१३६ औं मई दिवसको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको शुभकामना सन्देश

काठमाडौं । १३६ औं मई दिवसको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसारभरिका श्रमजीवि वर्ग तथा उत्पीडित जनसमुदायलाई शुभकामना व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले २०८२ वैशाख १८ गते प्रेस वक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

“आज मई १, २०२५, तदनुसार वैशाख १८, २०८२ अन्तर्राष्ट्रिय श्रमजीवि वर्गको ऐतिहासिक पर्व हो । आठ घण्टा श्रमको माग पुरा गराउन सफल अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनको संस्मरणमा १८९० को मई १ देखि अन्तर्राष्ट्रिय मजदुर दिवश मनाउन सुरु गरिएको हो । मई दिवशको १३६ औं वर्ष प्रवेशको यस अवसरमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संसारभरिका श्रमजीवि वर्ग तथा उत्पीडित जनसमुदायमा लाल अभिवादन गर्दछ ।
साम्राज्यवादी विश्व व्यवस्था बहुआयामिक संकटको प्रक्रियावाट गुज्रिरहेको बेलामा विश्व सर्वहारा वर्ग यस वर्षको मई दिवस मनाउन आज सडकमा छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको १४५ प्रतिशत भन्सार शुल्क वृद्धिको घोषणाले संयुक्त राज्य अमेरिका तथा चीनका बीचको व्यापार युद्ध उत्कर्षतिर गएको सन्दर्भमा अमेरिकासँग आर्थिक संझौता नगर्न चीनले दिएको दवावका कारण कतिपय पुँजीवादी देशहरु समेत यसको चेपुवामा परेका छन् । यसले विश्वभरि अर्थतन्त्रमा गंभीर हलचल पैदा गरेको छ । उत्पीडन, गरिबी र बेरोजगारी व्यापक बन्दै गएका छन् । मुख्यतः गत ८० को दशकदेखि मुठीभर खर्बपतिहरुको सम्पत्ति ज्यामितीय अनुपातले बढ्दै गएको छ भने श्रमजीवी जनताहरु झनझन तल झर्दै जाने क्रम तीव्र छ । यसलाई आंकडामा हेर्दा विश्वको आधा सम्पत्ति १ प्रतिशत धनाढ्यहरुको हातमा छ । सबैभन्दा माथिका १० प्रतिशतले ८५ प्रतिशत सम्पत्ति कब्जा गरेका छन् र पिंधमा परेका ९० प्रतिशत जनतासँग जम्मा १५ प्रतिशत मात्र सम्पत्ति छ । जनताको क्रयशक्ति गिर्दे गएका कारण पुँजीवादी बजारमा उत्पादित माल बिक्रिहुन छाडेका छन् । विश्व साम्राज्यवाद गंभीर आर्थिक संकटमा फस्दै गएको छ ।

यो आर्थिक संकटको भारी उत्पीडित देशहरु तथा श्रमजीवी जनताको थाप्लोमा बिसाएर आफ्नो संकट टार्न साम्राज्यवादी लुटेराहरुका लागि विश्वको पुनर्विभाजन आवश्यक छ । उनीहरुले विश्वमा आफ्नो वर्चस्व कायम गरी अल्पविकसित देशहरुको साधनस्रोत माथि कब्जा जमाउन लामो समयदेखि युद्धको तयारी गर्दै आएका छन् । अमेरिका, चीन, रुस लगायतका विकसित पुँजीवादी देशहरुले वर्षेनी सैन्य बजेटमा गर्दै आएको चर्को वृद्धि यसैको परिणाम हो । युक्रेन युद्ध, प्यालेस्ताइन माथिको इजरायली नरसंहार, लेबनान तथा सिरिया माथिको साम्राज्यवादी अतिक्रमण, दक्षिण चीन सागर क्षेत्रमा विद्यमान तनाव र उत्पीडित देशहरुमाथिको साम्राज्यवादी हस्तक्षेप सबै विश्व विभाजनका पूर्वाभ्यासहरु हुन् । वैश्विक आर्थिक संकटले विश्वको पुनर्विभाजनका लागि युद्धको माग गर्दछ, त्यसकारण साम्राज्यवाद भनेको युद्ध हो भन्ने लेनिनको भनाइ अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको छ । यो समग्र स्थितिका कारण अन्तर–साम्राज्यवादी अन्तर्विरोध मात्र होइन, उत्पीडित राष्ट्र तथा जनता र साम्राज्यवादका बीचको अन्तर्विरोध पनि चर्किंदै गएको छ । वर्तमान विश्वमा संंसदीय व्यवस्थाका कथित प्रजातान्त्रिक मान्यताहरु समेतलाई लत्याएर शासकहरु फासीवादको सहारा लिन पुगेका छन् । यो समग्र स्थितिले विश्वलाई तेस्रो विश्वयुद्ध तिर धकेलिरहेको छ ।

विश्व साम्राज्यवादको एउटा हिस्सा हुनाले हाम्रो देश पनि वैश्विक संकटको प्रभावबाट अछुतो छैन । यतिबेला नेपालमा सत्ता, व्यवस्था र संसदवादी पार्टीहरु सबै संकटमा छन् । आफ्नो अस्तित्व रक्षाका लागि सरकारले फासीवादलाई आफ्नो सहारा बनाएको छ । नेपाली जनताले राजनीतिक विकल्प खोजेको स्थितिबाट फाइदा उठाउन पश्चगामी शक्तिहरु जुर्मुराउन थालेका छन् । देश संकटमा छ र आउने दिनमा यो संकट थप गंभीर बन्ने कुरा निश्चित छ । विद्यमान संकटको समाधान अग्रगमन हो, पश्चगमन वा यथास्थिति दुवै होइन भन्ने कुरा इतिहास सिद्ध छ ।

विश्वभरि देखापरेको वर्तमान संकटको समाधान साम्राज्यवादी विश्व व्यवस्थामा गरिने आंशिक सुधार होइन । सर्वहारा क्रान्ति यसको एकमात्र समाधान हो । वैश्विक संकटको समाधानका लागि होस् वा आफ्नै देशका लागि मात्र किन नहोस् यतिबेला क्रान्तिकारी शक्तिहरुका बीचको एकता सधैभन्दा बढी टडकारो आवश्यकता बन्न गएको छ । संभावित विश्वयुद्धलाई रोक्न र साम्राज्यवादी विश्व व्यवस्थालाई पराजित गरी वैज्ञानिक समाजवादको स्थापना तर्फको मार्ग प्रशस्तगर्न माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक आधारमा सच्चा क्रान्तिकारीहरुका बीचको सिद्धान्तनिष्ठ सांगठनिक एकता, विश्व साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावादका विरुद्ध बलियो संयुक्त मोर्चा र साझा सवालमा मिल्न सकिने हदसम्म पार्टी, समुह तथा व्यक्तित्वहरुसँग कार्यगत एकता अहिलेको अनिवार्य आवश्यकता हो । यस वर्षको मई दिवशले यही आवश्यकता पुरागर्ने तर्फ विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायलाई सन्देश देओस् यही हाम्रो शुभकामना ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित