राजनीतिक प्रतिवेदन

(अन्तर्राष्ट्रिय परिस्थिति)
(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारित)

कमरेड प्रेसिडियम तथा समुपस्थित सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, अतिथि, जनस्वयंसेवक, कलाकर्मी, पत्रकार लगायतका कमरेड तथा मित्रहरूप्रति क्रान्तिकारी अभिवादन !
प्रतिक्रियावादी, संसदवादी तथा दक्षिणपन्थी संशोधनवादी शक्तिहरुको वर्चस्व रहेको र क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त तथा परिवर्तनकामी जनसमुदायद्वारा क्रान्तिको जोडदार अपेक्षा गरिएको वर्तमान राजनीतिक सन्दर्भमा हामी तीन पूर्व कम्युनिस्ट पार्टीहरू, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)का बीच एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । महाधिवेशनको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका लागि प्राणको आहुति दिने विभिन्न जनआन्दोलन, जनयुद्ध तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहका वीर अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ! महान जनयुद्धको प्रक्रियामा र विभिन्न जनआन्दोलनहरूमा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूप्रति क्रान्तिकारी सम्मान ! जनयुद्ध सहित विभिन्न आन्दोलनहरूमा घाइते तथा अपाङ्ग बनाइएका योद्धाहरूप्रति विशेष सम्मान ! सहिद परिवारजन तथा बेपत्ता योद्धा परिवारजन र राजबन्दीहरुप्रति विशेष हार्दिक अभिवादन !
प्रिय कमरेडहरू,
आज हाम्रा सामु देश र जनताको मुक्तिका लागि नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने महान ऐतिहासिक कार्यभार समुपस्थित भएको छ । यो कार्यभार पुरा गर्नका लागि सही क्रान्तिकारी विचारधारात्मक, राजनीतिक तथा सामरिक कार्यदिशा पारित गर्ने, त्यसको कार्यान्वयनका लागि सक्षम नेतृत्वको चयन गर्ने र पार्टी एकतालाई अझै सुदृढ तुल्याउने महान कार्यमा यो राष्ट्रिय एकता महाधिवेशन शानदार रूपमा सफल रहने छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
१. अन्तर्राष्ट्रिय परिस्थिति
१. आजको युग भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । आज एकातिर साम्राज्यवादले भूमण्डलीकरणको प्रक्रियालाई अत्यन्तै तीव्र गतिमा अगाडि बढाइरहेको छ भने अर्कोतिर समाजवादी राज्यसत्ता स्थापना भएको सोभियत संघमा प्रतिक्रान्ति भएपछि सामाजिक साम्राज्यवादमा परिणत भएको र त्यो नाम मात्रको सोभियत संघ पनि विघटित हुन पुगेको छ । यसरी आज सर्वहारा क्रान्ति र समाजवादमा गम्भीर धक्का लाग्न पुगेको छ । यो स्थितिको एउटा पाटो हो । परन्तु अर्कोतिर विश्व साम्राज्यवाद रूपमा बलियो देखिए पनि अत्यन्तै गहिरिँदै गएको मन्दी तथा आर्थिक संकट र विभिन्न आधारभूत अन्तर्विरोधहरू चर्किदै जानुको कारण सारमा क्षतविक्षत बन्दै गएको छ । त्यसैगरी विज्ञान तथा प्रविधिसहित उत्पादक शक्तिको तीव्र विकास हुँदै जानु, एक ध्रुवीय विश्व व्यवस्थाको स्थानमा बहुध्रुवीय विश्व व्यवस्था विकसित हुनु, साम्राज्यवादी मुलुकसहित विश्वका विभिन्न देशहरूमा वर्गसंघर्ष, राष्ट्रिय मुक्ति आन्दोलन तथा सशस्त्र संघषहरू विकासको प्रक्रियामा अगाडि बढ्नु र विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनता क्रियाशील रहनुको कारण सर्वहारा क्रान्ति बलियो बन्नका लागि आधारहरू तयार हुँदै गएका छन् । अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन गर्ने क्रममा हामीले उक्त विशेषताहरुबारे राम्रोसित अध्ययन गर्नु जरुरी छ ।
२. साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो । प्रथम विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धको अन्त्य हुँदै अहिलेसम्म आउँदा त्यसले पनि आफूलाई भिन्न भिन्न रुपमा पेशगर्दै आएको छ । सुरुदेखि प्रथम विश्वयुद्ध हुँदै दोस्रो विश्वयुद्धको एउटा प्रक्रियासम्म साम्राज्यवादको नाइके बेलायत थियो, परन्तु त्यसपश्चात त्यो ठाउँ संयुक्त राज्य अमेरिकाले लिन पुग्यो । दोस्रो विश्वयुद्धको अन्त्यसम्म आउँदा कैयौं देशहरुमा राष्ट्रिय स्वाधीनता तथा मुक्तिका आन्दोलनहरू विकसित तथा विजयी हुँदै गए । त्यो स्थितिमा साम्राज्यवादको प्रत्यक्ष औपनिवेशिक नीतिको अन्त्य भयो र त्यस ठाउँमा नव उपनिवेशवादको नीति अवलम्बन गरियो । दोस्रो विश्वयुद्धको अन्त्यदेखि अहिलेसम्म आउँदा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नवउदारवादको नीति तथा मान्यता अवलम्बन गरेर साम्राज्यवादले आफ्नो वर्चश्व स्थापित गर्दै आएको छ ।
३. नवउपनिवेशवाद अन्तर्गत साम्राज्यवादद्वारा प्रत्यक्ष राजनीतिक तथा सैन्य हस्तक्षेप नगरी, अविकसित मुलुकहरूमा प्रतिक्रियावादी शासकसित मिली, विभिन्न राजनीतिक, आर्थिक तथा सैनिक गठबन्धन तथा सम्झौताहरु गरी आर्थिक सहयोग, ऋण तथा अनुदान प्रदान गर्ने बहानामा आफ्नो उत्पीडन, शोषण तथा वर्चस्व कायम गरिन्छ । बाह्य रुपमा हेर्दा त्यस प्रकारका उत्पीडित मुलुकहरू स्वतन्त्र जस्ता देखिन्छन् । परन्तु आन्तरिक रुपमा ती साम्राज्यवादद्वारा पराधीन रहेका हुन्छन् । साम्राज्यवादले ती मुलुकहरूबाट विविध प्राकृतिक तथा अन्य स्रोत साधनहरू धन दौलत तथा जनताका रगत पसिना लुट्ने काम गर्दै आएको छ । कैयौं अर्थमा नव उपनिवेशवाद पुरानो उपनिवेशवाद भन्दा पनि घातक रहेको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर बेलायत तथा संयुक्त राज्य अमेरिकाको मिलेमतोमा निर्मित ब्रिटन उड्स सन्धि अन्तर्गत बनेका विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका आर्थिक संस्थान र त्यसै क्रममा विकसित बहुराष्ट्रिय कम्पनीहरुले नव उपनिवेशवादी उत्पीडनलाई बलियो बनाउँदै आएका छन् ।
४. सन् १९२९—१९३३ मा साम्राज्यवादी देशहरूमा उत्पन्न गम्भीर मन्दी तथा आर्थिक संकटको समाधानका लागि बेलायती पुँजीवादी अर्थशास्त्री किन्सद्वारा ल्याइएको निजी तथा राज्यको साझा स्वामित्वमा आधारित मिश्रित अर्थप्रणालीलाई द्वितीय विश्वयुद्ध यताको केही समयसम्म साम्राज्यवादले अवलम्बन गरे पनि बारम्बार प्रकट भइरहने आर्थिक संकटकोे स्थिति र सोभियत सङ्घको औपचारिक विघटन हुन गएको अवस्थामा अमेरिकाको नेतृत्वको साम्राज्यवादी शिविरद्वारा एकध्रुवीय विश्व व्यवस्थामा आधारित नव उदारवादको नीति अवलम्बन गरियो । यस प्रकारको नीतिलाई वासिङ्टन सहमति र संरचनागत समायोजनको कार्यक्रम अन्तर्गत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका आर्थिक संयन्त्र मार्फत सन् १९९० को दशक यता अगाडि बढाइयो । त्यसबेला साम्यवादको अन्त्य र पुँजीवाद चिरञ्जीवी भएको प्रचारबाजी सहित नवउदारवादी अर्थनीति निर्विकल्प भएको घोषणा समेत गरियो । साम्राज्यवादले अतिशय मुनाफाका लागि नवउदारवादी नीति तथा मान्यता अनुरूप त्यसका लागि विज्ञान प्रविधि र सूचना संचारको क्षेत्रमा भएको प्रगति तथा विकासलाई अधिकतम दुरुपयोग गर्दै आएको छ ।
५. भूमण्डलीकृत साम्राज्यवादको निर्माण एकाधिकारवाद, नवउपनिवेशवाद, वित्तीयकरण, नवउदारवाद र समग्र आर्थिक साधन स्रोत, प्रविधि तथा संयन्त्रहरूको भूमण्डलीकरण गरेर भएको छ । साम्राज्यवादी नवउदारवादले सार्वजनिक अर्थतन्त्रको विरोधमा निजी अर्थतन्त्रको पक्षपोषण गर्दछ र आर्थिक क्षेत्रमा राज्यको भूमिकालाई नकार्दछ । विदेश व्यापारका क्षेत्रमा यसले राज्यको नियन्त्रण अन्त्य गर्ने माग गर्दछ । यसले विदेशी वस्तु, पुँजी तथा सेवाको आयातमा निर्बाध छुट दिँदै स्वदेशी वस्तुको निर्यातमा नगण्य महत्व दिन्छ । स्वदेशी उद्योग र व्यवसायको विकास, कृषि क्षेत्रको विकासमा ऋण–अनुदान, सहयोग आदिको निषेध गर्दछ । यसले सस्तो मूल्यमा श्रमिकहरूको बेचबिखनमा जोड दिन्छ । अन्ततः नवउदारवादले राज्यको नियन्त्रण र पक्षमा रहिआएका आर्थिक नियम, ऐन कानुन आदिको खारेज गरी तिनलाई निजीकरण अनुरुप बनाउने धृष्टता गर्दछ ।
६. अति एकाधिकारवादी तथा अति केन्द्रिकृत, विकेन्द्रित उत्पादन र केन्द्रिकृत वितरण, उत्पादक शक्तिमा विज्ञान र प्रविधिको समायोजन, अर्थतन्त्रबाट निर्देशित राजनीति र निगम प्रणाली आजको विश्व अर्थव्यवस्थाका प्रमुख विशेषताहरु बन्न पुगेका छन् । यसले अन्ततः सर्वहारा क्रान्तिलाई नजिक्याइ रहेको छ ।
७. पुँजीवादको मुख्य विशेषता भनेको अतिरिक्त श्रमको शोषण गरेर अत्यधिक मुनाफा कमाउँदै जानु हो । यस निम्ति पुँजीवादले मुद्राबाट माल किनेर माललाई मुनाफा सहितको मुद्रामा बदल्ने काम गर्दछ । र त्यो काम अनन्त रुपमा अगाडि बढ्छ । तर यसैक्रममा पुँजीवाद गम्भीर आर्थिक संकटको चक्रब्यूहमा फस्तछ । एकातिर पुँजीवादका लागि मुनाफासहितको पुँजी पुनः लगानी गरी मुनाफा बढाउनुपर्ने आवश्यकता हुन्छ, परन्तु अर्कोतिर वित्तीय पुँजीवादमा विकसित भएको साम्राज्यवादले श्रम तथा उत्पादनमूलक होइन गैरउत्पादनमूलक क्षेत्रमा लगानी गर्न बाध्य हुनुपर्दछ र त्यहाँ सदैव मुनाफा सुनिश्चित हुन सक्दैन । यो पुँजीवादमा पैदा भएको लगानीको संकट हो । त्यसैगरी पुँजीवादका लागि एकातिर उत्पादित वस्तुको विक्री गर्न बजारको आवश्यकता पर्दछ, परन्तु अर्कोतिर त्यसका लागि बजारको अभाव हुँदै जान्छ । यस स्थितिमा त्यो अति उत्पादनको संकटमा पनि पर्दै जान्छ । यसरी हेर्दा पुँजीवाद कहिल्यै संकटमुक्त हुन सक्दैन ।
८. नवउदारवादी नीति अवलम्बन गरिए यता संयुक्त राज्य अमेरिकामा केही समयसम्म आर्थिक क्षेत्रमा केही सुधार त अवश्य भयो । थोरै पुँजीको लगानी गरिए पनि धेरै मुनाफा कमाउने स्थिति पैदा भयो । अमेरिकाको स्टक बजारको — वाल स्ट्रिटको महत्व बढ्न थाल्यो । २५ अरब डलरसम्म लगानी गर्ने कैयौं कम्पनीहरूले २५÷२६ गुना भन्दा बढी पुँजी बटुल्न थाले । परन्तु त्यो स्थिति टिक्न सकेन । विशालकाय वित्तीय संस्थाहरू धराशायी बन्दै गए । गम्भीर आर्थिक संकटको अवस्था पैदा भयो । त्यस प्रकारको संकटको सामना गर्नका लागि अमेरिकाले विभिन्न चरणमा ६००÷७०० अरब डलरसम्मको राहतकोष तयार पा¥यो र त्यसलाई बढाउँदै लग्यो । अर्थतन्त्रलाई राज्यबाट मुक्त बनाउन चाहने अमेरिकाले राज्यबाटै निजी क्षेत्रलाई राहत उद्धार गरेर बचाउने अवस्थामा पुग्नुप¥यो । यो नवउदारवादी खुला अर्थतन्त्र र संरक्षणवादका बीचको भयावह अन्तर्विरोधको अभिव्यक्ति हो ।
९. माओको निधन पश्चात चीनमा प्रतिक्रान्ति भई पुँजीवादको पुनस्र्थापना हुन पुग्यो । चीनले बजार समाजवाद, खुला अर्थतन्त्र र पुँजीवादी सम्पत्ति सञ्चयको प्रक्रियालाई अगाडि बढायो । विश्वमा साम्राज्यवादी नवउदारवादको लहर चलेपछि चीन त्यसै लहरको एक अङ्ग बन्न पुग्यो । त्यसै क्रममा चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकमा परिणत भयो । सोभियत संघको विघटन पश्चात् रुसी साम्राज्यवाद र चिनिया पुँजीवाद एउटै दिशामा आबद्ध हुन पुगे । त्यसै क्रममा उनीहरुद्वारा ब्रिक्स, सांघाई सहयोग समूह जस्ता साझा संगठन पनि बनाइए । यस स्थितिमा अमेरिकी नेतृत्वको एक ध्रुवीय विश्व व्यवस्थामा गम्भीर धक्का पुग्न गयो । र त्यसै क्रममा बहुध्रुवीय विश्व व्यवस्थाको उदय भयो ।
१०. सन् २०१९ नोभेम्बर १७ मा चीनको बुहानबाट सुरु भएको कोभिड–१९ महामारी विश्वभर फैलँदै गयो र त्यसबाट संकटग्रस्त बन्दै गएको विश्व अर्थतन्त्रमा झनै संकट थपियो । यस प्रकारको महामारीका धेरै कारण हुन सक्छन् र तीमध्ये एउटा प्रमुख कारण साम्राज्यवादीहरूद्वारा अतिशय मुनाफाका लागि गरिएको प्रकृति दोहनजन्य पर्यावरणीय समस्या तथा जलवायु परिवर्तन नै हो । कोभिड–१९ महामारीका कारण विश्वमै गम्भीर प्रकारको धनजनको क्षति हुन पुग्यो । यस प्रकारको महामारीको ठुलो आघात श्रमजीवी, निम्न पुँजीपति तथा मध्यम वर्गलाई नै पर्न गयो । विचित्र कुरा के छ भने यस प्रकारको महामारीको अवस्थामा पनि विश्वका कतिपय उच्च वर्गका मानिसहरूले विशाल मात्रामा धनसम्पत्ति बढाउने मौका पाए ।
११. माओको निधन पश्चात् चीनमा पुँजीवादको पुनस्र्थापना भयो । सन् १९७८ मा गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको एघारौं महाधिवेशन पश्चात् चीनमा अर्थतन्त्रको क्षेत्रमा सुधार र खुलापनको नीति लिइयो । समाजवादी अर्थव्यवस्था र बजार अर्थव्यवस्थाका बीच सन्तुलन कायम गर्ने भन्दै पुँजीवादको विकासका लागि बृहत रुपमा मार्ग प्रशस्त गरियो । १९८० मा चीन अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्वबैंकमा समावेश भयो र विदेशी पुँजी निवेशमाथि विशेष जोड दिँदै निजीकरण तथा उदारीकरणको प्रक्रियामा तीव्र गतिमा अगाडि बढ्ने काम भयो । चीनमा नोकरशाही तथा दलाल पुँजीपति वर्गको विकास हुँदै गयो । त्यसै क्रममा भूमण्डलीकरणको प्रक्रियामा प्रवेश गरी विश्व व्यापार संगठनको सदस्यता लिए पछि चीनले विदेशमा पुँजी निवेशको प्रक्रियालाई रफ्तारमा अगाडि बढाउँदै आएको छ । यसरी चीनमा एकाधिकार पुँजीवादको उत्पत्ति तथा विकास, वित्तपँुजीको प्रचुरता, पुँजी निर्यातमा तीव्रता जस्ता अभिलाक्षणिकता प्रकट भएका छन् । यसरी चीन एउटा विकसित एकाधिकार पुँजीवादी देश बनेको छ । अर्थतन्त्रको क्षेत्रमा चीन अमेरिकापछिको दोस्रो स्थानमा छ र त्यसले सैन्य क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । त्यसले विश्वका अविकसित मुलुकहरूमा सहायता, ऋण, अनुदानका माध्यमबाट नवऔपनिवेशिक उत्पीडनको प्रक्रियालाई पनि बढाइरहेको छ ।
यद्यपि चीनको संशोधनवादी पार्टीले आफूलाई कम्युनिस्ट पार्टी तथा मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद, माओ विचारधाराको आवरणमा पेश गर्दै र चिनिया विशेषता सहितको समाजवाद अवलम्बन गरेको भन्दै आएको छ । परन्तु सारतत्वमा त्यो भ्रमजाल बाहेक अरु केही होइन । लेनिनले के बताउनु भएको थियो भने माक्र्सवादको सैद्धान्तिक विजयका कारण त्यसका दुश्मनहरुले एकातिर माक्र्सवादको खास्टो ओढेर आफूलाई पेश गर्ने र अर्कोतिर नाममा समाजवाद तथा काममा साम्राज्यवाद अवलम्बन गरेर सामाजिक साम्राज्यवादमा गिर्ने काम गर्दछन् । लेनिनको यो सारगर्भित भनाइ निकै महत्वपूर्ण रहेको छ ।
दशकौंदेखि हिमाली उपमहाद्वीपमा भारतीय विस्तारवादको प्रभुत्व कायम रहिआएको छ । भारतलाई कतिपय सन्दर्भमा एकाधिकार पुँजीवाद भनेर उल्लेख पनि हुुने गरेको छ । वर्तमान सन्दर्भमा भारतमा एकाधिकार पुँजीको तीव्र विकास, विश्वका कैयौं देशहरूमा पुँजीको निर्यात र अन्तर्राष्ट्रिय व्यापार पनि अत्यधिक रुपमा बढ्दै गएको छ । अहिले भारत एकातिर अझै पनि मूलतः नवऔपनिवेशिक अवस्थामा रहेको छ भने अर्कोतिर दक्षिण एसियाका सन्दर्भमा विस्तारवादी रहेको छ ।
यी सबैको समग्रतामा अहिले पनि विश्वका विभिन्न मुलुकहरुमा सामाजिक क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनका लागि अमेरिकी साम्राज्यवाद नै एक नम्बरको प्रमुख दुश्मन हो र हामी यसप्रति विशेष सतर्क रहन जरुरी छ ।
१२. विश्वमा लामो समयदेखि तीन प्रकारका आधारभूत अन्तर्विरोधहरू क्रियाशील रहिआएका छन्, ती हुन् —साम्राज्यवाद तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूका बीचको आपसी अन्तर्विरोध, पुँजीवादी देशहरूभित्र पुँजीपति र सर्वहारा वर्गका बीचको अन्तर्विरोध, अनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू तथा जनताका बीचको अन्तर्विरोध । यी अन्तर्विरोधहरूमा आज पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू तथा जनताका बीचको अन्तर्विरोध नै विश्वको प्रधान अन्तर्विरोध रहेको छ । आज साम्राज्यवाद यस प्रकारका अन्तर्विरोधहरूमा उम्कनै नसक्ने गरी फस्दै आएको छ ।
१३. विभिन्न साम्राज्यवादी मुलुकहरू तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू आ–आफ्नो आर्थिक तथा राजनीतिक वर्चस्व स्थापित एवम् विस्तार गर्नका लागि विभिन्न प्रकारका सामरिक तथा आर्थिक गठबन्धन गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पहिलेदेखि नै बनेको नेटो त क्रियाशील छँदै छ । अहिले पनि अमेरिकाको नेतृत्वमा त्यस प्रकारका गठबन्धन बनिरहेका छन् । अमेरिकाले १ जुन २०१९ मा हिन्द प्रशान्त रणनीति सम्बन्धी अवधारणा अगाडि ल्याएको छ र त्यो चीनलाई घेराबन्दीमा पार्ने उद्देश्यमा आधारित रहेको छ । अमेरिकाको नेतृत्वमा सन २००७ मा संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलियालाई समावेस गरेर बनाइएको क्वाड (त्तगबमचष्बितभचब िक्भअगचष्तथ म्ष्बयिनगभ) मा २०१७ देखि भारत पनि थपिएको छ र त्यसको पहिलो शिखर सम्मेलन २०२१ मा भएको छ । पछि इजरायल, युएइ, भारत र संयुक्त राज्य अमेरिका सहित गरी क्वाड–२ बनाइएको छ । त्यस्तै अर्को सैन्य गठबन्धनका रुपमा २०२१मा अष्ट्रेलिया, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका मिलेर ओकस (ब्ग्प्ग्क्) बनाइएको छ । भर्खरै अमेरिका, जापान र दक्षिण कोरिया मिलेर क्याम्प डेभिड रक्षा सम्झौता गरिएको छ । आफ्ना विरुद्ध परिलक्षित यस सम्झौतालाई चीनले हिन्द प्रशान्त नेटो बनाउने उद्देश्यमा आधारित रहेको बताएको छ । यसरी नै ब्राजिल, रुस, भारत, चीन तथा दक्षिण अफ्रिका मिलेर बनाइएको ब्रिक्समा अहिले इथियोपिया, अर्जेन्टिना, साउदी अरब, इजिप्ट, युएइ गरी छवटा देश थपिएका छन्् र त्यसको नाम ब्रिक्स प्लस राखिएको छ । स्मरण रहोस् चीनको नेतृत्वमा बनेको उक्त गठबन्धन मूलतः आर्थिक प्रकारको रहेको छ ।
यसका साथै त्यस प्रकारका साम्राज्यवादी तथा शक्ति केन्द्रहरूले शस्त्रास्त्रको वृद्धि तथा विकासका क्षेत्रमा पनि ठुलाठुला कसरत गर्दै आएका छन् । पहिलो, २०२३मा विश्वको कूल सुरक्षा बजेट अघिल्लो सालभन्दा ९ प्रतिशतले बृद्धि भई २२ खर्ब अमेरिकी डलर पुगेको देखिन्छ । गत वर्ष सुरक्षा बजेटमा अत्यधिक खर्च गर्ने दश देशहरुमध्ये संयुक्त राज्य अमेरिकाले ८७६.९ अर्ब, चीनले २९२ अर्ब, रुसले ८६.४ अर्ब, भारतले ८१.४ अर्ब, साउदी अरवले ७५ अर्ब, बेलायतले ६८.५ अर्ब, जर्मनीले ५५.८ अर्ब, फ्रान्सले ५३.६ अर्ब, दक्षिण कोरिया ४६.४ अर्ब र जापानले ४६ अर्ब डलर बिन्यास गरेका थिए । यी दशओटा देशको जम्मा सुरक्षा बजेट विश्वको कूल सुरक्षा बजेटको ७६.४ प्रतिशत भन्दा पनि बढी हो । दोस्रो, तिनले सैन्य सामग्री, सैन्य प्रविधि र सैन्य उद्योगहरूको लगातार स्थापना र विकास गर्दै आएका छन् । तेस्रो, प्रमुख साम्राज्यवादी देशहरू र शक्तिकेन्द्र सित आणविक शस्त्रास्त्रका ठुला भण्डारहरू छन् । ती मध्ये रुस र अमेरिकासित मात्र ९० प्रतिशत आणविक शस्त्रास्त्र रहेका छन् । चौथो, सैन्य दृष्टिले अमेरिका अझै पनि विश्वको एक नम्बरको दादा हो र त्यसले १३० जति देशहरूमा ९०० जति सैन्य शिविर खडा गरेको छ ।
उक्त स्थितिबाट के निष्कर्ष निस्कन्छ भने (१) साम्राज्यवाद भनेको युद्ध हो भन्ने लेनिनको भनाइको थप पुष्टि हुँदै गएको छ । (२) साम्राज्यवादी युद्धको गम्भीर खतरा विद्यमान नै रहेको छ । (३) गैर–उत्पादनमूलक क्षेत्रमा अत्यधिक आर्थिक लगानीका कारण विश्व अर्थतन्त्र ध्वस्त हुने स्थिति छ । (४) अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको अनिवार्यता सिद्ध हुन्छ ।
१४. त्यसरी नै उक्त अन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा साम्राज्यवादी मुलुकहरूले विश्वमा आ–आफ्नो वर्चस्व स्थापित गर्न र फैलाउनका लागि विभिन्न प्रकारका रणनीतिक योजना पनि बनाउँदै आएका छन् । केही वर्ष पहिले अमेरिका प्रशान्त क्षेत्रीय रणनीतिमा केन्द्रित थियो भने पछिल्लो समयमा त्यो मूलत हिन्द प्रशान्त रणनीतिमा केन्द्रित बनेको छ । चीनले सन् २०१३ मा पुरानो सिल्क रोडको अवधारणा अनुरूप बेल्ट एन्ड रोड (द्यच्क्ष्)को अवधारणा प्रस्तुत गरेको छ र अहिले २०२३ जुनसम्म आउँदा द्यच्क्ष् मा १५० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु संलग्न भइसकेका छन् । अमेरिकाको हिन्द प्रशान्त रणनीति द्यच्क्ष् का विरुद्ध परिलक्षित रहेको कुरा स्पष्ट नै छ । यस अतिरिक्त चीनले वैश्विक सुरक्षा पहल कदमी (न्क्क्ष्) जस्ता परियोजना पनि अगाडि सार्देै आएको छ ।
१५. युक्रेनलाई समावेश गरी नेटोलाई विस्तार गर्दै रूसलाई कमजोर तुल्याउने अमेरिकी नीति तथा योजनाका विरुद्ध रुसले २०२२ फरवरी १४ मा युक्रेनमाथि फौजी हमला ग¥यो । बाह्य रुपमा हेर्दा यो युद्ध रुस र युक्रेनका बीचमा भएको जस्तो देखिए पनि सारमा यसले अन्तर–साम्राज्यवादी युद्धको आभास दिन्छ । यस युद्धमा अमेरिका सहित नेटोमा आबद्ध मुलुकहरुले युक्रेनलाई फौजी तथा आर्थिक रुपमा भारी सहयोग गरेका छन् र रुस पनि विभिन्न पक्षको समर्थन जुटाउँदै यस युद्धलाई लम्ब्याउँदै जाने पक्षमा रहेको छ । यो युद्ध कति लम्बिने हो भन्नेबारे अमेरिकी नीतिमा पनि भर पर्दछ ।
२०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि हमला गरिए पछि त्यसको प्रतिउत्तरमा इजरायलले प्रतिरक्षात्मक मात्र होइन अत्यन्तै निर्मम र क्रुर ढंगले गाजा क्षेत्रमा हवाइ र स्थलगत फौजी हमला गर्दै आएको छ । कतारको पहलमा चार दिने युद्धविराम पश्चात् युद्ध फेरि सुरु भएको छ र इजरायलले अस्पताल, बालबालिका, शिक्षक तथा सर्वसाधारण जनतामाथि अन्धाधुन्द गोली बर्साउँदै भीषण नरसंहार मच्चाउँदै आएको छ । यस युद्धमा अमेरिका इजराइलको पक्षमा खुलेरै लागेको छ भने रुस–चीनको प्यालेस्टाइनप्रति थोरै समर्थन जस्तै देखिन्छ । कैयौं अरब मुलुकहरुले पनि प्यालेस्टाइनप्रति सहानुभूति दर्शाउँदै आएका छन् । राष्ट्रसङ्घमा प्रस्तुत गरिएको युद्धविरामको प्रस्तावका विरुद्ध भिटो प्रयोग गरेर अमेरिकी साम्राज्यवादले आफ्नो असली अनुहार देखाएको छ । आज एकातिर गाजा क्षेत्रमा इजरायली भीषण नरसंहारको अभियान जारी छ भने अर्कोतिर इजराययले लेबनानमा पनि आक्रमण तथा नर संहारको प्रक्रिया अगाडि बढाएको छ । इजरायल र इरान बीच क्षेप्याश्त्र हमलाको प्रक्रिया पनि बढदै गएको छ । इजरायली विस्तारवादले सिरिया लगायतका देशहरुमा समेत आक्रमण गर्न थालेपछि खाडी क्षेत्रमा क्षेत्रीय युद्धको खतरा प्रवल बन्न थालेको देखिन्छ ।
उक्त युद्धहरुको कारण विश्वयुद्ध भड्किने संभावना बढेर गएको छ । तेस्रो विश्वयुद्ध भडकिएको स्थितिमा हामीले युद्धको विरोध र क्रान्तिको पक्षमा आवश्यक तयारीका लागि यथेष्ट ध्यान दिन र सतर्क रहन जरुरी छ ।
१६. सामान्यतः साम्राज्यवादी तथा शक्ति राष्ट्रहरूका बीच विशेषतः अमेरिका र चीनका बीच आ–आफ्नो आर्थिक तथा राजनीतिक प्रभुत्वका लागि लामो समयदेखि व्यापार युद्ध चल्दै आएको छ । यो युद्ध सामान्य प्रकारको व्यापार युद्ध मात्र नभई साइबर सुरक्षा, चिपवार सहित समग्र प्राविधिक, आर्थिक तथा सामरिक पक्षसित पनि जोडिएको छ । अमेरिकाले चीनमाथि आफै र अन्य मुलुकहरुबाट पनि प्राविधिक प्रतिबन्ध लगाई चीनलाई कमजोर तुल्याउने प्रयत्न गर्दै आए पनि अमेरिका त्यसमा असफल बन्दै आएको छ र चीनले आफ्नै पहलमा चीप उत्पादन सहित प्रविधि उद्योगको विकासमा सफलता प्राप्त गर्दै जान थालेको देखिन्छ । तर, यतिले व्यापार युद्ध तथा प्राविधिक नाकाबन्दी रोकिने तत्काल कुनै सम्भावना देखिँदैन । यस प्रकारको व्यापार युद्ध र नाकाबन्दीको शिकार उत्तर कोरिया, क्युबा, इरान लगायतका देश हुँदै आएका छन् ।
१७. विश्वमा लामो समयदेखि साम्राज्यवादी नवउदारवाद र उत्पीडित राष्ट्रहरू तथा जनताका बीचको अन्तर्विरोध चर्किँदै आएको छ । एकातिर साम्राज्यवादी नवउदारवादले अविकसित मुलुकहरूमा प्राकृतिक स्रोत साधन तथा सम्पदाहरू लुट्ने, सस्तो श्रम बजारमा प्रभुत्व स्थापित गर्ने, वैदेशिक सहायता ऋण तथा लगानीलाई निहु बनाई उत्पीडन तथा दोहनको प्रक्रियालाई तीव्र तुल्याउँदै लगेको छ भने अर्कोतिर त्यस प्रकारका साम्राज्यवादी गतिविधिका विरुद्ध एसिया, अफ्रिका तथा दक्षिण अमेरिकाका उत्पीडित राष्ट्रहरू तथा जनताले सशक्त संघर्ष गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा यस प्रकारका संघर्षहरू अझ प्रभावकारी ढंगले विकसित हुँदै गएका छन् । ठिक यहीनेर विशेष दृष्टि दिनुपर्ने विषय के छ भने उक्त अविकसित मुलुकहरूका दलाल नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय शासकहरुले जनताले चलाउँदै आएका त्यस प्रकारका संघर्षहरूका विरुद्ध साम्राज्यवादलाई निर्लज्ज रुपमा सहयोग पु¥याउँदै आएका छन् ।
१७ सन् २०२० को सेप्टेम्बरमा भारत सरकारद्वारा नवउदारवादी नीति अन्तर्गत बहुराष्ट्रिय कम्पनीहरूको हितमा ल्याइएका तीनवटा कृषि विधेयकहरूका विरुद्ध उत्तरप्रदेश, पन्जाब, हरियाणा लगायतका प्रदेशहरू र अन्य संगठन समेत गरी दुई दर्जन जति किसान संगठनहरूका बीच संयुक्त मोर्चा बनाई झन्डै वर्ष दिनभरि सशक्त रुपमा आन्दोलन सञ्चालन गरियो । यस आन्दोलनमा भाकपा (माओवादी) सहित कम्युनिस्ट संगठनहरूको पनि समर्थन थियो । यो आन्दोलनको परिणामस्वरूप मोदी सरकार आन्दोलनकारीहरूका आंशिक माग स्वीकार गरी सम्झौता गर्न बाध्य भयो ।
सुरुदेखि नै नवउदारवादी आर्थिक नीति स्वीकार गर्दै गएको श्रीलंकामा एकातिर बेरोजगारी बढ्दै गयो भने अर्कोतिर लाखौं युवाहरू विदेशिन बाध्य भए । बजारहरू बहुराष्ट्रिय कम्पनीहरूका सामानले भरिँदै गए र राष्ट्रिय उद्योगधन्दाहरूमा गम्भीर खतरा पैदा भयो । खाद्यान्न, औषधि, पेट्रोल–इन्धन आदिको अभाव, मुद्रास्फीति आदिका कारण गम्भीर संकट पैदा हुँदै गयो । यस स्थितिमा विद्यार्थी, मजदुर, न्यूनवैतनिक कर्मचारीद्वारा सशक्त प्रकारको आन्दोलन चलाइयो र त्यो जनसागरका रुपमा उर्लियो । अन्ततः जनताले २०८० को जुलाईमा पाँच दिनसम्म राष्ट्रपति भवन कब्जा गरे । त्यसरी उत्कर्षमा पुगेको जनविद्रोहको दमन गर्न सेना मैदानमा आएन । राष्ट्रपतिले पदबाट राजीनामा दिई देशबाट पलायन भएपछि जनविद्रोह मत्थर हुँदै गयो ।
त्यसैगरी करिब एक वर्ष पश्चात २०८१ जेठमा बाङ्ग्लादेशमा स्वतन्त्रता सेनानीका सन्तानलाई निजामति सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने उच्च अदालतको निर्णयका विरुद्ध ६१ दिनसम्म चलेको विद्यार्थी आन्दोलन सरकारको कडा दमनको सामना गर्दै सशक्त रुपमा विकसित हुँदै गयो र अन्ततः ढाकास्थित प्रधानमन्त्री हसिनाको निवाश आन्दोलनकारीहरुले आफ्नो कब्जामा लिए । १५ वर्षदेखि शासन सत्ता सम्हाल्दै आएकी प्रधानमन्त्री हसिना सेनाको असहयोग समेतका कारण सत्ताच्युत भई भागेर भारतको शरणमा जानुप¥यो । यो जनविद्रोह एक उल्लेखनीय परिघटना हो । .
दक्षिण अमेरिका विभिन्न साम्राज्यवादी मुलुकहरू मुख्यतः अमेरिकी साम्राज्यवादको उत्पीडनको केन्द्र रहिआएकोमा दोस्रो विश्वयुद्ध पश्चात् समाजवादी क्युवाको उदय र १९९० को दशकमा ह्युगो चाभेजको नेतृत्वमा भेनेजुएलाको जुझारु उपस्थितिका कारण त्यस क्षेत्रमा विभिन्न देशहरु अमेरिकी साम्राज्यवादका विरुद्ध संघर्ष गर्दै आएका छन् । अमेरिकाले दक्षिण अमेरिकाका विभिन्न देशहरुमा वामपन्थी पहिचानमा बनेका सरकारहरूलाई ढाल्ने र आफ्ना कठपुतलीहरुलाई सरकारमा ल्याउने कसरत गर्दै आएको छ । यस प्रकारका देशहरुमा निकारागुवा, बोलिभिया, कोलम्बिया, इक्वेडर, पेरु, ब्राजिल आदि देश पर्दछन् ।
दोस्रो विश्वयुद्ध पश्चात् ठाडो उपनिवेशबाट मुक्त हुँदै आएका अफ्रिकी देशहरू लगत्तै नव उपनिवेशवादको साङ्लोमा बेरिन पुगे । यसैबेला घानाका एन क्रुमाले नवउपनिवेशवादी नीतिको कडा आलोचना गरे । त्यो बेला सञ्चालित मुक्ति संघर्षहरूलाई अमेरिकाले आतंकवादको आरोप लगाउँदै आफ्नो प्रभुत्वका लागि आधार तयार पार्दै लग्यो । त्यसै क्रममा त्यहाँ नवउदारवादको प्रवेश भयो । जिम्बाब्वे, दक्षिण अफ्रिका लगायतका देशहरुमा साम्राज्यवादका विरुद्ध संघर्ष चले र अहिले पनि संघर्ष चल्दै आएका छन् ।
१९. साम्राज्यवादी पुँजीवादी देशहरूभित्र पनि पुँजीपति र मजदुर वर्गका बीच अन्तर्विरोधहरू चर्किँदै गएका छन् । मजदुर वर्गले उत्पीडनका विरुद्ध संघर्षलाई विकसित तुल्याउँदै लगेका छन् । यस्ता संघर्ष बढ्दो महङ्गी, मूल्यवृद्धि, बेरोजगारी, मुद्रास्थिति, भ्रष्टाचार र तलब, पेन्सन तथा सुविधा कटौती जस्ता विषयमा आधारित रहिआएका छन् । गत समयमा इन्धनमा कर वृद्धिको समस्यालाई लिएर फ्रान्समा ठुलो आन्दोलन चल्यो । त्यसपश्चात् विभिन्न विषयलाई लिएर अहिलेसम्म पनि फ्रान्समा मजदुर आन्दोलन चल्दै आएको छ । साथै, यस प्रकारका आन्दोलनहरू बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा लगातार विकसित हुँदै गएका छन् ।
२०१९ को अमेरिकाको मिनेसोटा राज्यको एउटा सहरमा पुलिसद्वारा हिरासतमा लिइएका एकजना अमेरिकी अश्वेत नागरिकको हत्या गरिएकोमा त्यसका विरुद्ध सशक्त विद्रोहको ज्वाला उत्पीडित मजदुरहरूको समर्थन सहित देशव्यापी रुपमा फैलियो । त्यस विद्रोहले ूद्यबिअप ीष्खभक ःबततभचू का रूपमा इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, ग्रिस, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा लगायतका विकसित देशहरूका साथै अविकसित देशहरूमा पनि ठुलै तरङ्ग ल्यायो ।
त्यति मात्र होइन, नवउदारवादी साम्राज्यवादी मुलुकहरू आपूm भन्दा कमजोर पुँजीवादी देशहरुमा पनि आफ्नो उत्पीडन तथा वर्चस्व कायम गर्न लागिपर्दै आएका छन् । यस सन्दर्भमा ग्रिसको संकट विशेष उल्लेखनीय रहेको छ । संयुक्त राज्य अमेरिका सहित युरोपका ठुला पुँजीवादी मुलुकहरु पनि आर्थिक संकटमा परेको बेला ५ जुलाई २०१५ मा देशको उद्धारका लागि अन्तर्राष्ट्रिय मुद्राकोष, युरोपियन युनियन र युरोपियन केन्द्रीय बैंकद्वारा थोपरिएका कडा सर्तहरूलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा जनमत संग्रह गरियो र जनमत संग्रहमा त्यस प्रकारका सर्त स्वीकार गरिनु हुँदैन भन्ने पक्षमा भारी मतदान भयो । यो साम्राज्यवादी नवउदारवादका विरुद्धको जनमत थियो र त्यस प्रकारको जितको खुसियालीमा ग्रिसमा ठुलाठुला ¥यालीहरु भए । त्यति मात्र होइन, त्यसको पक्षमा युरोप तथा विश्वकै जनताको जोडदार समर्थन रह्यो । यद्यपि पछि गएर ग्रिसका विरुद्ध साम्राज्यवादीहरुले ठुलै षडयन्त्र गर्दै गए । तर पनि जनताको त्यो अभिमत एक विशेष ऐतिहासिक परिघटना नै थियो ।
२०. विश्वका विभिन्न देशहरूमा राष्ट्रिय मुक्ति, नयाँ जनवादी र समाजवादी आन्दोलन आ–आफ्ना विशिष्टतामा सञ्चालित तथा विकसित हुँदै आएका छन् । एसिया, अफ्रिका र दक्षिण अमेरिका अहिले पनि राष्ट्रिय मुक्ति आन्दोलन तथा जनवादी क्रान्तिका गढ रहिआएका छन् । भारत, फिलिपिन्स, टर्की, पेरु लगायतका देशहरु नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा जानका लागि जनयुद्धमा संलग्न रहिआएका छन् । भाकपा (माओवादी) द्वारा प्रतिक्रियावादी शक्ति एवम् मोदी सरकारको ग्रीनहन्ट, समाधान, कगर लगायत विभिन्न फौजी अपरेसन तथा दमन अभियानको सशक्त प्रतिरोध गर्दै अगाडि बढ्ने काम भएको छ । फिलिपिन्समा पनि जनयुद्धका बीचबाट अस्थायी आधार इलाका तथा स्थानीय जनसत्ता निर्माण गर्ने काम भएका छन् । यसका साथै साम्राज्यवादी तथा पुँजीवादी देशहरूमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरूद्वारा समाजवादी क्रान्ति तथा सर्वहारावादी आन्दोलनको तयारी तथा सञ्चालनका प्रयत्नहरू भइरहेका छन् । यस अतिरिक्त केही समय यता विश्वव्यापी रुपमा नै गरिबी, बेरोजगारी, मूल्यवृद्धि सहित साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजीवाद र सबैखाले प्रतिक्रियावादद्वारा हुँदै आएका शोषण, दमन तथा उत्पीडनका विरुद्ध शृंखलाबद्ध तथा विस्फोटक रुपमा विकसित हुँदै आएका छन् । आज पनि विश्वमा क्रान्तिका लागि प्रमुख खतरा अमेरिकी साम्राज्यवाद नै हो । तर यसको अर्थ साम्राज्यवादको अर्को कित्ताको पक्षमा उभिनुपर्छ भन्ने होइन । हामीले एकातिर साम्राज्यवादीहरूका बीचको अन्तर्विरोधबाट फाइदा उठाउने र अर्कोतिर आन्दोलनलाई स्वतन्त्र ढंगले संचालित गर्ने कुरामा विशेष जोड दिनु पर्दछ ।
२१. साम्राज्यवादीहरुद्वारा हुँदै आएको प्रकृतिको अत्यधिक दोहन तथा हरित गृह ग्यासको उत्सर्जनका कारण विश्वको औसत तापमानमा अत्यधिक वृद्धि हुँदै आएको छ र फलत विश्व पर्यावरण तथा जलवायु परिवर्तनको समस्या अति विकराल बन्न गएको छ । सन् २०२३ को वर्ष विश्वकै औसत तापक्रम १७.०८ डिग्री सेल्सियस सम्म पुगेको छ र गतवर्षको तुलनामा १.१५ डिग्री सेल्सियसले बढेको छ । सन् २०१५ को पेरिस सम्झौता अनुसार विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा झार्ने भनिएकोमा त्यसलाई पटक्कै ध्यान दिएको छैन ।
वैज्ञानिकहरूका अनुसार स्थिति निकै गम्भीर छ र यही नै स्थिति रहिरहने हो भने सन् २०५० सम्म नपुग्दै पृथ्वीको औसत तापक्रम २ डिग्री देखि २.४ डिग्री पुग्नेछ । यसरी पृथ्वीको समस्त जैवजीवन सहित मानवजाति नै महाविनाश तर्फ धकेलिने स्थिति पैदा हुँदै गएको अवस्थामा २०२३ नोभेम्बर ३ देखि दिसेम्बर १२ सम्म युएइमा सम्पन्न कोप–२८को सम्मेलनमा कार्बन उत्सर्जनबाट पीडित मुलुकहरुलाई घाटा एवं क्षतिपूर्तिका लागि कोष स्थापना, जीवाश्म इन्धनको प्रतिस्थापन, नवीकरणीय तथा संक्रमणकालीन ऊर्जाको प्रयोग, कार्बन उत्सर्जन न्यूनीकरण, १.५ डिग्री सेल्सियसमा ताप्रक्रमको स्थिरीकरण जस्ता विषयमा सहमति कायम गरिएको छ । तर, तिनको कार्यान्वयनमा भने पहिले झैं अहिले पनि विश्वास गर्न सकिँदैन ।
२२. वर्तमान विश्वमा विचारधारात्मक तथा सांस्कृतिक क्षेत्रमा साम्राज्यवाद र सर्वहारा वर्गका बीच भीषण संघर्षचल्दै आएको छ । सोभियत सङ्घको विघटन पश्चात् साम्राज्यवादीहरुले एकातिर विचारधाराको अन्त्य, इतिहास तथा साम्यवादको अन्त्य भन्दै नवउदारवादलाई चिरञ्जीवी देखाउने दुस्साहस गरिरहेका छन् भने अर्कोतिर उनीहरू मरणशील तथा अवैज्ञानिक विचारधाराको पक्षमा उभिएका छन् । शून्यवाद, निराशावाद, बहुलवाद, प्रत्यक्षवाद, विसङ्गटनवाद, अतर्कबुद्धिवाद, धार्मिक रहस्यवाद, उपभोक्तावाद आदिलाई विशेष महत्व दिने उत्तर–आधुनिकतावादी विचारधारालाई अवलम्बन गरेर विचारधारात्मक क्षेत्रमा भीषण संकटमा फसिरहेका छन् । अर्कोतिर सर्वहारावादी विचारधारा यस प्रकारको साम्राज्यवादी विचारधाराका विरुद्ध माक्र्सवाद–लेनिनवाद– माओवादका रुपमा विकसित हुँदै, विज्ञानको विकासलाई आधार बनाउँदै र क्रान्तिकारी आशावादले ओतप्रोत रहँदै सशक्त ढंगले समृद्ध बनिरहेको छ । साथै आज कुन कुरामा पनि ध्यान दिन जरुरी छ भने विचारधारात्मक क्षेत्रमा संशोधनवादले माक्र्सवादको तोडमरोड तथा भ्रष्टीकरण गर्दै बहुलवाद, वर्गसमन्वयवाद, सारसङ्ग्र्रहवाद आदि मान्यतालाई अवलम्बन गरेर साम्राज्यवादलाई साथ दिँदै आएको छ र यो पुँजीवादी विचारधाराको रुपमा नाङ्गिँदै गएको छ । यो स्थितिमा आज विचारधारात्मक क्षेत्रमा विश्व सर्वहारा वर्ग साम्राज्यवादका साथै संशोधनवादका विरुद्ध समेत भीषण संघर्ष गर्दै अनेकौं आरोह अवरोहका बीचबाट सामाजिक क्रान्तिको महान प्रक्रियामा दृडतापूर्वक अगाडि बढिरहेको छ ।
२३. विश्वमा शक्ति केन्द्रहरुका बीचको ध्रुवीकरणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । अमेरिकी नेतृत्वको नेटो र त्यससँग सम्बन्धित देशहरुका बीचको गठबन्धन कमजोर बन्दै अमेरिकी ध्रुव रक्षात्मक र चीन तथा रुस लगायतका देशहरुको नेतृत्वमा निर्मित ब्रिक्स क्रमशः बलियो र आक्रामक बन्दै गएको छ । नेटोमा रहेका टर्की लगायतका देशहरुले ब्रिक्सको सदस्यताका लागि आवेदन दिएका छन् । युरोपियन युनियन भित्र आपसी दरार बढदै गएको छ । अमेरिकाले चिनीया सामानमाथि १०० प्रतिशतसम्म भन्सार महसुल बढाउने धम्की दिइरहेका बेला चीनले सेलफोनदेखि फाइटरजेटसम्मका उपकरणहरुका लागि चिप निर्माणगर्न प्रयोगहुने दुर्लभ धातुहरुको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । विश्व बजारमा डलरको आधिपत्य तोड्न ब्रिक्स राष्ट्रहरुले अलग मुद्रा प्रयोगमा ल्याउने र अमेरिकी योजनामा चल्ने अन्तर्राष्ट्रिय मुद्राकोषलाई बहिष्कार गर्नेसम्मका कुराहरु अगाडि बढाइरहेका छन् । यहाँसम्म कि दोस्रो विश्वयुद्ध पछि अमेरिकी ध्रुवमा रहेको देश जापानले समेत विश्व बजारमा डलरको विकल्प खोज्न थालेको छ । ब्रिक्सले विश्व बैङ्कलाई प्रतिस्थापन गर्न नयाँ विकास बैङ्कको स्थापना गरिसकेको छ । विश्व बजारमा एकाधिकार कायम गर्दै आएको अमेरिका पछिल्लो चरणमा आर्थिक संरक्षणवादको पक्षमा गएको छ भने चीन नवउदारवादको रक्षक भएर खडा भएको छ । यसरी विश्वको शक्ति सन्तुलन अमेरिकाबाट चीनतिर सर्दै गएको कुरा प्रस्ट हुन्छ ।
२४. अहिले क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको देखिन्छ, जस्तै ः
० साम्राज्यवादले संकटबाट मुक्त हुनका लागि भूमण्डलीकरणको प्रक्रिया अन्तर्गत उदारीकरण तथा निजीकरणको नीति अवलम्बन गरे पनि त्यसले त्यस प्रकारको गम्भीर आर्थिक संकट समाधान गर्न सकेको छैन र सक्ने स्थिति पनि छैन ।
० अति उत्पादन, बजारको कमी, जनताको क्रयशक्तिको अभाव जस्ता समस्या त छँदैछन् । तिनमा पनि अझै बढेर उत्पादन तथा श्रमबाट कटेको वित्तीय पुँजी साम्राज्यवादी संकटको प्रमुख कारण बन्दै गएको छ । त्यसैको परिणाम आर्थिक वृद्धिमा सुस्तता आएको छ र भविष्यमा पनि त्यसको निरन्तरता रहिनै रहनेछ । यसबाट पैदा हुने गम्भीर आर्थिक संकटको समाधान साम्राज्यवादसित छैन ।
० वर्तमान विश्वमा चर्कँदै गएका आधारभूत अन्तर्विरोधहरूको भुमरीमा साम्राज्यवाद उम्कनै नसक्ने गरी फस्दै आएको छ ।
० विश्व तापक्रमको वृद्धि र बढ्दै गएको पर्यावरणीय प्रदूषणजन्य संकटबाट साम्राज्यवाद घेरिएको छ ।
हामीले साम्राज्यवादको उक्त अवस्थालाई आत्मसात गर्दै जान जरुरी छ ।
२५. क्रान्तिका लागि अहिले आत्मगत स्थिति मूलत यसप्रकार छ ।
० क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन रिम -RIM) स्वतः विघटित हुन पुगेको छ । यसो हुनुमा मुख्यतः सो आन्दोलनको कार्यकारी समितिमा रहेका पूर्व नेकपा माओवादीको नेतृत्वमा पैदा भएको नव संशोधनवाद र संयुक्त राज्य अमेरिकाको कम्युनिस्ट पार्टीमा देखिएका गम्भीर सैद्धान्तिक तथा राजनीतिक विचलन जिम्मेवार रहेका छन् । अहिले क्रान्तिकारी कम्युनिस्टहरूको कुनै एकीकृत अन्तर्राष्ट्रिय केन्द्र छैन ।
० हालै विश्वका १४ वटा देशका १५ वटा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टी तथा संगठनहरू मिलेर अन्तर्राष्ट्रिय कम्युनिस्ट लिग गठन गरिएको छ । तर त्यसमा विद्यमान संकीर्णतावादी चिन्तनका कारण त्यसले सबैलाई समेटी अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको स्थान लिन सक्ने स्थिति र सम्भावना देखिँदैन । अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्र्चस्व छ र त्यसलाई अझै परास्त गर्न सकिएको छैन ।
० विश्वका विभिन्न देशका कान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरूद्वारा अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्र निर्माण गर्नका लागि गरिएका पहल अझै अपर्याप्त रहेका छन् ।
यसरी हेर्दा क्रान्तिका लागि कम्युनिस्टहरूको आत्मगत स्थिति अझै पनि प्रतिकूल नै रहेको देखिन्छ ।
२६. यो बेला विश्व परिस्थितिका सन्दर्भमा मूलत तीन प्रकारका सम्भावना देखिन्छन् । ती हुन् ः यथास्थितिमा निरन्तरता, तेस्रो विश्वयुद्ध र क्रान्ति । अहिले वर्तमान विश्वमा यथास्थितिको निरन्तरता अझै जारी रहने प्रबल सम्भावना देखिन्छ । यो स्थिति र चक्र निरन्तर जारी रहेमा विश्व सर्वहारा वर्ग र जनताका लागि अत्यन्तै पट्यारलाग्दो कष्टकर अवस्था हुनेछ । यो बेला विश्वमा अन्तर साम्राज्यवादी अन्तर्विरोध अझै प्रधान बनेको छैन र त्यो बनेमा तेस्रो विश्वयुद्ध भड्किन पनि सक्दछ । त्यसो हुन गए मानव जातिकै संहार हुने स्थिति पैदा हुन सक्दछ र त्यो विकल्प अत्यन्तै खतरायुक्त छ । तेस्रो विकल्प भनेको युद्धका विरुद्ध क्रान्ति नै हो । अहिले पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू तथा जनताका बीचको अन्तर्विरोध नै विश्वको प्रधान अन्तर्विरोध रहिआएको छ र त्यसैले अहिलेको मूल प्रवृत्ति क्रान्ति नै हो । र हामी यही तेस्रो विकल्पको पक्षमा उभिन जरुरी छ ।
२७. अब हामीले समग्र अन्तर्राष्ट्रिय परिस्थितिका सन्दर्भमा निम्न विषयमा विशेष जोड दिन जरुरी छ ः
पहिलो, माक्र्सवाद–लेनिनवाद–माओवाद र क्रान्तिकारी राजनीतिक तथा सामरिक कार्यदिशाका आधारमा सम्भव सबै क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरुलाई एकताबद्ध गरी सर्वप्रथम फोरमका रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्र निर्माण गरेर जानुपर्दछ ।
दोस्रो, साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्ने र त्यसलाई बलियो बनाउँदै जाने प्रयत्न गर्नुपर्दछ ।
तेस्रो, दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक संघर्षलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्दछ ।
चौथो, आफ्नै देशमा क्रान्तिको तयारीमा लाग्ने र सर्वहारा अन्तर्राष्ट्रियतावादको सेवामा संलग्न रहने कामलाई विशेष महत्व दिनुपर्दछ ।
क्रमशः

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित