देशको भयावह वर्तमान र हाम्रो दायित्व

नारायण शर्मा
नेपाली जनता र राष्ट्रका आधारभूत समस्या के हुन र नेपाली जनता कुन समस्याका विरुद्ध लड्दै आजको स्थितिसम्म आइपुगे भन्ने कुराको अध्ययनले आजको मूलभूत अन्तर्विरोध के हो र निराकरण हुनुपर्ने समस्या के हुन् भन्ने कुराको निर्धारण गर्दछ । नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा नेपाल र नेपाली जनताका आधारभूत समस्याको रुपमा अर्थात् आधारभूत दुश्मनको रुपमा देशीय सामन्तवाद, भारतीय एकाधिकार पँुजीवाद अर्थात् विस्तारवाद र विश्व साम्राज्यवाद अर्थात् एंग्लो–अमेरिकी साम्राज्यवादलाई किटान गरिएको थियो । साथै, जबसम्म तिनको निराकरण हुँदैन, तबसम्म नेपालमाथि लादिएको देशी–विदेशी शोषण–दमन र अन्याय–अत्याचारको अन्त्य हुँदैन र देशले नयाँ दिशा र गतिमा समुन्नत प्रगतिको बाटो लिन सक्तैन भनिएको थियो । त्यो सही विश्लेषण थियो भनेर मान्नेहरूले त्यसयताका नेपाली क्रान्तिकारी आन्दोलनहरूले नेपाली जनता र राष्ट्रका ती समस्या हल गर्न सके वा त्यस दिशामा के कति सही बाटो पक्रिए, के कति भड्काउहरू आए र अहिले हामी कुन धरातलमा कहाँ खडा हुन पुगेका छांै भन्ने कुरामा आधारित भएर समस्या केलाइ र निष्कर्ष निकाल्नु पर्दछ ।

यस आधारमा हेर्दा नेपाल र नेपाली जनताले गरेका आन्दोलनले आंशिक रुपमा केही समस्या हल गरे पनि मूलभूतरुपमा समस्या हल नभएको यथार्थ चित्र नै प्रष्ट रुपमा देख्न सकिन्छ । नेपाली परिवर्तनकारी आन्दोलनमा आएका उग्र, मध्य र दक्षिणपन्थी भड्काबहरूमध्ये मुख्यत: दक्षिणपन्थी भड्कावले नै यसलाई सही दिशा दिनबाट रोकेकोले एक वा अर्काे किसिमले दिग्भ्रमित भएर नेपालको परिस्थिति कचपचिएर यथास्थितिमा अल्मलिँदै अझ जटील बन्दै गएको अवस्थाबाट हामी गुज्रिरहेको स्थिति छ ।

यस परिप्रेक्ष्यमा सरर्सरी हेर्दा अहिले नेपालमा आफ्नो गुमेको सत्ता–शक्ति, सुख–सुविधा र सोख–सयल पुनर्प्राप्तिको लागि कथित राष्ट्रवादी शक्ति र विचार–सिद्धान्तविहीन दलाल पुँजीवादका अरौट–भरौटे तथा पुराना संसदवादी दलाल र गद्दार कथित वामपन्थी शक्तिहरू आफ्नो न्वारानदेखिको बल लगाएर उठ्ने, जुट्ने र डट्ने गरिरहेका छन् । यसको आवश्यकता र औचित्य पुष्टि गर्नको निम्ति उनीहरूले हाल देशमा भ्रष्टाचार, वेथिति, कुशासन, महंगी, तस्करी, अस्थिरता र अराजकता आदि बढेको अनि राष्ट्र र राष्ट्रियता सङ्कटमा परेको भनेर आफूहरूले विगतमा गरेका र भविष्यमा पनि गर्न सक्ने यिनै वा यस्तै कुकृत्यहरू ओझेल पार्ने कुचेष्टा गरेका छन् । यस निम्ति उनीहरूले आआफ्ना घोषित विचार–सिद्धान्त, मूल्य–मान्यता, नीति–नैतिकता र वर्गीय पक्षधरता आदि सबै परित्याग गरेर आपसी साँठगाँठ, सम्झौता र समर्पण गरेका छन् र अझ अघि बढेर वैदेशिक शक्ति केन्द्रहरूसँगको सम्बन्ध, सहमति र प्रतिबद्धता गरेर उनीहरूको आशिर्वाद लिने धृष्टता गरिरहेका छन् । यसले गर्दा प्रतिगमनको सम्भावना एकदमै बढेर गएको छ र महान् जनयुद्ध र जनआन्दोलनका सीमित उपलब्धिहरू विशेषत: राजनीतिक स्वतन्त्रता सहितको यो गणतन्त्र नै गुम्ने र पुन: निरङ्कुश स्वेच्छाचारी शासन–व्यवस्था लादिने खतरा छ । यही खतरा देखाएर विगतमा पटकपटक गरी लामो समयसम्म र हाल पनि सत्तासीन भैरहेका दलाल तथा नोकरशाही पुँजीवादी पुराना कथित प्रजातन्त्रवादी शक्तिहरू, प्रतिक्रान्तिकारी, राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादी, कथित वामपन्थी नयाँ लाल दलाल र भ्रष्ट गद्दार कम्युनिस्ट शक्तिहरू, क्षेत्रीयतावादी र विखण्डनकारी शक्तिहरूले आपसी अपवित्र गठबन्धनलाई अझ सुदृढ, सबल र सुमधुर बनाउँदै सत्ता स्वार्थलाई निरन्तरता दिने चरम दुस्साहस गरिरहेका छन् । यति मात्र होइन, यही कुत्सित सत्ता स्वार्थलाई दीर्घजीवन दिनको लागि “सौताका रिसले श्रीमानका काखमा पिसाब फेर्ने” भनेझैं वैदेशिक साम्राज्यवादी–विस्तारवादीहरूसँग पूर्ण स्थायी रुपले आत्मसमर्पण र सर्वसमर्पण गरेर नेपालकैअस्तित्त्व नै समाप्त पार्ने गरी नेपालको सिक्किमीकरण, फिजीकरण वा युक्रेनीकरण गर्ने खतरा त झन् बढेको छ ।

स्मरणीय छ कि यी दुवै शक्तिहरू र दुवै खाले खतराहरूका पछिल्तिर साम्राज्यवाद–विस्तारवादको निर्देशन, अनुगमन र पृष्ठपोषणसँगै बेला मौकामा आवश्यकतानुसार रवाफ–दवाव, धाक–धम्की र हस्तक्षेप–अतिक्रमणजन्य गतिविधिहरूको समेत अहम् भूमिका रहेको छ । त्यसैले यो अवस्थामा प्रधान अन्तर्विरोध वा मुख्य सङ्घर्ष कोसँग हो र कसका विरुद्धमा हाम्रो सङ्घर्ष कसरी लक्षित र केन्द्रित गरिनु–हुनुपर्ने हो भन्नेमा हामी देशका सच्चा देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी र कम्युनिस्टहरू एकदमै स्पष्ट हुनु जरुरी छ ।

यसै सन्दर्भमा यतिबेला केही क्रान्तिकारी शक्ति, सङ्घसंस्था र बौद्धिक व्यक्ति–व्यक्तित्वहरूले सत्ता स्वार्थका कारणले हो वा प्रतिगमनको बढी खतराको भूतबाट आतङ्कित भएर हो अथवा के कारणले हो साम्राज्यवादी–विस्तारवादीहरूको ग्लोबल र क्षेत्रीय गुरुयोजना र त्यस अनुसार उनीहरूले नेपालमाथि निरन्तर बढाइरहेका सुनियोजित र दीर्घकालीन रुपका चौतर्फी शोषण, दमन, धम्की, घुर्की, हस्तक्षेप र अतिक्रमणलाई जान–अन्जान रुपमा कम आँक्ने गरेको भान हुँदैछ । यतिमात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गठजोडलाई नजर अन्दाज गरेर उनीहरूमध्ये एकथरीले भारतप्रति नरम रुख राख्दै अमेरिकाप्रति कडा रुख राखे जस्तो देखाउँछन् भने अर्को थरीले अमेरिकाप्रति नरम रुख अपनाउँदै भारतप्रति कडा रुख अपनाएको प्रतीत हुन्छ ।

साथसाथै उनीहरूसहित अन्य कतिपय शक्तिहरूले मालेमाका आधारभूत दर्शन र सिद्धान्तहरू द्वन्द्ववाद, सर्वहारा वर्गीय अधिनायकत्व, वर्ग र वर्गसङ्घर्ष, क्रान्तिमा बल प्रयोग, नयाँ जनवादी क्रान्तिको आवश्यकता र क्रान्तिमा नेतृत्वको भूमिका जस्ता कम्युनिस्ट क्रान्तिका सार्वभौम महत्त्वका विषयहरूलाई पुरानो सोंच र तरिका, रुढिवादी र यान्त्रिक बुझाइ, नयाँ ज्ञानको अभाव आदि भन्दै विवाद खडा गरेका छन् । यो हर्कत “माक्र्सवाद पुरानो भयो”, “समाजवाद असफल भयो”, “कम्युनिज्मको भविष्य समाप्त भयो” भन्ने जस्ता नवमाक्र्सवादी र उत्तर आधुनिकतावादी वा युरो कम्युनिज्मवादी विचारहरूलाई जान वा अनजान रुपमा नयाँ ढंगले नेपालमा पनि सम्प्रेषण गर्ने र नेपाली कम्युनिस्ट आन्दोलनसँगै साम्राज्यवाद–विस्तारवाद विरुद्धको हाम्रो राष्ट्रिय मुक्ति आन्दोलन र अन्तत: विश्व मुक्ति आन्दोलनलाई कमजोर पार्ने साम्राज्यवादी–विस्तारवादीहरूको गुरुयोजनाकै एक हिस्सा हुन सक्ने खतरा छ, भलेहि उनीहरूले एकमुष्ट रुपमा प्रतिगमन र साम्राज्यवाद–विस्तारवादको खतरा देखाएर आपसी गठबन्धन नै गरेका किन नहुन् ! प्रतिगमन, पुनरुत्थान वा राजतन्त्र र हिन्दू धर्मको पुनरागमनको विरोध र प्रतिरोधको नाममा कथङ्कदाचित नेपालमा साम्राज्यवाद–विस्तारवादको हस्तक्षेप बढाउने प्रक्रियामा सहयोग पुर्‍याउने जस्तो भयानक भूल हुन पुग्यो भने देश युद्ध मैदान बन्ने र अन्तत: नेपालको स्वाधीनता, स्वाभिमान र अस्तित्त्व नै गुम्ने चरम खतरा छ ।

तसर्थ स्पष्ट हुनु जरुरी छ कि साम्राज्यवाद–विस्तारवादको आड–भरोसा र उक्साहटमा टिकेको र चलेको वर्तमान नेपालको दलाल पुँजीवादी सत्ता र यसमा आशिन वा यसको बागडोर हाँक्ने शक्ति नै देश र जनताको वर्तमान दुरावस्थाको मुख्य कारक हुन् । यिनलाई जन्मदिने, भरणपोषण गर्ने, परिचालन गर्ने, प्रयोग गर्ने गरेर नेपाल र नेपाली जनताको शोषण–उत्पीडन गर्ने वैदेशिक साम्राज्यवादी–विस्तारवादी शक्तिहरू खासगरी अमेरिकी साम्राज्यवाद र र भारतीय विस्तारवाद पनि नेपाल, नेपाली जनता र नेपाली क्रान्तिका मुख्य प्रहारका निशाना नै हुन् । अहिलेको हाम्रो देशको ठोस समय–सन्दर्भमा उल्लेखित दुवै थरी शक्तिहरू अर्थात् सत्ताधारी घरेलु दलाल शक्तिहरू र विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरू घाँटी जोडी मोर्चाबद्ध भएर नेपाल र नेपालीमाथि गिर खेलिरहेका छन् । यति मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको युद्धमैदान बनाउने उनीहरूको पूरा तयारी छ । त्यसैले स्थिति धेरै नै गम्भीर छ, सामान्य अनुमान र कल्पना गरेभन्दा पनि धेरै भयावह छ ।

यस्तो गम्भीर, संवेदनशील र भयावह अवस्थामा हाम्रो दायत्व के ? र हामी देशका सच्चा र सचेत नागरिकहरूको कर्तव्य के हो भन्ने प्रश्न पनि त्यत्तिकै र गम्भीर महत्त्वको प्रश्न हो । यस प्रश्नको हलको निम्ति सर्वप्रथम हामीले हाम्रा प्रमुख र सहायक दुश्मन मात्र होइन, प्रमुख र सहायक मित्र शक्तिहरू चिन्न, बिन्न र हान्न वा तान्न सक्नुपर्छ । प्रमुख दुश्मनका बारेमा त माथि नै वर्णन गरिसकिएको छ भने सहायक दुश्मन मध्ये पनि मुख्य त्यही हो जो हाल सत्तामा त छैन तर हिंजो थियो र भोलि पनि जसरी तसरी यही दलाल पुँजीवादी सत्तामा पुगेर हिंजो गरे झैं वा आज सत्ताधारीले गरिरहेझैं अथवा त्योभन्दा पनि बढी राष्ट्रघात, प्रतिक्रान्ति, जनघात र जनजीविका घात गर्छ ! तैपनि जहाँसम्म सत्ताधारी दुश्मनका विरुद्धको सङ्घर्षमा गौण दुश्मनहरू जो जो जान सक्छन्, तिनलाई तत्कालको लागि प्रमुख दुश्मनका विरुद्धमा प्रयोग र परिचालन पनि गर्नुपर्छ । तर नेपालको हालको विशिष्ट स्थिति र सन्दर्भमा देशका माओवादी–काङ्रेस–एस आदि दलाल शक्तिहरू मिलेर बनेको दलाल पुँजीवादी प्रतिक्रियावादी सत्ता र यसका संरक्षक वैदेशिक साम्राज्यवादी–विस्तारवादी शक्तिकेन्द्रहरू प्रमुख दुश्मन हुन् भने एमाले–राप्रपा–रास्वपा सिद्धान्तत: गौण दुश्मन हुँदाहुँदै पनि व्यवहारत: उनीहरूले हालका सत्ताधारीहरूसँग सङ्घर्ष गर्दासम्म गौण भएपनि कुनैपनि बेला नाटकीय ढंगले समेत सत्तामा पुगेर आˆनो प्रतिक्रियावादी वर्गचिन्तन र वर्गचरित्रलाई दोहोर्‍याउने प्रबल सम्भावना भएकोले उनीहरू पनि तत्कालका लागि सहायक दुश्मन हुँदाहुँदै पनि यी जति बेला पनि मुख्य दुश्मन हुनसक्ने चरम सम्भावना छ । यसरी नै यी हाल सत्तामा रहेका वा नरहेका देश, जनता र क्रान्तिका प्रमुख दुश्मनका पक्षमा आउने अन्य देशी–विदेशी सम्पूर्ण शक्तिहरू पनि प्रमुख दुश्मनकै कोटीमा पर्दछन् । नेपालमा अहिले माओले भन्नुभएको अन्तर्विरोधबारेको तेस्रो अवस्था (हेर्नुहोस् माओको अन्तर्विरोध र प्रधान अन्तर्विरोध किटानी बारेको लेख) आएको छ जहाँ देशी–विदेशी सबैजसो प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिहरू एक भएर नेपाललाई विखण्डन र विनष्ट गर्ने, नेपाली जनतामा वैमनस्य र वैरभाव बढाउने तथा नेपाली क्रान्तिकारी आन्दोलनलाई विभाजित र विसर्जित गर्दै नेपाल र नेपालीलाई विघ्नबाधाविहीन रुपमा चरम शोषण–दोहन र दमन–उत्पीडन गर्ने मात्र होइन, नेपाली जनआन्दोलन, जनसङ्घर्ष, जनयुद्धद्वारा सम्पन्न जनक्रान्तिका उपलब्धिहरूको समेत नाम निशान नै नराख्ने गरी आइरहेका छन् । रुपमा वा सामुन्नेमा सत्तापक्ष र विपक्ष वा यो पार्टी र ऊ पार्टी अथवा देशी र विदेशी शक्ति देखिए पनि समग्रमा सारत: र अन्तत: यी देशी दुवैथरी र विदेशी दुवैथरी शक्तिहरू समग्रमा यी चारै शक्तिहरू मिलेरै नेपाल र नेपालीको शोषण–उत्पीडन गरिरहेकाले उनीहरूसँग नेपाल राष्ट्र र नेपाली जनताको प्रमुख अन्तर्विरोध अर्थात् मुख्य दुश्मनी रहेको छ ।

त्यसैले यिनका विरुद्ध क्रान्तिको मुख्य प्रहार केन्द्रित गर्नु पर्दछ । यसो गर्दा सुरुमा र साम्नेमा देशका सत्ताधारी र सत्ता संरक्षक प्रतिपक्षी शक्तिहरू निसानामा परेपनि अन्तत: त्यो प्रहार सामन्तवाद र साम्राज्यवादका नाइके शक्तिसम्म पुग्दछ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू आँतपेट मिलाउँदै नेपालमा अहिले दुई टाउके भारण्ड नामक चरोको रुपमा प्रस्तुत भएर नेपाल राष्ट्र, नेपाली जनता र नेपाली क्रान्तिलाई दुवै टाउकाका ठोंडहरूले ठुङ्ने र उनीहरूको एउटै संयुक्त पेट भरिरहेका छन् । यो अवस्थामा जसरी भारण्ड नामक दुई टाउका र एक आँतपेट भएको त्यो चरोलाई एउटै गोलीले सिद्धाउन टाउकामा होइन उसको मर्म्स्थान पेटमै प्रहार गर्नुपर्छ, ठिक त्यसैगरी घरेलु दुश्मन र वैदेशिक दुश्मनको आँतपेटको रुपमा रहेको वर्तमान प्रतिकृयावादी दलाल सत्तामा नै प्रहार केन्द्रित गरेमा एकैपटक दुवैलाई ढाल्न र फाल्न सकिन्छ र यो नै लडाइको सही र सफल तरिका हो । त्यसैले यो बेलामा देश, जनता र क्रान्तिका सम्पूर्ण मुख्य मित्र शक्तिहरू किसान, मजदुरलगायत सबै सहायक मित्र शक्तिहरू महिला, दलित, युवा, विद्यार्थी, बुद्धिजीवी, आदिवासी, जनजाति, मधेसीलगायतका सम्पूर्ण शोषित–पीडित जनसमुदायहरू पनि मोर्चाबद्ध भएर लड्नु र बढ्नु पर्दछ । अझ, आफूलाई देश, जनता र क्रान्तिप्रति सचेत र सक्रिय, संवेदनशील र सङ्घर्षशील, गम्भीर र जिम्मेवार अनि वफादार र कर्तव्यनिष्ठ ठान्ने सम्पूर्ण सच्चा वामपन्थी, कम्युनिस्ट, क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी र लोकतन्त्रवादी राजनीतिक शक्तिहरू, सामाजिक सङ्गठन–समूहहरू, साहित्यिक सङ्घसंस्थाहरू, सांस्कृतिक अभियान–प्रतिष्ठानहरू, वैचारिक मंच–मोर्चाहरूलगायत देशका सम्पूर्ण सचेत, संवेदनशील, गम्भीर र जिम्मेवार नेपाली नागरिकहरू, बौद्धिक व्यक्ति–व्यक्तित्वहरू र आम जनसमुदायहरू देशको अस्तित्त्व र स्वाधीनताको संरक्षण गर्न, गणतन्त्रको रक्षा र विकास गर्न अनि जनजीविकाको सुनिश्चितता र सम्बद्र्धन गर्नको लागि उठ्नु–जुट्नु र एकताबद्ध भएर सङ्घर्षको मैदानमा उत्रनु नै यतिबेलाको हाम्रो सर्वाधिक ठुलो र अत्यन्त जरुरी दायित्व हो । यसरी मात्रै धमिलिंदै गएको हाम्रो राष्ट्रिय अस्मिता र गुम्नै आँटेको हाम्रो देशको अस्तित्त्व जोगाउँदै हालसम्मका हाम्रा महान् आन्दोलनहरूबाट प्राप्त उपलब्धि मुख्यत: गणतन्त्र (यद्यपि अहिले यो दलाल पुँजीवादी गणतन्त्रमा विकृत र पतित भएको छ तथापि यसलाई यसको मौलिक स्वरूप पुँजीवादी गणतन्त्रमा फर्काउनु छ) लाई गुम्न नदिएर यसभन्दा अगाडिको नयाँ, राष्ट्रिय र क्रान्तिकारी वैकल्पिक विचार, बाटो, व्यवस्था, विधान, विधि र व्यवहारको विकास गरेर देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिËीय, भाषिक, धार्मिक र सांस्कृतिक शोषण र उत्पीडनलाई अन्त्य गर्दै आर्थिक समानता र समृद्धि, सामाजिक न्याय र सद्भाव, राजनीतिक स्वतन्त्रता र अधिकार तथा राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई अघि बढाउने दिशामा उन्मुख हुँदै देशमा शान्ति, सुव्यवस्था, सुशासन र समृद्धि कायम गर्दै निरन्तर प्रगति र विकासको लागि केन्द्रित र समर्पित हुनु जरुरी छ । यसका निम्ति उपरोक्त शक्ति, सङ्घसंस्था र व्यक्ति–व्यक्तित्वहरूले छिट्टै एउटा बृहत् र बलिष्ठ राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गरी तत्कालै देखि संयुक्त र सशक्त आन्दोलनद्वारा निर्णायक हस्तक्षेप गर्नु जरुरी छ । यसरी मात्र हामीले राष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सक्दछौँ र सक्नु नै पर्दछ । यही नै देशको यो गम्भीर र भयावह वर्तमान अवस्थामा हाम्रो विशेष राष्ट्रिय दायित्व हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित