जनयुद्ध दिवसको शुभकामना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३० औं जनयुद्ध दिवसको सन्दर्भमा एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको प्रेस वक्तव्यमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते सुरु गरिएको महान जनयुद्ध तीसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ । यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछ र क्रान्तिकारी जनताको त्याग, वीरता र बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दछ । साथै, यस अवसरमा हाम्रो पार्टी सहिद तथा वेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाइचारा कम्युनिस्ट पार्टीहरु तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ ।

अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक अवस्थामा रहेको नेपालमा आन्तरिक रुपमा सामन्तवाद एवम् दलाल तथा नोकरशाही पुँजीवाद र वाह्य रुपमा साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद एवम् साम्यवादको दिशामा अघि बढ्ने दृढ संकल्पका साथ आजको ठीक उनन्तीस वर्ष अघि उद्घोष गरिएको महान् जनयुद्ध छोटै अवधिमा सात डिभिजन जनमुक्ति सेनाको निर्माण गर्न र देशका ग्रामीण भूभागहरुमा आधार इलाका तथा जनसरकारहरुको स्थापना र रक्षागर्न सफल भएको थियो । त्यसले नेपालमात्र होइन विश्वभर क्रान्ति र परिवर्तनको नयाँ सन्देश प्रवाहित गरेको थियो भने विश्व साम्राज्यवादका लागि ठुलो चुनौती खडा गरेको थियो ।

तर, पार्टीभित्र मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलनका कारण अहिले नेपाली क्रान्तिले गंभीर धक्का खान पुगेको छ । हिजो जनयुद्धको नेतृत्व गर्ने प्रमुख नेता आज कम्युनिस्टको खोलमा साम्राज्यवाद तथा विस्तारवादको भरपर्दो दलाल बन्न गएका छन् । उनलाई प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाका विरुद्ध जनताले आवाज उठाउने हुन् कि भन्ने चिन्ता लाग्न थालेको छ भने अर्का नेता माक्र्सवाद नै असान्दर्भिक भयो भन्ने उत्तर–माक्र्सवादी निष्कर्षमा पुगेका छन् ।

जनयुद्धको जग र जनआन्दोलनको बलमा नेपाली जनताले प्राप्त गरेका सीमित लोकतान्त्रिक अधिकारहरु पनि क्रमशः खोसिंदै गएका छन् । देशमा आर्थिक सङ्कट गम्भीर बन्दै गएको छ र व्यापार घाटाले आकाश छोएको छ । भ्रष्टाचार, कालो बजारी, मिटर ब्याजी शोषण, सहकारी ठगी व्याप्त छ । आम बेरोजगारी तथा अनियन्त्रित महङ्गीका कारण श्रमजीवी मजदुर, किसान हातमुख जोड्ने समस्याले पीडित छन् । आत्मनिर्भरताको बाटो खोल्न राष्ट्रिय अर्थतन्त्रको जग बसाउनुको साटो शासकवर्गले वैदेशिक रोजगारीका नाममा युवाहरुलाई विक्रीगरेर त्यसबाट प्राप्तहुने विप्रेषणले नेपालको अर्थतन्त्र धानेकोमा “गौरव” गर्ने गरेका छन् । एमसीसी परियोजना सहित एसपीपी जस्तो अमेरिकी सैन्य गठबन्धनमा सहभागी भएर नेपालमा अमेरिकी सैन्यअखडा खडा गर्ने बाटो खोलिएको छ । भारत र चीनको सहमतिमा नेपाल सहितको त्रीदेशीय सिमानामा पर्ने लिपुलेक क्षेत्रमा सडक विस्तार गरिँदा पनि नेपाली शासकवर्गले सामान्य कूटनैतिक नोटसम्म नपठाउनु विडम्बनाको विषय हो । यसले नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा वैदेशिक शक्तिकेन्द्रका भरपर्दा मतियार बन्न गएको तथ्य पुष्टि गर्दछ । यसरी देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाको प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । यसले नेपालमा नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढनुको विकल्प नरहेको तथ्य स्पष्ट गर्दछ ।

सामाजिक क्रान्तिको प्रक्रिया सिधा हुँदैन, क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरु पार गर्दै अगाडि बढ्छ । नेपालमा क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत परिस्थितिका बीचमा हामीले तीनओटा क्रान्तिकारी पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीच एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरी क्रान्तिकारी कार्यदिशा पारित गरेका छौं । हाम्रो पार्टी नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक एवम् नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दै क्रान्तिको तयारीमा जुटेको छ । महान् जनयुद्धको तीसौं वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित