कठपुतली सरकारका विरुद्ध भण्डाफोर अभियान चलाउँछौं

–हरेरामप्रसाद पटेल (पवन), सचिव, १२ नं. व्यूरो, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

हरेरामप्रसाद पटेल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १२ नं. व्यूरोका सचिव हुनुहुन्छ । उहाँको स्थायी ठेगाना महागढी माई न.पा. वडा नं. २, इनर्वा टोल हो । यसपटक हाँक साप्ताहिकले सचिव पटेलसित मधेशको समस्या र देशको राजनीतिबारे कुराकानी गरेको छ ।
१) हरेरामजी ,तपाई विद्यार्थी जीवनबाटै राजनीति र सांगठनिक कार्यमा जोडिनु भएको थियो । कहिले ,कहा“देखि कसरी संगठनमा लाग्नु भयो?
–म ठाकुरराम बहुमुखी क्याम्पस विरगन्जमा अखिल (छैठौं) बाट राजनीतिक र सांगठनिक कार्यमा लागेको थिएँ । तर म लामो समय त्यो विद्यार्थी संगठनमा काम गरेन । करिव ६÷७ महिनापछि माओवादी आन्दोलनमा जोडिएँ ।
२) पार्टी सदस्यता कहिले प्राप्त गर्नु भयो ? तत्कालीन नेकपा (मसाल) मा तपाईको भूमिका के थियो ?
–मसालको समर्थक मात्र भएँ । म २०५३ साल र २०५४ सालको बीचमा विद्यार्थी जीवनमै मसाल समर्थक भएँ । केही महिनापछि २०५४ साल भदौमा तत्कालीन नेकपा (माओवादी) पार्टीमा आबद्ध भएँ। पार्टीको एरिया कमिटी सदस्य पदमा बसी भूमिगत भई काम गर्न सुरु गरें ।
३) जनयुद्ध कालमा तपाईको सांगठनिक जिम्मेवारी के थियो ?
–मेरो जनयुद्धकालमा बारा, पर्सा, रौतहटमा मुख्य जिम्मा थियो । एरिया सदस्य हुँदै, एरिया इन्चार्ज र पार्टी जिल्ला कमिटी सदस्य भएर काम गरें।
त्यसपछि पार्टी जिल्ला सचिवालय सदस्यमा रहेर विभिन्न मोर्चा तथा विशेष कमान्ड अन्तर्गत रहेर आफूले पाएको जिम्मेवारी पूरा गरें । हटलाइनको काम मेरो जिम्मा थियो । घाइते नेता र साथीहरूलाई प्रवास (भारत) देखि नेपाल र नेपालदेखि प्रवाससम्म आवतजावत गराउने जिम्मा लिएँ । लजिस्टिकको काम (विशेष कमान्ड)ः घाइते÷अपाङ्गहरूलाई, साथै पार्टीका दस्तावेज, युद्ध सामाग्री ओसारपसारको जिम्मा लिई लजिस्टिकको काम गरें । भौगोलिक जिम्मेवारीः भारतको पटना देखि मकवानपुरको हटिया (साविक गाविस) सम्मको जिम्मेवारी पूरा गर्नु परेको थियो ।
४.) जनयुद्ध कालका केही स्मरणीय घटना छन् कि?
–जनयुद्धकालका स्मरणीय घटनाहरूमा बाराको खजुरिया घटना एउटा स्मरणीय घटना हो । निःशस्त्र साथीहरूलाई इलाजको लागि पटना जाने क्रममा खजुरियामा आराम गरिरहेको अवस्थामा नेपाली सेनाद्वारा घेरा हालेर चार जनालाई गोली हानी हत्या गरिएको थियो । यस घटनामा बारा जिल्ला सचिव जयराम दाहाललाई गोली लागी घाइते बनाइएको थियो ।
भारतको पटनाको घटना अर्को विर्सन नसकिने घटना हो । जसमा पटनामा ११ जना कमरेडहरूलाई आफ्नै साथीले (गद्दारले) गिरफ्तार गर्न लगाएको घटना थियो । गिरफ्तार हुनेहरूमा लोकेन्द्रबहादुर बिष्ट, कुलमान के.सी. (कमरेड सोनम) लगायत थिए ।
५.) मधेश र मधेशी समुदायका समस्याहरू के के छन ?
–मधेश र मधेशी समुदायको समस्या धेरै छन् । वर्गीय शोषणको समस्या छँदैछ । क्षेत्रीय र जातीय शोषण पनि यहाँ छ । यहाँ निरपेक्ष गरिबीको रेखा मुनि ठूलो जनसंख्या छ । गाँस, बास, कपडा, शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षा यहाँको सबैभन्दा मुख्य समस्या हो ।
६.) मधेशका समस्या समाधानका उपायहरू के हुन सक्दछन् ?
–मधेशमा रहेको वर्गीय समस्या हल हुुनु पर्दछ । राज्यबाट मधेशमाथि हुने क्षेत्रीय विभेदको अन्य हुनुपर्छ । जातीय शोषणको अन्त्य हुनुपर्छ ।
७) जयकृष्ण गोइत र ज्वाला सिंहले हतियार उठाएर मधेश पृथकताको माग राखेका थिए । त्यो आन्दोलन अहिले सेलायो । सी .के. रावतले शान्तिपूर्ण तरिकाले नै मधेशमा जनमत संग्रहबाट पृथक मधेश देश निर्माणको कुरा गरेका थिए । त्यो नारा छोडेर संसदमा आए । यो घटनालाई कसरी हेर्नुहुन्छ ?
–मधेश केन्द्रित हतियारबन्द आन्दोलनहरू जयकृष्ण गोइत र ज्वाला सिंहको आन्दोलन थियो । यिनीहरूले हतियार उठाएर ’मधेश पृथकता’ को माग राखेका थिए, जुन तत्कालीन माओवादी आन्दोलनलाई दबाउन भारतीय विस्तारवादको इसारामा चलेको थियो। उनीहरूको हतियारबन्द आन्दोलन सेलाएर (निष्क्रिय भएर) गयो।
सीके राउतको विषयमा भन्नुपर्दा उनको आन्तरिक पार्टीको माग ’मधेश एक देश’ बनाउने योजना नै हो। बाहिर शान्तिपूर्ण देखिए पनि भित्री रूपमा मधेशलाई ’एक देश’ बनाउने योजना नै छ । अहिले पनि भित्रभित्रै उनले पृथकतावादी काम गरिरहेका छन् ।
८) अन्य मधेश केन्द्रित पार्टीहरूको भूमिका बारे के भन्न चाहनु हुन्छ ?
– तिनीहरु संसदवादी पार्टीहरुबाट असन्तुष्ट यसै व्यवस्था भित्र रमाउने तत्वहरु हुन् । मधेशी जनताको नाममा सामन्त पुँजीपतिहरुको सेवा गर्ने पार्टी हुन तिनीहरु ।
९) बिरगंजमा बेलाबखतमा चीनको झण्डा जलाउने गरेको समाचार आउ“छ । यस्तो किन भएको होला ?
– वीरगञ्जमा चीनको झण्डा जलाउने घटनाको सन्दर्भमा भन्नुपर्दा वीरगञ्जमा बेला बखतमा चीनको झण्डा जलाउने कार्य चीन विरोधी शक्तिद्वारा निर्देशित व्यक्तिहरूको षड्यन्त्र (उपज) हो। यस्तो घटना भारत र दलाई लामाका केही मानिसहरूद्वारा गराइएका घटनाहरू हुन् । यो घटना वीरगञ्जमा मात्र होइन, जनकपुर र काठमाडौँ मा पनि हुँदै गरेका घटनाहरू हुन् ।
१०) वारा ,पर्सा र रौतहटको कम्युनिस्ट आन्दोलनको इतिहासलाई संक्षिप्तमा सुनाउनु पर्दा के भन्नू हुन्छ ?
–२००९ सालमा बारा र रौतहट जिल्लाको संयुक्त जिल्ला समिति थियो । २०११ सालमा पूर्वी तराईबाट सुरु भएको भकारी फोर आन्दोलन बाराको गडहाल गाउँमा पनि चलेको थियो । उक्त अभियान दबाउन प्रहरीले गोली चलाउँदा मुखलाल महतोको मृत्यु भएको थियो मुखलाल महतो कम्युनिस्ट आन्दोलन र किसान आन्दोलनको सहिद हुनुहुुन्छ । विभिन्न समयमा सानातिना किसान आन्दोलनहरू चल्दै आएका छन्।
११) तपाईं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानमा राम सिंह श्रीसजीले नेतृत्व गर्नु भएको टोलीमा हिड्नु भयो । त्यस अभियानलाई समीक्षा गर्नु पर्दा के भन्नू हुन्छ ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जनसम्बन्ध विस्तार अभियान यो अभियान टोली प्रमुख राम सिंह श्रीस जी को नेतृत्वमा २०८१÷१२÷३१ गतेदेखि २०८२÷०१÷०९ गतेसम्म तीनै जिल्लामा बारा, पर्सा, रौतहट सञ्चालन भयो । कार्यक्रमहरूमा कोणसभा, पत्रकार सम्मेलन र शहीद परिवार सँग भेटघाट जस्ता कार्य गरियो । जनतामा उत्साहजनक माहोल देखियो र जनताले “क्रान्तिकारी पार्टी नै हो हाम्रो मुख्य आधार“ भन्दै पार्टीको प्रचार–प्रसारलाई सहर्ष ग्रहण गरे।
१२) वारा ,पर्सा र रौतहटमा जेन जी आन्दोलनको प्रभाव कस्तो रह्यो ?
–जेनजी आन्दोलनको नाममा यहाँ पनि असामाजिक तत्वहरुले समाजमा आतंक सिर्जना गरे । वीरगन्जमा कैदीहरु भाग्न खोज्दा सेनाले गोली चलाएर नियन्त्रण ग¥यो । वीरगन्जका एक जना काठमाडौंमा मरे । तर यहाँको तीन जिल्लामा हत्याको घटना भएन । लुटपाट भने भयो ।
१३ ) तपाईले नेतृत्व गर्नु भएको ब्युरो नम्बर १२ को आगामी कार्यक्रम के के छन् ?
–ब्युरो नं. १२ अन्तर्गत आगामी कार्ययोजना बनाइएको छ । सङ्गठनलाई व्यवस्थित पार्नेः जिल्ला, नगर, वडा, गाउँ, टोलसम्म सङ्गठनलाई व्यवस्थित पार्ने। पार्टीको मूल नारा साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको विरोध गर्ने । भण्डाफोर अभियानः गाउँगाउँमा ’कठपुतली सरकार’ को भण्डाफोर गर्ने । पर्चा÷पम्प्लेट वितरणः ब्युरो अन्तर्गत पर्चा÷पम्प्लेट वितरण गर्ने ।
अन्य कार्यक्रमः ब्युरो अन्तर्गत भण्डाफोर सभाहरू गर्ने, जनसम्बन्ध विस्तारमा ध्यान दिने । भविष्यको कार्यदिशाः देशको परिस्थिति हेरेर थप कार्यक्रम गर्ने । यी र यस्ता हाम्रो व्यूरोको कार्यक्रम बनाइएको छ ।
१४) अन्त्यमा केही छ कि ?
–विचार राख्ने अवसर दिनुभएकोमा हाँकलाई धन्यवाद छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित