छ । यो सिद्धान्तले जडसूत्रवाद, अनुभववाद र सारसंग्रहवादमाथि बज्रप्रहार गरेको छ । उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग–यी तीन सामाजिक व्यवहार ज्ञानका श्रोतहरु हुन् । ज्ञानको विकास दुई छलाङबाट हुन्छ । इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने माओको सिद्धान्तलाई नै दुई छलाङको ज्ञान सिद्धान्त भनिन्छ । यही प्रक्रियामा नै माओले सौन्दर्यशास्त्रको पनि विकास गर्नुभएको छ । ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ नामक प्रसिद्ध कृतिमा माक्र्सवादी सौन्दर्यशास्त्रको विकास गरिएकोछ ।
ख) माओले लेनिनको निर्देशन अनुसार द्वन्द्ववादको व्याख्या र विकास गर्ने काम गर्नुभएको छ । उहाँले भौतिकवादको विधिशास्त्र द्वन्द्ववादलाई ‘भौतिकवादी द्वन्द्ववाद’को नाम दिएर स्थापित गर्नुभएको छ । यसमा उहाँले हेगेलले सूत्रिकरण गरेका र माक्र्स–एङगेल्सले भौतिकवादको खुट्टा टेकाएर उभ्याएका तीन नियम विपरीतहरुको एकता र संघर्ष, मात्राको गुणमा रुपान्तरण र निषेधको निषेधलाई एउटै नियम ‘अन्तरविरोध’ मा संश्लेषण गर्नुभएको छ । यस सन्दर्भमा ‘दर्शनशास्त्रका समस्याहरुबारे कुराकानी’ प्रसिद्ध छ । यसमा उहाँले भन्नुभएको छ ः
‘एंगेल्सले तीन नियम सम्बन्धी कुरा गर्नुभएको छ, तर तीमध्ये दुई नियम म मान्दिन । विपरीतहरुको एकता नै सबभन्दा आधारभूत नियम हो, मात्रा र गुणको एक अर्कोमा रुपान्तरण मात्रा र गुण जस्ता विपरीतहरुको एकता नै हो, निषेधको निषेध त कतै पनि अस्तित्वमा छैन । मात्रा र गुणको एक अर्कामा रुपान्तरण, निषेधको निषेध र विपरीतहरुको एकताको नियमलाई आमनेसामने राख्ने हो भने अद्वैतवाद होइन, त्रैतवाद हुन्छ’ –श्रमिकवर्ग प्रचुरानालू हैदरावाद भारतद्वारा १९९४ मा प्रकाशित माओद्वारा चुनिएका रचनाहरुको अंग्रेजी संस्करण,ग्रन्थ ९, पृ.१३७–१३८ ।
यसमा उहाँले दुईवटा कुरा स्पस्ट पार्नुभएको छः एक, लेनिनले विपरितहरुको एकता नै द्वन्द्ववादको मूल नियम हो भन्नुभएको छ र त्यही नै सत्य हो । मात्राबाट गुण र गुणबाट मात्रामा रुपान्तरण भनेको विपरीतहरुको एकता र संघर्ष नै हो । निषेधको निषेध होइन, बरु सकार–नकार–सकारको प्रक्रियामा वस्तुको विकास हुन्छ, दुई, यी तीन नियमलाई समानान्तर राख्ने हो भने भौतिकवादी अद्धैतवाद होइन त्रैतवाद हुन्छ । भौतिकवाद भनेको त पदार्थ नै एक मात्र सत्य हो । यसको विपरित आदर्शवाद भनेको ईश्वर वा परम विचार नै एक मात्र सत्य हो । त्यसकारण यहाँ माओले भौतिकवादी द्वन्द्ववादको व्याख्या मात्र होइन, विकास पनि गर्नुभएको छ ।
लेनिनले दार्शनिक नोटबुकमा १६ तत्वहरुबारे नोट गर्दै भन्नुभएको थियो ‘कसैले शायद यी तत्वहरुलाई अति विस्तारपूर्वक प्रस्तुत गर्नेछ ।’ त्यो दार्शनिक माओ नै हो जसले १६ तत्वहरुलाई मूलतः ’अन्तरविरोधबारे’ नामक कृतिमा अति विस्तारपूर्वक व्याख्या गर्दै ६ वटा शिर्षकमा विकास गर्नुभयो ः दुई विश्वदृष्टिकोण , अन्तरविरोधको सर्वव्यापकता, अन्तरविरोधको विशिष्टता, प्रधान अन्तरविरोध र अन्तरविरोधको प्रधानपक्ष, अन्तरविरोधी पक्षहरुको एकात्मकता र संघर्ष, अन्तरविरोधमा शत्रुताको स्थान । यसलाई विकास गर्ने क्रममा उहाँले १९५७ मा ‘जनताहरुबीचका अन्तरविरोधहरुको सही संचालनबारे’, १९५९ मा ‘द्वन्द्ववादवादका उदाहरणहरु’ र १९६४ मा ‘दर्शनशास्त्रका प्रश्नहरुबारे कुराकानी’ जस्ता कृतिहरुमा विस्तारपूर्वक व्याख्या गर्नुभएको छ । १९५७ को ‘प्रान्त, नगरपालिका र स्वशासित क्षेत्रका पार्टी समितिका सचिवहरुको सम्मेलनमा दिएको प्रवचन’ मा उहाँले भन्नुभएको छ–“हाम्रो काम चाहिं यस सिद्धान्तको व्याख्या र विकास गर्नु हो । यसको व्याख्या गर्नु जरुरी हुन्छ र अहिलेसम्म यो काम ज्यादै थोरै गरेका छौं । अनि यसको विकास गर्न जरुरी हुन्छ, हामीले क्रान्ति सम्बन्धी हाम्रो समृद्ध अनुभवको सहाराले यस सिद्धान्तलाई विकसित तुल्याउनैपर्दछ” — संगम प्रकाशनद्वारा २०५७ मा प्रकाशित र खगेन्द्र संग्रौलाद्वारा अनुदित माओ चुनिएका रचनाहरुको नेपाली संस्करण, ग्रन्थ ५,पृ.२९६–९७ ।
उहाँले जे भन्नुभएको छ, त्यही गर्नुभएको छ । महान् सर्वहारा साँस्कृतिक क्रान्तिसम्म जाँदा संशोधनवादी ल्यू साओची र तङ स्याओफङसँग लड्ने क्रममा ‘दुई एकमा समन्वय’ का विरुद्ध ‘एक दुईमा विभाजन’ सिद्धान्त उहाँले विकास गर्नुभयो । यो पनि अन्तरविरोधकै नियम अन्तर्गत पर्दछ ।
यसरी उहाँले माक्र्सवादी–लेनिनवादी भौतिकवादको दर्शन र विधिशास्त्रको तेश्रो, नयाँ र श्रेष्ठ चरणमा विकास गर्नुभयो ।
२) राजनैतिक अर्थशास्त्र
लेनिनले भन्नुभएको छ — “राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो ।” माओले यही मार्गदर्शनमा अघि बढ्दै माक्र्सवादी–लेनिनवादी राजनीतिक अर्थशास्त्रको विकास गर्नुभएको छ । चिनियाँ समाजको वर्ग विश्लेषण र चिनियाँ जनताका शत्रु र मित्रको पहिचान उहाँको राजनीतिक अर्थशास्त्रको पहिलो पाइला हो । चीन र चीन जस्ता औपनिवेशिक, अर्धऔपनिवेशिक र अर्धसामान्ती देशहरुको आर्थिक विश्लेषणबाट नै चिनियाँ राजनीतिक कार्यक्रम नयाँ जनवादी क्रान्ति हुने निस्कर्ष उहाँले निकाल्नु भयो । नयाँ जनवादी क्रान्ति पूरा गर्न दीर्घकालीन युद्धको सामरिक कार्यदिशा पनि यसैको परिणाम हो । त्यसकारण उहाँले सामाजिक तथा राजनीतिक परिवर्तन दर्शनशास्त्रमा होइन, अर्थतन्त्रमा खोज्नुभयो । त्यसको परिणामस्वरुप उहाँले राजनीतिक तथा विचारधारात्मक कार्यदिशा सही बनाउनुभयो । चीनमा क्रान्ति सफल भयो ।
दोस्रो कुरा, उहाँले चीनमा क्रान्तिको लागि आधार इलाका निर्माण गर्नुभयो । आधार इलाका भनेको प्रतिक्रियावादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ताको भू्रण हो । आधार इलाका पनि आर्थिक आधार नबनाएर त टिक्दैन । त्यसकारण आधार इलाकाको अािर्थक काममा विशेष ध्यान दिदै उहाँले १९३३ मा भन्नुभएको छ–“…क्रान्तिकारी युद्धको बेलामा आर्थिक निर्माणको काम गर्नुहुँदैन भनेर सोच्नु एकदम गलत हुन्छ” — माओ चुनिएका रचनाको नेपाली संस्करण, ग्रन्थ १, पृ. १२५ ।
तेस्रो, उहाँले नयाँ जनवादबाट समाजवाद तर्फ अघि वढ्ने अर्थनीति पनि तय गर्नुभएको छ । १९६२–६३ मा सोभियत अर्थशास्त्रको आलोचना गर्दै भन्नुभएको छ ः “चीनले मुक्तियुद्धका दौरानामा जनवादी क्रान्तिका कार्यभारहरु पूरा गरेको छ । १९४९ मा चिनियाँ जनवादी गणतन्त्रको स्थापनाले जनवादी क्रान्तिको आधारभूत निस्कर्ष अंकित ग¥यो र समाजवादमा संक्रमणको शुरुवात भयो । यसले भूमिसुधारलाई निस्कर्षमा पु¥याउन अरु तीन वर्ष लियो, तर गणतन्त्र स्थापना भएपछि तुरुन्तै हामीले नोकरशाही पूँजीवादी उद्यमहरु कब्जा ग¥यौँ, – हाम्रो उद्योग तथा यातायातमा अचल सम्पत्तिको असी प्रतिशत कब्जा ग¥यौँ र समग्र जनताको स्वामित्वमा बदल्यौँ”–श्रमिक वर्ग प्रकाशन हैदरावाद भारतद्वारा प्रकाशित माओ चुनिएका रचनाहरुको अग्रेजी संस्करण, ग्रन्थ ८, पृ.३५० ।
माओको यो संश्लेषणमा गहिरो अर्थ रहेको छ । १९२४–४९ को जनयुद्धका दौरानमा नयाँ जनवादी क्रान्तिको आधारभूत कार्य पूरा भइसकेको थियो । त्यसपछि जनगणतन्त्र चीनले समाजवादको बाटो लिइसकेको थियो । तर ल्यू र तेङले पूँजीवादलाई लम्ब्याउन चाहन्थे । यसले गर्दा नयाँ जनवादीकाल सात वर्ष अरु लम्बिन पुग्यो । यो त माओको समाजवाद र ल्यु तथा तेङको पूँजीवादवीचको दुई लाइन संघर्ष थियो । यसमा माओले विजय गरेपछि चीन समाजवादमा अघि बढ्यो । त्यतिबेलै ल्यू साओची र तेङले ‘कालो बिरालो होस् या सेतो, बिरालोको काम मुसा मार्ने हो’ भन्ने सिद्धान्त ल्याए । यो सिद्धान्त वर्गसमन्वयको सिद्धान्त हो र यसले उत्पादन बढाऊ भन्नेमा मात्र जोड दियो । नयाँ जनवादबाट समाजवादमा संक्रमण हुँदा १९५१ मा नै भ्रष्टाचार, बर्बादी र नोकरशाही जस्ता तीन खराबी तथा १९५२ मा घूसखोरी, करछली, राज्यसम्पत्तिको चोरी, सरकारी ठेक्का पट्ठामा हुने ठगी र आर्थिक सूचना चोरी जस्ता ५ खराबी विरुद्ध माओको नेतृत्वमा निर्मम संर्घष चल्यो । यी खराबीहरुमा ल्यु र तेङको प्रमुख हात थियो ।
चौथो छरिएको कृषि अर्थ व्यवस्थालाई समाजिकरण नगरीकन समाजवादको स्थापना हुँदैन र उद्योगहरुको विकासविना देशमा समाजवाद टिकाउन सकिदैन । त्यसकारण उहाँले दुई खम्बे अर्थनीति अपनाउनुभयो । कृषिको औद्योगीकरण र उद्योगको समाजिकरणको फल नै माओको समाजवाद हो । त्यसैले माओले मजदुरलाई खेतमा र किसानलाई कारखानामा पठाएर उनीहरुबीचको एकतालाई बलियो बनाई ननांगिएको पूँजीवादमाथि विजय हासिल गर्नुभयो । उहाँले टुक्रे पूँजीलाई सहकारीकरण, सामूहिकीकरण र कम्युनिकरणको विधिद्धारा समाजवाद र साम्यवादमा पुग्ने बाटो सिकाउनुभयो ।
पाँचौं, माओले कम्युनको अर्थतन्त्र स्थापना गर्नुभयो । कम्युनिस्ट पार्टीको अन्तिम उद्देश्य सुन्दर साम्यवाद हो । समाजवादमा सामूहिक उत्पादनको राजकीय स्वामित्व रहेको हुन्छ भने साम्यवादमा सामूहिक उत्पादनको सामूहिक स्वामित्व हुन्छ । यसैलाई कम्युन भनिन्छ । यसबारे माओले सोभियत अर्थशास्त्रको आलोचनाका क्रममा संश्लेषण गर्नुभएको छ ः
“जनकम्युनको चरित्र भनेको त्यो आधारभूत तह हो जसमा उद्योग, कृषि , सेना, शिक्षा र वाणिज्य हाम्रो सामाजिक संरचनामा एकीकृत भएका हुन्छन् । वर्तमानमा यो प्रशासनिक संगठनको आधारभूत तह हो । जनप्रहरीले विदेशी चुनौतिहरु विशेषतः साम्राज्यवादीहरुको मुकाविला गर्दछ । कम्युन भनेको वर्तमान समाजवादबाट सर्वग्राह्य सार्वजनिकीतर्फ र सर्वग्राह्य सार्वजनिकीबाट साम्यवादी स्वामित्वतर्फ लैजाने स्वरुप हो । भविश्यमा जसबेला संक्रमण पूरा हुनेछ त्यसबेला कम्युन साम्यवादी समाजको आधारभूत संयन्त्र हुनेछ” — सोभियत संघमा अर्थतन्त्र सम्बन्धी समस्या १९५८, श्रमिकवर्ग प्रकाशन हैदरावाद भारतद्वारा १९९५मा प्रकाशित माओ चुनिएका रचनाहरुको अंगे्रजी संस्करण, ग्रन्थ ८, पृ. ४३१ ।
यसमा उहाँले स्टालिनको आलोचना गर्दै आधारलाई मात्र होइन, उपरिसंरचनामा पनि विशेष ध्यान दिनुभएको छ । त्यसैले उहाँले ‘क्रान्तिलाई पकड र उत्पादन बढाऊ’ भन्ने नारा दिनुभयो । उहाँले भन्नुभएको छ, “साम्यवादी आन्दोलन भएन भने साम्यवादमा पुग्न सकिदैन” — उही,पृ. ४३३ ।
३)वैज्ञानिक समाजवाद
लेनिनको निर्देशन अनुसार चीन जस्ता देशमा गरिने क्रान्ति कुनै साम्यवादी पुस्तकमा लेखिएको छैन र आफ्नै अनुभवले यसको समाधान दिनुपर्ने छ । यो आभारयोग्य र महान् कार्यभार पूरा गर्न माओले वैज्ञानिक समाजवादको क्षेत्रमा नयाँ खोज गर्नुभएको छ ।
सर्वप्रथम, उहाँले चिनियाँ समाजमा वर्गविश्लेषण गर्नुभयो । युुद्धपति, नोकरशाह, दलाल, ठूला जमिन्दार र तीसँग सम्बन्धित बुद्धिजीवी जसको साम्राज्यवादसँग साँठगाँठ छ ती हाम्रो क्रान्तिका निसानाहरु हुन् भने औद्योगिक सर्वहारा, अर्धसर्वहारा, किसान र निम्न पूँजीपति वर्गको वामपक्ष हाम्रा मित्र हुन् भनी उहाँले घोषणा गर्नुभएको थियो ।
दोश्रो, माओले चीनमा हुने क्रान्तिको कार्यदिशा रुसी क्रान्तिको यान्त्रिक नक्कलबाट हुँदैन भन्ने निस्कर्ष निकाल्दै ग्रामीण वर्गसंघर्षमा जोड दिन थाल्नुभयो । क्रान्तिको नेतृत्वदायी शक्ति शहरको सर्वहारावर्ग भएपनि यसको आधार किसान नै हो भन्ने निस्कर्षका साथ अघि वढ्नुभयो । गाँस–गाँस गरेर केन्द्रीय सत्ता कब्जा गर्ने नीति अुनसार आधार इलाकाहरु बनाउँदै अघि बढ्नु हो । चिङकाङशान पहाडबाट आधार इलाका निर्माण गर्न थाल्नु भयो । चीनको अर्थसामाजिक स्थितिको विश्लेषण गर्दैै औपनिवेशिक र अर्ध सामान्ती स्थिति रहेको सश्लेषण गर्नुभयो ।
तेस्रो, उहाँले वर्गसंघर्षबाट अघि बढ्दै जाँदा गाउँले शहरलाई घेरेर विद्रोह गर्ने रणनीति अनुसार उहाँले १९३८ मा गएर दीर्घकालीन युद्ध शिर्षकको दस्तावेज तयार पार्नुभयो जुन आज विश्वप्रसिद्ध छ । यो युद्ध दीर्घकालीन समयको हिसाबले होइन, प्रक्रिया र शक्ति सन्तुलनको हिसाबले हुन्छ । शुरुमा दुश्मन बलियो हुन्छ र क्रान्तिकारी शक्ति कमजोर हुन्छ त्यसबेला रणनीतिक रक्षा र कार्यनीतिक आक्रमण हुन्छ भने युद्धको स्वरुप छापामार हुन्छ । दोस्रो शक्ति सन्तुलनमा हेर्दा दुश्मन र क्रान्तिकारीहरुको शक्ति कसैले कसैलाई जित्न नसक्ने रणनीतिक सन्तुलमा हुन्छ भने यसबेला युद्धको स्वरुप चलायमान युद्ध हुन्छ । तेस्रो शक्ति सन्तुलनमा जाँदा क्रान्तिकारी शक्ति बलियो र प्रतिक्रियावादी शक्ति कमजोर भएर जान्छ । त्यसबेला रणनीतिकि आक्रमण र कार्यनीतिक रक्षा हुन्छ । यसमा युद्धको स्वरुप मोर्चाबद्ध हुन्छ । यही प्रक्रियालाई माओले दीर्घकालीन युद्ध भन्नुभयो ।
चौथो, उहाँले १९४० मा पुगेर चीनमा हुने समाजवादी क्रान्ति भनेको पूँजीवादी जनवादी क्रान्ति हो भनी पत्ता लगाउनुभयो । औपनिवेशिक, अर्ध औपनिवेहिक र अर्ध सामान्ती चीनमा क्रान्तिले दुईवटा पहाड साम्राज्यवाद र सामन्तवादलाई पल्टाउनुपर्दछ । १८४० को अफिम युद्धपछि चीनको अर्थसामाजिक स्थिति यस्तो बनेको थियो । यस्तो देशमा एकैचोटी वैज्ञानिक समाजवादमा पुग्न सकिदैन । विदेशी पूँजीवादी साम्राज्यवाद र स्वदेशी सामन्तवाद मिलेर राष्ट्रिय पूँजीको विकास गर्न दिएका हुँदैनन् । खासगरी १९१७ को रुसी अक्टोवर क्रान्तिपछि पूँजीपतिवर्गले आफ्नो नेतृत्वमा सामन्तवादका विरुद्धको क्रान्ति गर्न छोड्यो । त्यसपूर्व पूँजीपतिवर्गको नेतृत्वमा क्रान्ति हुन्थ्यो जसलाई जनवादी वा प्रजातन्त्रवादी क्रान्ति भनिन्थ्यो । त्यसपछि सर्वहारावर्गले पूँजीपतिवर्गका विरुद्ध लडेर प्राप्त गर्ने व्यवस्थालाई माक्र्स एङगेल्सले वैज्ञानिक समाजवादी क्रान्ति भन्नुभयो । रुसमा लेनिन र स्टालिनले वैज्ञानिक समाजवादी क्रान्ति गर्नुभयो । तर चीनमा माओले कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भन्नुभयो जसलाई समाजवादकै अंगका रुपमा लिनुभयो । त्यसकारण वैज्ञानिक समाजवादमा पुग्ने पुल नै नयाँ जनवादी क्रान्ति बन्यो ।
पाँचौं, माओले पार्टी, सेना र संयुक्त मोर्चा जस्ता तीन जादुमय हतियारको विकास गर्नुभयो । क्रान्तिका लागि यी अपरिहार्य हतियार हुन् । उहाँकै शब्दमा “संयुक्त मोर्चा, सशस्त्र संघर्ष र पार्टी निर्माण चिनियाँ कम्युनिस्ट पार्टीका तीन ‘जादूमय हतियार’ चिनियाँ क्रान्तिमा शत्रुलाई पराजित गर्ने यसका तीन जादुमय हतियारहरु हुन् भन्ने कुरा हाम्रो अठाह्र बर्षको इतिहासले हामीलाई सिकाएको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ क्रान्तिको महान् उपलब्धि हो”– ‘कम्युनिस्ट’ भन्ने पत्रिकाको चिनारी, ४ अक्टोबर १९३९, नेपाली संस्करण भाग २, पृ. २५३ ।
यी तीन जादुमय हतियार संचालनको सिद्धान्त जनवादी केन्द्रीयताको विकास गर्न पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । खासगरी पार्टी संचालनको यो विधिमा उहाँले महत्वपूर्ण योगदान गर्दै भन्नुभएको छः “जनवाद विना सही केन्द्रीयता हुन सक्तैन किनभने यदि मानिसहरुका भिन्न विचारहरु हुँदैनन् र बुझाईको एकरुपता हुँदैन भने केन्द्रीयता स्थापित हुन सक्दैन । केन्द्रीयता भनेको के हो त ? सर्वप्रथम सही विचारको केन्द्रीकरण हुनुपर्दछ । सही विचार केन्द्रीयताको आधारमा बुझाई, नीति, योजना, आदेश र कार्वाहीको एकरुपता सम्मिलित हुन्छन् । यही नै केन्द्रियता मार्फत एकता हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समतिद्धारा आयोजित विस्तारित मजदुर सम्मेलनमा कुराकानी , १९६२, श्रमिकवर्ग प्रकाशन हैदरावाद भारतद्धारा १९९५ मा प्रकाशित अंग्रेजी संस्करण, ग्रन्थ ८, पृ. ३१७ ।
अझ अगाडि माओ भन्नुहुन्छ — “हाम्रो केन्द्रीयता जनवादको जगमा बनेको केन्द्रीयता हो । उच्चस्तरीय जनवादविना उच्चस्तरीय केन्द्रीयता असंभव छ र उच्चस्तरीय केन्द्रीयताविना समाजवादी अर्थतन्त्र स्थापित गर्न असंभव छ” — पृ. ३२० ।
छैठौँ, माओले महान् सर्वहारा साँस्कृतिक क्रान्तिको हतियार दिएर वैज्ञानिक समाजवादमा सर्वोत्तम योगदान गर्नुभएको छ । लेनिनको अनवरत संघर्ष गर्ने निर्देशन अनुसार उहाँले चीनमा आदतको सत्ताका विरुद्ध सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति गर्नुभयो । यसमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनता मैदानमा उत्रिएका थिए । वैज्ञानिक समाजवादबाट साम्यवादमा पुग्ने नवमानव निर्माण गर्न यो क्रान्तिको आवश्यकता थियो र आज पनि छ । अल्बानियाली सैनिक प्रतिनिधिले सोध्यो साँस्कृतिक क्रान्तिको उद्देश्य के हो कमरेड माओ ? उहाँले जवाफी प्रश्न गर्नुभयो ः तपाईहरु नै भन्नुहोस त यसको उद्देश्य के होला ? उनीहरुमध्ये एकजनाले राज्यसत्ता कब्जा गरेका संशोधनवादीहरुलाई सत्ताबाट हटाउने भनी जवाफ दियो । आधा मात्र सही भनी माओले भन्नुभयो ।
अन्ततः माओले जवाफ दिनुभयोः “महान् सर्वहारा साँस्कृतिक क्रान्तिको …उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो; यो त संशोधनवादका जरा उखेल्ने प्रश्न हो । “जनसमुदाय स्वयं शिक्षित र स्वतन्त्र हुनुपर्छ किनभने विश्वदृष्टिकोण उनीहरुमाथि लाद्न सकिदैन । विचारधारामा रुपान्तरण गर्न भित्री कारणद्वारा बाहिरी कारणले काम गर्न आवश्यक हुन्छ, यद्यपि पहिलो प्रधान हुन्छ । यदि विश्वदृष्टिकोणमा रुपान्तरित भएन भने कसरी महान् सर्वहारा साँस्कृतिक क्रान्ति विजयी हुनसक्छ ? यदि विश्वदृष्टिकोणमा रुपान्तरित भएन भने यो महान् सर्वहारा साँस्कृतिक क्रान्तिमा पूजीवादी बाटो लिएका दुई हजार सत्ताधारीहरु अर्कोपटक चार हजार हुनसक्छन् । महान् सर्वहारा साँस्कृतिक क्रान्तिको मूल्य धेरै महान् भइसकेको छ, तथापि दुई वर्ग, दुई मार्गबीच संघर्षको प्रश्न एक, दुई, तीन वा चार महान् सर्वहारा साँस्कृतिक क्रान्तिद्वारा समाधान हुन सक्तैन, अझै पनि यो सर्वहारा साँस्कृतिक क्रान्तिले कम्तीमा एक दशकसम्म विषयहरुलाई सुदृढ गर्नेछ । एक शताब्दीको प्रक्रियामा यस्ता क्रान्ति बढीमा दुई वा तीनपटक सञ्चालन गर्न संभव हुन्छ । यसर्थ हामीले सधैंभरी संशोधनवादविरुद्ध र यसको प्रतिरोध गर्र्ने हाम्रो क्षमता बलियो बनाउन संशोधनवादका जरा उखेल्ने कुरामा ध्यान केन्द्रीत गर्नैपर्छ” — अलबानियाली सैनिक प्रतिनिधि समक्ष मन्तव्य, मे १, १९६७, श्रमिकवर्ग प्रचूरानालु हैदरावाद भारतद्वारा १९९४ मा प्रकाशित अंग्रेजी संस्करण, ग्रन्थ ९, पृ. ३४१–४२ ।
माओले १९४० मा ‘नौलो जनवादबारे’ व्याख्या गर्दा महान् सर्वहारा साँस्कृतिक क्रान्तिबारे पनि महत्वपूर्ण कुरा संश्लेषण गर्नुभएको थियो । त्यसमा उहाँले भन्नुभएको छ ः
“यता धेरै वर्षदेखि हामी कम्युनिस्टहरु साँस्कृतिक क्रान्तिका साथसाथै राजनैतिक र आर्थिक क्रान्तिको निम्ति पनि संघर्ष गर्दै आएका छौँ र हाम्रो उद्देश्य चाहिं चिनियाँ राष्ट्रको निम्ति नौलो समाज र नौलो राष्ट्रव्यवस्थाको निर्माण गर्नु हो । त्यस नौलो राज्यव्यवस्थामा नौलो राजनीति र नौलो अर्थ–व्यवस्था मात्र होइन, बरु नौलो सँस्कृति पनि हुनेछ । अर्को शब्दमा, हामी राजनैतिक रुपले उत्पीडित र आर्थिक रुपले शोषित चीनलाई राजनैतिक रुपले स्वतन्त्र र आर्थिक रुपले समृद्धिशाली चीनमा फेर्न मात्र होइन, बरु पुरानो सँस्कृतिको प्रभुत्व अन्तर्गत अज्ञान र पिछडिएको अवस्थामा रहेको चीनलाई पनि प्रबुद्ध र प्रगतिशील चीनमा फेर्न चाहन्छौं । छोटकरीमा, हामी नौलो चीनको निर्माण गर्न चाहन्छौं । साँस्कृतिक क्षेत्रको हाम्रो उद्देश्य नौलो चिनियाँ राष्ट्रिय सँस्कृतिको निर्माण गर्नु हो”–विश्व नेपाली पुस्तक सदन डिल्लीबजार उकालो काठमाडौँद्वारा २०५८ मा प्रकाशित तथा खगेन्द्र संग्रौलाद्वारा अनुदित नेपाली संस्करण, भाग २, पृ.३०० ।
माओले यसरी पुरानो विचारधारा, संस्कृति, विरासत, चालचलन, र रीतिरिविजको आदतीय सत्ताबाट मुक्त हुन नयाँ विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाजका लागि महान् सर्वहारा साँस्कृतिक क्रान्तिको हतियार प्रदान गर्नुभयो । यो क्रान्ति वास्तवमा स्टालिनका केही कमजोरी र सोभियत संघमा भएको प्रतिक्रान्तिले पनि जन्माएको थियो । त्यसकारण हजारौं वर्षको आदतीय सत्तालाई केही बर्षमा ढाल्न सकिदैन । यसको लागि वैज्ञानिक समाजवादमा सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त माओले नै प्रतिपादन गर्नुभयो । यो वास्तवमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समुच्चय हो ।
त्यसकारण माओवाद माक्र्सवाद–लेनिनवादको विकास हो । माओवाद माक्र्सवाद–लेनिनवादको तेश्रो, नयाँ र श्रेष्ठ चरण हो । अब हामीले माओवाद वा विचारधारा कुन पदावलीको प्रयोग गर्ने भन्ने विषयमा छलफल गरौँ । पहिलो कुरा, माओ विचारधारा अंग्रेजी माओथटको नेपाली अनुवाद होइन, माओ आइडियोलजीको नेपाली अनुवाद हो । माओथटको नेपाली अनुवाद माओविचार अथवा चिन्तन हुन्छ । हामीले माओविचारधाराका ठाउँमा माओवादको प्रयोग गरेको होइन, माओ विचारको ठाउँमा हो । विचारधाराले व्यापक अर्थ दिन्छ जस अन्तर्गत विचार र वाद पनि पर्दछन । ‘अक्सफोर्ड एडभान्सड डिक्सनेरी’मा विचारको अर्थ यस्तो छः विशेष व्यक्ति, समूह वा ऐतिहासिक कालसँग सम्बन्धित राजनीति र विज्ञान इत्यादीमा रहेका विचारहरु ।’ सोही शब्दकोशमा ‘वाद’ बारे लेखिएको छ ः ‘सिद्धान्त अथवा आचरण सम्बन्धी विचारश्रृंखला अथवा प्रणालीलाई व्यक्त गर्न प्रयोग गरिन्छ ।’ यसले पनि के कुरा स्पष्ट पार्दछ भने पहिलोले व्यक्ति , समूह र कुनै ऐतिहासिक कालमा व्यक्त परिकल्पनात्मक विचारहरुलाई देखाउँछ भने दोस्रोले वैज्ञानिक सिद्धान्तलाई व्यक्त गर्दछ । त्यसकारण परिकल्पनात्मक पदावली माओविचारको सट्टा माओवाद नै प्रयोग गर्नु वैज्ञानिक हुन्छ । दोस्रो कुरा एउटा युगमा एउटै बाद हुन्छ भन्नु लिन प्याओवादी प्रवृत्ति हो । यसले विचारको विकासलाई बन्ध्याकरण गर्दछ । लिन प्याओले माओको प्रसंशा गर्ने क्रममा ‘विश्वमा केही शताब्दीमा एउटा मात्र विभूति जन्मन्छ र चीनमा केही सहश्राब्दीपछि एउटा विभूति जन्मेको छ’ भनेको थियो । त्यसको जवाफमा माओले भन्नुभएको थियो–‘लिनप्याओले के भनेका छन् भने विश्वमा विभूतिहरु केही शताब्दीमा एकपटक एउटा मात्र जन्मन्छ र चीनमा केही सहश्राब्दीमा एकपटक जन्मेको छ । यसले तथ्यसँग कत्ति पनि मेल खाँदैन । माक्र्स र एङगेल्स समकालीन हुनुहुन्थ्यो र त्यही शताब्दी नबित्दै हामीले लेनिन र स्टालिनलाई पायौं । यसकारण तपाई कसरी भन्नुहुन्छ कि विभूति केही शताब्दीमा एकजना मात्र जन्मन्छ ? चीनमा चेनशेङ र ऊ कुआङ, हुङ श्यू–चुआन र सुन यात्सेन थिए’– प्रादेशिक भ्रमणका क्रममा जिम्मेवार कमरेडहरुसँग कुराकानीः १९७१, श्रमिकवर्ग प्रचुरानालु हैदरावाद भारतद्धारा १९९४ मा प्रकाशित माओ चुनिएका रचनाहरु, ग्रन्थ ९, पृ.४४५ ।
त्यसकारण युगको प्रश्नमा विचार गर्दा पहिलो कुरा साम्राज्यवाद पनि पुँजीवादी युगकै उच्चतम चरण हो । यो तर्क गर्दा त माक्र्सवाद मात्र हुनुपर्दछ, लेनिनवाद पनि भन्न हुदैन । हाम्रा पाँचैजना गुरुहरु माक्र्स, एङगेल्स, लेनिन, स्टालिन र माओ एउटै युगका हुन् । माक्र्सवाद सामाजिक विज्ञान भएकोले एउटै युगमा पनि धेरै विचार श्रृंखला र बादहरु जन्मन सक्छन् । प्रकृत्ति विज्ञानमा त हरेक वर्ष भौतिक वैज्ञानिकहरुले नोबेल पुरस्कार पाईरहेका छन् र उनीहरुले नयाँ नयाँ कुरा आविस्कार गरिरहेका छन् ।
तेस्रो, कसैको नाम पछाडि बाद लगाउनु व्यक्तिपूजावाद हो भन्नेतर्क छ, त्यसमा कुनै दम छैन । त्यसो भए माक्र्स र लेनिनको नाम पछाडि वाद लगाउँदा किन व्यक्तिपूजावाद भएन ? माओको नाम पछाडि विचारधारा राख्नु त झन् व्यक्तिपूजावाद भयो । क. असीम र हामी माओका योगदानहरु सार्वभौम छन् भन्नेमा एकमत छौँ । त्यसो भएकोले माओको नाम पछि बाद राख्नु वैज्ञानिक हुन्छ ।
चौथो, पेरुमा गोञ्जालो विचार, अमेरिकामा बबअभाकियन विचार र नेपालमा प्रचण्डपथ बनाउन माओवाद भनिएको हो भन्ने तर्क पनि गरिएको छ । भ्रम पार्न त यो तर्क गर्न सकिएला । तर यथार्थमा त माक्र्सका अनन्य मित्र एङगेल्सले आफ्नो नाममा एङ्गेल्सविचार राख्न, स्टालिनले स्टालिनविचार राख्न माक्र्स र लेनिनको मृत्युपछि माक्र्सवाद र लेनिनबाद भनेको त देखिएन । हामीले प्रमाणका रुपमा माथि उहाँहरुका भनाइहरु नै राखिदिएका छौँ । एङ्गेल्सलाई त तपाईको योगदान के हो भनेर पनि प्रश्न गरिएको थियो र स्पस्टीकरण दिनुपरेको थियो । उहाँले त माक्र्स–एंगेल्सवाद भनेको भए पनि सुहाउँदो हुन्थ्यो होला । स्टालिनमा पनि त्यस्तो कुनै स्वार्थ देखिएन । गोन्जालोले जीवनभरी कारावासमा यातना भोगेर मृत्युवरण गरे । बबले ‘नयाँ सश्लेषण’ भनेर ल्याएका छन् र उनको विचारमा केही विचलन देखिएको छ । प्रचण्ड नवसंशोधनवादी भएर पूँजीवादी कित्तामा गए । नेताहरुमा विचलन आउन सक्छ । तर नेताहरुमा विचलन आउँछ भनेर वैज्ञानिक सत्य जे हो त्यही नाम दिन छोड्नु हुँदैन ।
पाँचांै, जहाँ जहाँ माओवाद भनियो त्यहाँको क्रान्तिले धक्का खायो भन्दै पेरु र नेपालको उदाहरण दिने गरिन्छ । पेरु र नेपालको क्रान्तिले माओवाद पदावलीको प्रयोग गरेको हुनाले धक्का खाएको होइन, बरु माओवाद लागू नभएकोले धक्का खाएको हो । फेरि दुवै देशको परिस्थिति भिन्न भिन्नै थियो । पेरुमा गोञ्जालो लगायत शिर्ष नेताहरुको टोली नै गिरफ्तार भएको थियो भने नेपालमा प्रचण्ड र बाबुरामहरुको नवसंशोधनवादमा पतन भएको थियो । पेरुमा बाह्य रुपमा अमेरिकाको हस्तक्षेप थियो भने नेपालमा भारतको । माओवाद भन्दा क्रान्तिले धक्का खान्छ र नेताहरुमा विचलन आउँछ भने त माक्र्सवाद–लेनिनवाद पनि त भन्नुभएन ।
अब हामीले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवाद नै भन्नुपर्दछ । ‘रिम’ ले १९९३ मा भने जस्तै आजको माक्र्सवाद भनेको माओवाद नै हो । यसमा अझ पनि नयाँ वादको विकास भयो र व्यवहारमा लागू भयो भने भब्य क्रान्तिकारी सभा गरेर खुशीयाली मनाउनेछौं । आज हामीलाई विचारको विकास त आवश्यक परेकै छ ।
मिति ः २०८१ असोज ८

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित