क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा मतभेद र एकताको प्रश्न

-दर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन मंसिर १३ देखि २३ गते सम्म काठमाडौंमा हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मशाल) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) तीन पार्टीको एकीकरणबाट यस पार्टीको निर्माण भएको हो । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले २०८० साल बैशाख १८ गते मई दिवसको दिन एकता गरी पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल घोषणा गरेका थिए । त्यसको ठीक एक वर्षपछि २०८१ बैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (मशाल) बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नामलाई नै निरन्तरता दिइएको थियो र मई दिवसको दिन पार्टी एकताको घोषणा गरिएको थियो । तीन पार्टीको सहमतिमा नै २०७९ फागुनमा पार्टीको उक्त नाम छानिएको थियो।
वर्गसंघर्ष, सर्वहारा अधिनायकवाद, सर्वहारा अन्तर्राष्ट्रवाद, बल प्रयोगबाट सत्ता कब्जा , महान् सर्वहारा सांस्कृतिक क्रान्ति, जनवादी केन्द्रीयता जस्ता माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूलाई आत्मसात गर्ने प्रश्नमा तीन पार्टीहरूका बीचमा एकरूपता भएकैले पार्टी एकता सम्भब भएको हो । पार्टीलाई एक ढिक्का बनाएर लाने सन्दर्भमा मतभेदका कुरा गर्दा एकता वा मिलेकाकुरा विर्सनु हुँदैन र मिलेकाकुरा गर्दा मतभेदका विषय बिर्सनु हुँदैन । पार्टी एकताका सन्दर्भमा लेनिनले सब भन्दा पहिले नमिलेका कुरा के के हुन् त्यसमा स्पष्ट भएर एकता गर्नु पर्दछ भनेका छन् ।
मतभेदका विषयहरू
माओवाद वा माओविचारधारा
पथप्रदर्शक सिद्धान्तमा माक्र्सवाद– लेनिनवाद – माओवाद राख्ने वा माक्र्सवाद – लेनिनवाद –माओविचारधारा राख्ने भन्ने बारेमा पार्टीमा मतभेद छ । माओवाद शब्दावली प्रयोग गर्ने वा माओविचारधारा शब्दावली प्रयोग गर्ने बारेमा मतभेद भएतापनि माओका योदानहरूलाई आत्मसात गरेर नै आजको युगमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा एकरूप बुझाई छ । माओवादका पक्षधर कामरेडहरूको मुख्य तर्क के छ भने माओले माक्र्सवादका तीन संघटक अंग दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा गुणात्मक बिकास गर्नु भएकाले माओवाद भन्नु पर्दछ । माओविचारधाराका पक्षधर कामरेडहरूको मुख्य तर्क के छ भने आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । त्यो भनेको लेनिनवादी युग हो । हामी सबैले आजको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो भन्ने स्वीकार गरि सके पछि लेनिनवादी युग भित्र अर्को “वाद “ राख्नु हुन्न । “वाद“ का सन्दर्भमा स्टालिन र माओले यस्तै विचार राखेका थिए । त्यो कुरा अहिले पनि सत्य छ ।
तत्कालीन नेकपा (माओवादी) द्वारा पारित माओवादबारे प्रस्तावमा लेखिएको छ–“अहिले माओविचारधारा पदावलीको प्रयोग एकातिर सुधारवादीहरुद्वारा यी विचाराधारा शब्दको वास्तविक तौल अनुसार परिकल्पनाको अर्थमा र अर्कोतिर कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सार्वभौम सिद्धान्तको अर्थमा हुने गरेको छ । यो अवस्थामा सार्वभौम सिद्धान्तलाई अभिव्यक्त गर्ने तौल सहितको वैज्ञानिक शब्द ‘वाद’ हुँदाहुँदै भ्रमपूर्ण “विचारधारा” शब्दको प्रयोग गरिरहनु दक्षिणपन्थी संशोधनवादका लागि ठाउँ छोड्नु बाहेक केही होइन ।” व्यवहारबाट नै स्पष्ट भइसकेको छ कि माओविचारधारा दक्षिणपन्थी र माओवाद मान्ने क्रान्तिकारी भन्ने कुरा निरपेक्षरुपमा लिनु हुन्न ।
माओवादले व्यक्तिवादलाई प्रोत्साहन गर्दछ । जस्तै बाबुराम भट्टराई लेख्नुहुन्छ “प्रचण्डपथ सिर्जनशील माक्र्सवादको नवीनतम कडी ।”
कामरेड किरण लेख्नुहुन्छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको चौथो चरणको प्रारम्भ विन्दु र एक्काइसौं शताब्दीको विश्व क्रान्तिको वैचारिक आधारशिलाका रुपमा प्रचण्डपथको विन्यास ग¥यो ।”(प्रचण्डपथका आधारहरु)
प्रचण्डपथबारे क किरणले लेख्नुभएको छ– “पार्टीले गर्दै आएको विचार संश्लेषणको प्रमुख प्रतिनिधि र नयाँ विचारको आविश्कारक क. प्रचण्ड हुनुहुन्छ ।
लाखौं जनसमुदाय र क्रान्तिकारी योद्दाहरुको त्याग, वीरता र बलिदानको भव्य आधारशीला, सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनवादी शक्तिहरुसित रिम लगायत विश्वका क्रान्तिकारी कम्युनिस्टहरुको योगदान लामो समयदेखिको क. प्रचण्डको सही तथा अविच्छिन्न नेतृत्व र सिंगो सामुहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रुपमा विकसित विचार श्रृंखलालाई प्रचण्डपथ नामाकरण गरिएको छ ।
–प्रचण्डपथ मालेमावादको प्रयोगका बीचबाट विकसित र समृद्ध विशिष्ट वैचारिक अभिव्यक्ति हो । यसमा अन्तर्राष्ट्रिय अन्तरवस्तु र राष्ट्रिय रुप, सार्वभौम र विशिष्ट सम्पूर्ण र अंश, विचारधारा र विचार श्रृंखलाबीचको अविभाज्य द्वन्द्वात्मक सम्बन्ध छ ।
प्रचण्डपथमा विचार विधि र दिशा अर्थात् विचारधारा, विश्वदृष्टिकोण र कार्यदिशामा एकीकृत समाष्टि हो ।” ०५७÷०५८ तिर ती विचार व्यक्त गरिए पनि व्यवहारबाट नै उहाँहरु त्यो विचार विन्दुमा हुनुहुन्न । त्यसरी माओका योगदानहरुलाई आत्मसात गर्ने सहमति हुँदाहुँदै पनि माओविचारधाराका पक्षधरहरुले “माओवाद” प्रति अराजकतावाद, मनोगतवाद र व्यक्तिवाद (व्यक्ति पुजा समेत) लाई प्रोत्साहित गरेको आलोचना गरेका छन् भने अर्कोतिर माओवाद पक्षधरहरुले “माओविचारधारा”ले क्रान्तिकारी विचारको प्रतिनिधित्व गर्न नसक्ने, दक्षिणपन्थलाई बल पु¥याउने लगायत आलोचना गरेका छन् । यी मतभेदका तर्क वितर्क पुरानै हुन् । ३०÷३५ वर्ष पहिलेका तर्क वितर्कमै हामी छौं । जस्तो कि माओवादलाई नयाँ, तेस्रो र श्रेष्ठ चरण भन्ने गरिएको छ । यी ३० वर्षभन्दा पहिले नै गोन्जालोले भनेका कुरा हुन् । ठीकै छ हामीले विगतमा तर्क गरिएका कुराहरुलाई पनि समीक्षा गरौं र आजको धरातललाई ठीक ढंगले टेक्ने र क्रान्तिकारीहरु सँगै अगाडि बढ्ने बाटो तय गरौं ।
जनयुद्धको मूल्यांकन
जनयुद्धको कमीकमजोरीबाट सकारात्मक पाठ सिक्नु पर्छ भन्ने कुरामा हाम्रो विवाद छैन ।
२०५३ मा नेकपा (माओवादी)ले “जनयुद्धको ऐतिहासिक पहलकदमी सम्बन्धी सिंहावलोकन र आगामी रणनीतिको पूरक प्रस्ताव पारित गरेको थियो । प्रस्तावमा भनिएको छ– “कतिपय जिल्लाहरुमा पार्टीको नीति र योजना विपरीत दुश्मनलाई उत्तेजित पार्ने खालका घटनाहरुद्वारा अनावश्यक क्षति निम्त्याउने काम हुन गएका छन् । रक्षात्मक कार्यवाहीका ठाउँमा आक्रमणात्मक कार्वाही गर्नु, पार्टीको समग्र योजनालाई विर्सि अंशमा मात्र चिप्किनु, अनुशासनको महत्वलाई बेवास्ता गर्नु, माओवादी जनयुद्धको सिद्धान्त एवं पार्टीको रणनीति एवं कार्यनीतिको मर्मलाई बुझ्न नसक्नु जस्ता कमजोरीहरु यसप्रकारका घटनाक्रममा अभिव्यक्त भएका छन् । यद्यपि यी अहिले प्रवृत्तिकै रुपमा देखिएका, विकास भएका छैनन् । केवल गम्भीर कमजोरीका रुपमा मात्र देखिएका छन् ।
–यसप्रकारका कमजोरीहरुमा मुख्यतः निम्न पुँजीवादी, अराजकतावादी चिन्तनले काम गरेको पाइन्छ ।” (नेकपा (माओवादी ऐतिहासिक दस्तावेज )
–अहिलेकै जनयुद्धको ऐतिहासिक पहलका सन्दर्भमा देशभरी गरिएका कार्यवाहीहरु मध्ये त्यस्ता कैयौं कार्यवाहीहरु छन् । जसमा न शत्रु र मित्र वर्गका बीचमा भेद गर्न पर्याप्त ध्यान दिइएको छ, न शत्रु बीचको अन्तर्विरोधलाई उपयोग गर्ने कलाको नै प्रदर्शन गरिएको छ । त्यसको परिणाम मित्रवर्ग अन्यौलमा पर्ने र दुश्मन जति एक ढिक्का भएर क्रान्तिकारी माथि खनिने खतरा हुन्छ । (नेकपा माओवादी ऐतिहासिक दस्तावेज) कमजोरीहरुलाई “उग्रवामपन्थी कमजोरी” भनेर सैद्धान्तिकीकरण गर्नुपर्दछ भन्ने एकाथरी कामरेडहरुको भनाई छ भने अर्कोथरी कामरेडहरुले “उग्रवामपन्थी कमजोरी” भन्दा जनयुद्धकै अपमान हुन्छ भन्ने मत राख्नुहुन्छ । जे भए पनि जनयुद्धबाट पाठ सिक्दै अवको वर्ग संघर्षलाई कसरी अगाडि बढाउने भन्ने कुरा मूल कुरा हो ।
राज्यपुनःसंरचना र जातीय प्रश्न ः
नेपालमा जातीय समस्या छ र समस्याको समाधान गर्नुपर्दछ भन्ने कुरामा हाम्रो विवाद छैन । जातीय समस्यालाई वर्गीय समस्यासित जोडेर मात्र जातीय मुक्ति हुन्छ भन्ने कुरामा पनि एकै मत छ । जातीय पहिचान र आत्मनिर्णयको अधिकार सहितको संघीय प्रणालीबाट जातीय समस्याको समाधान गरिनु पर्दछ भन्ने एकथरी साथीहरुको भनाई छ भने अर्कोथरी साथीहरुले एकात्मक प्रणाली अन्तर्गत नै विकेन्द्रीयता, स्थानीय स्वयत्तता र जातीय, क्षेत्रीय स्वशासनबाट जातीय समस्याको समाधान गर्नुपर्दछ भन्ेन मत राख्नु भएको छ ।
एकाथरी साथीहरु नेपालका जातीय समुदायलाई बहुराष्ट्रिय अर्थमा र अर्काथरी साथीहरु नेपालका सबै जातीय समुदायको समष्टिगतरुप नेपाली राष्ट्र–एक राष्ट्र हो भन्ने भनाई राख्नु हुन्छ । यी विवादहरु केवल हाम्रो पार्टीभित्रका विवाद मात्र होइनन् । नेपाली समाजमा आम रुपमा छलफल भइरहेका विषय हुन् । गहन अध्ययन र छलफलबाट यस्ता विषयहरुमा निश्कर्षमा पुग्ने प्रयास गर्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित