रातभरी सेनाले अफिसको ढोका घेरेर बस्थ्यो

-सन्तबहादुर नेपाली

नेपालमा सयौं पत्र पत्रिकाहरु प्रकाशित हुने गरेका छन् । विगतकालमा पनि सयौं दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु प्रकाशित हुने गर्दथे । तर कमै पत्रिकाहरु लामो समयसम्म टिक्ने गरेका छन् । ती मध्ये साप्ताहिक हाँक मात्र यस्तो पत्रिका हो, जो अनवरत रुपमा प्रकाशन हुँदै अहिले सगौरव ४२ वर्ष पार गरेर ४३ औं वर्षमा प्रवेश गरेको छ । यी ४२ वर्षहरु सुख र दुःखका साथ बितेका छन् । सबैभन्दा सुखद कुरो त यो भएको छ कि अत्यन्तै कष्ट साध्य बेलामा पनि पाठकहरुको सहयोग, समर्थन र सम्मानले गर्दा हाँकको प्रकाशक टिमलाई लगातार उर्जा प्राप्त हुँदै आयो । पाठक र समर्थक कै कारण जस्तोसुकै कठिन परिस्थितिलाई पनि पत्रिकाले सामना गर्ने साहस जुटायो । बितेका यी गौरवपूर्ण दिनहरु हाम्रो लागि अहिले पनि प्रेरक छन् । त्यसैको सहारामा हामी आगामी वर्षहरु पनि यसरी नै पार गर्ने छौं भन्ने हामीलाई विश्वास छ । यस सन्दर्भमा सर्वप्रथम हाँक साप्ताहिकका सम्पूर्ण संवाददाता, विज्ञापनदाता, सहयोगी व्यक्तिहरु सबैलाई अभिवादन गर्न चाहन्छु ।
शायद २०५१ सालदेखि म पनि यस पत्रिकासित जोडिन पुगेको थिएँ । क्षेत्रपाटीको एउटा कोठामा कार्यालय थियो । आनन्द शर्मा व्यवस्थापक हुनुहुन्थ्यो । शिव तिवारी, युवराज पन्थी, भुवन मास्के, लगायतको टिमले काम गरिरहेको र म तथा दिनानाथ शर्माले बाहिरबाट सहयोग गथ्र्यौं । त्यतिबेला पत्रिकाको मुख्य स्रोत पत्रिका बिक्री थियो । विज्ञापन कम आउँथ्यो । बुधबारका दिन प्लेन र बसबाट भारत तथा नेपालमा देशभरी पत्रिका जान्थ्यो । सबै स्टाफमा जोश र जाँगर भरिएको पाइन्थ्यो । म केही समय बसेपछि बाहिर कार्यक्षेत्र परेको हुनाले मैले छोडें । त्यसपछि फेरि ०५७ सालदेखि जोडिन पुगें । शशिधर भण्डारी, लक्ष्मण उप्रेती, विमल पोखरेल लगायतका साथीहरुले पत्रिका प्रकाशन गर्नुहुन्थ्यो । मलाई अहिले पनि याद छ, हामी साँझपख पाटनमा प्रेम सागर पौडेलजीकोमा टाइप र सेटिङका लागि जान्थ्यौंं । निद्रा लागि लागि पनि काम गरेर राति २÷३ बजेसम्म सेटिङ गरेर धोबी खोला किनारै किनार डिल्लीबजारस्थित पारु अफसेटमा ४.०० बजे ल्याई पु¥याउँथ्यौं र एक दुई घण्टामा छापिएपछि वाइन्डिङ गरेर बसपार्क र एयरपोर्ट पु¥याइन्थ्यो । अहिले जस्तो नेटको सुविधा थिएन । प्रिन्टिङ पेपर प्रेसमा ल्याएर प्लेट निकाल्नु पथ्र्यो । यो मेरो छोटो अनुभव मात्र हो । खास गरेर युवराज पन्थी, शशिधर भण्डारी, पुष्प ऐर, विमल पोखरेल लगायतका साथीहरुले धेरै दुःख भोग्नु भएको थियो । पत्रिकासित जोडिएका अन्य साथीहरुले पनि धेरै नै दुःख उठाउनु भएको छ ।
०६१ सालमा तात्कालिन राजा ज्ञानेन्द्रले संकटकाल लागु गरे । सबै पत्रिकाहरुमाथि सेन्सरशीप लगाइयो । धेरै पत्रिकाहरु बन्द भए । हामीले बन्द गरेनौं । पत्रिका प्रकाशन हुने अघिल्लो दिन कार्यालयमा सेनाको टिम आउँथ्यो । केही सेनाहरु डिल्लीबजारको रोडमा ढोकामा उभिन्थे । दुईजना कार्यालयमा आउँथे । एकजनाले लेख, सम्पादकीय, समाचार पढेर सेन्सर गथ्र्यो । एक जनाले राइफल लिएर ढोकामा उभिन्थ्यो । कुनै स्टाफ दिशापिसाब जानु परेमा पछिपछि जान्थ्यो । अन्तिम प्रिन्ट निस्के पछि उसले सबै सामाग्री हेथ्र्यो र बल्ल प्रेसमा पठाइन्थ्यो । त्यतिबेला हाँकलाई शाही सरकारले विशेष निगरानीमा राखेको थियो । त्यसकारण हामी कार्यालय बाहिर निस्कन पाइँदैनथ्यो । कोही कार्यालयमै र कोही माथिको किचेन कोठामा सुत्थ्यौं । रातभरी सेनाले अफिसको ढोका घेरेर बस्थ्यो । यसप्रकारको दमनको स्थितिमा पनि हामी ३ अंक जति निकाल्यौं । तर एक अंक पनि रोकेनौं ।
सबैलाई थाहा भएको कुरा हो, हाँक साप्ताहिक शहिद सरोज शर्मा (शोभाखर धनञ्जय) द्वारा २०४० सालमा दर्ता गरिएको पत्रिका हो । जुन बेला ०४२ सालमा रामराजा प्रसाद सिंहद्वारा बमकाण्ड गरिएको थियो, त्यतिबेला उहाँ रामराजा प्रसाद सिंहको जनवादी मोर्चा छाडिसक्नु भएको थियो । तर तात्कालिन सरकारले उहाँलाई वारेन्ट जारी गरे पछि पत्रिका दुई वर्ष बन्द भयो । उहाँ नेकपा (मसाल) को संरक्षणमा दिल्लीमा बसेर नेपाली एकता प्रकाशन गर्नु हुन्थ्यो । ०४३ भाद्र ११ गते रहस्यमय तरिकाले उहाँको पंचायती गुण्डाहरुद्वारा दिल्लीमा हत्या गरियो । त्यसको करिव १ वर्ष पछि गोविन्दबहादुर थापामा स्वामित्व हस्तान्तरण गरियो र आजसम्म प्रकाशन भइरहेको छ ।
यो पत्रिका नेकपा (मसाल) को कार्यालय कपनबाट प्रकाशित हुन्थ्यो । पार्टीभित्र वैचारिक अन्तर्विरोध उत्पन्न भएपछि नेतृत्वबाट गोविन्दबहादुर थापालाई स्वामित्व हस्तान्तरणका लागि दबाब दिने काम भयो । तर त्यतिबेलासम्म नेकपा (मसाल) आठौं महाधिवेशनमा संशोधनवादी नीति पारित गरिसकेको थियो । संशोधनवादी नेतृत्वलाई स्वामित्व हस्तान्तरण गर्न गोविन्द बहादुुर थापाले अस्वीकार गरेपछि कपनबाट पत्रिका प्रकाशन बन्द गरियो । हाँकको स्थानमा युगदर्शन प्रकाशन गर्न थालियो । तर हाँक प्रकाशन एक अंक पनि रोकिएन । अर्को अंक तुरुन्तै कृष्ण प्रसाद आचार्यको व्यवस्थापन र नारायण शर्माको सम्पादनमा बागबजारबाट प्रकाशन शुरु भयो । यसरी हाँक साप्ताहिक प्रकाशनमा कहिले प्रतिक्रियावादी सरकारबाट त कहिले स्वयं मसालबाटै रोक्ने प्रयास गरियो । त्यसको बाबजुद पनि पत्रिका प्रकाशित हुँदै गयो ।
पत्रिकालाई संशोधनवादी विचारको बाहक बनाउने जुन प्रयास गरियो, त्यो प्रयास सफल नभएपछि त्यसमाथि विभिन्न प्रकारका लाञ्छना लगाउने काम मसालहरुबाट भयो । तर पनि पत्रिकाले आफ्नो मिसन कहिल्यै छोडेको छैन । देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको प्रश्नमा पत्रिकाले लगातार आवाज उठाउँदै आएको छ । बेरोजगार भएर विदेशिन पुगेका नेपाली युवाहरुका पीडा र व्यथा, सामन्त शोषक फटाहाद्वारा उत्पीडित किसानहरु, लघुवित्तबाट पीडित किसान, सहकारी ठगीमा परेका किसान, मल, विउ नपाएर चिन्तामा डुबेका किसान, उत्पीडनमा परेका महिलाहरु, छुवाछूत तथा जातीय विभेदमा परेका दलित समुदायहरु आदि उत्पीडित जनताको पक्षमा लगातार हाँकले आवाज उठाएको छ । देशमा भएको भ्रष्टाचार, घुस, महंगी, माफियातन्त्र, कमिशनखोरी, मानव तस्करीका सवालमा पत्रिकाले निर्ममतापूर्वक कलम चलाएको छ । पत्रिकाले सधै शीर उँचो राखेर पत्रकारिताको क्षेत्रमा आजसम्म टिक्नु बडो गौरवको कुरो हो । अहिलेसम्म कैयौं पत्रिकाहरु बन्द भएका छन् । किनकि दाताहरुले लगानी गर्दासम्म ती पत्रिकाहरु प्रकाशन भए पनि दाताले सहयोग गर्न छाडे पछि कतिपय बन्द हुने वा तिनको साइज घटाउने गरेको पाइन्छ । तर हाँक साप्ताहिकको सहयोग दाता भनेको आम नागरिक हुन, जसले विज्ञापन दिएर, पत्रिका किनेर वा नगद सहयोग गरेर यो पत्रिका चलाउन मद्दत गरे । आज पनि तिनै सहयोगदाताले सहयोग गरिरहेका छन् । त्यसकारणले नै पत्रिकाले निरन्तरता पाउन सफल भएको छ ।
आज देश साम्राज्यवादी उत्पीडनबाट नराम्रोसँग उत्पीडित छ । भारतीय विस्तारवाद, विशेषतः आरएसएसले प्रत्यक्ष राजनीतिमा हस्तक्षेप गरिरहेको छ । जनताले बलिदानी संघर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई समाप्त पारेर प्रतिगामी दिशामा लैजान केही शक्तिहरु प्रयास गरिरहेका छन् । देशभक्त, जनवादी, वामपन्थी कम्युनिस्ट शक्तिहरु त्यो हस्तक्षेपका विरुद्ध संघर्ष गरिरहेका छन् र हाँक साप्ताहिक राष्ट्रिय स्वाधीनताको पक्षमा लगातार उभिएको छ । देशमा ठूला राजनीतिक दलहरु साम्राज्यवादी हस्तक्षेप प्रति आँखा चिम्लने गरेको, पत्रपत्रिकाहरु राष्ट्रिय स्वाधीनताको पक्षमा उदासीन रहेको, जनताको जनवाद र जनजीविकाको सवालमा आवाज उठाउन नसकिरहेको अवस्थामा हाँक साप्ताहिक सतिसाल झैं उभिएर देश र जनताको सेवा गरिरहेको छ । प्रगतिशील, देशभक्ति र क्रान्तिकारी विचार प्रवाह गरिरहेको छ । पत्रकारिताको क्षेत्रमा हाँक र त्यसका लेखकहरुले निडर, निर्भिक र निःस्वार्थ भएर जुन सेवा गरिरहेका छन्, त्यो अतुलनीय छन् । यसको संरक्षण गर्नु, निरन्तरता दिनु र गुणस्तरलाई उठाउन मद्दत गर्नु, हामी सबै शुभचिन्तक, समर्थक तथा सहयोगीहरुको दायित्व हो । ४३ औं वर्षमा प्रवेश गरेको यो शुभ अवसरमा हाँकप्रति उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहान्छु ।
२०८२÷७÷२५

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित