– घनश्याम शर्मा पौड्याल
वामपन्थी नेता तथा पूर्व सांसद
० सबै भन्दा पहिले तपाईको स्वास्थ्य अवस्थाबारे जानकारी पाउँ न ?
–अहिले मेरो स्वास्थ्य अवस्था सामान्यतया ठीकै छ । थप जटिलता देखिएको छैन । २०७८ चैत्रमा मलाई क्यान्सर रोग देखियो । दाँतमा केही दुखाई भयो । दाँत निकाले र हेर्दा केहीसेतो पदार्थ देखियो । मलाई आफैलाई शंका लाग्यो । वायस्पी गरौं भनेको महाराजगन्ज टिचिङ अस्पतालमा १५ दिनपछि मात्र भन्यो । विमारीको मामला ढिला गर्नु हुन्न भनेर ललितपुरको नेपाल क्यान्सर अस्पतालमा वायस्पी गराएँ । क्यान्सर देखियो । पहिलो स्टेजको रहेछ । के गर्नुपर्छ भनेको डाक्टरले सकभर छिटो अपरेशन गर्नुपर्दछ भन्यो । २०७९ वैशाखमा अपरेशन भयो । मुखको बिग्रिएको मासु काटेर फालिदियो । त्यसमा छातीको मासु लिएर राखिदिएको छ । म रक्सी, चुरोट, खैनी केही नखाने मान्छे । यस्तो रोग आयो । मेरो छोरा, छोरी, परिवारले सहयोग गरे । अहिले म ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको, हात्तीवनमा बसेको छु । म अहिले ७८ वर्षको भएँ । अहिले सामान्यतया हिँडडुल गर्न, लेख्न, पढ्न सक्छु । पहिले जत्तिकै दौडधुप गर्न, मिहेनत गर्न नसकिए पनि केही न केही गरिरहन्छु ।
० तपाईको विगतलाई हेर्दा सुरुमा अत्यन्त अध्यात्मवादी धार्मिक चिन्तन भएको व्यक्ति, पण्डित परिवारमा जन्मिएको व्यक्ति, बनारस पढ्दा पनि उत्तिकै धार्मिक चिन्तन तर पछि काठमाडौंमा पढ्दा अखिलको विद्यार्थीहरुको संगतमा परेर विस्तारै भौतिकवादी चिन्तनतर्फ मोडिएको व्यक्ति हुनुहुन्छ । तपाईले जिन्दगीमा बोलेर र लेखेर धार्मिक रुढीवादको विरुद्ध र प्रगतिशील चिन्तनको पक्षमा योगदान पु¥याउनु भएको छ । जतिसुकै भौतिकवादी भए पनि मान्छेलाई अप्ठ्यारो प¥यो भने ऊ इश्वरलाई पुकार्छ भनेको सुनिन्छ । क्यान्सर रोग लागेपछि तपाईको मन मस्तिष्क कतै इश्वर, भगवान, अध्यात्मतिर त ढल्किएन ?
– कुनै अदृष्य शक्तिले मान्छेको भाग्य बनाइदिन्छ, विगारिदिन्छ भन्ने कुरामा मलाई रक्तिभर पनि विश्वास छैन र जीवनभर विश्वास गर्न सक्दिन । मैले मात्र हैन, मेरी श्रीमतीले पनि पुजा पाठ गर्दिनन् । मेरो घरभित्र गएर हेर्न सक्नुहुन्छ । कहीं पनि देवताको फोटो राखिएको छैन ।
कलश राखिएको छैन । दुःखी, गरिब र आफ्नो पक्षमा जे गर्न सकिन्छ । त्यति नै सत्य हो । म क्यान्सर रोग लागेर अपरेशन गर्नुपर्दा वा अन्य दुःखको घडीमा कुनै अदृश्य शक्ति, ईश्वर, भगवानप्रति मेरो आस्था पलाउँदैन । ती भ्रम मात्र हुन् भन्ने कुरामा म दृढ छु ।
मान्छेका पूर्खाहरु जंगली थिए । चेतनाको विकास हुँदै जाँदा मान्छेबाट मान्छे कसरी जन्मन्छ ? बादल किन लाग्छ, वर्षात् किन हुन्छ ? मान्छे जन्मेपछि किन मर्छ ? खोला किन माथिबाट तलतिरै बहन्छ ? रात किन पर्छ ? विहान किन हुन्छ ? प्रकृतिका यी कैयौं रहस्यहरुको उत्तर खोज्ने क्रममा मानिसले ईश्वर, भगवान, स्वर्ग, नर्कको कल्पना गरेको हो । प्रकृतिको रहस्य फेला पार्न नसकेपछि, प्रकृतिका तथ्यहरु फेला पार्न नसकेपछि मानिसले ती चीजको कल्पना गर्न पुग्यो । स्वर्ग, नर्क, ईश्वरमाथि आकाशतिरै छन् भनेर मानिसले किन कल्पना ग¥यो ? “हामीले साधारण बोलीचालीको भाषामा आकाशको दुरीलाई माथि भनेर बुझ्दछौं । हाम्रा पूर्खाहरुले आकाशमा टिलपिलाउने ग्रहपिण्ड अनन्त छन् र ती माथि नै छन् । सूर्य र चन्द्रमा पनि माथि नै छन् । ती र तिनका गतिविधि रहस्यमय छन् । बादल माथि छ । पानी माथिबाटै झर्छ । विजुलीमाथि तिरै चम्कन्छ । चट्याङ र असिना माथिबाटै खस्छ । हावा र प्रकाश माथि नै छ । आगोबाल्दा ज्वाला र धुवाँ माथि तिरै जान्छ । रुखविरुवा बढ्दै जाँदामाथि तिरै ताक्छन् । मान्छेको चिन्तन र चेतनाको अंगमाथि नै हुन्छ । त्यसैले मान्छेले कल्पना ग¥यो, यो जीवन र जगतलाई शासन तथा संचालन गर्ने कुनै परम शक्तिशाली, सर्वज्ञ, सर्वद्रष्टा जो छ, त्यो पनि माथितिरै हुनुपर्दछ । हाम्रो स्रष्टा, द्रष्टा र नियन्ता पनि त्यही हुनुपर्दछ । त्यसैले देउता वा तिनको बासस्थान पनि त्यतै कतै हुनुपर्दछ । मृत्युपछि हाम्रो आत्मा पनि उडेर त्यतै जानेछ । जीवनका सबै हिसाव किताव पनि हामीले त्यतै बुझाउनु पर्नेछ ।”
मैले लेखेको पुस्तक “धर्म, समाज र संस्कृति” पृष्ठ ४५–४६ मा हेर्नु होला । मैले त्यहाँ उल्लेख गरेको छु ।
० जीवन र मृत्युबारे यहाँको दृष्टिकोण ?
–“हाम्रो शरीर भन्नु नै अर्वौं जीवकोषहरुको जन्म र मृत्यु वा नयाँको उदय र पुरानोको निषेधको अविरल संघर्ष एवं गति हो । प्राणीको शरीरमा प्रत्यक क्षण करोडौं जीवकोष जन्मिरहेका हुन्छन् र करोडौंको मृत्यु भइरहेको हुन्छ । अर्थात् हामी आफैभित्र हरपल करोडौं जीवन जन्मिरहेका र करोडौं मृत्यु भइरहेका हुन्छौं । तर स्थुल जीवन व्यवहारमा भने हामीले जीवित कोषले मृत्यु कोषको अघि आत्मसमर्पण गर्ने स्थितिलाई मात्र मृत्यु भन्ने गरेका छौं । मृत्यु, जुन सत्यबाट कोही पनि भाग्न र बच्न सक्दैन, न रोएर कुनै फरक पर्छ, न त आश्चर्य मान्ने कुनै कुरा हो, यो । त्यसैले पीडाले बर्बराउने स्थिति नभएसम्म रुँदै मर्नुको पनि कुनै अर्थ छैन । मृत शरीर सडी जाने र गली जाने पदार्थ मात्र हो । त्यसलाई यथासम्भव व्यवस्थापन वा विसर्जन गर्नु नै राम्रो हुन्छ ।
मान्छे सम्वेदनशील प्राणी हो । त्यसैले जो सुकैलाई पनि आफन्तको मृत्युले संवेदित र शोकाकुल त बनाउँछ नै । किनकि संवेदना संस्कारभन्दा अलि निरपेक्ष विषय पनि हुँदो रहेछ । तथापि, मेरो मृत्यु अगाडि भएमा मेरी जीवन संगिनी, छोराछोरी वा कोही आफन्तले पनि मेरो नाममा कपाल खौरिने, भेष बदल्ने, छाक तथा नुन बार्ने, पिण्ड पानी दिने, गरुड पुराण लाउने जस्ता वाहियात काम नगरुन्, पुरेत लाउने र ‘दानपुण्य’ गर्ने आदि केही नगरुन् । किनकि आत्माको अमरता र परलोक जस्ता कुरामा ममा रत्तिभर पनि भ्रम बाँकी छैन । यसमा मेरो परिवारलाई समाजले बाध्य पार्न खोज्नु अन्याय हुनेछ र मेरो मान्यताको पनि विपरीत हुनेछ ।” “धर्म, संस्कृति र समाज” शीर्षकमा मैले लेखेको पुस्तकमा जीवन र मृत्यु, अनि मृत्यु संस्कारका बारेमा माथि उल्लेखित कुराहरु लेखेको छु । पुस्तकको पृष्ठ २४३, २४४ मा हेर्न सक्नुहुन्छ । यस पुस्तकलाई जागरण हाउसले प्रकाशन गरेको हो । थप सवाल, जवाफ गर्न चाहेमा यही पुस्तक उपलब्ध गराउँदा हुन्छ भन्ने मेरो भनाई छ । यी तीन चीज रोग, मृत्यु र कुकुरसित जति डरायो त्यति लखेट्छ । जस्तो सुकै कमजोर कुकर भएपनि तपाई डराउनु भयो भने उसले तपाईलाई लखेट्छ । रोगले पनि जति डरायो उति छिटै चिन्तै चिन्ताले खान्छ । मृत्युसँग पनि तपाई जतिसुकै रोए पनि एक दिन लाने नै हो । त्यसकारण यी चीजहरु सित डराउनु हुँदैन ।
० जीवन दर्शनका बारेमा केही चिन्तकको नाम लिनु पर्दा ?
–जीवनदर्शनका बारेमा नाम लिनुपर्दा म कार्ल माक्र्स, बुद्ध र स्टेफन हकिङ्गस्को नाम लिन्छु । बुद्धलाई अहिले भगवान भनेर पुजा गरेका छन् , त्यो बेग्लै कुरा हो । तर त्यो समयमा बुद्धले आत्म, ईश्वर, स्वर्ग केही पनि मानेन् । कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादको दर्शन दिए । द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोणबाट हेर्दा संसारमा पक्ष विपक्ष नभएको, सकार–नकार नभएको कुनै पनि पदार्थ छैन । उज्यालो भन्दा वित्तिकै अँध्यारो छ , तल नभईमाथि हुँदैन, कुनै पनि सानो भन्दा सानो चीजमा पनि विपरीत तत्वहरु हुन्छन्, एउटा अणुभित्र पनि इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन भन्ने परस्पर विरोधी अर्थात् पोजिटिभ, नेगेटिभ चीज हुन्छ । हरेक चीजको निर्माण र विनास भइरहेको हुन्छ । त्यहाँ कुनै भगवानले काम गरेको हुँदैन । त्यहाँ विद्युतीय तरंग र चुम्बकीय सेन्टरहरुले काम गरेको हुन्छ । पछिल्लो चरणका सबभन्दा प्रख्यात भौतिकवादी वैज्ञानिक बेलायतका स्टेफन हकिङ्गस हुन् । द ग्रेट डिजाइन भन्ने उनको किताव छ । त्यसलाई अहिले नेपालीमा पनि उल्था गरिएको छ । उनले खुला घोषण गरे कि यो विश्व र यो संसारको संरचना सून्यबाट आफै सृष्टि हुन्छ र आफै विनास हुन्छ ।
० २०४८ मा विभिन्न समूह मिलेर नेकपा (एकताकेन्द्र) बनेको थियो । तपाई एकताकेन्द्रमा आबद्ध हुँदा कुन समूहबाट त्यहाँ आबद्ध हुनु भएको थियो ?
– म विद्यार्थी जीवनमा अभिभाजितकालीन अखिलबाटै राजनीति र संगठनमा आबद्ध भएको हुँ । अखिल विद्यार्थी संगठनबाट सबैभन्दा पहिले फेडेरेशन विभाजित भएको थियो । शास्त्री पढ्दाखेरी म बाल्मिकी संस्कृति क्याम्पसमा अखिलको तर्फबाट स्ववियु निर्वाचन पनि लडेको थिएँ । त्यतिखेर अखिलको नेता थिए पशुपति वाग्ले । त्यो ०२७÷०२८ तिरको कुरा थियो । त्यसपछि म वि.एड. पढ्न विरगन्ज गएँ । विद्या ढकाल जलजलासित त्यही भेट भयो । जलजलाले आर्टस् पढ्नु हुन्थ्यो । मैले एजुकेशन पढें । चितवनमा शिक्षक भएर बालकुमारी हाइस्कूलमा पढाउँदा खगेन्द्र संग्रौला, हरिहर खनाल र म तीन जना भएपछि राजनीतिक कुरा गर्न थालियो । विद्यार्थीकाल र शिक्षक छँदा त्यसै पनि कम्युनिस्टलाई मन पराउने र पंचायत विरोधी मानसिकताका मान्छे थियौं । सुरुमा मलाई २०३६ सालतिर सर्वहारावादी कम्युनिस्ट लिगमा स्वनाम साथीले पार्टीमा आबद्ध गर्नुभएको थियो । मलाई सुरुमा पार्टीकरण गरेको स्वनाम साथीले हो । २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन भनेर रुपलालजीहरुसित मिलेर पार्टी बनाइयो ।
०४८ सालमा एकताकेन्द्र बनाउँदा म त्यसको पार्टीको केन्द्रीय समितिमा थिएन । म संयुक्त जनमोर्चा नेपालमा थिएँ । संयुक्त जनमोर्चा नेपालमा पनि केन्द्रीय कमिटीमा सुरुमा थिएन । अलि पछि मात्र म संयुक्त जनमोर्चा नेपालको केन्द्रीय कमिर्टीमा आएको हुँ । राजनीतिक पृष्ठभूमिको कुरा गर्नु हुन्छ भने म एकताकेन्द्र वा संयुक्त जनमोर्चा नेपालमा सर्वहारावादी श्रमिक संगठनको तर्फबाट त्यहाँ आबद्ध भएको थिएँ ।
० तपाई संयुक्त जनमोर्चा नेपालको तर्फबाट ०४९ साल तिर राष्ट्रिय सभाको सांसद बन्नुभयो । त्यसबेलाको विर्सन नसकिने कुनै घटना वा विषय ?
–त्यतिबेला संयुक्त जनमोर्चा नेपालको तर्फबाट संसदमा प्रतिनिधि सभामा ९ जना र राष्ट्रिय सभामा २ जना गरी ११ जना सांसद थियौं । प्रतिनिधि सभातर्फ रोल्पाबाट वर्मन बुढा र कृष्णबहादुर महरा, रुकुमबाट खड्गबहादुर बुढा,हुम्लाबाट छक्कबहादुर लामा, चितवनबाट अमिक शेरचन, ललितपुरबाट लिलामणि पोख्रेल, सिराहाबाट वि.एल. वाइवा, रामेछापबाट कमल चौलागाई, काभ्रेबाट कमानसिंह लामा र राष्ट्रिय सभातर्फ सिन्धुनाथ प्याकुरेल र म थियौं ।
त्यतिबेला सुँगुरको खोर सफा गर्न खोर भित्रै जानुपर्दछ भन्ने भनाई थियो । त्यसरी हामीलाई संसदमा पठाइएको थियो । प्रतिनिधि सभा तल्लो सदनमा पनि साथीहरु आ–आफ्नो ढंगले संघर्ष गर्नु भएको थियो । माथिल्लो सदन राष्ट्रिय सभामा सिन्धुजी अलि कानुनी ढंगले बोल्नु हुन्थ्यो । मेरो सिधा कुरा हुन्थ्यो । मैले एउटा कुरामा सधै अडान लिएँ । हरेक विधेयक प्रतिनिधिसभामा उत्पत्ति भएपछि अनुमोदन गर्न राष्ट्रिय सभामा पनि आउँथ्यो । हरेक विधेयकको सुरुमा शीरमा के लेखिएको हुन्थ्यो भने “श्री ५ महाराजधिराज सरकारको शुभ राज्यभिषेकको यति औं वर्षमा यो कानुन निर्माण भएको छ ।” यो प्रस्तावना नफाल्दासम्म राष्ट्रिय सभाबाट कुनै पनि विधेयकलाई निर्विरोध हुन दिइँदैन भनेर मैले सधै विरोध गर्दथे । बेणी बहादुर कार्की राष्ट्रिय सभाका अध्यक्ष थिए । कहिलेकांही विधेयकको विरोधमा कोही बोलेन भने माननीय घनश्याम शर्मा पौडेल हुनुहुन्न र भनेर सोध्दथे । म २ वर्ष राष्ट्रिसभाको सांसद बने ।
यो कानुन बन्ने कुरासित राजाको राज्यभिषेकको के सम्बन्ध छ भनेर सधै विरोध गरिन्थ्यो । ६ हजार तलवभत्ता हुन्थ्यो । २ हजार पार्टीलाई बुझाइन्थ्यो । म सांसद छँदै बारा, पर्सा, रौतहटतिर सी.पी. गजुरेल जी र मलाई जिम्मा दिइएको थियो । म सांसद हुँ भन्दा पनि जनताको मान्छे हुँ भन्ने लाग्थ्यो । साइकल चलाएर मधेशमा जनताको बीचमा पार्टीको जिम्मा बोकेर हिंडेको सम्झना छ ।
० २०५९ मा नेकपा (एकताकेन्द्र मसाल) गठन भयो । त्यो एकताकेन्द्र मसाल) काललाई कसरी सम्झनु हुन्छ ?
नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) लामो समयसम्म सहकार्य गरेर निर्माण गरिएको थियो । जनताले मन पराएको एकता थियो । त्यो पार्टीले राजाको प्रतिगमनका विरुद्धमा निकै महत्वपूर्ण भूमिका खेलेको थियो । अन्य पार्टीहरुलाई पनि प्रतिगमन विरुद्ध संघर्षमा ल्याउन समन्वयकारी भूमिका खेलेको थियो । त्यसले राष्ट्रियता र जनतन्त्रको मुद्दा पनि उठाइरहेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा शक्तिको रुपमा त्यो पार्टी स्थापित भइसकेको थियो । तर दुःखको कुरा पार्टी एकता ४ वर्ष पनि टिक्न सकेन । नारायणकाजी र प्रचण्डको त्यतिबेला राम्रै सम्बन्ध थियो । पूर्व मसालको पनि आफ्नो च्यानल थियो । नारायणकाजी र प्रचण्डको सम्बन्धका बारेमा मोहन विक्रमलाई पनि थाहा नहुने कुरा भएन । अविश्वास बढ्दै गयो । मोहनविक्रम सिनियर नेता हुनुहुन्थ्यो । नारायणकाजी र उहाँका बीचमा व्यक्तित्वको टकराव पनि भयो । मानौ माओवादीसित पार्टी एकता नै गर्नु परेको भए पनि एउटा युद्धबाट आएको र अर्को बन्दुकका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेर आएको शक्ति बीच एकता भएमा, एउटा दह्रो वैचारिक पक्ष रहन्थ्यो । म पनि एकताकेन्द्र–मसाल विभाजित हुनुहुन्न भन्नेमा थिए । नेता नै फुटेपछि कार्यकर्ता विभाजित हुँदा रहेछन् ।
० यहाँले प्रगतिशील संस्कृतिबारे लेख्ने मात्र हैन । व्यवहारमा पनि प्रगतिशील संस्कृति अपनाउनु भएको छ, हैन ?
–हो । सुरुमा ०४४ मा मेरो माहिलो दाजुको छोरीको विवाह गर्दा दान नलिने नदिने गरी प्रेम रिमालजीसित छोरीलाई टीका लगाएर पठाएका थियौं । मेरी छोरीको पालामा स्टाफ कलेजमा हल लिएर विदाई गराइयो । केटातिरबाट ५÷६ हजार, मेरो तर्फबाट ५÷६ हजार खर्च भयो होला । त्यो मेरो सांसद अवधि सकिएपछिको कुरा हो । ०६२÷०६३ को जनआन्दोलनका बेला मेरो कान्छो छोराको विवाह हुने भयो । त्यसबेला केटी पक्षले असजिलो मानेका थिए । तर त्यसलाई व्यवस्थापन गरियो । मृत्यु संस्कारका सन्दर्भमा पनि मैले परम्परागत काजक्रियालाई अपनाएन ।
० माओवादी केन्द्र कहिले र किन छाड्नु भयो ?
–मैले २०७२ मा माओवादी केन्द्र छाडे । पहिलो कुरा त राजनीतिक विचलनको कारण म माओवादी केन्द्र छाडे । उठाएको राजस्वले आन्तरिक खर्च चलाउन मुस्किल छ । सानो पुल बनाउन परे पनि विदेशीलाई गुहार्नुपर्छ तर कुरा गर्छन् समाजवादको ।
क्रान्तिकारी भूमि सुधार लागु गर्दैनन् । हलो कोदालो गर्नेको हातमा जमिन छैन, मन्दिर र गुठीको नाममा र सामन्तको नाममा जग्गा छ । राष्ट्रिय उत्पादन र श्रम प्रति कुनै नीति छैन । गत मंसिरमा विद्यार्थी छाडेर काम गर्न जाने मजदुर मात्र ८४ हजार २ सय नेपाली विदेश गए ।
२७ सय डाक्टर उत्पादन भएकोमा २३ सय भन्दा धेरै विदेश गएछन् जम्मा ३०० जति मात्र नेपालमा छन् । खर्बौंको व्यापार घाटा छ । नेताहरु देशलाई आत्मनिर्भर बनाउने योजनातिर नलागेर साम्राज्यवादको दलालीमा लागेका छन्, अनि समाजवादमा जाने भनेर जनतालाई आस्वासन दिन्छन् । यो जनताप्रतिको कति ठूलो धोका हो ? अर्कोे कुरा संस्कृति बदलिएर पूरै सामन्ती संस्कृति अपनाउने तिर उद्दत छन् । खानु होइन, “ज्यू नार गर्नुभयो” । प्रचण्ड आउनु भयो हैन, प्रचण्डको सवारी भयो । भाषा बदलिएको छ । कमसेकम कांग्रेसले ठूला ठूला फूलका माला लगाउँदैन थिए । माओवादी, कम्युनिस्ट भन्नेहरुले कांग्रेसलाई पनि त्यस्तो संस्कृति सिकाए । अनि त्यस्तो पार्टीमा बसिरहन सम्भव भएन ।
० यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने ?
–संसदीय व्यवस्थाबाट सबथोक हुन्छ भन्ने कम्युनिस्ट एक ठाउँमा होउन् । एमाले र माके एक हुने भएका थिए । नफुटेको भए हुन्थ्यो । यो व्यवस्थाबाट हुन्न भन्नेहरु अर्को ठाउँमा एकताबद्ध हुनुपर्दछ । क्रान्तिकारीहरु एक ठाउँमा हुनुपर्दछ । क्रान्तिकारी भन्नेहरु पनि फुटेरै हैरान भयो । मेरो विचारमा केही राजनीतिक उपलब्धि भएको छ । तर नयाँ जनवादी क्रान्ति भएकै छैन । जमिन ६३ प्रतिशत जनता जमिनमा आश्रित छ । नयाँ जनवाद भनेको सामन्तवाद र साम्राज्यवादका विरुद्धको कार्यक्रम हो ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबारे तपाईको विचार ?
–सहानुभूतिका हिसावले कुरा गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालप्रति मेरो सहानुभूति छ । म विमार हुँदा बैद्यजी भेट्न आउनु भएको थियो । बैद्यजी विमार हुँदा मैले पनि भेट्न गएको थिएँ । तुलनात्मक रुपमा राम्रो साथीहरु पनि यही पार्टीमा हुनुहुन्छ । उतापट्टि आहुतिजीले पनि पिँधमा परेका जनताका समस्या उठाउने कोशिश गर्दै हुनुहुन्छ । विप्लवले नेता, कार्यकर्तालाई श्रमसँग जोड्न खोज्नु भएको छ । प्रचण्डसँग नजिक हुन खोजेको देखिन्छ । उहाँ वैचारिक रुपले अलमल भएको देखिन्छ ।
० तपाईको संस्कृतिसित जोडिएका “उत्खनन” र “धर्म, समाज र संस्कृति” शीर्षकमा पुस्तकहरु प्रकाशित छन् । आगामी लेखन, प्रकाशनको योजना के छ ?
– मेरा लेखहरुलाई संकलन गर्दैछु । अर्को, एउटा तल्लो वर्गलाई आधार बनाएर उपन्यास तयार पार्ने सोचाईमा छु ।
० अन्त्यमा भन्नु पर्ने थप केही ?
– क्रान्तिकारीहरु एक ठाउँमा हुने प्रयास गर्नुपर्दछ । अहिले नै पार्टी एकता गर्न सम्भव नभए पनि त्यस दिशामा प्रयास गर्नुपर्दछ । कम्युनिष्टहरु जनताको सुखदुःखको साथी हुनुपर्नेमा सामन्त जस्ता भएर हिंडेका छन् । जनता सित जोडिने कार्यक्रम बनाउनु प¥यो । पार्टीको व्यानर ल्याएर यो खोला सफा गर्ने अभियान चलाउनु हुन्छ भने म पनि त्यहाँ आउँछु ।