मनु वि.क.
हाम्रो घरमा आमा बुबाले हामीलाई जहिल्यै कहिल्यै चोर्नु हुँदैन भनेर सिकाउनु हुन्थ्यो । हाम्रो घरमा हाम्रो आमा बुबाको हामी आठ जना छोराछोरी छौं । बुबाको २०७९ सालमा असामयिक निधन भयो । अहिले आमा हुनुहुन्छ । बाआमाले हामी केटाकेटी छँदा हामी केटाकेटीहरुलाई सँधै निकै महान कुरा सुनाउनु हुन्थ्यो । कसैको केही चोर्नु हुँदैन । कसैले चोरेमा पनि आफू त्यसमा सहभागी हुँनु हुँदैन । भनेर निकै सुनाउनु हुन्थ्यो । आमाबाले हामी केटाकेटी हुँदा सुनाएका कुरा अहिले निकै सम्झना आइरहेको छ । हाम्रो बाले पढ्न त जान्नु भएको थियो तर आमाले अक्षर चिन्नु भएको थिएन । बाले पढ्न जाने पनि किताबको पहुँच र अरु थुप्रै कुराहरुले पढ्ने संस्कृति थिएन । आमाले अक्षर सम्म चिन्न पाउनु भएको थिएन । तर हाम्रो बा आमाले भने जीवन भोगाइबाट नै धेरै कुरा सिक्नु भएको रहेछ भन्ने आज लाग्छ ।
आमा र बाले हामी केटाकेटीहरुलाई सँधै सिकाउने कुरा भनेको कसैको केही नचोर्नु है । गाउँमा चोर्नु त के हुने थियो र ? घाँस काट्न जाँदा साँध मिचेर घाँस काट्ने, कसैको फलफूल नदेख्नेगरी टिपेर खाने त्यस्तै त हुन्थियो केटाकेटीमा । कतिपय कुराहरु त कसैले काक्रा,चोरेको,सुन्तला उखु चोरको कथा जस्तै घटनाहरु आमा बाले सुनाउनु हुन्थ्यो । फलाना फलानाले यसरी चोरेको रे काक्रा,सुन्तला,उखुु भन्ने जस्ता कुराहरु सुनाउँदा हामी कथा जस्तै मानेर सुनिरहन्थ्यौं । यस्तो कथा यात आमाले भन्नु हुन्थ्यो यात बाले । आमाबा दुवैले एकले भन्दा अर्कोले सुन्ने गर्नुहुन्थ्यो हामीहरु निकै ध्यानपूर्वक सुन्थ्यौं । सियो चोर्नेले फाली चोर्छ , फाली चोर्नेले घर फोर्छ । आमाको दूध चुसेर भएन भने बाको घुँडा चुसेर हुँदैन, यस्तै उखान हाल्दै आमाबाले हामी केटाकेटीलाई चोर्न हुँदैन भनेर सिकाएको निकै महान काम रहेछ भन्ने लाग्छ । बा आमाले हामीलाई चोर्न हुँदैन भनेर सिकाउने मात्रै होइन । कही कतै भेट्टाएको सामान पनि कसको हो भनेर सोधेर खोजेर जसको हो उसैलाई दिनु पर्छ भन्दै सिकाउनु हुन्छ । आमा बाको कुरा सुनेर हामी केटाकोटीहरुले चोर्ने कुराबाट निकै सतर्क भइन्थ्यो र कसैको सामान बाटो घाटोमा भेट्टाएमा पनि दिनु भनेर सिकाउनु हुन्थ्यो । एक दिन आमाले एउटा कथा भन्नु भयो । एक जनाले हिँड्दै जाँदा महिलाहरुले लगाउने सुनको सौभाग्य बाटोमा भेटाएछन् । त्यो सौभाग्यलाई उसले घरमा ल्याएछ । उसको बा आमाले त्यो सौभाग्य जसको हो उसकै जिम्मा लगाउनु भन्दै आफ्नो बच्चालाई अह्राएछन् । अनि बच्चा,आमा बा भएर भेट्टाएको सौभाग्य देखाउँदै हिँडेछन् अनि जसको हो उसले थाहा पाएछन् । उसले मेरो हो भन्न आएछन् । उनीहरुले त्यो सौभाग्य दिएछन् ।जसले हराएको सौभाग्य पाए उनीहरु निकै खुशी भएछन् ।उनीहरुलाई समाजमा निकै पत्याउन थालेछन् । आमाले यो कुरा गर्दा हामी निकै ध्यान दिएर सुनेका थियौं । यस्तो कुरा सुनेर हाम्रो बाल दिमागमा निकै सचेतता भरेको जस्तो लाग्छ । जसको हराएको हो उसले पाएको भनेको सुन्दा मनमा निकै खुशी लागेको थियो ।
आमा बाले दिएको यो शिक्षा जीवनभरलाई निकै मूल्यवान बनेको छ ।“सियो चोर्नेले फाली चोर्छ , फाली चोर्नेले घर फोर्छ” भनेको मुटुभरी गडेर बसेको छ । कति राम्रो उखान समाजमा विकास भएको छ । सानो समान सियो,जमिन फोर्ने फाली, सियो भन्दा ठूलो,सानो सियो चोर्नेले अलिठूलो फाली चोर्छ, अलि ठूलो फाली चोर्नेले घर फोर्छ । घर फोर्ने भनेको घरको चाबी फुटाएर अर्काको घरको सामान निकाल्ने,महत्वपूर्ण कुराहरु निकाल्ने भनेको होला भनेर उतिबेला लाग्दथ्यो । केटाकेटी हुँदा आमा बाले भनेको कुरा निकै मूल्यवान भएर बसेको छ दिमागमा । आमा बाले हामी सानो छँदा केटाकेटी हुँदा भनेका कुराहरु आजभोलि मेरो मनमा निकै आइरहेको छ । आजभोलि जेनजी आन्दोलनको नाममा भएको आन्दोलनको क्रममा भएको लुटपाटमा संलग्न भएको देख्दा सानो छँदा आमा बाले भनेको कुरा दिमागभरि भएको छ । आन्दोलनका बेला सबै उमेर समुहका जसो चोरी र लुटपाटमा संलग्न भएको देखियो । लुटपाटमा संलग्न भएको देखेर मलाइ सानो हुँदा आमा बाले जसरी सम्झाएका होलान् त्यसरी नै घर,समाज,स्कूलमा जताततै सम्झाउने बुझाउने पक्कै भएकै थियो होला तर सबै कुरा किन सम्झिएन ? सबैले मौका पाउँदा बित्तिकै सबै समानहरु लुट्न अगाडि किन सरे संलग्नहरु ? बच्चाहरुले लगेका हुन् भनेर छुट दिन मनले मानिरहेको छैन । परिपक्वहरुले लगेका हुन् भन्दा आन्दोलनमा संलग्न भनिएको छ काँधमा, हातमा देशको झण्डा बोकेर, ओढेर माल सामान चोरी भएको छ, लुटपाट गरिएको छ । चोरी भएका सामान फिर्ता गर्न भनेर राष्ट्रपति कार्यालयदेखि अख्तियार अनुसन्धान आयोगले समेत विज्ञप्ति निकालेको छ ।
देशमा भएको आन्दोलनको देश विदेश चर्चा छ , सकरात्मक नकरात्मक चर्चा चलिरहेको अवस्थामा जेनजीहरुले चोरीमा संलग्न भएको विषयको पनि चर्चा भएको छ । संसारले नेपालीहरुलाई के भनेर बुझेका होलान् ?नेपालको झण्डा ओढेर चोरीमा सलग्न भएकाहरु अर्थात नेपालीहरु भनेर नै ससारले बुझेको होला । सरकार त फेरिएको छ । सरकार फेरे पनि चोरीमा संलग्नहरुको सरकार त होनि भनेर बुझेका होलान् जस्तो भइरहेको छ । आन्दोलनको क्रममा भदौ २३ गते गोली लागेर मरेकाहरु र घाइते भएकाहरु बाहेक भदौ २४ गते मरेकाहरु कति त आफै आगो लगाउन जाँदा मरेका छन् । अहिले पनि ११ जनाको पहिचान नै हुन सकेको छैन । को म¥यो घरका मान्छेहरु आएका होलान् खोजी भएको होला , तर किन पहचिान हुन नसकेको होला ? भाटभाटेनी सुपरस्टोरमा मरेकाहरु के ज्यान जोगाउन सुपरस्टोर छिरेका हुन् त ?
आन्दोलनले गति लिँदै जाँदा हडताल हुन्छ, तोडफोड हुँदा सामानहरु केही टुट्ने फुट्ने कुरा सामान्य नै हुन्छ । तर पूराका पूरा सामान चोरी गरेर लैजाने, पुरै ओसार्ने अनि आगो लगाइदिएर हिँड्ने यो गतिविधि देख्दा त साह्रै असैह्य हुन्छ । नेपालीमा एक उखान छ बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने पीर। अहिले यस्तो भयो यो आन्दोलन २०८१ साल चैत्र १५ गते पनि यस्तै भएको थियो । लुटपाट गर्ने आगजनी गर्ने । अहिले गर्नेहरुले पछि पनि नगर्लान भन्ने के विश्वास ? आन्दोलनमा विद्यार्थीहरु मरे त्यो निकै क्षतिको कुरा भयो । मृत्युको क्षतिलाई कुनै अवस्थामा पनि पूरा गर्न सकिँदैन ।
विद्यार्थीहरुलाई ड्रेस मै बोलाएर आन्दोलनमा संलग्न गराएर विद्यार्थीहरुलाई मराएर यो अवस्था देख्दा यो पनि के आन्दोलन होला भन्ने सबैलाई भएको छ । आन्दोलनमा देश जलेको छ ,नेताका घरहरु जलेको छ । जलेको त जल्यो चोरी गरेर लगिएको छ । आमाले भनेको कुरा बाले हामीलाई सिकाएको कुरा एक छ “आमाको दूध चुसेर भएन भनेर बाको घुँडा चुसेर हुँदैन ।”भन्ने यो आफ्नो कमाइले गरेर खाएर नभएर चोरेर खाएको लाएकाले के पुग्छ ? पुग्ला एक दुइ दिन, एक दुइ महिना तर यो कुनै राम्रो होइन। जो जसले चोरेका छन् जो जसले लुटेका छन् उनीहरुलाई देशको,समाजको चिन्ता भएर त्यसो गरेका हुन् भन्न सकिँदैन । उनीहरुलाई आफ्नै श्रम,आफ्नै कमाइमा विश्वास छैन, आफू नै कमाउन र रमाउन सक्छु भन्ने कुरामा कुनै विश्वास नभएर नै चोरिएको होला । आफ्नो पसिना यही पोखाएमा आफू बाँच्न सक्ने खुवी प्रकृतिले दिएको छ , काम गर्ने हात खुट्टा छन् भनेर आफूमा रहेको भित्री खुबी चिनेको भएमा सायद आन्दोलनकारीहरुले चोर्ने थिएनन् कि ! घरमा केही नपुगेर ,खाने कुराको अभाव,दुःख,पीडा वा गरिबी भएर चोरेको , लुटपाट गरेको जस्तो पनि लाग्दैन । लुटपाटमा संलग्नहरुले हात हातमा राम्रा मोबाइल बोकेका छन् । राम्रो मोबाइलमा भिडियो खिचेर सामाजिक संजालमा पोष्ट्याएका छन् । बाइकमा सवारी साधनमा हिँडेका छन् । कतिपयले घाँटीमा सुनको सिक्री लगाएका छन् । तिनीहरुलाई अभाव,गरिबी होला भन्ने पनि देखिँदैन ।
देशको झण्डा ओढेर देश आगो लगाउन हिँड्ने, देशमा लुट्न हिँड्ने गरेको कुराले विश्वमा नेपालीहरुलाई कुन रुपमा हेरिएको होला ? नेपालीहरु जो श्रम बजारमा आफ्नो श्रम बेच्न पुगेका छन् । उनीहरुप्रति त्यहाँ कस्तो व्यवहार गरिएको होला ? विश्वको श्रम बजारमा कतिपय देशले लैजान रोक्का पनि गरेका छन् । यो रोक्का कहिले फुक्का होला ? यसरी रोक्नु केवल नेपालमा कैदीहरु भागेका आउँछन् भनेर मात्रै होइन । कैदीहरु जो भागेका छन् तिनीहरु पनि निकै प्रकृया पुरा गरेर मात्रै विदेश श्रम बजारमा आउन पाउने हुन् भन्ने कुरा जुन जुन देशले प्रतिबन्ध लगाएका छन् उनीहरुलाई थाहा नभएर होइन । भारत बाहेक तेस्रो मुलुक जान उसको पासपोर्ट तयार हुनु प¥यो । उसले श्रम लगायतका प्रक्रिया पूरा गर्नु प¥यो । जेलबाट निस्कने बित्तिकै उ सिधै विदेश श्रम बजारमा पुग्ने त होइन नि, तर कैयौं देशमा जान प्रतिबन्ध लाग्यो । जेलबाट भागेका कैदीहरु फेरि जेलमा फर्किएका पनि छन् । नफर्किएकाहरुलाई पनि फर्काउने पहल राज्यले गर्दैछ ।
विश्वको श्रम बजारमा नलगे पनि नेपाल मै दुःख गरेर त बसौंला तर नेपालीप्रति हेर्ने दृष्टिकोण राम्रो बनेन भन्ने कुरा देखिएको छ । चोरी गर्ने संस्कार कै रुप लिने जस्तो भएको छ । २०८१ चैत्र १५ गते पनि त्यसरी नै लुटिएको चोरिएको थियो ।फेरी भदौ २४ गते पनि त्यस्तै दोहोरियो ,ठूलो मात्रामा ,देश भरि नै । अब फेरी त्यस्तै हुने हो कि भन्ने चिन्ता उद्योगी, व्यवसायीहरुमा भएको छ । कता कता त हैन हाम्रो शिक्षाले के सिकायो ? हाम्रो समाजले नयाँ पुस्ता भविष्यका कर्णधारहरुलाई के सिकायो ? नेपालको नयाँ पुस्ताले के सिक्दै छन् । नेताको आगो लागेको घरमा पनि केही बाँकी छ कि भन्दै खरानी उठाउन र टकटक्याउन समेत मानिसहरु गए । हाम्रो धार्मिक शिक्षा,सामाजिक,नैतिक शिक्षाले के सिकायो । आखिर दोष केमा छ ? त्यसको विषयमा गम्भीर भएर सोच्नु पर्ने आवश्यकता छ ।
“एक चोटीको चोर सँधैको चोर,त्यही भएर चोर्दै नचोर” भनेर गाउँमा कुराहरु पनि हुने गर्दथे । अहिले जेनजी आन्दोलन पछि त्यस्तै भएको छ । जेनजी आन्दोलन पछि चोरेका सामानहरु कता गए होलान् ? कसले किन लगेका होलान् भनेर जो जसको सामान लुटिएको थियो उनीहरुले सोधी खोजी गरिरहेका छन् । आन्दोलनको माग भ्रष्टाचार विरोधी थियो । भ्रष्टाचार रोक्न भनेर आयोजना गरिएको भनिएको आन्दोलनमा चोरी, लुटपाट र आगजनी हुनु आश्चर्यको कुरा छ ।देशलाई राम्रो बाटोतिर हिँड्न, हिँडाउन लागेको भनेर आन्दोलन गर्नेहरुले चोरेका ,लुटपाट गरेका छन् । राजनीति त एक दिनलाई एक छिनलाई होइन । सही राजनीति त समाजमा चलिनै रहने कुरा हो । चोरी ,लुटपाट गरेर के दिगो राजनीति हुन्थ्यो ,नहुने पक्का छ । नेपालको आन्दोलनको इतिहास हेर्दा परिवर्तनको एजेण्डा लिएर आन्दोलन भएको थियो २००७, २०३६, २०४६ वा २०६२–६३ को जनआन्दोलन सबै आन्दोलनहरुमा परिवर्तनको माग लिएर दलहरुले जीवन मरणको आन्दोलन गरेका हुन् । यो आन्दोलनको क्रममा कैयौं शहिद, घाइते ,अपाङग भए । तर आन्दोलन निकै व्यवस्थित तथा अनुशासित रुपमा सम्पन्न भएर व्यवस्था परिवर्तन भएको हो । नेताहरुले बोलेको बोलीलाई नेता कार्यकर्ताहरुले शिरोपर गर्दै विचार, दर्शन र राजनीतिबाट निर्देशित भएर आन्दोलन सम्पन्न भएका थिए । तर अहिलेको जेनजी आन्दोलनमा नत विचार छ,नत दर्शन छ ,नत भविष्यमा के गर्ने नै भन्ने छ, नत नेता नै छ । आन्दोलन भयो मारिनेहरु मारिए,घाइतेहुनेहरु भए एक हिसाबले भन्दा सकियो । अब समीक्षा गर्ने, उपलब्धी खोज्ने बेलामा हात लाग्यो के न के भने झैं भएको छ । सरकार परिवर्तन मात्रै परिवर्तन होइन । सरकार परिवर्तन भयो यसले जनतालाई केही नयाँ कुरा दिन सक्दैन । केही नयाँ कुरा दिने नीति, दृष्टिकोण,विचार केही पनि छैन ।
जेनजी आन्दोलनमा भएको लुटपाट चोरीको कुरा सम्झँदा ,र सुन्दा चिनीयाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको महान भनाइहरुको याद आइरहेछ । जनताबाट एउटा सियो र धागोसम्म पनि नलेऊ, जफत गरिएका सबै सामानहरु फिर्ता गर, आफूले बिगारेको जुनसुकै सामानको पनि मोल तिर, भन्ने खालका भनाइहरु माओत्सेतुङले स्पष्टताकासाथ भन्नु भएको थियो । यस्ता खालका महान भनाइहरुले नै चिनियाँ जनताले माओलाई विश्वास गरेर देशलाई मुक्त गरी शासन सत्ता हातमा ल्याउने कुरामा साथ दिएका होलान् । देश मुक्त भएर नै अहिले विश्वमा आर्थिक रुपमा सम्पन्न मुलुक बनेको छ । देश जतिबेलासम्म मुक्त हुन सक्दैन, विदेशीको इशारामा नाच्ने शासकहरु हुन्छन्,देशलाई गति दिने दृष्टिकोण भएका नेतृत्व हुँदैन त्यति बेलासम्म देशले सदा सदा दुःखनै पाउँछ ,जनताले सदा सदा एक छाक समेत राम्रोसँग खान पाउँदैनन् । चोरी र लुटपाटबाट देशका जनताले मुक्ति हासिल गर्ने छैनन् । जनतालाई चाहिएको मुक्ति हो । मुक्तिको संघर्ष बाँकी नै छ ।
अहिले आमाबाले सानो हुँदा भनेका कुराहरु जीवन्त बनेर सम्झनामा आइरहेका छन् । भन्न मन लागिरहेको छ कलिला नानीहरु जो विसुद्ध समाज परिवर्तनको आशा लिएर जेनजी आन्दोलनमा सहभागी भएका थिए उनीहरुलाई आफ्नै पसिनामा बाँच्ने शिक्षा लिएर मेहनती र श्रमशील भएर अगाडि हिड्नु पर्छ ,कसैको केही चोर्नु पर्दैन । मिहनेत र श्रममा सदा खुशी पाइन्छ । जनताले जो जसले मिहेनत गरेर खाने संस्कार बसालेका छन् उनीहरुको मिहनेतको फल अरुले खाइदिएकाले जनताले दुःख भोग्नु परेको हो ।

