-सन्तबहादुर नेपाली
कार्यक्रमका सभापतिज्यु, सहभागी भारतीय मित्रहरु, दलित नेता, अभियन्ता, बुद्धिजिवी तथा पत्रकार मित्रहरु, यहाँहरु सबैलाई हार्दिक अभिवादन ।
सर्वप्रथम त म आयोजकको तर्फबाट छिमेकी देश भारतबाट नेपालको दलित आन्दोलनबारे अध्ययन तथा विचार आदान प्रदान गर्न नेपाल आउनु भएका भारतीय दलित आन्दोलनका नेता, अभियन्ता, अध्येता, बौद्धिक व्यक्तित्वहरुको टोलीलाई हार्दिक एवं क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छु र नेपालमा छ दिने यात्रा सुखद रहोस् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु ।
नेपाल तथा भारतका जनता बीच परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । भारतमा हुने हरेक राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक परिवर्तनको प्रत्यक्ष असर नेपालमा पर्दै आएको छ । भारतीय जनताले ब्रिटिश साम्राज्यवादको विरुद्ध लामो संघर्ष गरे । अन्तमा सन् १९४७ मा ब्रिटिश साम्राज्यवाद भारत छोडेर जान बाध्य भयो । नेपालमा त्यति बेला राणाहरुको शासन थियो । त्यो जहानियाँ शासनका विरुद्ध नेपाली जनताले भारतमा पनि बसेर आन्दोलन संगठित गरे । अन्तमा सन् १९५० मा राणाहरुले सत्ता छोड्न बाध्य भए । त्यसपछि नेपाली जनताले राजाको निरंकुश जहानियाँ शासनका विरुद्ध संघर्ष गर्नुप¥यो । अन्तमा १० वर्षसम्मको माओवादी जनयुद्ध र वि.सं. २०६२÷६३ को जनआन्दोलनका कारण नेपालको राजतन्त्र सदाका लागि अन्त भयो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संविधानमा सबै नागरिकका हक अधिकारहरु सुनिश्चित गरिएका छन् । हाम्रो देशको सन्दर्भमा यी ऐतिहासिक घटनाहरुको विशेष महत्व छ । तर अर्को नकारात्मक पाटो पनि छ । त्यो के हो भने लोकतन्त्रको नाममा जननिर्वाचित सरकारले शासन गरेको भए पनि हिजोको सामन्तवाद कमजोर भए पनि जीवित छ । देशमा दलाल तथा नोकरशाही पुँजीपतिवर्गले सत्तामा आफ्नो पकड जमाएको छ । तर पनि सामन्तवादले पुनस्र्थापनाका लागि प्रयत्न जारी राखेको छ । देश अर्धसामन्ती तथा अर्धऔपनिवेशिक विशेषता सहित नव औपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ । सामन्तवाद राजनीतिक रुपमा सत्तामा नभए पनि आर्थिक तथा सांस्कृतिक रुपले बलियो छ । त्यसले गर्दा नेपालका २० प्रतिशत दलितहरु (सरकारी तथ्यांकमा १३ प्रतिशत) आज पनि जातीय छुवाछूत तथा भेदभावबाट पीडित रहेका छन् । यद्यपि नेपालको संविधानले मौलिक हक अन्तर्गत छुवाछूत विरुद्धको हक तथा दलितको हकको व्यवस्था गरेको छ । वि.सं. २०६८ मा जातीय छुवाछूत तथा भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८ पनि निर्माण गरेको छ तर व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । आज पनि मनुवादी र ब्राम्हणवादी चिन्तन भएका तथा रुढीवादी, अन्धविश्वासी, परम्परावादी तथा हिन्दु अहंकारवादबाट ग्रस्त व्यक्तिहरुले राज्यका विभिन्न निकाय तथा अंगहरुमा प्रभाव जमाइरहेका छन् । उनीहरु पुँजीवादी गणतन्त्रका नीति तथा विधिलाई दलितको हितमा कार्यान्वयन गर्न अत्यन्त संकीर्ण देखिन्छन् । त्यसकारण आज पनि दलितहरुले देशमा गणतन्त्र प्राप्त भएको अनुभूति गर्न सकिरहेका छैनन् ।
भारतमा पनि ब्रिटिशकालदेखि दलित आन्दोलनको अत्यन्त गौरवपूर्ण इतिहास रहेको छ । ज्योतिभा फुले, आचार्य विनोभा भावे, पेरियार तथा डा. भीम राव अम्बेडकर जस्ता समाज सुधारकहरुले चलाएको छुवाछूत विरुद्धको आन्दोलन, भूदान आन्दोलन जस्ता सुधारवादी आन्दोलनले धेरै हदसम्म दलितहरुमा जागरण तथा अधिकार दिलाए पनि आज भारतमा दलितहरुले अन्य नागरिक सरह अधिकार र स्वतन्त्रता पाएका छैनन् । आफ्नो हक अधिकार प्राप्तिका निम्ति आज पनि दलितहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । त्यसको बाबजुद पनि हिन्दु फासिवादी भाजपाको सरकारले दलित माथि दमन र उत्पीडन जारी राखेको छ । भारतमा पनि संविधान र कानुनको दृष्टिमा सबै नागरिकहरु बराबर भएको देखाइए तापनि व्यवहारमा भने आज पनि जातपातका आधारमा गरिने भेदभाव र उत्पीडन विभिन्न रुपमा कायम रहेको देखिन्छ । भारतमा दलितहरुले प्राप्त गरेको रोजगारको अवसर र आरक्षण प्रणालीले दलितहरुको एउटा तप्का सम्पन्न र शक्तिशाली बन्दै गएको छ । अर्को ठूलो तप्का अहिले पनि जातीय थिचोमिचोमा परेको छ । त्यसरी दलितहरुबीचमा पनि आर्थिक तथा वर्गीय असमानता देखा परेको पाइन्छ । नेपालमा पनि दलाल पुँजीवादी शासकहरुले सीमित आरक्षण दिएर दलितहरुको एउटा तप्कालाई शासक वर्गको सेवामा तान्न प्रयास गरेको छ । तर आजको मूल प्रश्न दलाल सत्ताको साझेदार कसरी बन्ने भन्ने होइन, समग्र दलितको उत्थान र मुक्ति कसरी हुन सक्छ भन्ने हो । हामी त्यो दिशामा संघर्षलाई अगाडि बढाउन चाहन्छौं ।
संघर्षलाई अगाडि बढाउने सवालमा नेपाल र भारतका दलित नेताहरुका बीचमा केही वैचारिक प्रश्नहरु खडा भएको देखिन्छ । त्यो के हो भने भारतमा डा. भीम राव अम्वेडकरले जुन प्रकारले दलित आन्दोलनको नेतृत्व गर्नुभयो र दलित आन्दोलनलाई उचाईमा पु¥याउनु भयो, त्यो बाटो नै सही हो र अर्को कुनै बाटो छैन भन्नेहरु पनि प्रशस्त छन् । अम्बेडकरको विषयमा हामी के भन्न चाहन्छांै भने तात्कालीन अवस्थामा दलित आन्दोलनलाई अगाडि बढाउने सवालमा अम्बेडकरले गरेको संघर्षलाई उच्च सम्मान गर्नुपर्छ । त्यो बेलाको परिस्थितिमा त्यो भन्दा क्रान्तिकारी आन्दोलन गर्न सक्ने सम्भावना थिएन तर अहिलेको परिस्थितिमा उहाँको विचारलाई निरपेक्षरुपमा समर्थन गर्न सकिंदैन सापेक्षतामा मात्र समर्थन गर्न सकिन्छ । उहाँका दार्शनिक तथा राजनैतिक विचारहरुकाआधारमा अहिलेको परिस्थितिमा दलित आन्दोलनलाई निर्णायक तहमा पु¥याउन सकिंदैन । त्यो सुधारवादसम्म सीमित छ । हामी त्यो भन्दा माथिल्लो स्तरबाट, वैज्ञानिक विचारका आधारमा आन्दोलनको कार्यदिशा निर्माण गर्नुपर्छ । त्यसका लागि माक्र्सवाद र उनले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद नै हो । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आधार मान्नु भनेको अम्बेडकरका विचारलाई पूरै अस्वीकार गर्ने भन्ने होइन । नेपालको सन्दर्भमा पनि अम्बेडकरका विचारहरु सान्दर्भिक छन् । तर नेपालको अहिलेको बदलिंदो परिस्थिति र आन्दोलनमा आएको विकासका कारणले उनको विचारले मात्र मार्गनिर्देश गर्न सक्दैन ।
नेपाली समाज एकातिर विश्व पुँजीवाद तथा भूमण्डलीकृत साम्राज्यवादको प्रभावका कारणले नवऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ र अर्कोतिर पिछडिएको सामन्ती उत्पादन प्रणालीका कारणले मध्ययुगिन जातीय उत्पीडन पनि कायम छ । आजको सामन्तवाद साम्राज्यवादसित गठबन्धन गरेर अस्तित्व धान्न प्रयासरत छ । नेपालको दलित आन्दोलन स्वतन्त्र र एक्लो ढंगले अगाडि बढ्न सक्दैन । सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिसित जोडिएर आन्दोलन अगाडि बढ्न सक्छ । किनकि दलितको समस्या छुवाछूतको मात्र होइन, अन्य नागरिक सरहको अधिकार प्राप्त गर्नको लागि पनि हो । शासन गर्ने अधिकारका लागि पनि हो । दलित भनेका किसान र मजदुर पनि हुन् । त्यसकारण यसको सम्बन्ध विश्वका सर्वहारा मजदुर किसान सित छ र हुनुपर्छ । दलितको समस्या वर्गीय पनि हो, जातीय मात्र होइन । त्यसकारण सुधारवादी आन्दोलनका साथै यस दलाल पुँजीवादी व्यवस्थामा आमूल परिवर्तनकारी आन्दोलनसित जोडिएर नै दलित मुक्ति सम्भव छ भन्ने हाम्रो विश्वास छ । तात्कालिक रुपमा देशमा सबै प्रकारका विचार राख्ने दलित संघसंस्थाहरुसित मिलेर जातीय भेदभाव जस्तो घृणित प्रथाका विरुद्ध संघर्ष गर्न हामी एकजुट हुन आवश्यक छ । अर्कोतिर भारतका दलित संगठनहरुसित पनि एक अर्कोमा ऐक्यबद्धता र सहयोग आदानप्रदान गर्नु आवश्यक छ । भारतको दलित आन्दोलनले जति उँचाई प्राप्त गर्दछ, त्यति नै नेपालको दलित आन्दोलनलाई पनि मद्दत पुग्ने हाम्रो विश्वास छ ।
भारतमा अहिले दलितहरु हिन्दु फासिवादी पार्टी भाजपाको हिन्दु फासिवाद विरुद्ध संघर्ष गरिरहेका छन् । भारतीय हिन्दुवादीहरुले नेपालमा पनि हिन्दुवादको पुनस्र्थापना गर्न केही सामन्ती तत्वहरुलाई उक्साइरहेका छन् । लोकतन्त्रको विकल्पमा संवैधानिक राजतन्त्रलाई स्थापित गर्न खोजिरहेका छन् । यो व्यवस्थाको विकल्प संवैधानिक राजतन्त्र हुन सक्दैन । राजतन्त्र हिन्दुवादी मनुवादीहरुको संरक्षकहो । दलाल पुँजीवादी गणतन्त्रको स्थानमा उन्नत र प्रगतिशील र न्यायपूर्ण व्यवस्था भनेको जनवादी गणतन्त्र र समाजवादी गणतन्त्र हो । हामी नेपालका दलितहरु पनि संवैधानिक राजतन्त्र पुनस्र्थापनाका विरुद्ध संघर्ष गर्न परिरहेको छ । संवैधानिक राजतन्त्रको पुनस्र्थापना भयो भने हिन्दुवादीहरुको फासिवाद र जातीय उत्पीडन नेपालमा पनि झन बढ्ने खतरा छ । त्यसकारण दुवै देशमा प्रतिगामी हिन्दुवादका विरुद्ध संघर्ष आजको आवश्यकता हो । हिन्दुवाद अन्ततः मनुवाद हो ।
अन्तमा, नेपाल र भारतका दलित तथा सम्पूर्ण न्यायप्रेमी, प्रगतिशील तथा क्रान्तिकारी जनताको एकता अमर रहोस् भन्दै म पुनः भारतीय मित्रहरुलाई स्वागत तथा अभिनन्दन गर्दछु ।
(भारतीय दलितआन्दोलनका घटकहरु,जाति उन्मूलन आन्दोलन र गुरुघासी दास सेवादार संघका नेताहरुसित २०८१ पौष २९ गते बुटवलमा सम्पन्न भेटघाटको अवसरमा एकीकृत दलित मुक्ति मोर्चाद्वारा आयोजित “नेपाल–भारत दलित समस्या र संघर्षको आयाम”विषयक अन्तक्र्रियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य सन्तबहादुर नेपालीद्वारा प्रस्तुत मन्तव्य) २०८१ पौष २९