काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक दलहरुको वैचारिक तथा सांगठनिक क्षेत्रमा प्रभाव छोडेको छ । जेनजी आन्दोलनको सैद्धान्तिकीकरण गरिनुपर्ने बारेमा छलफल चल्ने गरेको छ । तर त्यसको ठोस रुपमा सैद्धान्तिकीकरण हुन सकेको छैन । विभिन्न राजनीतिक दलहरुमा वर्षौंंदेखि रहँदै आएका पुराना पुस्ताका नेताहरुले नेतृत्वबाट विदा लिनु पर्दछ र अव नयाँ पुस्ताले दलको नेतृत्व गर्नुपर्दछ भन्ने आवाज उठाउँदै आएका थिए । जेनजी आन्दोलनले त्यसप्रकारका विचार बोक्नेहरुलाई पार्टीभित्र कुरा राख्न थप प्रेरित गरेको छ ।
जेनजी आन्दोलनमा भाद्र २३ गते विद्यार्थीहरुको हत्या, भाद्र २४ गते देशव्यापी ध्वंस, आगजनी र लुटपाट, २४ बेलुकी १० बजेदेखि सेना परिचालन, सेनाको सक्रियता, त्यस स्थितिमा राजनीतिक दलका नेताहरु लुक्नुपर्ने र वक्तव्य प्रकाशित गर्ने अवस्था समेत भएन ।
नेपालको राजनीतिमा क्रान्तिकारी धारको प्रतिनिधित्व गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जेनजी आन्दोलन लगत्तै पोलिटव्यूरो बैठक बसेको थियो र असोज २९ देखि कार्तिक १ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो ।
के.स. बैठकले जेनजी आन्दोलनका युवा विद्यार्थीहरुले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा सही आन्दोलन सुरु गरेको भए पनि विस्तारवादी र साम्राज्यवादीहरुले त्यो आन्दोलनलाई खोसेको र अहिले विदेशीको कठपुतली सरकार (सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार) बनेको समीक्षा गर्दै कठपुतली सरकारलाई अस्वीकार गर्ने र वामपन्थी, देशभक्त र जनवादी शक्तिहरुको स्वाधीन सरकारको नारा दिने निर्णय गरेको थियो । क्रा.क.पा.ने.ले अन्य देशभक्त, वामपन्थी र जनवादी शक्तिहरुसित भेटघाट, छलफल, सहकार्यलाई पनि अगाडि बढाइरहेको छ ।
नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गरिरहेका छन् । तर संस्थापन पक्षले छिटै नियमित महाधिवेशन गर्ने बताइरहेको छ। केपी शर्मा ओलीपछि आफू छैठौं पटक प्रधानमन्त्री बन्ने आशामा बसेका नेका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीबाट निर्घात कुटपिटमा परेपछि कार्यवाहक सभापतिको जिम्मा पूर्णबहादुर खडकालाई दिएर श्रीमती आरजु देउवासहित गत कार्तिक १० गते सिंगापुर स्वास्थ्य उपचारमा गए ।
जेनजी आन्दोलनपछि नेकपा (एमाले) भित्र अध्यक्ष के.पी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा परे । उनले केन्द्रीय कमिटीबाट आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गराएका छन् ।
पछि एमालेले केन्द्रीय कमिटीको बैठकबाट संसद पुनस्र्थापनाको माग राख्ने निर्णय गरेको छ । उता नेपाली कांग्रेस, संसद पुनस्र्थापना भएमा “राम्रै हुने” विचार राखेको छ । कांंग्रेसले एमालेले जस्तो संसद पुनस्र्थापनाकै माग राखेर आन्दोलन गर्ने निर्णय गरेको छैन तर एमाले पनि चुनावको तयारीमा जुटेको देखिन्छ ।
जेनजी आन्दोलनपछि ‘कम्युनिष्ट’ बताउने पार्टीहरुमा फुटाई र जुटाईको सकस देखिएको छ । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र नेकपा (बिप्लब ) मा विभाजन र एकताको हुण्डरी चलेको छ ।
नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक कात्तिक १५ गते पार्टी मुख्यालय पेरिडाँडाँमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल भएको थियो । । नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार कात्तिक १४ गते मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक प्रचण्डले बैठकमा एकता प्रक्रिया बारे ब्रिफीङ गरेका थिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेबाट विद्रोह गरेको प्रेमबहादुर सिंह नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरने सी समूहका बीचमा एकताका लागि टुंगो लागेको छ । (नोट ः अहिले गोपाल किराँती समूह पनि यस एकतामा मिसिने भएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूको बीचमा पार्टी एकता हुने भने पनि ती पार्टीहरू भित्र पार्टी एकता गर्नु हुन्न भन्ने मत पनि रहने गरेको छ। फरक मत राख्ने कुरा मात्र नभईकन पार्टी एकतामा नमिसिने समूहहरू पनि ठूलै हुने देखिन्छ । फरक मत राख्नेहरुले बेग्लै पार्टी निर्माणको प्रक्रियामा अगाडि बढेको देखिन्छ ।
माओवादी केन्द्रमा जनार्दन शर्माले जेनजी आन्दोलन भन्दा पहिलेदेखि नै प्रचण्डलाई नेतृत्व छाड्न दबाब दिंदै आएका थिए । अहिले शर्मा र राम कार्की सहित पार्टी एकता प्रक्रियामा नमिसिने भएका छन् । एकीकृत समाजवादीमा झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायतले पार्टी एकता प्रक्रियामा नजाने स्पष्ट गरेका छन् । झलनाथ समूह भित्रैका रामकुमारी झाँक्री लगायत छिटै एमालेतिर प्रस्थानको तयारी गर्न थालेको बुझिएको छ ।
यो एकीकरण प्रक्रियामा नेत्रविक्रम चन्द विप्लव तत्कालका लागि छुट्ने भएका छन्। नेकपाका नेता चिरनपुनले त्यस पार्टीबाट विद्रोह गरेर माके र एस सँगको एकता प्रक्रियामा जाने भएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । राप्रपाभित्र विभाजनको गहिरो रेखा खिंचिदै गएको देखिन्छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई लक्षित गर्दै आफ्नै घर फर्कन आह्वान गरेका छन् तर स्वयं नेकपा एमाले भित्र विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने र केपी शर्मा ओलीले पद छोड्ने वा नछोड्ने जस्ता विषयहरूमा विवाद बढिरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एक नेताले यी विभिन्न आफूलाई कम्युनिष्ट पार्टी बताउने दलहरुको एकता र विवादका बारेमा भने – क्रान्तिकारी आन्दोलनको निम्ति त्यसको खास अर्थ छैन । उनका अनुसार ती सबै संसदीय पद, लाभको झगडा र विवाद हुन । तिनीहरुको एकता र विभाजनले जनताको जीवन स्तरमा कुनै फरक ल्याउँदैन ।”
जेनजीहरुलाई समेटेर पार्टी बनाउने वा स्वतन्त्र व्यक्तिहरुले नयाँ पार्टी खोल्ने लहर पनि चलेको छ । तिनीहरुको स्थितिबारे अहिले नै सबै कुरा भन्नु छिटो हुनेछ । जेन जी आन्दोलनपछिको तरल राजनीतिक परिस्थितिमा राजावादी र विदेशी शक्ति केन्द्रहरुले आफ्नो स्वार्थसिद्ध गर्न अनेक दाउ खेलिरहेको हुँदा सतर्क रहनु पर्ने विश्लेषकहरुको मत छ ।

