१५६ औं लेनिन दिवस र ७७ औं पार्टी स्थापना दिवस सम्पन्न

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ७७ औं नेकपा स्थापना तथा १५६औं लेनिन दिवश देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । यसै सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं व्यूरोको आयोजनामा ललितपुरको कुपण्डोलमा एक समारोहको आयोजना गरी लेनिन दिवस र पार्टी स्थापना दिवस मनाइएको छ ।
नेकपा स्थापना तथा लेनिन दिवस कार्यक्रममा नेपालको क्रान्तिकारी आन्दोलनमा अनवरतरुपमा आफ्नो जीवन व्यतित गर्नु हुने ज्येष्ठ कम्युनिष्ट सदस्यहरुको सम्मान पनि गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबहाक महासचिव गौरवको प्रमुख आतिथ्यता तथा पोलिटव्यूरो सदस्य तथा व्यूरो सचिव चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरु स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल, ९ नं व्यूरो इन्चार्ज तथा पिविएम दिनेश शर्मा सागर, पोलिटव्यूरो सदस्य तथा जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, केन्द्रीय सल्लाहकार समितिका संयोजक गोविन्द बहादुर थापा,सल्लाहकार समितिका सदस्यहरु,केन्द्रीय समितिका सदस्यहरु तथा सम्मानित हुनुहुने जेष्ठ सदस्यहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काठमाण्डौ जिल्ला सचिव केदार खतिवडाको संचालन र कृष्ण भक्त महर्जनको स्वागतबाट अगाडि बढेको थियो । क्रान्तिकारी नेता लेनिनको तस्विरमा माल्यार्पण पश्चात अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि कार्यबहाक महासचिव गौरवले नेपाल तथा विश्वकै क्रान्तिकारी आन्दोलनको अवस्था अत्यन्तै नाजुक रहेको कुरा औंल्याउँदै क्रान्तिकारीहरु निरन्तर रुपमा संघर्षमा डटिरहनु पर्ने कुरामा जोड दिनुभयो । वहाँले नेपालमा तीन प्रकारका राजनीतिक शक्तिहरु प्रतिगामी, यथास्थितिवादी तथा परिवर्तनकारी शक्तिहरु रहेको बताउनु भयो र भन्नुभयो, “परिवर्तनकारी शक्तिहरु क्रान्तिकारी आन्दोलनमा अगाडि आउनु पर्ने समय आएको छ ।” त्यसको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कम्युनिष्ट क्रान्तिकारी आन्दोलनमा प्रतिबद्ध रही आजीवन योगदान पु¥याउनु हुने जेष्ठ सदस्यहरु गोविन्दबहादुर थापा, कृष्णप्रसाद शर्मा, गोर्की श्रेष्ठ, शालिकराम भण्डारी ,ध्रुव प्रसाद रुपाखेती ,सूर्या थापा,पृथ्वी कार्की, कुमार थापा, अपत्य शर्मा, मोदनाथ मरहठ्ठा, विष्ण्ुाराम रञ्जित, सुमित्रा न्यौपाने,जयनारायण दाहाल,भरत लामिछाने, इश्वर सायमी, सुकुमाया शेर्पा, विजयरत्न वज्राचार्य,रेवती र कमल चौधरी सहित १९ जना सम्मानित हुनु भएको छ । उहाँहरुलाई प्रमुख अतिथि सहित अतिथिहरुले दोसल्ला ओढाइ तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा अतिथिहरुले नेपालको कम्युनिष्ट आन्दोलन,विश्वको कम्युनिष्ट आन्दोलनबाट लिनु पर्ने पाठहरु लिँदै विश्वको क्रान्तिकारी आन्दोलन अगाडि बढेकाले नेपालको क्रान्तिकारी आन्दोलनलाई पनि अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
जनसम्बन्ध विस्तार अभियानको ४ वटै टोलीले लेनिन दिवस र पार्टी स्थापना दिवस मनाएको छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले नेतृत्व गरेको टोली नं. १ ले पर्साको रंगपुर, मनवा, वनिहामा कोणसभा गर्ने क्रममा लेनिन दिवस र पार्टी स्थापना दिवस मनाएको छ । स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले नेतृत्व गर्नु भएको टोली नं. २ ले दोलखाको मालु भन्ने ठाउँमा उक्त दिवस मनाएको छ । स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गरेको टोली नं. ३ ले पार्टीको ७ नं. व्यूरोको कार्यालय कास्कीको पोखरामा प्रशिक्षणमूलक कार्यक्रम सहित दिवस मनाएको छ । स्थायी समिति ससदस्य हेमन्त प्रकाश ओलीले नेतृत्व गरेको टोली नम्बर ४ ले नवलपुरमा पार्टी स्थापना दिवस र लेनिन दिवस मनाएको छ ।
यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले २०८२ वैशाख ९ गते लेनिन दिवस र नेकपाको स्थापनाको ७७ औं स्थापना दिवसको अवसरमा क्रान्तिकारी योद्दा क्रान्तिकारी जनता र अन्तर्राष्ट्रि भाइचारा पार्टीहरु सहित विश्व सर्वहारा वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ “आज २०८२ साल वैशाख ९, तदनुसार २२ अप्रिल २०२५, एउटा ऐतिहासिक महत्वको दिन हो । आजको ठीक ७७ वर्ष पहिले, लेनिनको ८०औं जन्मदिवस (२२ अप्रिल १९४९) का दिन कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यसरी आजको दिनले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा समेत विशेष महत्व राख्दछ । यस ऐतिहासिक अवसरमा हामी सम्पूर्ण पार्टी पंक्ति, सहिद, घाइते तथा बेपत्ता योद्धा, क्रान्तिकारी जनता र अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु सहित विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गर्दछौं ।
आज नेपाली कम्युनिस्ट आन्दोलन ७७ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा एकता–सङ्घर्ष र रुपान्तरणको प्रक्रियाबाट नयाँ आधारमा उच्चस्तरको एकता वा फुटका विभिन्न श्रृङ्खलाहरु पार गर्दै नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ । यस बीचमा नेपालमा जनआन्दोलन, जनयुद्ध तथा विभिन्न प्रकारका जन सङ्घर्षहरु भएका छन् । सात डिभिजन जनमुक्ति सेनाको निर्माण र विशाल ग्रामीण इलाकाहरुमा जनसत्ताको अभ्यास पनि भएको छ । तर, ती सबै आज इतिहासका विषय बनेका छन् । दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडनबाट मुक्त हुने नेपाली जनताको सपना पुरा भएको छैन । यतिबेला प्रतिक्रान्ति हावी भएको छ । दक्षिणपन्थी संशोधनवाद नेपाली क्रान्तिको प्रमुख बाधक रहँदै आएको छ ।
नेपाली संसदमा कम्युनिस्ट नामका दक्षिणपन्थी अवसरवादीहरुको बहुमत रहँदै आएको छ । कहिले एकल त कहिले गठबन्धन गरी कथित कम्युनिस्ट पार्टीहरुले धेरै पटक नेपाल सरकारको नेतृत्व गरेका छन् । तर विडम्बना ठुला–ठुला राष्ट्रघात र जनघात तिनीहरुकै नेतृत्व वा सहयोगमा भएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई व्याख्यात्मक घोषणाको नाटक गरी संसदबाट अनुमोदन गराइएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भूभागमा भएको भारतीय अतिक्रमणका विरुद्ध अहिलेसम्म कुनै पनि सरकारले एक शव्द बोलेको छैन । जनयुद्धको जग र जनआन्दोलनका बलमा प्राप्त जनताका सिमित जनतान्त्रिक अधिकारहरु पनि क्रमशः खोसिँदै गएका छन् । देशमा भ्रष्टाचारले सीमा नाघेको छ, बेरोजगारी व्याप्त छ, महङ्गी आकाशिएको छ, आर्थिक सङ्कट गहिरिँदै गएको छ र देश युवा विहीन भएको छ । संसदवादी पार्टीका नेताहरु साम्राज्यवाद तथा विस्तारवादका दलालमा परिणत भएका छन् । घोषित पुँजीवादी पाटीहरुले मात्र होइन, कथित कम्युनिस्ट पार्टीहरुले समेत नवउदारवादको सिरानी हालेर नेपालको अर्थतन्त्रलाई साम्राज्यवादको पोल्टामा सुम्पिएका छन् । सिमित दलालहरु मोटाइरहेका छन्, देश दिन प्रतिदिन कङ्गाल र पराधीन हुँदै गएको छ । यो नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्थाको चरित्र र संसदवादी पार्टीहरु असफल हुनुको परिणाम हो ।
सत्ता, व्यवस्था र संसदवादी पार्टीहरु असफल भएपछि नेपाली जनताले राजनीतिक विकल्प खोजिरहेको आजको सङ्कटपूर्ण अवस्थामा प्रतिगामी शक्तिहरुले जनतालाई भ्रम दिई टाउको उठाउने कोशिस गरेका छन् । तर, यो उनीहरुको दिवास्वप्ना मात्र हो । इतिहासको पाङ्ग्रा सधैं अगाडि बढ्छ, पछाडि कहिल्यै फर्कंदैन । यो इतिहासको नियम हो । विद्यमान सङ्कटपूर्ण स्थितिको समाधान प्रतिगमन वा यथास्थिति दुवै होइन, अग्रगमन तथा आमूल परिवर्तन हो; अर्थात् सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । यसका लागि प्रतिगामीहरुको उक्साहट र यथास्थितिवादीहरुले छरेको भ्रमबाट मुक्त भई अगाडि बढ्नु अहिलेको अनिवार्य आवश्यकता हो । यस प्रकारको अग्रगमनको नेतृत्व अरु कुनै पार्टीबाट संभव छैन; माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा निर्देशित सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ ।
पार्टी स्थापना दिवसको विशेष सन्दर्भमा हाम्रो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनमा गहिरो गरी जरा गाडेर बसेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम विचारधारात्मक तथा राजनैतिक सङ्घर्ष चलाई त्यसलाई परास्त गर्न, सच्चा कम्युनिस्टअरु एकताबद्ध भई बलियो केन्द्र निर्माण गर्न र नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गरी वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडि बढन हार्दिक आह्वान गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित